- पर्यटकिय सम्भावनाको नयाँ गन्तव्य बाजुराको बडिमालिका
- तस्वीर–गोपेन राई र किशोर खड्का
- लेखक– केदार दाहाल
प्रकृतिसंग नरमाउने मानिस सायदै कम हुन्छन । त्यसमध्ये हिमाल र बादल भन्दा माथी आफुलाई पाएपछी नरमाउने कुरै भएन । बाजुरा जिल्लाको कैलासमान्डु गाविसमा रहेको बडिमालिका वास्तवमै अनुमप र सुन्दर स्थान हो । ठाडो पहाडको बाटो हरेक समय परिरहने सिमसिम पानीमा भिज्दै बडिमालिका क्षेत्रमा पुग्दा पृथ्वीलाई छोडेर सौर्यमन्डलको छुट्टै ग्रहमा पुगेको भान गराउने बडिमालिका क्षेत्र प्रकृतिको हिसावले धनी हुदाँ–हुदाँ पनि मानव निर्मित भौतिक सुविधाले पछीपर्दा भने केही खिन्नता महसुस हुन्छ ।
समुन्द्री सतहबाट झन्डै ४ हजार ३ सय मिटर उचाईमा रहेको बडिमालिका क्षेत्र सुदूरपश्चिमको मात्र सुन्दर क्षेत्र नरहेर नेपालका चर्चित क्षेत्र मध्य एक हो । अन्य समयमा सुनसान रहने यस क्षेत्रमा जनैपूर्णिमाको अघिल्लो दिन सुदूरपश्चिमका ९ वटै जिल्ला बाट स्थानियहरु झन्डै १० हजारको हाहारीमा पूजा गर्नका लागि त्यस क्षेत्रमा जाने गरेका छन ।
प्राकृतिक छटाले भरिपूण त्यस क्षेत्रको विकासका लागि हालसम्म कुनै पनि गतिविधि अगाडी नबढेको यस क्षेत्र पर्यटकिय सम्भावना बोकेको सुन्दर क्षेत्र हो । धार्मिक पर्यटनको विशेष सम्भावना रहेको यस क्षेत्रमा काठमाडौै बाट त्यस क्षेत्रमा पुगेर काठमाडौमा फर्कनको लागि ९ दिन समय लाग्दछ । हवाईमार्ग, सडक मार्ग र पाँच दिनको पैदलयात्राले बडिमालिका यात्रा सहज र रमाइलो बनाउँदछ । पैदलयात्राको क्रममा पुरैक्षेत्र जंगल र पहाड मात्र भएकोले खानेबस्ने व्यवस्था भएकोले टेन्टमा बास बस्नुपर्दछ । जसका लागि सबै व्यवस्था समुहले आफै गर्नुपर्दछ ।
धार्मिक महत्व
बडिमालिका मन्दिर हिन्दु धर्मवालम्बिका लागि धार्मिक आस्थाको केन्द्र बिन्दुका रुपमा रहेको छ । यहाँ हरेक बर्ष जनै पूर्णिमाको सु—अवसर पारेर मेला लाग्ने गर्दछ । मेला अवधीमा सुदूर पश्चिमाञ्चलका सम्पूर्ण जिल्ला, कर्णाली अञ्चलका तथा अन्य जिल्लाहरु साथै भारतबाट पनि दर्शनार्र्थीको भिड लाग्ने गरेको छ । धार्मिक ग्रन्थ, स्वस्थानी ब्रत कथाको आधारमा यस क्षेत्रमा (मन्दिर) दक्ष प्रजापतिको यज्ञमा सतिदेबिले आत्मदाह गरेपछि शिवजीले उनको मृत शरिर बोकेर बिभिन्न स्थानमा घुम्ने क्रममा यहाँ पुगेर सतिदेबिको कुम पतन भई यस पर्वत (मलयागिरी पर्वत) मा देबी उत्पन्न भई बडिमालिका मन्दिर स्थापना भएको कथन छ । त्यसैले हिन्दु धर्मावलम्बिहरुले आफनो मनोकाक्षां पूर्ण होस भन्ने उद्देष्यका साथ यस मन्दिरमा दर्शन गर्न आउने गरेका छन
।
पर्यटकिय महत्व
बडिमालिका मन्दिर सँग आफनो छुटै धार्मिक महत्वको बिषय भएपनि यस मन्दिर जान आउन गर्नुपर्नेबीच बाटोमा प्रशस्तै यस्ता स्थलहरु छन जसबाट प्रचुर मात्रामा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्रायाई आर्थिक उपार्जन गर्न सकिने सम्भावनाहरु रहेका छन । बडिमालिका मन्दिर पुग्न बाजुरा सदरमुकाम मार्तडीदेखि जान आउन करिब ३,४ दिन लाग्दछ । सदरमुकाम बाहेक यस मन्दिर जान छोटो बाटोको रुपमा कैशाशमाण्डु गा.बि.स.को नाटेश्वरी मन्दिर भएर जान सकिन्छ । यी तिन ठाउँबाट जादाँ बाटामा थुप्रै मन्दिर, जडिबुटि, बनस्पती, बन्यजन्तु, पहाड, पर्वत, नदी, खोल्सा, झरना, आदि जस्ता पर्यटकलाई आर्कषित गर्ने खालका र उनीहरुका मुख्य खोजिका बिषयहरु त्यस क्षेत्रमा रहेका छन ।
बडिमालिका क्षेत्र धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिबाट प्रचुर सम्भावना बोकेको क्षेत्र हो । एकैदिन १० हजारको संख्यामा पुग्ने तिर्थयात्रीहरुको उपस्थितीले यसलाई प्रमाणित गर्दछ । प्रचार प्रसारमा ल्याउन सके आन्तरिक तथा धार्मिक पर्यटन बढ्नेमा दुईमत छैन । यसका साथसाथै बडिमालिका क्षेत्रबाट प्याराग्लाइडिगंको सम्भावना पनि प्रचुर रहेको छ । यसकालागि अध्ययन भएपनि ब्यवहारमा भने लागु हुन सकेको छैन । भाद्र जनैपूर्णिमा बाहेकको अन्य समयमा पनि यस क्षेत्रमा पर्यटक लैजान सके सुदूरपश्चिममा खप्तड पछिको दोस्रो प्रसिद्ध पदयात्रा तथा पर्यटकिय स्थलबन्न सक्छ ।
काठमाडौं–बडिमालिका नवौ दिनको यात्रा
पहिलो दिन
काठमाडौंबाट ९ दिन समयमा पुरै घुमेर फर्किन सकिने यस क्षेत्रमा जानको लागि पदयात्रा बाहेक अन्य विकल्प छैन । काठमाडौंबाट १ घन्टा २० मिनेटको हवाई यात्रापछी धनगढी विमानस्थल पुग्न सकिन्छ । त्यसपछी भने सोही दिन धनगढी बाट ५ घन्टाको सवारीको यात्रापछी डडेडधुरामा गएर पहिलो दिनको यात्रा सकिन्छ ।
दोस्रो दिन
डडेलधुराबाट डोटीको दिपायल, सिलगढी हुदै अछामको साँफेवगर बाट अगाडी बाजुराको मौरिया ८ घन्टाको बस यात्रापछी पुग्न सकिन्छ । मौरियाबाट पुन दुईघन्टाको यात्रापछी लामागढा पुग्न सकिन्छ । केही छिनको पैदलयात्रापछी बाजुराको जडंगा पुगेपछी दोस्रो दिनको यात्रा समाप्त हुन्छ ।
तेस्रो दिन
समुन्द्री सतहबाट १ हजार १ सय ६७ मिटर उचाईमा रहेको जडंगाबाट ४ घन्टाको पैदलयात्रापछी कोर्दा भन्ने स्थानमा विहानको खाना खाइन्छ । त्यसपछी लगातार ५ घन्टाको पैदलयात्रापछी ९ घन्टाको पदैलयात्रापछी २ हजार ९ सय ९१ मिटर उचाईमा रहेको करली चौर भन्ने स्थानमा बास बस्नुपर्दछ । पानीको सुविधाहरु रहेकोले त्यसक्षेत्रामा बस्न खासै समस्या हुदैन ।
चौथो दिन
चौथो दिनको यात्रा धेरै उचाईसम्म हुने भएकोले केही लेकलाग्ने समस्याले समेत सताउने भएकोले पानी जतिसक्दो धेरै पिऊनु पर्दछ । करलीचौरबाट विहान ७ बजे देखि हिड्दा त्यो दिनको यात्रा बुढीगंगाको शिरभाग रक्तकुन्ड र दुधकुन्डको संगम त्रिवेणी सम्म पुग्नको लागि ९ घन्टा भन्दा बढी समय पैदलयात्राको क्रममा लाग्दछ । करलीचौरबाट केही घन्टाको पैदलयात्रापछी ३ हजार १ सय ३२ मिटर उचाईमा रहेको देऊराली छौपाटनमा पुग्न सकिन्छ । छौपाटन बाट केही तल पारिपाटन हुदै सोटा पाटन भन्ने स्थानमा विहानको खाना खाइन्छ । जुन ३ हजार ४ सय ३ मिटर उचाईमा पर्दछ । जहाँ मानव निर्मित जस्तो देखिने फुलहरुले पुरै क्षेत्र ढकमक्क देखिन्छ । जहाँ प्रकृतिले आफै निर्माण गरेको हो । त्यसमा केही समयको आरमपछी पदैल यात्रा सुरु हुन्छ । दुई घन्टाको पदैलयात्रापछी ३ हजार ६ सय ३९ मिटर उचाईमाथी रहेको घोडापाटन क्षेत्र पुग्न सकिन्छ । घोडापाटनबाट केहीघन्टाको पैदलयात्रपछी विरबसौना हुदैै ३ हजार ३ सय ६७ मिटर उचाईमा रहेको भित्ताछैना भन्ने स्थानमा पुग्न सकिन्छ । सयौथरीका फुलहरुले मन लोभ्याउँदै झन अगाडी बढ्न प्रेरित गर्दछ । त्यसको केही घन्टाको पैदलयात्रापछी समुन्द्रि सतह देखि ३ हजार ८ सय ७० मिटर उचाईमा रहेको कालीकोट र बाजुरा जिल्लालाई जोडेको त्रीवेणी पुग्न सकिन्छ । उक्त क्षेत्रलाई बुढीगंगा नदिको शिरभागको रुपमा रहेको त्रीवेणीमा दुधकुन्ड र रक्तकुन्ड नदि मिसिएको छ । बढीमालिका जान आउने हजरौ तिर्थयात्रुहरु पालटागेर त्यसै नदिको छेऊ छाऊमा रात विताउँछन । काठमाडौंबाट हिडेको चौथो दिनको रात त्यसै क्षेत्रमा विताइन्छ ।
पौचौ दिन
बडीमालिका पुगिने दिन भएकोले पाचौ दिन विशेष खालको स्मरण राख्ने दृष्यहरु र कौतुहलताले बढी सताउँछ । विहानै देखि त्रीवेणीमा आफ्ना स्वर्गबास भएका बाबु र आमाको श्राद्धगर्नेहरुको भिड नदिवरपर देखिन्थ्यो । केही भने पुजा गर्नमा वेस्त देखिन्थे नदीकोबीचभागमा । तर त्यो दृष्यले भन्दा त्यसको माथिल्लो भागहरुमा देखिने घाम र छायाले मन लोभ्याउँदछ । केहीछिनमै पुरै अन्धार हुनेगरी कुहीरोले ढाकिन्छन पहाडहरु भने केही छिनमै घाम लागेर खुल्दा कतै स्वर्गमा आइपुगेको भान हुन्छ त्रिवेणी वरपरको दृष्य । त्रिवेणी क्षेत्रमा रहेको अर्को अचम्म लाग्दो र आर्कषक दृष्यावलोकनको क्षेत्र हो खेतिबेति । यो क्षेत्रमा तराईका फाटमा झै यति उचाईमा धानका गह्राहरुझै मिलाएर धान रोपिएको जस्तै दृष्य देख्न सकिन्छ । यहाँ लगाएको जस्तो देखिने धान जस्तै तर नफलेको देखिन्छ । यी गह्राहरुमा यो बाली दुरी मिलाएर डोरी हालेर लगाएको जस्तो गरी बोटहरु रोपिएका छन । पौराणिक कथन अनुसार बर्षायाममा चराहरु बेसीतिर नहुनुको कारण त्यहा गएर खेति बेतिमा खेतिगर्दछन रे । विहानको सुन्दर दृष्यको अवलोकनपश्चात सुरु हुन्छ बडिमालिका मन्दिरको यात्रा । त्रिवेणीबाट लगातार ६ घन्टाको यात्रापछी बडिमालिका पुगिन्छ । त्रिवेणीबाट केही घन्टाको हिडाइपछी लौरी विनायक पुग्न सकिन्छ । जहाँ भेडा र घोडा चरेका दृष्यहरु देख्न सकिन्छ । ६ घन्टाको पैदलयात्रापछी पाँचौ दिनको साँझ बडिमालिका मन्दिर परिसर पुगिन्छ । समुन्द्रि सतहबाट ४ हजार २ सय १४ मिटर उचाईमा रहेको बडिमालिका मन्दिर वरपर हजारौ तीर्थयात्रीहरुपाल टागेर रात्री १२ बजे देखिलाग्ने पुजाको प्रतिक्षमा बसेका हुन्छन । बेलुकी पख खास मौसम नखुल्ने भएकोले चिसोका कारण धेरै मानिसहरु पालमा बस्दछन ।
छैटौ दिन
छैटौ दिनको बिहान बडिमालिका मन्दिर परिसरबाट देखिने प्राकृतिक दृष्य शव्दहरुमा बयान हुन सक्दैनन । पारिपटी देखिने हिमालका दृष्य त्यसभन्दा तल बादल र बादल भन्दा माथी आफु रहेको दृष्य क्यामेरामा कैद गर्न तछाड र मछाड गरेका हुन्छन । विहान सूय उदाउँदाको दृष्य झनै मनमोहक देखिन्छ । रातको १२ बजे देखि दिनको १२ बजे सम्म गरिने विशेष पूजामा १० हजार भन्दा बढीले दर्शन गर्दछन । पहाडको टाकुरामा रहेको मन्दिर परिसर मानिसहरुको भिडले कोलाहाल भइरहेता पनि प्राकृतिक छाटाले आनन्द महसुस दिलाउँदछ । केहीघन्टाको बडिमालिकाको मनोरम दृष्यको अवलोकनपछी तल झर्नेक्रम सुरु हुन्छ । छैटौ दिनमा ४ हजार २ सय १४ मिटर उचाईमा रहेको बडिमालिकाबाटबीचमा बस्ने स्थान नभएकोले २ हजार १ सय १ मिटर तल नाट्टेश्वरीमा आएर बास बस्नुपर्ने हुन्छ । बडिमालिकाबाट ३ हजार ६ सय ५६ मिटर उचाइमा रहेको विष्णुपानी, चानकिलीहुदै ३ हजार ३ सय ७७ मिटर उचाईमा झरेपछी धर्मघर आइपुगिन्छ । त्यस्तैगरी ३ हजार १७ मिटर उचाइमा रहेको ठुलागढाहुदै २ हजार ६ सय ६१ मिटर उचाईमा रहेको मोतिबनीहुदै २ हजार १ सय ९५ मिटर उचाईमा रहेको लामागढा पुगिन्छ । त्यसको एकघन्टाको पदयात्रापछी २ हजार १ सय १ मिटर उचाईमा रहेको नाट्टेश्वरी पुगिन्छ । बडिमालिकाबाट १० घन्टाको लगातार पदयात्रपछी नाट्टेश्वरीमा बास वसन्छि । बडिमालिका पुगेका सबै तिर्थयात्रीहरु नाट्टेश्वरीमा आइपुगेपछी पाल टागेर रातभर देऊडा गित गाएर रमाइलो गरि बस्दछन ।
सातौ दिन
सातौ दिन जनैपूणर््िामा दिन पर्ने भएकोले नाट्टेश्वरीमा मन्दिरमा ठुलो मेला लाग्ने गर्दछ । त्यहाँ जिल्ला प्रशासन कार्यलयले समेत बोकाको बली चढाउने प्रचलन रहेको छ । जनैपूर्णिमा दिन सबै तिर्थयात्रीहरुले पूजागरेपछी आफ्नो गन्तव्यमा लाग्दछन । नाट्टेश्वरीबाट झन्डै ४ घन्टाको पैदलयात्रापछी १ हजार ८ मिटरउचाईमा रहेको मौरियामा आइपुगिन्छ । त्यसपछी विहानको खानाखाएर बसको यात्रा सुरु हुन्छ । मौरियाबाट अछामहुदै ८ घन्टाको यात्रापछी डोटीको सदरमुकामा सिलगढी आइपुगिन्छ । त्यहा नै सातौ दिनको यात्रा समाप्त हुन्छ ।
आठौ दिन
डोटीको सिलगढीबाट आठौदिनको यात्रा सुरु हुन्छ । सिलगढीबाट डडेल्धुरा हुदै ८ घन्टाको बसको यात्रापछी धनगढी पुगिन्छ । धनगाढीमा आठौ दिनको यात्रा सकिन्छ ।
नवौ दिन
नवौ दिन भने धनगढीमा रहेको धनगढी विमानस्थलबाट १ घन्टा २० मिनेटको हवाइयात्रापछी काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेपछी बडिमालिका यात्रा समाप्त हुन्छ ।
एक जनाको लागि न्यूनतम खर्च (रुपैयाँमा)
काठमाडौ–धनगढी बसभाडा तथा खाना– २,०००।–
धनगढी देखि जडागां बसभाडा तथा खाना–२,०००।–
मौरया देखि धनगढी बसभाडा–२,०००।–
धनगढी देखि काठमाडौ बसभाडा तथा खाना–२,०००।–
होटेल तथा खाना खर्च–१०,०००।–
जम्माः १८,००० ।–
काठमाडौ धनगढी जहाजबाट थप–१०,००० ।–
जम्मा २८,०००।–
नोट–पदयात्राका क्रममा ३ दिन कुनै होटेल तथा आवासको सुबिधा नभएकाले खाना तथा टेन्ट, स्लिपिगङ व्याग आफैले प्रबन्ध गर्नुपर्ने हुन्छ ।
No comments:
Post a Comment