आर्थिक क्षेत्रका विशेष गतिविधी

Wednesday, March 11, 2015

हिमालय एयरलाइन्सलाई उडान अनुमति

 पहिलो  उडान भुटानको पारो 

केदार दाहाल
काठमाडौं, २६ फागुन- नेपाली हवाई आकाशमा अन्तर्राष्ट्रिय उडानका लागि हालसम्मकै ठूलो लगानीमा नेपाली निजी क्षेत्रको हिमालयन एयरलाइन्सले उडान सुरु गर्ने भएको छ । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्न हिमालय एयरलाइन्सले मंगलबार उडान सञ्चालन अनुमति (एओसी) पाएको छ । यससँगै कम्पनीले उडान सुरु गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालयलाई मंगलबार उडान अनुमति दिएको हो ।  हिमालयले काठमाडौंबाट भुटानको पारो उडान गर्ने अनुमति पाएको छ ।
हिमालयले यती एयरको ३० सिट क्षमताको जेटस्ट्रिम जहाज १ वर्षका लागि भाडामा लिएर उडान सञ्चालन गर्ने जनाएको छ । सुरुमा पारो उडान गर्ने र ठूलो जहाज ल्याएपछि एओसी थप गर्दै काठमाडौंबाट चीनको ल्हासा उडान गर्ने तयारी गरिरहेको पनि हिमालयले जानकारी दिएको छ ।  “हामी अब भुटानको पारो उडान सुरु गर्ने छौं,” हिमालयन एयरवेजको निर्देशक सुमन पाण्डेले भने ।
हिमालयले छिमेकी गन्तव्य भारतको वनारस, पटना, भुटानको पारोसहितका गन्तव्यमा उडान गर्न अनुमतिका लागि गत साता वनारस परीक्षण उडान गरेको थियो । प्राधिकरणले भने हाललाई पारोका लागि मात्रै उडान अनुमति दिएको छ ।
हिमालयले अन्तर्राष्ट्रिय उडानको अनुमति पाएपछि अन्य अन्तर्राष्ट्रिय गन्तव्यका लागि आवेदन गर्न सहज हुने भएको पनि पाण्डेले जानकारी दिए । एउटा अन्तर्राष्ट्रिय गन्तव्यको एओसी भएपछि  अन्य स्थानका लागि आवेदन दिन र अनुमतिको प्रक्रिया पनि सहज हुने भएकोले छोटो बाटो अपनाउने क्रममा पारोकोको अनुमति लिएको हिमालयले जानकारी दिएको छ ।
हिमालयले तिब्बतको वायुसेवासँगको सहकार्यमा पनि नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ ।  काठमाडौं ल्हासा उडानबाट आफ्नो अन्तर्राष्ट्रिय उडान सुरु गर्ने योजना भए पनि अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको नयाँ उड्डयन नियमनका कारण छिटो र सहजता तथा जहाज आएपछि तुरुन्त उडान गर्न हिमालयले पारोको अनुमति लिएको हो । एयरलाइन्सले तिब्बत एयरसँगको सहकार्यमा उडान गर्ने लागेको हो । हिमालयनले युरोपेली जहाज निर्माता कम्पनी एयरबसको ए–३२० सिरिजका २ विमानमार्फत उडान सुरु गर्नेछ । यो कम्पनीमा एचआईएफ एभियसन इन्भेस्टमेन्ट कम्पनी र यती वल्र्ड इन्भेस्टमेन्ट कम्पनीको मुख्य लगानी छ । हिमालयनमा हाल २ अर्ब ५० करोड रुपैयाँ लगानी रहेको संस्थापकहरूको दाबी छ ।

No comments:

Post a Comment