आर्थिक क्षेत्रका विशेष गतिविधी

Tuesday, January 13, 2015

सस्तो कारमा फोकस


सस्तो कारमा फोकस
शिव बोहरा
काठमाडौं २८ पुस । मानिसका इच्छा र आकांक्षा जुन स्तरमा आफू छ त्योभन्दा माथि नै हुने गरेको छ । साइकल चढिरहेका मानिसको इच्छा मोटरसाइकल चढ्ने र मोटसाइकल चढिरहेकाको सामान्य नै भए पनि कार चढ्ने अनि त्यस्ता कार चढेकाको महँगा र विलासी चढ्ने इच्छा जाग्नु स्वाभाविक पनि हो । तर, यसका लागि मानिसको आम्दानीसमेत वृद्धि हुन आवश्यक छ । हाम्रो देशमा कार चढ्नेको जमात ह्वात्तै बढेको छ ।
४ वर्षअघि टाटाले सबैभन्दा सस्तो कार ‘नानो’ नेपाल भित्र्याएसँगै हरेक गाडी आयातकर्ताले सस्तो कार ‘इन्ट्री लेभर’ ल्याएका छन् । कार चढ्ने रहर सडक सञ्जालले छोएको सबै ठाउँमा बस्ने मानिसमा हुनु स्वाभाविक हो । तर, कार चढ्ने आयस्तर भएका सीमित मानिसको मात्र उक्त रहर पूरा हुन्छ । नेपालमा सस्तो ‘इन्ट्री लेभल कार’ चढ्नेको संख्या बढ्दै गइरहेको व्यवसायी बताउँछन् । नेपाली बजारमा १५–१६ लाखदेखि २२–२५ लाख रुपैयाँसम्मका कारलाई ‘इन्ट्री लेभल’ कारका रूपमा लिइन्छ ।
केही वर्षअघिसम्म कारलाई पूर्ण विलासी साधन र उच्च घरानियाँले चढ्ने साधनका रूपमा लिइन्थ्यो । तथापि, अहिले पनि हाम्रो समाजले यो सवारी साधनलाई विलासिताकै साधनका रूपमा हेर्ने गर्छ । यसको मुख्य कारण चारपांग्रे सवारी महँगो हुँदा सामान्य आयस्तर भएकाहरूको पहुँचमा नपुग्नु ।
यद्यपि, नेपालमा कार चढ्ने उपभोक्ताको संख्यामा वार्षिक रूपमा उल्लेख्य वृद्धि हुँदै गएको यातायात व्यवस्था विभागमा दर्ता भएका सवारीको संख्याले समेत पुष्टि गर्छ । बागमती अञ्चलमा मात्र आर्थिक वर्ष ०७०÷७१ मा ८ हजार ३ सय ९७ कार, जिप र भ्यान दर्ता भएको देखिन्छ । यो संख्या अघिल्लो वर्षको तुलनामा २४.५६ प्रतिशतले धेरै हो ।
आव ०६९\७० मा बागमतीमा ६ हजार ३ सय ३४ कार, जिप, भ्यान दर्ता भएको यातायात व्यवस्था विभागको तथ्यांकले देखाउँछ । सुरुदेखि आव २०७०÷७१ सम्म देशभर दर्ता भएका कार, जिप, भ्यानको संख्या १ लाख ५० हजार १ सय ७ छ । चालू आवको पहिलो चौमासमा बागमती अञ्चलमा ३ हजार ५ सय ७१ र देशभर ४ हजार ४ सय ६० कार, जिप, भ्यान दर्ता भएका छन् । नेपाली बजारमा कार विक्रेता अधिकांश ब्रान्डका ‘इन्ट्री लेभल’का कार छन् ।
हुन्डाईको इनोदेखि ग्रान्ड आई१० सम्म, मारुती सुजुकीको अल्टोदेखि एस्टारसम्म, होन्डाको अमेज सिरिज, फोर्डको फिगो सिरिज, टाटाको इन्डिकादेखि इन्डिगो, फियाट पुन्टो १.२ पेट्रोल एक्टिभलगायत छन् । यी कारको नेपाली बजार मूल्य १४ देखि २५ लाख रुपैयाँसम्म छ । अन्य कम्पनीका पनि यो सेगमेन्टका कार नेपाली बजारमा उपलब्ध छन् । 
नेपाली बजारमा कार बिक्री बढ्नुको मुख्य कारण नै ‘इन्ट्री लेभल’ कार भएको लक्ष्मी इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक तथा नाडाका उपाध्यक्ष अन्जन श्रेष्ठले बताउँछन् । “मोटरसाइकल विस्थापित गरेर कार चढ्ने अधिकांशले इन्ट्री लेभलका कार नै रोज्ने गरेकाले अन्य सेगमेन्टको तुलनामा यसको बिक्री नेपाली बजारमा अत्याधिक छ,” उनी भन्छन्, “यो सेगमेन्टका कार बिक्री बढ्नुमा बैंकले सहज रूपमा सवारी लोन उपलब्ध गराउनु र त्यसको ब्याजदरसमेत विगतको तुलनामा निक्कै सस्तो हुनु हो ।” रेमिट्यान्सले पनि कार बिक्रीमा सहयोग पु¥याएको श्रेष्ठ बताउँछन् ।
हाल बैंक तथा वित्तीय संस्थाले सवारी लोन न्यूनतम ७ प्रतिशत ब्याजदरमै उपलब्ध गराउँदै आएका छन् । यसले पनि मोटरसाइकल चढ्दै आएका र आयस्तर सामान्यभन्दा अलि बढी भएकाहरूले ‘इन्ट्री लेभल’का कार खरिद गर्ने गरेका छन् । नेपाली बजारमा बिक्री हुने सबै कारमध्ये इन्ट्री लेभलका कार ५० देखि ६० प्रतिशत बिक्री हुने गरेको श्रेष्ठ बताउँछन् । जबकि, महँगा कार (१ करोड रुपैयाँमाथिका) चढ्नेको संख्या कार चढ्नेमध्येको ५ प्रतिशतभन्दा कम रहेको बताइन्छ ।
‘इन्ट्री लेभल’का कार धेरै बिक्री हुनुमा यसको बिक्रीपछिको सेवा राम्रो र स्पेयर पार्टस् सस्तो हुनुलाई नै आधार मान्छन्, नेपाल अटो मोबाइल्स डिलर एसोसिएसन (नाडा)का महासचिव गोपी न्यौपाने ।  बैंकको लोन सहज हुनु, ब्याजदर काम हुनु, सहरी क्षेत्रको सडक फराकिलो हुनु र हरेकमा कार चढ्ने चाहना हुनुले ‘इन्ट्री लेभल’का कार धेरैजसोको रोजाइमा परेको हो,” उनी भन्छन्, “इन्ट्री लेभल कारले नेपाली बजारमा बिक्री भएका कारको ७० देखि ८० प्रतिशत हिस्सा ओगटेको छ ।”
 
कार    सीसी    मूल्य (रुपैयाँमा)
हुन्डाई इओन डिलाइट प्लस        १६ लाख ५६ हजार
हुन्डाइ ग्रान्ड आइ१० मेग्ना        २३ लाख ९६ हजार
मारुती सुजुकी अल्टो एसी         १५ लाख ९९ हजार
टाटा इन्डिका एलएस एनए              १४०५    १८ लाख ७० हजार
टाटा इन्डिगो इसीएस जीभीएक्स    ११९३    २४ लाख २० हजार
फोर्ड फिगो पेट्रोल एलएक्सआइ      ११९६    १९ लाख ५० हजार
फोर्ड फिगो डिजल इएक्सआइ        १३९९    २४ लाख ९९ हजार
फियाट पुन्टो इभो                          ११७२    २४ लाख ९५ हजार
स्रोत : नाडा

No comments:

Post a Comment