केदार दाहाल-काठमाडौं, २७ असोज
नेपालमा पर्यटकको संख्या बढ्न नसके पनि होटल व्यवसायमा लगानी थप्ने क्रम भने बढेको छ । राजनीतिक कारणले पर्यटक आगमनदर स्थिर रहे पनि सुध्रिने अपेक्षासहित व्यवसायीले लगानी बढाएका हुन् । पर्यटन विभागका अनुसार पछिल्लो १ वर्ष अवधिमा मात्रै २ दर्जन तारे होटलले पूर्वाधार निर्माणका लागि स्वीकृति लिएका छन् । आव ०७०÷७१ को सुरुदेखि भदौसम्म (१३ महिनामा) २४ होटलले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) सम्पन्न गरी भवन निर्माण सुरु गरेका छन् । यो तथ्यांक अहिलेसम्मकै उच्च हो ।
विभागमा पर्यटकीयस्तर र तारे होटल मात्र दर्ता हुन्छन् । यसबाहेकका होटल घरेलु तथा साना उद्योग विभाग र स्थानीय प्रशासनमा दर्ता हुनुपर्छ । विभागमा दर्ता भएर निर्माण सुरु गरेका होटलको संख्या २ दर्जन भए पनि यसबाहेकका होटलको संख्या निकै बढी रहेको विभागको अनुमान छ । उसले तारे होटल निर्माणपछि मात्रै वर्गीकरण गर्छ । “कति तारे भन्नेचाहिँ निर्माण सम्पन्न भएपछि पूर्वाधारका आधारमा निर्धारण गरिन्छ,” विभागका महानिर्देशक तुलसीप्रसाद गौतमले भने ।
कानुनतः ५० कोठाभन्दा बढी क्षमतामा बनाइने होटलको ईआईए गर्नुपर्छ । नेपालमा लगानी वातावरण नभएको बताइरहँदा १ वर्षमै २४ वटा ठूला होटल निर्माण सुरु हुनुले सकारात्मक सन्देश जाने गौतमको भनाइ छ । विभागमा दर्ता भएका होटल प्रायः काठमाडौं, ललितपुर र भक्तपुर क्षेत्रमा निर्माण गर्न लागिएका छन् । शनिबारमात्रै काठमाडौंको केशरमहलमा ८ अर्ब लगानीको सेराटन काठमाडौं होटल शिलान्याश गरिएको छ ।
स्वीकृति लिनेमा रारा होटल तथा रिक्रियसन सेन्टर, होटल ग्यालेक्सी, होटल सामना, आरएम ग्रुप प्रालि होटल, एभरेस्ट हस्पिटालिटी प्रालि, होटल नीलगिरि, श्यामसिंह प्रालि, रुपाकोट रिसोर्ट प्रालि, हिमाल वाटर पार्क एन्ड भिलेज, नेपाल हस्पिटालिटी ग्रुप प्रालि, होटल भ्यु भृकुटी प्रालि, ल्यान्डमार्क फरेस्ट प्रालि, श्रीजी होटल्स प्रालि, सोल्टी सिक्किम प्रालि, ठमेल प्लाजा होटल, होटल माउन्ट मोनास्ट्री, होटल गरिमा प्रालि, सेन्चुरियन होटल प्रालि, चमेरो प्लाजा प्रालिलगायत छन् ।
विभागका अनुसार विगत वर्षहरूमा पर्यटकस्तरका होटलमा लगानी बढे पनि यो वर्ष तारे होटलमा बढेको छ । पहिले पर्यटन उद्योग महाशाखामा होटल दर्ता हुन्थे । हाल पर्यटन विभाग गठन भएपछि यसमै दर्ता हुनुपर्ने प्रावधान छ ।
होटललाई पर्यटनको महत्वपूर्ण क्षेत्र मानिन्छ । पछिल्ला ५ वर्षको तथ्यांक हेर्दा तारेमा भन्दा पनि केही रिसोर्ट तथा पर्यटक स्तरका होटलमा मात्र लगानी केन्द्रित भइरहेको थियो । होटल संघ नेपालका अनुसार यो वर्ष तारे होटल निर्माण बढ्नुले यो क्षेत्रका व्यवसायीलाई उत्साहित बनाएको छ ।
“अहिले होटलमा लगानी राम्रो भित्रिएको छ, सानादेखि ठूला होटल धमाधम निर्माण भइरहेका छन्, यो राम्रो संकेत हो,” हान महासचिव विनायक शाहले भने । उनका अनुसार पछिल्ला वर्षमा १५ करोडदेखि २५ करोडसम्म लागतका होटलमात्र खुलिरहेका थिए । तारे होटलका लागि न्यूनतम ४० करोड लगानी आवश्यक पर्छ । नेपालमा हालसम्म तारे र पर्यटक स्तरका होटलको संख्या ५ सय ६७ छ । सन् २००९ सम्ममा ४ सय ३२ वटा थिए । होटल क्षेत्रमा पछिल्लो सबैभन्दा ठूलो लगानी ह्यात रिजेन्सीको छ । त्यसपछि स्तरोन्नति गरिएका होटलमात्र छन् ।
सन् २००९ देखि २०१३ सम्म
होटल २००९ २०१३
पाँचतारे १० १०
चारतारे २ २
तप्नतारे ११ १५
दुईतारे २७ २६
एकतारे २६ २४
पर्यटकस्तर ३४८ ४८२
जम्मा ४३२ ५६७
स्रोतः पर्यटन विभाग
No comments:
Post a Comment