आर्थिक क्षेत्रका विशेष गतिविधी

Monday, September 22, 2014

पर्यटनमा छायो उत्साह

पर्यटनमा छायो उत्साह
केदार दाहाल
काठमाडौं, १ असोज- मुलुकमा बन्द, हड्तालजस्ता गतिविधि रोकिँदा त्यसको सकारात्मक प्रभाव पर्यटन क्षेत्रमा देखिएको छ । दोस्रो संविधानसभा निर्वाचनसँगै पर्यटकले नेपाल भ्रमणमा रुचि देखाउन थालेका छन् । सम्बद्ध व्यवसायीका अनुसार यो वर्षको पर्यटकीय सिजनमा उत्साहजनक बुकिङ भएको छ । 
पर्यटकले नेपाल भ्रमण गर्ने मुख्य सिजन सुरु हुँदा होटलतर्फ ९० प्रतिशतसम्म बुकिङ भइसकेको होटल व्यवसायीले जनाएका छन् । अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्सको पनि शतप्रतिशत टिकट बुकिङ भइसकेको छ । त्यस्तै, टुर तथा ट्रेकिङतर्फ पनि गत वर्षभन्दा १५ प्रतिशत बढी बुकिङ भएको विभिन्न कम्पनीले जानकारी दिएका छन् ।
सेप्टेम्बर १५ पछिका ३ महिनालाई नेपाल भ्रमण गर्ने उपयुक्त सिजनका रूपमा लिइन्छ । यो सिजनमा मुख्यतः ट्रेकिङ गर्ने पर्यटक बढी हुन्छन् । यो सिजन क्रिसमस र अंग्रेजी नयाँ वर्षसम्म जारी रहन्छ । गत वर्ष १.७ प्रतिशतले गिरावट आएको पर्यटक आगमनदर यो सिजनको बुकिङसँगै उकालो लाग्ने विश्वासमा व्यवसायी छन् ।
तारे तथा पर्यटकस्तरका होटल र रिसोर्टमा ९० प्रतिशत बुकिङ भइसकेको होटल संघ नेपाल (हान)का महासचिव विनायक शाहले बताए । उनका अनुसार बाँकी १० प्रतिशत भने छोटो समयको योजना बनाएर नेपाल आउने चिनियाँ र भारतीय पर्यटकले भरिन्छन् ।
“पोहोरभन्दा धेरै राम्रो बुकिङ भएको छ, यसले नेपालको पर्यटकीय सम्भावनालाई अझ बढाएको छ,” उनले भने । साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणले भारतीय पर्यटकमा मात्र नभएर विश्वभर सकारात्मक सन्देश प्रवाहित हुँदा पनि बुकिङ उच्चदरमा बढेको उनले बताए ।
गत सिजनमा होटल बुकिङ ५० प्रतिशत पनि हुन सकेको थिएन । त्यसयता निराश बनेका पर्यटन व्यवसायी यो सिजनको उत्साहले पुलकित भएका छन् । नेपालमा पर्यटनको मुख्य सिजन सेप्टेम्बर, अक्टुबर र नोभेम्बर हुन् । दोस्रो सिजन मार्च, अप्रिल र मेमा पर्छ । यी महिनामा पर्यटकको आगमन अरुबेलाभन्दा बढी हुन्छ ।
“गएको सिजनमा ट्रेकिङतर्फको बुकिङ उल्लेख्य घटेको थियो, अहिले करिब १५ प्रतिशत बढी छ,” ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष रमेश धमलाले भने, “नेपालमा सबैभन्दा बढी समस्या एयरलाइन्सकै भएकाले मुख्य सिजनमा पर्यटन व्यवसायी मारमा पर्छन् । राष्ट्रिय ध्वजावाहकलाई बलियो बनाउने हो भने सजिलै १५ लाख पर्यटकले नेपाल भ्रमण गर्छन् ।”
पर्यटन बोर्ड लथालिंग हुँदाहुँदै पनि आगामी सिजनका लागि समेत होटलले बुकिङ सुरु गरिसकेको गण्डकी ट्राभल्स एजेन्सीका सञ्चालक तथा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का पूर्वअध्यक्ष रामकाजी कोनेले बताए । “पोखराका होटलसमेत खाली छैनन्,” उनले भने, “बोर्ड सक्रिय भएर भारत र चीनमा केही प्रवद्र्धनका कार्यक्रम नगर्दा कम बुकिङ भएका छन् ।”
 

No comments:

Post a Comment