आर्थिक क्षेत्रका विशेष गतिविधी

Wednesday, March 4, 2015

‘कन्ट्रोलरको गलत सूचना’ले टर्किस जहाज दुर्घटना

मुम्बईबाट एयरक्राफ्ट रिमुभल किट ल्याइने
केदार दाहाल

काठमाडौं, २० फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल रुमले सही सूचना नदिँदा बुधबार बिहान टर्किस एयरको ए–३३० विमान दुर्घटनामा परेको छ । बिहान करिब ७ बजे विमानस्थलमा १ हजार मिटरभन्दा कम भिजिबिलिटी हँुदा पनि डाइभर्ट गर्नुको सट्टा फोर्स ल्यान्डिङ गराउनु नै दुर्घटनाको मुख्य कारण रहेको अधिकारीहरूले प्रारम्भिक अनुमान गरेका छन् । “जहाजलाई नजिकैको अर्को विमानस्थलतर्फ डाइभर्ट गराउनुपथ्र्यो तर गरिएन, यसैका कारण दुर्घटना भएको देखिन्छ,” विमानस्थल स्रोतले कारोबारसँग भन्यो ।
बिहान लगातार १ हजार मिटरभन्दा कम भिजिबिलिटी भएपछि फोर्स ल्यान्डिङ गराएर अवतरण गराउँदा विमानले धावनमार्ग छोडेको थियो । दुर्घटनामा कुनै मानवीय क्षति भने भएन । “हामीले १ हजार मिटर भिजिबिलिटी रहेको पाइएपछि फोर्स ल्यान्डिङ गराएका हौं तर प्राविधिक कमजोरीले यसमा केही कम पनि भएकोे हुन सक्छ,” नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले भने ।
विमानस्थल कार्यालयले १ हजारभन्दा बढी भिजिबिलिटी रहेको भन्दै अवतरण गर्न पाइलटलाई अनुमति दिएको पाइएको छ । तर, भिजिबिलिटी कम हुँदाहुँदै डाइभर्ट गर्नुको सट्टा किन अवतरण गराइयो भन्ने कारोबारको प्रश्नमा महानिर्देशक सुमनले ‘प्राविधिक कमजोरी भएको हुन सक्ने’ प्रतिक्रिया दिए ।
टर्किस एयरको उक्त जहाजमा कम भिजिबिलिटीमा पनि उडान÷अवतरण गर्न सकिने प्रणाली छ । यसअनुसार १,१०० मिटर भिजिबिलिटिमा पनि सजिलै उडान÷अवतरण गर्न सकिन्छ । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको त्यतिबेलाको भिजिबिलिटी १ हजार मिटर रहेको भन्दै ल्यान्डिङ गर्न ट्राफिक कन्ट्रोलरले अनुमति दिएको थियो । विमानस्थल स्रोतका अनुसार भिजिबिलिटी कम हुदाँहुदै अवतरण गराइएको थियो ।
“अवतरणको पहिलो प्रयासमा जहाज निकै तल आइसकेको थियो, विमानस्थलको दक्षिणी क्षेत्र प्रष्ट देखिन्थ्यो । तर, विमानले उचाइ लिएपछि करिब ४५ मिनेट आकाशमै घुम्यो र लगत्तै अवतरण प्रयास गरिएको थियो,” जहाजका यात्रु दिकेश मल्होत्राले भने, “ल्यान्ड गर्दा तल एकदमै हुस्सु र कुहिरो देखियो, भिजिबिलिटी झन्डै–झन्डै जिरोजस्तो देखिएको थियो ।” उनका अनुसार भिजिबिलिटी कम भएपछि विमानले आकाशमै ७ राउन्ड लगाएका थिए ।
भिजिबिलिटी कम देखिएपछि अवतरण नगरी जहाजलाई ‘ओभर सुट’ गर्नु पर्नेमा पाइलटले पनि लापरबाही गरेको दाबी विमानस्थल अधिकारीहरूको छ । “भिजिबिलिटी पाइलटले पनि देख्न सक्छन्, उनले पनि निर्णय गर्नुपथ्र्यो,” एक अधिकारीले भने ।
ए–३३० विमानको फ्लाइट टीके ७२६ नम्बरको जहाजमा १ नवजात शिशुसहित २२३ यात्रु र ११ चालक दल सदस्य थिए । उनीहरूमध्ये १ यात्रु मात्रै सामान्य घाइते भएका छन् ।
टर्कीको इस्तान्बुलबाट काठमाडौंका लागि उडेको यो जहाज ६ः५५ मा अवतरण हुने तालिका थियो । इस्तान्बुलबाट काठमाडौंसम्म झन्डै ६ घण्टाको उडान हुन्छ ।
मुम्बईबाट एयरक्राफ्ट रिमुभल किट ल्याइने
धावनमार्गमा फसेको जहाज निकाल्न भारतको मुम्बईबाट एयरफोर्स विमानमार्फत बिहीबार बिहान एयरक्राफ्ट रिमुभल किट ल्याइने भएको छ । बिहान ८ बजे किट लिएर उक्त जहाज नेपाल आउनेछ । किटको सहायताले धावनमार्गबाट जहाज हटाएपछि मात्र उडान÷अवतरण गराइने महानिर्देशक सुमनले जानकारी दिए । विमानस्थल कार्यालयले बिहीबार ४ बजेसम्मका लागि सबै उडान÷अवतरण बन्द गराइसकेको छ ।
छानबिन समिति गठन
सरकारले दुर्घटनाबारे छानबिन गर्न पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको अध्यक्षतामा ४ सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिमा वरिष्ठ पाइलट बीएम अमात्य, नेपाल वायुसेवा निगमका इन्जिनियर चूणामणि बस्याल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । टर्किस एयरलाइन्सले पनि प्रविधिक छानबिन गर्ने भएको छ ।
२५ हजार यात्रु प्रभावित
टर्किस एयरको जहाज दुर्घटनाका कारण उडान÷अवतरण बन्द भएपछि बुधबार र बिहीबार २५ हजारभन्दा बढी यात्रु प्रभावित हुने भएका छन् । विमानस्थलबाट दैनिक ३५ अन्तर्राष्ट्रिय उडान हुने गरेका छन् भने सोही संख्यामा विमान अवतरण हुन्छन् । यो विमानस्थलबाट दैनिक १२ हजार यात्रु आवतजावत गर्छन् । आन्तरिकतर्फ दैनिक १५० वटा उडान र सोही संख्यामा अवतरण हुन्छन्, जसमा ४ हजार यात्रु आवतजावत गर्छन् । आन्तरिकतर्फको उडान भने बुधबार दिउँसोबाटै सञ्चालन गरिएको छ । अलपत्र यात्रुलाई विभिन्न विमान कम्पनीले राजधानीका होटलमा राखेका छन् ।
वैकल्पिक विमानस्थलको खाँचो
मुलुकमा एकमात्र विमानस्थल हुँदा कस्तोसम्म पीडा बेहोर्नुपर्छ भन्ने बुधबारको घटनाले उजागर गरेको छ । दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल नहुँदा एक त टर्किस एयरको जहाजलाई तत्काल अर्को विमानस्थलमा अवतरण गराउन सकिएन भने अर्कातर्फ हजारौं यात्रु अलपत्र परेका छन् । नेपालको अन्तर्राष्ट्रिय ‘कनेक्सन’ नै टुटेको जानकारहरू बताउँछन् । बुधबारै फर्कनुपर्ने कतिपय यात्रु विचल्लीमा परेका छन् भने यसले मुलुकको पर्यटन क्षेत्रमा पनि नकारात्मक असर पार्नेछ । टर्किस एयर युरोपबाट काठमाडौं सीधा उडान गर्ने एकमात्र विमान कम्पनी हो ।

No comments:

Post a Comment