आर्थिक क्षेत्रका विशेष गतिविधी

Tuesday, January 6, 2015

‘लाइफलाइन’ बन्दै मोटरसाइकल

‘लाइफलाइन’ बन्दै मोटरसाइकल
शिव बोहरा
काठमाडौं– २ दशकअघिसम्म दुईपांग्रे सवारी मोटरसाइकललाई विलासी साधनकै रूपमा वा प्रतिष्ठाका रूपमा हेरिन्थ्यो । नेपालीको आयस्तरअनुसार मोटरसाइकल चढ्नेको संख्या ज्यादै न्यून थियो ।यातायात व्यवस्था कार्यालयको तथ्यांकलाई हेर्ने हो भने मोटरसाइकल चल्न सुरु गरेदेखि आर्थिक वर्ष ०४६÷४७ सम्ममा देशभर ३४ हजार ५ सय ७६ वटा मोटरसाइकल दर्ता भएको देखिन्छ ।
तर, २ दशकपछिको स्थिति ठ्याक्कै उल्टो भएको छ । विलासी र प्रतिष्ठाको साधन आवश्यक र गुजाराको माध्यमको रूपमा स्थापित हुँदै गएको छ । यसको पुष्टि ०७०÷७१ सम्म आइपुग्दा दर्ता भएका मोटरसाइकलको संख्याले गर्छ । यो १ वर्षमा देशभर १ लाख ६३ हजार ९ सय ४५ मोटरसाइकल दर्ता भएका थिए ।
छरितो र तुलनात्मक रूपमा सस्तो दुईपांग्रे सवारी यो वा त्योलाई मात्र नभई सबै क्षेत्रसँग आबद्ध मानिसका लागि उपयोगी र आवश्यक साधन बनेको छ । बिहान तरकारी बिक्री गर्दै हिँड्ने कृषकदेखि दिनभर ठेला तथा साइकलमा सामान बिक्री गर्दै हिँड्ने व्यापारीका लागि पनि सहज बनेको छ, दुइपांग्रे सवारी । समयको बचत हुनुका साथै छिटोछरितो पनि हुने भएकाले नेपालमा हरेक वर्ष डेढ लाखभन्दा बढी दुईपांग्रे सवारी बिक्री हुन थालेको छ ।
काठमाडौं र सहरी क्षेत्रमा मात्र नभएर, गाउँ–गाउँमा पनि दैनिक आवश्यकताको साधन बनेको छ, मोटरसाइकल । तराई क्षेत्रमा त झनै दाउरा र गाईभैंसीका लागि घाँसपात ओसारपसारमा समेत प्रयोग हुने मोटरसाइकलले कृषकको दैनिकीलाई पनि सहज बनाइदिएको छ ।
टोखा झोरका दीपक अधिकारी अहिले दैनिक २ क्यान दूध घर–घर पु¥याउन भ्याउँछन् । पहिले उनी सार्वजनिक यातायातबाट मुस्किलले १ क्यान दूध बिक्री गर्थे । “मोटरसाइकल किनेदेखि व्यापार पनि झन्डै दोब्बर भएको छ,” उनले भने, “ज्यानले समेत पहिलेको भन्दा आधामात्रै सास्ती पाएको छ ।”
मोटरसाइकल तथा स्कुटरको प्रयोगले ग्रामीण जनजीवनलाई पनि सहज बनाएको छ । नेपालमा सार्वजनिक यातायातको विश्वसनीयता कम हुँदै गएको र चारपांग्रेमा पहुँच नभएकाहरूका लागि सबैभन्दा उपयोगि साधन सावित भएको छ, मोटरसाइकल । ग्रामीण क्षेत्रमा सडकको अवस्था नाजुक हुने हुँदा ठूला सवारी साधन जान सक्दैनन् । त्यस्ता सडक मोटरसाइकलका लागि उपयोगि सावित भएका छन् ।
गोलढुंगा बस्दै आएका सुमन बजगार्इं पहिले जागिर खाएर घर पुग्दा कम्तीमा बेलुकाको साढे ८ हुन्थ्यो । उनी निर्विकल्प सार्वजनिक यातायात चढ्थे । नयाँ सडकस्थित एक बैंकमा काम गर्ने उनी अहिले मोटरसाइकल चढ्छन् । “मोटरसाइकल किनेपछि अफिस छुटेर साँझ ट्युसेन बढाएर घर जाँदा पनि पहिलेभन्दा निक्कै चाँडो पुग्छु,” उनले भने ।
मोटरसाइकलले जागिरेदेखि सानो स्केलको व्यापार–व्यवसाय गर्नेहरूलाई पनि सहयोग पु¥याएको छ । साइकलमा चकलेटलगायत विभिन्न सामान बेच्दै हिँड्दा दैनिक मुस्किलले २५ सय रुपैयाँको व्यापार गर्ने विनोद धमला मोटरसाइकल प्रयोग गर्न थालेपछि ७–८ हजारको कारोबार गर्छन् । “साइकलमा व्यापार गर्दा काठमाडौंमा टिक्नै मुस्किल हुन्थो,” उनले भने, “मोटरसाइकल प्रयोग गर्न थालेपछि परिवारलाई यतै ल्याएर राख्न सकिने भएको छ ।”
मोटरसाइकलको प्रयोग बढ्नुमा वैदेशिक रोजगारीले पनि प्रभाव पारेको छ । वैदेशिक रोजगारीमा गएकाले पठाएको रेमिट्यान्सबाट नेपालमा बसेका परिवारका सदस्यले मोटरसाइकल खरिद गर्ने गरेका छन् । विदेशबाट कमाएर फर्किएपछि मोटरसाइकल किनेर चढ्नेहरू पनि धेरै छन् ।
मोटरसाइकलको बिक्री ०६६÷६७ देखि उल्लेख्य वृद्धि भएको छ । आव ०६५÷६६ मा ८३ हजार ३ सय ३४ मोटरसाइकल बिक्री भएकोमा ०६६÷६७ मा १ लाख ६८ हजार ७ सय ७ पुगेको विभागको तथ्यांकमा छ ।
केही वर्षअघिसम्म मोटरसाइकल बिक्री काठमाडौंकेन्द्रित रहेकोमा अहिले काठमाडौंकै हाराहारीमा बाहिर पनि बिक्न थालेको नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) का महासचिव गोपीकृष्ण न्यौपानेले बताउँछन् । “विप्रेषणमा वृद्धि हुनु र ग्रामीण क्षेत्रमा बस्ने कामकाजी मानिसले पनि जीवनयापनमा सहजता ल्याउन मोटरसाइकलको प्रयोग गर्ने क्रम बढेको छ,” उनले भने । हाल देशभर १७ लाख ५५ हजारभन्दा बढी सवारी साधन छन् । त्यसमध्ये १३ लाख ७१ हजार २ सय ६ वटा मोटरसाइकल छन्, यो कुल सवारीको ७८ प्रतिशतभन्दा बढी हो ।
नेपालमा सवारी साधन नै कम भएकाले मोटरसाइकलको संख्या धेरै देखिएको व्यवसायी बताउँछन् । नेपालमा कुल जनसंख्याको करिब ५ प्रतिशतले मोटरसाइकल चढ्छन् । यो तथ्यांक हेर्दा हरेक ३५ मा १ जनाले मोटरसाइकल वा स्कुटर चढ्ने गरेका छन् । एसियाली मुलुकमा हरेक ७ जनामा १ जनाले मोटरसाइकल प्रयोग गर्छन् । भारतमा एसियाली मुलुकको तुलनामा कम भए पनि नेपालका तुलनामा भने निक्कै राम्रो छ । भारतमा हरेक १२ जनामा १ जना मोटरसाइकलको पहुँचमा छन् ।
नेपालमा मोटरसाइकल चढ्न चाहनेको जमात धेरै ठूलो भए पनि उच्च भन्सार दरका कारण त्यो रहरमै सीमित भएको नाडाका अधिकारी बताउँछन् । भन्सार दर कम हुने हो भने बजार विस्तार हुनुका साथै धेरै मानिसले सहज रूपमा यातायात सुविधा उपयोग गर्न पाउने दाबी व्यवसायीको छ ।

No comments:

Post a Comment