आर्थिक क्षेत्रका विशेष गतिविधी

Thursday, March 12, 2015

पर्यटन वर्षपछि पर्यटक आगमन स्थिर


पर्यटन वर्षपछि पर्यटक आगमन स्थिर
केदार दाहाल
काठमाडौं, २७ फागुन – नेपालले पर्यटन वर्ष २०११ पछि कुनै प्रवद्र्धनात्मक काम गर्न नसक्दा विगत ४ वर्षदेखि मुलुकमा पर्यटक आगमन दर स्थिर छ । पछिल्ला ४ वर्षमा हवाई मार्गबाट नेपाल भित्रिने पर्यटकको संख्या पौने ६ लाख हाराहारीमा छ । पर्यटन वर्षको प्रचारप्रसारले सन् २०११ मै ५ लाख नाघेको पर्यटक संख्या २०१४ सम्म पनि ६ लाख पुग्न सकेको छैन ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको कमजोर उपस्थिति र पर्यटन प्रवद्र्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्ड नेतृत्वविहीन हुँदा मुलुकले यो अवधिमा पर्यटक आकर्षित गर्न नसकेको जानकारहरु बताउँछन् ।
हवाई मार्ग हँुदै नेपाल आउने पर्यटक संख्या सन् २०१४ मा ०.३ प्रतिशतले घटेको छ । ३ महिना ढिलोगरी पर्यटन बोर्डले दिएको तथ्यांकअनुसार २०१४ जम्मा ५ लाख ८५ हजार ९८१ पर्यटक नेपाल आएका छन् । यो २०१३ भन्दा १,८६१ ले कम हो ।
२०११ मा नेपालले पर्यटन वर्ष मनाउँदा आगमन दर २१.४ प्रतिशतले बढेयता हालसम्म कुनै वर्ष त्यति वृद्धि देखिएको छैन । २०१२ मा ९.८ प्रतिशतले बढेको पर्यटक आगमनदर २ वर्षयता लगातार घटिरहेको छ ।
होटल संघ नेपालका कार्यकारी निर्देशक प्रवेश अर्याल मुलुकको आन्तरिक र बाह्य दुवै कारणले पर्यटक आगमन बढ्न नसकेको बताउँछन् । “आन्तरिक कारणमा हाम्रा पर्यटनसम्बद्ध निकायको भूमिका कमजोर रह्यो भने बाह्य कारणमा कतिपय स्रोत मुलुक आर्थिक रूपमा संकटग्रस्त रहे,” उनी भन्छन्, “यस्तो बेलामा हामीले वैकल्पिक स्रोत मुलुक खोज्नुपथ्र्यो तर आफ्नै संरचनाका कारण सम्भव भएन ।”  मुलुकको पर्यटन निजी क्षेत्रको प्रयासमा मात्र धानिएको र सरकारको थोरै मात्र प्रयासले पनि फड्को मार्न सक्ने उनी बताउँछन् ।
व्यवसायीहरु पर्यटन वर्षको प्रभाव सकिएकाले दिगो वृद्धिको आधार खोज्नुपर्ने धारणा राख्छन् । “पर्यटन वर्ष मनाउँदा सबैको उत्साह र राजनीतिक दलहरुमा पनि प्रतिबद्धता देखिएकाले केही पर्यटक बढाउन सकिए पनि त्यसपछिका दिनमा मार्केटिङ हुन छाडेको छ,” नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का पूर्वमहासचिव अच्युत गुरागाईंले भने, “पर्यटन बोर्ड स्थापनाको मूल मर्मभन्दा बाहिर गएको छ, सचिव र मन्त्रीहरु घुम्न व्यस्त छन्, यसरी हामीले पर्यटक आगमनदर बढाउनै सक्दैनौं ।”
२०११ मा ५ लाख ४४ हजार ९८५ पर्यटक हवाई मार्ग हुँदै नेपाल भित्रिएका थिए, जुन २०१० भन्दा २१.४ प्रतिशतले बढी हो । २०१२ मा ५ लाख ९८ हजार २०४ पर्यटक आएकामा २०१३ मा १.७ प्रतिशतले घट्दै यो संख्या ५ लाख ८७ हजार ८४२ मा खुम्चिएको छ ।
२०१४ को सुरुवातका महिना माघ, फागुन, चैत, वैशाख र जेठमा पर्यटक बढे पनि बाँकी समयमा घटेको छ । एसियामा पाकिस्तान, चीन, जापानबाट आउने पर्यटकको संख्या सिजनमा बढेको र वर्षामा घटेको छ ।
२०१४ जनवरीमा ६१ हजार ४६४ पर्यटक हवाई मार्ग हुँदै नेपाल भित्रिएका छन् । फेब्रुअरीमा ५० हजार ४१४, मार्चमा ५५ हजार ८०९, अप्रिलमा ६८ हजार ८१, मेमा ५१ हजार १०५, जुनमा ४१ हजार १३७, जुलाईमा ३५ हजार ९९७ पर्यटक आएका छन् ।
त्यस्तै, अगस्टमा ४० हजार ४२, सेप्टेम्बरमा ३७ हजार ६६०, अक्टुबरमा ५७ हजार ३८५, नोभेम्बरमा ४७ हजार ७१२ र डिसेम्बरमा ३९ हजार २८२ पर्यटक हवाई मार्ग हुँदै नेपाल भित्रिएका छन् ।
२०१० देखि २०१४ सम्मको आगमन दर
वर्ष (सन्)    पर्यटक संख्या     वृद्धिदर
२०१०    ४८८७६९    —
२०११     ५४४९८५    २१.५%
२०१२    ५९८२०४    ९.८%
२०१३     ५८७८४२    –१.७५%
२०१४     ५८५९८१    –०.३%

No comments:

Post a Comment