केदार दाहाल
काठमाडौं, ३१ असोज - नेपाल वायुसेवा निगमले दसंैलाई केन्द्रित गर्दै दुर्गम क्षेत्रमा ४७ वटा थप उडान गर्ने भएको छ । गत वर्ष भएका विमान सबै ग्राउन्डेड भएपछि कुनै पनि उडान गर्न नसकेको निगमले यसवर्ष दैनिक दर्जनौं थप उडान गर्न लागेको हो ।यस वर्ष निगमले २ वटा ट्वीनटरमार्फत दुर्गम क्षेत्रमा र एउटा एम–६० मार्फत सुगम क्षेत्रमा उडान भरिरहेको छ । भने २ ठूला विमानमार्फत अन्तर्राष्ट्रिय उडान भरिरहेको छ ।
निगमले २ ट्वीनटर विमानमार्फत दुर्गममा दैनिक ११ उडान गरिहेको छ भने दसंै तथा तिहारका लागि ४७ वटा थप उडान गर्ने तयारी गरिरहेको निगमका प्रवक्ता सरोज कासजुले बताए । “गत वर्ष जहाज ग्राउन्डेड हुँदा कुनै पनि उडान गर्न नसके पनि यस वर्ष दुर्गमा केन्द्रित गरेर धेरै सुविधा दिन लागिरहेका छांै,” कासजुले भने ।
निगमले चिनियाँ एमए–६० जहाजमार्फत दसंै तथा तिहारलाई केन्द्रित गरी सुगम क्षेत्रहरूमा उडान थप गरेको समेत उनले बताए । निगमले हाल एमए–६० मार्फत विराटनगर साताको ६ वटा, भैरवा साताको ६ वटा, भद्रपुर साताको ३ र धनगढी साताको ३ वटा उडान गर्दैछ । भद्रपुर र धनगढी भने असोज १ देखि सुरु गर्ने निगमले जनाएको छ ।
वाई–१२ ई–जहाज अनिश्चित
नेपाल वायुसेवा निगमलाई चीनले अनुदानमा दिएको वाई १२ ई–जहाज नेपाल निगमले दसंै अगाडिनै ल्याएर सेवा दिने भनिए पनि अझै अन्योल नै छ । वाई १२ गत असार २२ गते चीनले नेपाललाई हस्तान्तरण गरिसकेको छ । हस्तान्तरणपछि गत साउन ९ गते काठमाडौं अवतरण गर्ने कार्यक्रम थियो ।
१९ सिट क्षमताको वाई १२ जहाज भित्रन ढिलो भएपछि अरू जहाज भित्रने तालिका पनि प्रभावित भएको निगमका प्रवक्ता सरोज कासजुले बताए । उनका अनुसार नेपाल ल्याउनको लागि इन्स्ट्रक्टर पाइलट (आईपी) नपाएपछि तोकिएको मितिमा जहाज नेपाल ल्याउन नसकिएको हो ।
चीनमा रहेका इन्स्ट्रक्टर पाइलटले अंग्रेजी बोल्न नजान्ने र अरू देशमा वाई १२ ई उडाउन सक्ने पाइलट नपाएपछि यो जहाजको अवतरण मिति अन्योल भएको हो । चीनबाट साताअघि आईपी आए पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले लिने जाँचमा फेल भएका थिए ।
चीन सरकारले वाई–१२ र एमए–६० गरी ६ वटा जहाज दिने सहमति गरेको थियो, जसमा ५४ सिट क्षमताको एम ए–६० जहाज नेपाल आइसकेको छ । बाँकी सरल ऋणका ४ वटा जहाज भने कात्तिकभित्रमा ल्याइसक्ने सेडुअल थियो । चिनियाँ जहाज ६ वटा किन्न ६ अर्व ६७ करोड १० लाख रुपैयाँ अनुदान तथा सहुलियत ऋणमा निगमलाई एक्जिम बैंकमार्फत ऋण उपलब्ध गराइएको हो । उक्त रकममध्ये २ अर्ब ९४ करोड १० लाख रुपैयाँ एमए–६० र एउटा वाई–१२ ई अनुदानमा लिन उपयोग गरिनेछ भने बाँकी ३ अर्व ७२ करोड ८० लाख रुपैयाँमा एउटा एमए ६० र ३ वटा वाई १२ ई–जहाज ऋणमा खरिद गर्ने गरी सम्झौता भएको थियो ।
No comments:
Post a Comment