काठमाडौं : सत्र वर्ष अघिदेखि
हेलिकप्टरबाट सेवा दिँदै आएको नेपालको सबैभन्दा ठूलो हेलिकप्टर कम्पनी श्री
एयरलाइन्सले अब जहाजमार्फत आन्तरिक उडान थाल्ने भएको छ ।
कम्पनीले तीन महिनाभित्र तीनवटा
जहाजमार्फत आन्तरिक उडान गर्ने जनाएको छ । कम्पनीले मंगलबार संस्कृति,
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट एयरलाइन्स इजाजत पत्रसमेत पाएको छ
।
एयरलाइन्सले ५० सिट क्षमताको क्यानडियन कम्पनी बम्बाडियरको जेट सीआरजे–२०० सिरिजको जहाज खरिद गरेर नेपाल ल्याउने तयारी गरेको छ । कम्पनीले झन्डै १ अर्ब रुपैयाँ लगानी थप गर्दै आन्तरिक उडान भर्ने तय गरेको छ । एयरलाइन्सले निकट भविष्यमा अन्तरराष्ट्रिय उडानसमेत थाल्ने बताएको छ ।
“अब इजाजत पाएकाले नागरिक उड्डयन
प्राधिकरणका उडान अनुमति (एओसी) को लागि निवेदन दिँदै छौं,” श्री एयरलाइन्स
कम्पनीका निर्देशक अनिल मानन्धरले भने ।
नागरिक उड्डयन प्राधिकरणले पाँच चरण पार
गरेपछि एओसी जारी गर्छ । इजाजत पाएकाले अब प्राधिकरणले नो अब्जेक्सन लेटर
दिएपछि दोस्रो चरणमा प्रवेश पाउनेछ ।
कम्पनीले पहिले चरणमा ५० सिटका जहाजमार्फत उडान सुरु गरे पनि दोस्रो चरणमा भने १०० सिट क्षमताका जहाजमार्फत उडान थाल्ने मानन्धरले जानकारी दिए ।
कम्पनीले पहिले चरणमा ५० सिटका जहाजमार्फत उडान सुरु गरे पनि दोस्रो चरणमा भने १०० सिट क्षमताका जहाजमार्फत उडान थाल्ने मानन्धरले जानकारी दिए ।
एयरलाइन्सले मुख्य गरी माउन्टेन फ्लाइट र
ट्रंक रुटहरूमा उडान गर्ने लक्ष्य राखेको छ । भद्रपुर, विराटनगर,
नेपालगन्ज, धनगढीलगायत क्षेत्रमा उडान गर्ने योजना कम्पनीको छ । यसपछि
नेपालमा ट्रंक रुटमा उडान भर्नेमा अब झनै प्रतिस्पर्धा बढ्ने भएको छ । हाल
यती एयरलाइन्स र बुद्ध एयरले यस्तो उडान भर्दै आएका छन् ।
नेपालमा हवाई क्षेत्रमा लगानी अझै
आवश्यकता रहेकाले श्री एयरलाइन्सले आन्तरिक उडान थाल्न लागेको मानन्धरले
बताए । नेपालमा हाल हेलिकप्टर र जहाजमार्फत उडान गर्ने १८ वटा कम्पनी छन्
।
कम्पनीले हाल एमआई–१७ का ६ वटा र युरोपियक
कम्पनी एस–३५० बि३ई ४ वटा हेलिकप्टरमार्फत उडान गरिएको छ । कम्पनीले
हेलिकप्टरतर्फ अन्तरराष्ट्रिय उडानसमेत भर्दै आएको छ । १७ वर्ष अगाडि
कम्पनीले एयर अनन्नयबाट हेलिकप्टर सेवा सुरु गरेको थियो ।
श्रीले आन्तरिक उडान सुरुगरे लगत्तै
अन्तरराष्ट्रिय उडान गर्न ब्राजिली जहाज निर्माता कम्पनी एम्ब्रेयरमा
निर्मित ११० सिट क्षमतायुक्त ईआरजे–१९० सिरिजका तीनथान जहाज पहिलो चरणमा
ल्याउने तयारीसमेत गरेको छ ।
प्राधिकरणको नियमअनुसार आन्तरिक र अन्तरराष्ट्रिय उडान गर्न न्यूनतम दुई/दुई थान जहाज चाहिने भएकाले दुइटै सेवाका लागि ३/३ थान जहाज ल्याउन लागेको हो ।
एयरलाइन्सले पहिले काठमाडौंबाट भारतका
प्रमुख सहर नयाँदिल्ली, मुम्बई, बैंगलोर, कोलकाता, हैदरावाद र बनारस उडान
गर्ने लक्ष्य राखेको छ । दोस्रो चरणमा दुबई, साउदी अरब, बैंकक,
क्वालालम्पुरलगायत गन्तव्यमा उडान गर्ने लक्ष्य एयरलाइन्सको छ ।
हेलिकप्टर राख्न त्रिभुवन अन्तरराष्ट्रिय
विमानस्थलमा श्रीको आफ्नै ह्यांगर पनि छ । श्री एमआई–१७ सिरिजका ठूला
हेलिकोप्टर धेरै भएको दक्षिण एसियाकै सबैभन्दा ठूलो कम्पनी हो ।
अर्बौं लगानी गरिसकेको श्रीसँग करिब ५०
लाख अमेरिकी डलर मूल्यको जगेडा इन्जिन पनि छ । यसले विश्व खाद्य कार्यक्रम र
अन्य अन्तरराष्ट्रिय संस्थाका कामसहित प्राकृतिक प्रकोप, उद्धार,
खाद्यान्न ढुवानी, यात्रु ओसारपसारमा विश्वसनीयता कमाएको छ ।
त्यसबाहेक संयुक्त राष्ट्रसंघका लागि हेलिकप्टर उडान गर्ने श्री दक्षिण एसिया र पूर्वी एसियाकै एकमात्र कम्पनी पनि हो ।
No comments:
Post a Comment