आर्थिक क्षेत्रका विशेष गतिविधी

Wednesday, September 3, 2014

साइकलमा डाँडाकाँडा






साइकलमा डाँडाकाँडा

केदार दाहाल
काठमाडौं, २५ असार- नेपालका अग्ला हिमाल चढ्न र सांस्कृतिक विविधिता हेर्न आउने पर्यटक अचेल साइकल लिएर डाँडाकाँडा उक्लिन थालेका छन् । साइकलमा अफरोड घुम्ने पर्यटक पहिले यदाकदा भेटिए पनि अहिले बाक्लै भेटिन्छन् ।  नेपालका टुर अपरेटर र ट्राभल एजेन्सीले पनि ‘साइक्लिङ’ प्याकेज नै बिक्री गर्न थालेका छन् । साहसी पर्यटकहरू समूह बनाएरै नेपालका अप्ठ्यारा डाँडाकाँडामा साइकल कुदाउन थालेका छन् ।
व्यवसायीका अनुसार सन् २०१३ मा मात्रै ३ सयभन्दा बढी विदेशी पर्यटकका समूह माउन्टेन बाइकिङका लागि नेपाल आएका थिए । २०१२ मा २ सय हाराहारी समूह थिए ।
केही वर्षयता विदेशीसँगै साइकलमा पहाड उक्लिने नेपालीको संख्या पनि उल्लेख्य बढेको छ । सन् २०१३ मा सयभन्दा बढी समूह बाइक चलाएर विभिन्न क्षेत्र घुम्न गएको नेपाल माउन्टेन बाइकका सञ्चालक रञ्जनराज भण्डारीले बताए ।
माउन्टेन बाइकिङका लागि एउटा समूहमा ५ देखि ५० जनासम्म पर्यटक आउने गरेका छन् । उनीहरूले ट्रेकिङलगायत अन्य क्षेत्रमा घुम्दा दैनिक १ सय डलरभन्दा बढी खर्च गर्छन् ।
सन् १९८८ मा केही पहल भएको पाइए पनि १९९५ देखि मात्रै पर्यटकले नेपालमा माउन्टेन बाइक सुरु गरेको भेटिन्छ । सरकारले सन् २०११ लाई पर्यटन वर्षका रूपमा मनाएपछि भने बुकिङ नै गरेर आउनेहरू बढेको राजभण्डारीले बताए । “हामीमार्फत मात्रै पोहोर ३५ भन्दा बढी विदेशी र २० वटा नेपाली समूह माउन्टेन बाइकमा गएका छन्,” उनले भने ।
पर्यटकको रुचि फेरिएपछि ट्राभल्स तथा ट्रेकिङ एजेन्सीहरूले नै माउन्टेन बाइकको प्याकेज बेच्न थालेका हुन् । हाल ५ वटा कम्पनीले यस्तो प्याकेज बिक्री गर्ने गरेका छन् । अन्य कम्पनीले पनि प्याकेजमा राख्न सुरु गरिसकेका छन् । नेपालमा धेरैजसो नेदरल्यान्ड्स र बेलायतबाट यस्ता पर्यटक आउँछन् ।
कम्पनीहरूले हाल काठमाडौंवरपर ककनी, दामन, धुलिखेल, नगरकोट, चिसापानी, नमोबुद्ध, बल्थली, लाँकुरीभन्ज्याङलगायत क्षेत्रका प्याकेज बिक्री गर्छन् । यी क्षेत्रमा प्रायः नेपाली समूह घुम्न जान्छन् । विदेशीहरू भने १२ दिनको अन्नपूर्ण राउन्ड, १५ दिनको मनास्लु क्षेत्र, माथिल्लो मुस्ताङ, तल्लो मुस्ताङअन्तर्गत मुक्तिनाथ, कागबेनी, हिमाल नीलगिरिलगायत क्षेत्र छन् । हिजोआज लाङटाङ क्षेत्रमा समेत प्याकेज बिक्री हुन थालेका छन् ।
नेपालमा हरेक वर्ष १९ दिनको ल्हसा–काठमाडौं माउन्टेक बाइक यात्रामा २० वटा समूह आउने गरेका छन् । अहिले १० दिन लाग्ने काठमाडौं–बेगनासताल–पोखराका लागि पनि प्याकेज बिक्री हुन थालेका छन् । माउन्टेन बाइकका लागि मार्चदेखि मे र सेप्टेम्बरदेखि नोभेम्बर अनुकूल मानिन्छ ।
नेपालमा विशेषगरी थाइल्यान्डबाट यस्ता साइकल ल्याइन्छन्, जसको मूल्य ३० हजारदेखि २ लाख ५० हजार रुपैयाँसम्म पर्छ ।

गाइड अभाव
पर्यटकलाई माउन्टेन बाइकमार्फत डाँडाकाँडा घुमाउन दक्ष जनशक्ति अभाव रहेको व्यवसायी बताउँछन् । नेपालमा हाल ७५ जनाले गाइडको रूपमा काम गर्ने गरे पनि दक्ष १० जनाजति पनि नरहेको राजभण्डारीले बताए ।
साइकलका सबै प्राविधिक ज्ञान तथा भाषा र विभिन्न क्षेत्रबारे जानकारी राख्ने गाइड नहुँदा एकैचोटि धेरै समूह आएका बेला अप्ठ्यारो पर्ने गरेको उनले सुनाए । नेपालमा माउन्टेन बाइक गाइडहरूले क्षमताअनुसार दैनिक ३ हजारदेखि १० हजार रुपैयाँभन्दा बढी कमाउने गरेका छन् ।

सम्बन्धित साइकलमा डाँडाकाँडा

No comments:

Post a Comment