काठमाडौं, १५ पुस- नेपाल सरकारले ओमानसँग सातामा २१ उडान गर्ने गरी हवाई सेवा सम्झौता पुनरावलोकन गरेको छ । सोमबार ओमानको राजधानी मस्कटमा भएको नेपाल ओमान हवाई सेवा सम्झौता पुनरावलोकनपश्चात् साताको ७ उडानबाट २१ पु¥याएको जानकारी पर्यटन मन्त्रालयले दिएको छ ।
मन्त्रालयका अनुसार तत्काल लागू हुने गरी भएको यो सम्झौताले ओमानबाट आउने वायुसेवाको उडान संख्या बढ्ने भएको छ । हाल ओमानको राष्ट्रिय ध्वजावाहक ओमान एयरले दैनिक १ उडानलाई बढाएर अब ३ वटा बनाउने भएको छ । यो उडान सख्ंया सन् २०१६ मा दैनिक १ थप गरेर सातामा २८ वटा गर्ने गरी सम्झौता पुनरावलोकन भएको ओमानको सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव सुरेशमान श्रेष्ठ र ओमान नागरिक उड्डयनका निमित्त महानिर्देशक अनवार विन अब्दुल्लाह अल रइसीले द्विपक्षीय सम्झौतापत्रमा सोमाबार हस्ताक्षर गरेका छन् । सम्झौतामा दुवै मुलुकले चाहेअनुसार कार्गो उडान गर्न पाउने उल्लेख छ ।
सम्झौताअनुसार नेपाल र ओमानको राष्ट्रिय ध्वाजावाहकले एक अर्काको यात्रु बोक्न सक्ने (कोड सेयरिङ) को व्यवस्था गरेको छ ।सीधा उडान नभएको अवस्थामा पनि यात्रु लान ल्याउन सकिने व्यवस्थाका लागि यो सम्झौता गर्ने गरिएको मन्त्रालयको भनाइ छ । मन्त्रालयले यसअघि चीन, संयुक्त अरब इमिरेट्सँग र भुटानसँग गरेको हवाई सेवा सम्झौता पुनरावलोकनमा पनि कोड सेरिङ थप भएका छन् ।
गत शुक्रबार मन्त्रिपरिषद् बैठकले ओमानसँग एएसए पुनरावलोकन गर्न पर्यटन मन्त्रालयलाई अनुमति दिएपछि ओमानसँग यो सम्झौता भएको हो । ओमानले काठमाडौंको उडान बढाउन खोजेकाले पनि हवाई सेवा सम्झौता पुनरावलोकन भएको हो । नेपाल र ओमानबीच सन् १९९७ को डिसेम्बर २ मा हवाई सेवा सम्झौता भएको थियो । यो सम्झौताअनुसार ओमानले मस्कटबाट सातामा १४ सय र वार्षिक ७२ हजार ८ सय यात्रु बोक्न पाउने गरी सम्झौता भएको थियो ।
नेपालबाट भने कुनै पनि वायुसेवाले ओमानमा उडान नगर्ने भए पनि उडान गर्न चाहेको कुनै पनि समयमा यो सम्झौता उपयोगी हुन्छ । ओमानले जति सेवा र सुविधा पाउँछ, नेपालबाट उडान गर्ने वायुसेवाले पनि उति नै सुुविधा पाउने पर्यटन मन्त्रालयले जानकारी दिएको छ । नेपालसँग ३६ देशले हवाई सेवा सम्झौता गरिसकेका छन् ।
No comments:
Post a Comment