आर्थिक क्षेत्रका विशेष गतिविधी

Wednesday, March 18, 2015

निगम व्यवस्थापन लुफ्थान्सालाई दिन पर्यटन र अर्थ सकारात्मक


केदार दाहाल
काठमाडौं, ३ चैत- नेपाल वायुसेवा निगमको व्यवस्थापन जर्मनीको लुफ्थान्सा कन्सल्टिङलाई दिन सञ्चालक समिति, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयसम्म सकारात्मक देखिएका छन् । निगमले नयाँ जहाज भिœयाएसँगै चुनौती थपिएको भन्दै विभागीय मन्त्रालय विदेशी कम्पनीलाई व्यवस्थापन सुम्पने पक्षमा छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले माघ ७ गते लुफ्थान्सा कन्सल्टिङलाई पत्र लेखी प्रस्ताव मागेको थियो । माघ ११ गते नै लुफ्थान्साले मन्त्री दीपकचन्द्र अमात्यलाई व्यवस्थापन चलाउन आफू इच्छुक रहेको आसयसहित ८१ पृष्ठ लामो प्रस्ताव पठाएको थियो ।
लुफ्थान्साको प्रस्तावप्रति प्रारम्भिक चरणमै पर्यटन मन्त्रालयसहित अर्थ मन्त्रालय पनि सकारात्मक देखिएको छ । अर्थमन्त्री डा. रामशरण महतले यसमा सकारात्मक प्रतिक्रिया दिएका छन् । सोमबार संसद्को विकास समितिमा उनले ‘नयाँ प्रविधि आएपछि त्यसलाई पछ्याउन नसक्ने भए कुनै पनि संस्था डुब्ने हुँदा निगममा विदेशी रणनीतिक साझेदार आवश्यक रहेको’ बताए ।
“अहिलेको एयरबस नयाँ प्रविधिको छ तर हाम्रो निगमको व्यवस्थापन पुरानै पाराले चलिरहेको छ,” उनले भने, “यसको व्यवस्थापन सुधार्ने लुफ्थान्साको प्रस्ताव सकारात्मक छ ।”
अर्थ नै सकारात्मक भएपछि पर्यटनमन्त्री दीपकचन्द्र अमात्य लुफ्थान्साको पक्षमा निर्णय गराउन लागिपरेका छन् । छिट्टै लुफ्थान्साको टोलीलाई नेपाल बोलाएर वार्ता गर्ने तयारीसमेत भइरहेको छ ।
निगम सञ्चालक समितिले पर्यटन मन्त्रालयलाई आफ्नो राय दिँदै लुफ्थान्साको प्रस्ताव अगाडि बढाउन बाटो खोलिदिएको छ । मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै समितिसँग लुफ्थान्साले गरेको प्रस्तावमा राय मागेको थियो । समितिले ४ दिनअघि मात्र मन्त्रालयलाई राय पठाएको छ ।
यसअघि सन् १९७० मा एयर फ्रान्सले निगमको सम्पूर्ण व्यवस्थापन सम्हालेर २ वर्षपछि छाडेको थियो । अहिले निगम मासिक ३० लाख रुपैयाँ घाटामा छ ।
के छ लुफ्थान्साको प्रस्तावमा ?
कारोबारलाई प्राप्त प्रस्तावमा लुफ्थान्सा कन्सल्टिङले ३ चरण (सञ्चालन, बजारीकरण र इन्जिनियरिङ)मा निगमको व्यवस्थापन हेर्ने उल्लेख गरेको छ । यी कामका लागि ४ वर्षसम्म लाग्ने उसको अनुमान छ । पहिलो २ वर्षभित्र ४ वटा न्यारो बडी जहाज थप्ने उसको प्रस्ताव छ । ४ वर्षपछि समीक्षा गरेर नेपाल सरकारसँग थप सम्झौता गरी १२ वर्षसम्म व्यवस्थापन सम्हाल्न सक्ने गरी उसले प्रस्ताव गरेको छ । पहिलो चरणको काम गर्न निगमले २ लाख ९५ हजार युरो र परामर्श शुल्क निगमको कुल आम्दानीको २ प्रतिशत दिनुपर्ने प्रस्तावमा छ ।
व्यावसायिक योजना २०२० बनाएर काम गर्ने र निगमको योजनालाई समेत कार्यान्वयन गराउने लुफ्थान्साको प्रस्तावमा छ । निगमले १० वर्षे व्यावसायिक कार्ययोजना बनाएर सन् २०२४ सम्ममा २४ वटा जहाजमार्फत व्यावसायिक उडान गर्ने लक्ष्य राखेको छ ।
दोस्रो चरणको ‘ए’ मा अन्तरिम व्यवस्थापनको योजना छ । यसअन्तर्गत लुफ्थान्साले आयोजना निर्देशक राख्नेछ भने प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुुख कार्यकारी अधिकृत र आर्थिक व्यवस्थापन प्रमुखसमेत तोक्नेछ । हस्ताक्षर गराउने काम भने निगम कर्मचारीकै अधिकारी हुनेछन् ।
दोस्रो चरणको ‘बी’ चरणमा निगमको पुनर्संरचना गरिनेछ । पुनर्संरचना कस्तो हुने भन्नेमा भने प्रस्ताव मौन छ । उसले तेस्रो चरणमा स्थानीय व्यवस्थापन गराउने बताएको छ । यसअन्तर्गत व्यावसायिक योजना २०२० अनुसार अन्तर्राष्ट्रिय एयरलाइन्सहरूसँग सम्बन्ध विस्तार गरिनेछ ।
जर्मनीको राष्ट्रिय ध्वजावाहक लुफ्थान्सा एयरलाइन्सको यो सहायक कम्पनीले विश्वका दर्जनभन्दा बढी एयरलाइन्समा काम गरिरहेको छ ।

No comments:

Post a Comment