आर्थिक क्षेत्रका विशेष गतिविधी

Thursday, November 20, 2014

नेपाल भ्रमणमा बेलायतको अघोषित प्रतिबन्ध

नेपाल भ्रमणमा बेलायतको अघोषित प्रतिबन्ध
केदार दाहाल
काठमाडौं, ३ मंसिर  - मुलुकको पर्यटन क्षेत्र प्रवद्र्धन गर्न अघिल्लो साता बेलायत पुगेका पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्य गढीमाई बेलामा हुने गरेको पशुबलिका विषयमा एकाएक सहभागीहरुले प्रश्न उठाएपछि स्तब्ध बने । ‘वल्र्ड ट्राभल्स मार्ट २०१४’मा सहभागी हुन गएका मन्त्री अमात्यलाई सहभागीहरुले पशुबलिका विषयमा प्रश्नमात्रै गरेनन्, उनलाई ७२ हजार बेलायती नागरिकको हस्ताक्षरसहित ज्ञापनपत्रसमेत बुझाइयो । बेलायत भ्रमण खल्लो भएपछि अमात्यले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालयसहित मन्त्रिपरिषद्मा पनि यसरबो जानकारी गराए ।
मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठका अनुसार गढीमाई मेलाकै कारण बेलायतीहरुलाई नेपाल भ्रमण नगर्न तीव्र लबिङ भइरहेको छ । यसले नेपालको पर्यटन क्षेत्रमा गम्भीर असर पर्नेछ । सन् २०१२ मा ४२ हजार ३ सय र २०१३ मा ३५ हजार ६ सय बेलायती पर्यटक नेपाल भित्रिएका थिए ।
बेलायतलगायत युरोपभर अहिले गढीमाई मेलामा हुने बलिविरुद्ध अधिकारकर्मीले अभियान सुरु गरेपछि नेपालमा युरोपेली पर्यटक आगमन गम्भीर असर पर्ने भन्दै व्यवसायीले चिन्ता प्रकट गरेका छन् । युरोपेली पर्यटक बढी खर्चालु भएकाले उनीहरु नै आउन छाडे नेपालको पर्यटन क्षेत्र धराशायी हुने व्यवसायीको चिन्ता छ ।
गढीमाई मेलामा गरिने पशुबलिलाई लिएर नेपालमै कार्यरत विदेशी नियोगले पनि गम्भीर चासो व्यक्त गर्दै खुला स्थानमा पशुहिंसा नगर्न नेपाल सरकारसँग माग गरेका छन् । ब्रिटिस गोर्खाको पक्षमा लड्ने अभिनेत्री जोहाना लुम्लेले पनि यसलाई रोक्न सार्वजनिक अपिल गरेकी थिइन् ।
“बेलायती अभियानकर्मीहरुले गढीमाईको विषयलाई लिएर नेपालीहरु विश्वमै बढी हिंस्रक र क्रूर भएको भन्दै नेपाल भ्रमण नगर्न आग्रहसहित आफ्ना नागरिकलाई प्रचार गरिरहेका छन्,” सचिव श्रेष्ठले भने, “यसले हाम्रो पर्यटनलाई अहिलेसम्मकै ठूलो धक्का लाग्ने निश्चित छ । हामीले यसबारे सबै सरोकारवाला निकायमा जानकारी र सुझाव दिएका छौं ।”
१२ हजारको संख्यामा हुने पशुबलिलाई लिएर बेलायतमा चलेको हस्ताक्षर अभियानमा ७२ हजारभन्दा बढीले सहभागिता जनाएको उनले बताए । उनका अनुसार बेलायतकै सिको गर्दै अन्य मुलुकले पनि नेपालीको बारेमा नराम्रो भ्रम फैलाएका छन् ।
मंगलबारमात्र एमाले सभासद राज्यलक्ष्मी गोल्छाले सर्वोच्च अदालतमा ‘पशुबलि रोकिपाऊँ’ भन्दै मुद्दा दायर गरेकी छन् । गढीमाई मेला प्रत्येक ५–५ वर्षमा लाग्छ, जसमा ५ लाख पशुलाई बलि दिइन्छ ।

भिडियो र फोटो खिच्न प्रतिबन्ध
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गढीमाई मेलामा कुनै पनि प्रकारको भिडियो खिच्न रोक लगाउन बारा प्रशासनलाई निर्देशन दिएको सचिव श्रेष्ठले बताए । “पशुबलि दिने÷नदिने भन्ने विषयमा मन्त्रालयले केही बोल्न पाउँदैन तर त्यसको भिडियो÷फोटो प्रचारले नेपालको पर्यटन र संस्कृतिमा गम्भीर आघात पु¥याएको छ,” उनले भने ।
५ वर्षअघिको भिडियोलाई लिएर विदेशीले चासो दिएकाले यो वर्ष कुनै पनि भिडियो खिच्न प्रतिबन्ध लगाइएको श्रेष्ठले जानकारी दिए ।
 

No comments:

Post a Comment