आर्थिक क्षेत्रका विशेष गतिविधी

Tuesday, January 6, 2015

वार्षिक ६ लाख भारतीय भित्रिने अनुमान भारतको बिदा पर्यटन सूचीमा नेपाल

वार्षिक ६ लाख भारतीय भित्रिने अनुमान
केदार दाहाल
काठमाडौं, २१ पुस- भारत सरकारले बिदा पर्यटनको सूचीमा पहिलोपटक नेपालसहितका छिमेकी मुलुकलाई पनि समावेश गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ६ महिनामा २ पटक नेपाल भ्रमण गरेपछि आमभारतीयको नेपालप्रति आकर्षण बढिरहेका बेला भारतले कर्मचारीलाई नेपाल भ्रमण गर्न उत्प्रेरित गरेको हो  । 
हाल करिब २ लाख भारतीय पर्यटक नेपाल भ्रमणमा आउँछन् । भारतमा ६४ लाख सरकारी कर्मचारी छन्, तीमध्ये बिदा पर्यटन अर्थात् लिभ ट्राभल कन्सेसन (एलटीसी) जारी गरेपछि २० लाख भारतीय कर्मचारीले बिदा पर्यटनको अनुमति पाउनेछन् । एलटीसी जारीपछि नेपालमा मात्र ६ लाखभन्दा बढी कर्मचारी आउनसक्ने प्रक्षेपण नेपाल पर्यटन बोर्डले गरिसकेको छ ।
भारत सरकारले आफ्ना कर्मचारीलाई दिँदै आएको एलटीसीलाई परिमार्जन गर्दै छिमेकी मुलुकमा समेत घुम्न जानसक्ने व्यवस्था गरेसँगै नेपाल पनि गन्तव्य सूचीमा परेको हो । यसअघि, भारतले कर्मचारीलाई स्वदेशमा मात्र यस्तो सुविधा दिँदै आएको थियो ।
भारतीय पर्यटन मन्त्रालय स्रोतलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार भारतले बिदा पर्यटनका लागि नेपाललगायत भुटान, माल्दिभ्स र श्रीलंकलाई छनोट गरेको छ । प्रधानमन्त्री मोदीले सार्क सम्मेलनबाट फर्किएपछि एलटीसी परिमार्जनको प्रक्रिया सुरु गरेका थिए ।
नेपालले पहिलेदेखि नै यो सूचीमा नेपाललाई राख्न भारत सरकारसँग प्रस्ताव गर्दै आएको थियो । भारत सरकारले बिदा पर्यटनमा घुम्ने कर्मचारीलाई ७५ प्रतिशतसम्म खर्च बेहोर्ने गरेको छ ।
मोदी आएर फर्किंदैमा पनि धेरै भारतीय पर्यटक आउने क्रम बढिरहेका बेला एलटीसी जारी हुँदा ठूलो प्रभाव पर्ने होटल एसोसिएसन नेपाल (हान) का महासचिव विनायक शाहले बताए । “बिदा पर्यटन नेपाल पनि मनाउन पाउने भएपछि नेपालमा भारतीय पर्यटकको आगमन उच्चदरमा बढ्नेछ,” उनले भने ।
सन् २०१३ मा मात्र १ लाख ८० हजार ९ सय ७४ र २०१२ मा १ लाख ६५ हजार ८ सय १५ भारतीय पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपाल भ्रमणमा आउने भारतीयले चिनियाँले भन्दा बढी खर्च गर्ने भएकाले पनि नेपाली पर्यटनमा ठूलो योगदान पुग्ने विश्वास लिइएको छ ।
एलटीसी संशोधन गरेर बिदा पर्यटनका लागि ३ मुलुक छनोट भइसकेको र कार्यान्वयनमा आएपछि २० लाख सरकारी कर्मचारीले भ्रमण अनुमति पाउनेछन् । यसले कर्मचारीमात्र नभई कर्मचारीका परिवारलाई पनि भ्रमणका लागि प्रोत्साहन गर्नेछ । “भ्रमण एकोहोरोमात्रै हुन नदिन हामी प्रयासरत छौं,” भारतीय पर्यटन मन्त्रालयल स्रोतलाई उद्धृत् गर्दै टाइम्स अफ इन्डियाले आफ्नो अनलाइन संस्करणमा लेखेको छ ।
एलटीसी जारी भएपछि छिमेकी मुलुकमा भारतीय पर्यटको चाप बढ्ने समाचारमा जनाइएको छ । पहिलो चरणमा एलटीसी मोडेल नर्थ–इस्ट इन्डिया र जम्मु–कास्मिर लक्षित हुनेछ । नर्थ–इस्ट इन्डियाअन्तर्गत अरुनान्चल, आसाम, मनिपुर, मेघालय, मिजोराम, नागाल्यान्ड, त्रिपुरा र सिक्किमलगायतका क्षेत्र पर्छन् ।
मोदीले सार्क सम्मेलनको अवसरमा अन्तरआबद्धतालाई जोड दिएका थिए । आफ्नै छिमेकमा कुराकानी गर्न र भ्रमण गर्न बाँकी विश्वको भ्रमणभन्दा मुस्किल रहेको उनले बताएका थिए । उनले नेपाल–भारत यातायातको औपचारिक उद्घाटनसमेत गरेका थिए ।
यो क्षेत्रमा धेरै बुद्ध धर्मावलम्बी रहेकाले नेपालको कपिलवस्तु र लुम्बिनी क्षेत्रको प्रवद्र्धन हुने विश्वास गरिएको छ । यसले बुद्ध सर्किटदेखि शिव सर्किटसम्मको विकासमा पनि सहयोग पुग्ने जनाइएको छ ।
भारत भ्रमण गर्न नेपाल, भुटान, माल्दिभ्स र श्रीलंकाबाट ठूलो मात्रामा जाने गरेका छन् । भारत भ्रमण गर्ने पर्यटकमध्ये श्रीलंकाली सबैभन्दा बढी छन् । यही समयमा माल्दिभ्सबाट भारत भ्रमण गर्न आउने पर्यटकको संख्या १० प्रतिशतले घटेको छ । यस्तै, नेपालबाट भारत भ्रमण गर्ने पर्यटक ९ प्रतिशतले घटेका छन् । भुटानबाट करिब १५ हजारले मात्रै भारत भ्रमण गरेका थिए ।
 

No comments:

Post a Comment