आर्थिक क्षेत्रका विशेष गतिविधी

Monday, March 23, 2015

निजगढ विमानस्थल नबने होटलको ४३ अर्ब जोखिममा


केदार दाहाल
काठमाडौं, ८ चैत – राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल छिट्टै निर्माण नभए होटल क्षेत्रमा भित्रिएको अर्बौं लगानी जोखिमा पर्ने देखिएको छ । विमानस्थललाई लक्षित गरी होटल क्षेत्रमा मात्रै ४३ अर्ब ५० करोड रुपैयाँभन्दा बढी लगानी हुँदैछ ।
सबैजसो नयाँ पाँचतारे होटलमा स्वदेशी बैंकहरूले नै लगानी गरेका छन् । यी होटल निर्माण भई सञ्चालनमा आउँदा औसत ७५ प्रतिशत अकुपेन्सी कायम हुन वार्षिक २० लाख पर्यटक नेपाल भित्रिनुपर्छ । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र यति पर्यटक भित्रिन असम्भव रहेकाले निजगढ विमानस्थलसँग मुलुकको पर्यटन क्षेत्रमात्र नभई बैंकिङ क्षेत्रकै भविष्य जोडिएको व्यवसायी बताउँछन् ।
सरकारले पनि १० वर्षे रणनीतिक योजनामा सन् २०२० भित्र निजी क्षेत्रबाट २० वटा पाँचतारे होटल खोल्ने लक्ष्य राखेको छ । नेपालमा हाल १० वटामात्र पाँचतारे होटल छन् । घोषणा गरिएअनुसार व्यापारिक समूहका होटल निर्माण भए आगामी ५ वर्षभित्र पाँचतारे होटलको संख्या २२ भन्दा बढी हुनेछ, जुन लक्ष्यभन्दा बढी हो ।
त्रिभुवन विमानस्थलले २० लाख पर्यटक धान्न नसक्ने भएकोले तत्काल निजगमा निर्माण थाल्नुपर्ने व्यवसायी बताउँछन् । “हालको विमानस्थलले २० लाख पर्यटक धान्न सक्दैन तर यति संख्यामा पर्यटक नभित्रिए होटलमा भइरहेको लगानी डुब्ने निश्चित छ,” होटल व्यवसायी योगेन्द्र शाक्य भन्छन्, “सरकारी संयन्त्रको बुझाइ २–४ व्यवसायीमात्र डुब्छन् भन्ने होला तर यसमा धेरै बैंकको लगानी पनि जोडिएको छ, त्यसैले तत्काल विकल्प खोज्नुपर्छ ।”
तारे होटलहरूमा आउने पर्यटकले हवाई मार्ग प्रयोग गर्ने भएकाले पनि विमानस्थल निर्माण अत्यावश्यक रहेको उनी बताउँछन् । “निजगढमा निर्माण हुने विमानस्थले वार्षिक ६ करोड यात्रुलाई सेवा दिन सक्ने भएकोले पनि उसको कुनै विकल्प छैन,” उनले भने ।
नागरिक उड्डयन प्राधिकरणले समेत त्रिभुवन विमानस्थल स्तरोन्नति २०२३ पछि असम्भव रहेकोले गुरुयोजनाअनुसार योजनालाई निरन्तरता दिन नसकिने बताएको छ । त्रिभुवनको अल्पकालीन विकल्प भैरहवा तथा पूर्ण क्षमताको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नै भएकोमा उसको जोड छ । हाल त्रिभुवनले आन्तरिक र बाह्य गरी ४८ लाख यात्रुको भार बेहोर्दै आएको छ, जुन उसको क्षमताभन्दा बढी हो ।
सरकारले हाल ७ अर्ब रुपैयाँ खर्चेर भैरहवामा गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण थालेको छ । पोखरामा पनि यसै वर्षदेखि २१ अर्ब रुपैयाँ खर्चिएर यस्तै प्रकृतिको विमानस्थल निर्माण सुुरु हुँदैछ । यी क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले पनि समस्या समाधान नहुने प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)का अन्तर्राष्ट्रिय सचिव तथा कोषाध्यक्ष बसन्त मिश्रको तर्क छ । भन्छन्, “हामीलाई कुनै पनि हालतमा अब दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भइसकेको छ ।” नेपालमा सबै पूर्वाधार निर्माणपछि पनि ५० लाख पर्यटक नभित्रिए आर्थिक मन्दी आउने उनको भनाइ छ ।
नेपाल भम्रण वर्ष १९९८ मै होटलले १० लाख पर्यटक धान्न सक्ने पूर्वाधार तयार गरेका थिए । सन् २००३÷०४ मा केही चारतारे होटल बन्द भएपछि समस्या आए पनि अहिले १२ देखि १५ लाख पर्यटक धान्न सक्ने पूर्वाधार छन् । नेपालमा अहिले १० वटा पाँचतारे, २ वटा चारतारे, २२ वटा तीनतारेसहित दुईतारे, एकतारे, रिसोर्ट, पर्यटकस्तरका र ताराविहीन गरी १२ सय होटल सञ्चालनमा छन् । यी होटलमा करिब ४० हजार बेड छन् ।
नेपालमा हवाई मार्ग हुँदै आउने पर्यटक संख्या भने घट्दो क्रममा छ । सन् २०१४ मा ५ लाख ८५ हजार ९८१ पर्यटकमात्र नेपाल भित्रिएका छन् । यो २०१३ भन्दा १८६१ ले कम हो ।
कहाँ–कहाँ नयाँ पाँचतारे
गैरआवासीय नेपाली संघ (एनआएन)का अध्यक्ष शेष घले, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष सुरज वैद्य, छायादेवी सेन्टर, सुमार्गी ग्रुप, एमएस ग्रुप, सिल्भर हेरिटेज र प्राधिकरणले काठमाडौंमा होटल बनाउने घोषणा गरेका छन् । “अहिले होटलमा लगानी आउने क्रम तीव्र छ,” होटल संघ नेपालका महासचिव विनायक शाह भन्छन्, “लगानी जोखिम हो तर पनि सरकारले त्रिभुवन विमानस्थललाई चौबीसै घण्टा खुला गरे धेरै समस्या समाधान हुन्छन् ।”
गैरआवासीय नेपाली, मोतीलाल दुगड अध्यक्ष रहेको द सेन्चुरियन ग्रुप र सिल्भर हेरिटेजले पनि उपत्यकाबाहिर पाँचतारे होटल निर्माण तयारी गरिरहेका छन् । समिट होटल ग्रुपले ठमेल र कुपन्डोलका होटल स्तरोन्नतिको तयारी गरेको छ । यसमा ६ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने उसको लक्ष्य छ ।
केही मुख्य होटल
होटल     कोठा    लगानी
काठमाडौं शेराटन    २१८        ८ अर्ब
काठमाडौं अलफ्ट    २२०     ३ अर्ब
सुमार्गी ग्रुप    २२०    ५ अर्ब
एनआरएन    २००     ४ अर्ब
एमएस ग्रुप    २३५    २.५० अर्ब
होटल समिट    उपलव्धछैन    ६ अर्ब
वैद्यज् अर्गनाइजेसन    १७०    १ अर्ब
नागरिक उड्डयन प्राधिकरण    २००     २ अर्ब
द सेन्चुरियन ग्रुप    १२०     १ अर्ब
एमएस ग्रुप (भक्तपुर)    उपलब्ध छैन    २ अर्ब
सिल्भर हेरिटेज भैरहवा, काँकडभिट्टा र काठमाडौं        उपलब्ध छैन    ९ अर्ब

No comments:

Post a Comment