केदार दाहाल
काठमाडौं, २८ भदौ - राष्ट्रिय गौरवको भैरवाको गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका लागि चिनियाँ नर्थ वेस्ट सिभिल एभिएसन कम्पनी लिमिटेड छनोट भएको छ । नागरिक उड्डयन प्राधिकरणले नर्थ वेस्ट कम्पनीलाई छनोट गरी स्वीकृतका लागि एसियाली विकास बैंक (एडीबी) मा पठाएको छ ।
प्राविधिक रूपमा छनोट भएका ६ कम्पनीमध्येबाट नर्थ वेस्ट कम्पनीले सबैभन्दा सस्तोमा विमानस्थल निर्माण गर्ने गरी प्रस्ताव गरेकाले छनोट गरी एडीबी पठाएको प्राधिकरण स्रोतले जानकारी दिएको छ । कम्पनीले ६ कम्पनीमध्ये सबैभन्दा सस्तो करिब सवा ६ अर्ब रुपैयाँमा बनाउने गरी प्रस्ताव पेस गरिएको बुझिएको छ ।
प्राविधिक रूपमा चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप, चाइना हार्भर इन्जनियरिङ कम्पनी, सिनो हाइड्रो, नर्थ वेस्ट सिभिल एभिएसन कम्पनी लिमिटेड, स्पेनिस कम्पनी सान्जोसे कालीका र आइसोलस कार्सन चयन भएका थिए । “अन्य ५ वटा कम्पनी बाहिरिएका छन्, नर्थ वेस्टलाई स्वीकृतका लागि पठाएका छौं,” प्राधिकरण स्रोतले भन्यो ।
विमानस्थल निर्माण गर्न ३७ वटा कम्पनीले प्रस्ताव फारम खरिद गरेको भए पनि ७ वटाले मात्रै बुझाएका थिए । चाइना भोलेन्ट इन्डस्ट्री कम्पनी भने प्राविधिक रूपमै अस्वीकृत भएको थियो ।
एडीबीले १० देखि १२ दिनमा स्वीकृत गर्ने र उक्त कार्यपछि असोजको दोस्रो सातादेखि काम सुरु गराउने प्राधिकरणले तयारी गरिरहेको छ । विमानस्थल निर्माणका लागि ८ अर्ब ५५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । हाल ७ अर्ब ८ करोड रुपैयाँ रकमबराबरको काम गर्नका लागि टेन्डर आह्वान गरिएको थियो ।
पहिलो चरणको टेन्डर पारेर काम गर्ने निर्माण कम्पनीले हाल १ हजार ५ सय मिटर धावनमार्ग रहेको यो विमानस्थलको स्तरोन्नतिपछि ३ हजार मिटरको धावनमार्ग बनाउनुपर्ने छ ।
विमानस्थलको पाकिर्ङ वे (एप्रोन) समेत ६ वटा हुँदैछ । टर्मिनल भवन, पार्र्किङलगायतका भौतिक संरचनाको साथै वरपर बाटो, ट्याक्सी–वे, रेस्क्यु एन्ड फयर फाइटिङ युनिटको लागि भवन, इलेक्ट्रिकल खानेपानीलगायत भौतिक निर्माणतर्फका सबै निर्माण हुनेछ । बाँकी झन्डै २ अर्ब रकमबाट भने विमानस्थल निर्माणपछि आवश्कीय इक्युपमेन्ट खरिदका लागि उपयोग गरिनेछ ।
विमानस्थल निर्माण कार्य सुरु हुने बित्तिकै अर्को टेन्डर गरी इक्युपमेन्ट खरिद गरिने भण्डारीले जानकारी दिए । निर्माण कम्पनीसँग टेन्डर सम्भौता भएको मितिले ३ वर्षमा निर्माण गरिसक्नुपर्ने भएकाले सन् २०१७ को सेप्टेम्बरसम्ममा विमानस्थल सञ्चालनमा ल्याउने प्राधिकरणको तयारी हो ।
विमानस्थलमा ६ वटा अन्तर्राष्ट्रिय उडान भर्ने जहाज र ४ वटा आन्तरिक उडान भर्ने जहाज पार्किङ गर्न मिल्नेछ । पछिल्लो समय टीआईए व्यस्त भएर कतिपय समयमा अन्तर्राष्ट्रिय विमानहरू भारतमा लगेर ल्यान्ड गर्नुपर्ने बाध्यता छ । गौतम बुद्ध विमानस्थलको स्तरोन्नति भएपछि यो बाध्यता हट्नेछ । सो विमानस्थल सञ्चालनमा आएपछि टीआईएमा हाल अवतरण हुने जहाजमध्ये १० प्रतिशत त्यहाँ अवतरण गर्ने र बाँकी नयाँ थपिने अनुमान छ ।
No comments:
Post a Comment