मीनकुमार नवोदित -विराटनगर, २७ पुस । नेपालकै पहिलो मोटर उत्पादन कम्पनी हुलास मोर्टस प्रालिले आफ्नो उत्पादन बन्दको घोषणा गरेको छ । सवारी साधनमा सरकारले पछिल्लो समय लागू गरेको युरो–थ्री नीतिका कारण डेढ दशकअघि सञ्चालनमा आएको मोटर्स कम्पनीबाट उत्पादित मुस्ताङ गाडीको उत्पादन बन्द गरिएको हो ।
२0५४ सालमा ४ करोड लगानीमा उद्योग स्थापना भएको थियो । कम्पनीले आइतबार पत्रकार सम्मेलन गरेर उत्पादन बन्दको घोषणा गरेको हो । “देशकै गौरवको रूपमा नेपालमा पहिलोपटक मोटर गाडी उत्पादन थालेको मोटर्सले भोग्नु परेका समस्या सरकारलाई पटक–पटक जानकारी गराउँदा पनि सुनुवाई भएन,” कम्पनीका प्रबन्ध निर्देशक सुरेन्द्र गोल्छाले भने, “ऐतिहासिक उद्योगलाई प्रोत्साहित गर्ने काम नभएपछि बन्द गर्ने निर्णयमा पुगेका हौं ।”
शेर्पा, मुस्ताङ भिटो हुँदै मुस्ताङ म्याक्ससम्मको मोडेल उत्पादन गरेको हुलासले सरकारी नीतिका कारण उत्पादन बन्द गर्ने स्थितिमा पुगेको बताएको छ । सरकारले सवारी साधन उत्पादनका लागि लागू गरेको वातावरणीय मापदण्ड युरो–थ्री लागू गर्न आफूहरूलाई चाहिएको आवश्यक समय उपलब्ध नगराएकाले उत्पादन बन्द गर्नुपर्ने स्थिति आएको गोल्छाले बताए । २0६0 मा सरकारले युरो–थ्री मात्र गाडी सञ्चालन गर्ने नीति ल्याएको थियो । हुलासले मुस्ताङ युरो–वान उत्पादन गर्दै आएको थियो । मुस्ताङलाई युरो–थ्रीमा लग्न कम्पनीले सरकारसित ४ वर्ष समय मागेको थियो । तर सरकारले २ वर्षमात्रै समय दिएकोमा कम्पनीले सो अवधिभित्र युरो–थ्रीमा लान नसकेपछि उत्पादन बन्द गर्नुपरेको जनाएको छ ।
सरकारले २o७१ असार २0 गतेभित्र युरो–थ्रीको मापदण्ड पूरा गर्न हुलास कम्पनीलाई समय उपलब्ध गराएको थियो । “हामीले सरकारले दिएको समयसीमाभित्र एउटा गाडी युरो–थ्री अन्तर्गत नै उत्पादन ग¥यौं,” गोल्छाले भने, “तर त्यो गाडीले राम्ररी काम गरेन । थप १ वर्ष समय माग्दा सरकारबाट कुनै प्रतिक्रिया आएन । अनि बाध्य भएर उत्पादन बन्द गरेका हौं ।” युरो–थ्रीका लागि परीक्षण उत्पादन र अनुसन्धान गर्न कम्पनीको ५0 लाख रूपैयाँभन्दा बढी खर्च भएको हुलास मोटर्स प्रालिका महाप्रबन्धक प्रफुल्लचन्द्र दासले बताए ।
उत्पादन बन्द गर्ने निर्णय गरेपछि दुई सय कामदारले रोजगारी गुमाएका छन् । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला हुलास मोटर्सको उत्पादन मुस्ताङ म्याक्स चढ्ने निर्णय गरेपछि हुलासको उत्पादन चर्चित भएको थियो । स्थानीय स्रोत साधन र जनशक्तिबाट विदेशी गाडीहरूसित प्रतिस्पर्धा गरिरहनुपर्ने बेला सरकारले लागू गरेको युरो–थ्री मापदण्ड पूरा गर्न लाग्ने समय नदिएकै कारण उत्पादन बन्द गर्ने निर्णयमा पुगेको गोल्छाले बताए । कम्पनीले वार्षिक ७0 देखि १ सय २0 वटासम्म गाडी उत्पादन गर्दै आएको थियो ।
“आफूहरूले एक वर्ष समय थप मागेको र सरकारले नदिएपछि उत्पादन बन्द गर्नुको विकल्प नभएकाले औपचारिक रूपमै बन्द गर्ने अवस्थामा पुगेका हौं,” गोल्छाले भने, “हामीले मागेको एक वर्षको समय सरकारले दिएको भए निश्चय नै उत्पादन बन्द हुने थिएन ।” सरकारकै नीतिका कारण देशबाट उद्यमशीलता पलायन हुँदै गएको उनले दुखेसो पोखे । “उद्यमशीलता बचाउने र उत्पादनमूलक उद्योगलाई प्रोत्साहित गर्नेतर्फ सरकारले ध्यान दिएन,” उनले भने, “जसले देशको अर्थतन्त्र आयातमुखी बन्दै गएको छ । यसले देशलाई आर्थिक रुपमा जर्जर बनाउँछ ।”
१६ लाख २५ हजार रूपैयाँदेखि १८ लाख ५0 हजार रूपैयाँसम्म मूल्य पर्ने हुलास मोटर्सका गाडी डिजेल इन्जिनका भएकाले मध्यमवर्गीय परिवारका लागि पनि उपयोगी मानिँदै आएको थियो । दुर्गम र पहाडी क्षेत्रमा पनि यसको प्रयोग बढ्दै गएको थियो । हाल दुर्गम र पहाडी क्षेत्रमा १ हजार ४ सयभन्दा बढी मुस्ताङ गाडी सञ्चालनमा छन् । विशेष गरी ढुवानीमा मुस्ताङ गाडी लोकप्रिय थियो । अझ कच्ची सडकमा पनि सहजै गुड्ने भएपछि आमसर्वसाधारणले समेत मुस्ताङलाई रुचाएका थिए । कम्पनीका देशभर १४ डिलर र १ सय ५0 भन्दा बढी सेवा केन्द्र छन् ।
No comments:
Post a Comment