आर्थिक क्षेत्रका विशेष गतिविधी

Thursday, January 1, 2015

जस्तोसुकै अवस्थामा पनि विज्ञापन बजार खस्किएको छैन

जस्तोसुकै अवस्थामा पनि विज्ञापन बजार खस्किएको छैन
सन्तोष श्रेष्ठ
अध्यक्ष, नेपाल विज्ञापन संघ (आन) 
१५ वर्षदेखि विज्ञापन क्षेत्रमा रहेका सन्तोष श्रेष्ठ पुस ३ गते नेपाल विज्ञापन संघ (आन)को नेतृत्व सम्हाल्न आइपुगेका हुन् । १०÷११ वर्षदेखि उनी आनको कार्यसमितिमा थिए । आफ्नो रगतमै विज्ञापन रहेको बताउने श्रेष्ठ यो क्षेत्रभन्दा बाहिर जान नसक्ने बताउँछन् । नेपालको विज्ञापन क्षेत्रलाई सुधार गर्न युवा पुस्ताले नै नेतृत्व लिनुपर्ने नाराका साथ उनी संघमा आएका हुन् । विज्ञापन क्षेत्रको विकासका लागि बजार विस्तार भएरमात्र नहुने भएकाले यो क्षेत्रको नाफादर पनि बढ्नुपर्नेमा उनी जोड दिन्छन् । संस्थाको विकासका सबै एजेन्सीहरू स्वच्छ भावले सुधारका लागि अघि बढ्नुपर्ने उनी बताउँछन् । यस्ता विषयमा ध्यान केन्द्रित गर्ने भन्दै सबै विज्ञापन एजेन्सीलाई समान व्यवहार गर्दै अघि बढ्ने बताउने श्रेष्ठसँग नेपाली विज्ञापन बजारको समग्र अवस्थाबारे कारोबारकर्मीद्वय केदार दाहाल र शिव बोहराले गरेको कुराकानी :


अहिले नेपालको विज्ञापन बजार कसरी विस्तार भइरहेको छ ?
नेपालको विज्ञापन बजार वार्षिक ५ अर्ब रुपैयाँको छ । वार्षिक १० देखि १५ प्रतिशतले क्रमिक रूपमा विस्तार भइरहेको छ । यद्यपि सोचेअनुरूप भएको छैन ।

देशको राजनीतिक अस्थिरताले विज्ञापन बजारलाई प्रभाव पारेको छ कि छैन ?
नेपालको विज्ञापन बजार माओवादी द्वन्द्वकालमा पनि वृद्धि नै भएको थियो । कुनै वर्ष अलि बढी त कुनै वर्ष अलि कम भएको थियो । तर, विज्ञापन बजार विस्तारमा गिरावट भने देखिएन । जस्तोसुकै राजनीतिक अस्थिरता, प्राविधिक समस्या भए पनि विज्ञापन बजार विस्तार भएकै देखिन्छ, असर देखापरेको छैन ।

विज्ञापनको बजार विस्तारसँगै व्यवस्थापन चुनौती पनि आए होलान् । समाधानका लागि के योजना ल्याउनुभएको छ ?
समस्या जति धेरै भए, त्योसँग जुध्न उति नै रमाइलो हुन्छ । तर, आफूसँग सामना गर्ने सामथ्र्य भने हुनुपर्छ । विज्ञापन बजार जुन रूपमा विस्तार भएको छ, त्यहीअनुरूप चुनौती पनि पक्कै थपिएका छन् । समाधानका लागि सबै मिलेर अघि बढ्नुपर्छ, यो टिमवर्क हो । हामी अहिले पूरै युवा टोली नेतृत्व सम्हाल्न आएका छौं । विज्ञापन बजारको चक्रमा भएका सबै पक्षलाई समेटेर लगियो भने धेरै हदसम्म समाधान हुन्छन् । सबै क्षेत्रको ‘विन–विन’ अवस्थामा सकारात्मक परिवर्तन गर्न सकिन्छ ।

पहिले विज्ञापन विद्युतीय र छापा माध्यममा मात्र जान्थ्यो । तर, अहिले अनलाइन सञ्चारमाध्यम पनि फस्टाएका छन् । कस्तो प्रभाव छ अनलाइन विज्ञापनको ?
विद्युतीय र छापालाई परम्परागत माध्यमको रूपमा लिइन्छ । यी माध्यमले थेग्नुपर्ने विज्ञापनको भार थेगिसकेका छन् । अबको जमाना अनलाइन बेस्ड सञ्चारमाध्यमको हो । विश्व परिवेशलाई हेर्ने हो भने अनलाइन माध्यमले धेरै नै फड्को मारिरहेका छन् । नेपालमा पनि अनलाइन मिडियाको विकास र विस्तार तीव्र रूपमा भइरहेको छ । विकसित मुलुकको तुलनामा नेपालमा भइरहेको विकास भने सामान्य नै हो । यद्यपि विस्तार दर सन्तोषजनक भएकाले अबका १०÷१५ वर्षमा अनलाइन विज्ञापन उल्लेख्य रूपमा वृद्धि भइसकेको हुनेछ । छापा तथा विद्युतीय माध्यमहरूले यसको ठूलै मार महसुस गर्नेछन् । यो क्षेत्रमा आमूल परिवर्तन हुने निश्चित छ । एक्काइसौं शताब्दीलाई डिजिटल एजका रूपमा समेत परिभाषित गरिएको छ । अनलाइन सञ्चारमाध्यमको संख्याका साथै प्रयोगकर्तासमेत बढ्दै गएकाले विज्ञापनदाताहरू अनलाइनतर्फ सिफ्ट हुँदै जान्छन् ।

नेपालमा सञ्चारमाध्यमको संख्या जुन रूपमा विस्तार भइरहेको छ, यसलाई विज्ञापन बजारले धान्न सक्ने अवस्था छ त ?
हाम्रो देशमा सञ्चारमाध्यमको उचित व्यवस्थापन हुन नसक्दा केही समस्था पक्कै देखिएका छन् । यसले विज्ञापन एजेन्सीहरूलाई पनि विज्ञापन वितरणमा समस्या उत्पन्न गराएको छ । पत्रपत्रिका, रेडियो तथा अनलाइन कति हुने भन्ने कुरा हामीले निर्धारण गर्ने कुरा होइन, बजारले गर्छ । हामीले खुलाबजार अर्थनीति अंगिकार गरेकाले यो बजारलाई नै छोडिदिने हो । तर, सबै बजारले नै निर्धारण गर्छ भनेर हामी चुप लागेर बस्ने पनि होइन । विज्ञापन बजारका सबै तत्व सक्रिय भए व्यवस्थापन गर्न सहज हुन्छ । विज्ञापन बजार विस्तार हुने हो भने यो समस्या स्वतः समाधान हुने देखिन्छ ।
अहिले हाम्रो देशमा कतिपय मिडियाहरू टिक्न नसकिरहेको भन्ने पनि सुनिएको छ । हामीले यस्ता समस्यालाई सक्दो समाधान गर्ने प्रयास गरिरहेका छौं । वस्तु तथा उत्पादनलाई ब्रान्डको रूपमा स्थापित गर्न सकियो भने पनि विज्ञापन बजार विस्तारमा सहयोग पुग्छ । जति धेरै कारोबार हुन्छ, उत्ति नै धेरै मिडिया टिक्न सक्छन् । सबैले आ–आफ्नो क्षेत्रबाट काम गर्ने हो र अहिलेको वार्षिक करिब ५ अर्बको कारोबारलाई ८÷१० अर्ब पु¥याउने हो भने हामी सबै सबल हुन्छौं ।

सरकारी विज्ञापन लिँदा एजेन्सीहरूले पूरै रकम लिने तर प्रतिस्पर्धाको नाममा सञ्चारमाध्यमलाई दिँदा धेरै मार्जिन राख्ने गर्छन् भन्ने सुनिन्छ । साँचो हो ?
सरकारी विज्ञापन टेन्डर गरेर नै प्रकाशित÷प्रसारित हुन्छन् । सरकारी विज्ञापन टेन्डरबिना ल्याउनै सकिन्न । त्यसमाथि सरकारी विज्ञापन वर्गीकरणअनुसार नै वितरण गरिन्छ । टेन्डरको माध्यमबाट जाने कुनै पनि चिजमा मार्जिन धेरै हुन सक्दैन । यो हामीलाई लगाइने फगत आक्षेपमात्र हो । सरकारी विज्ञापन समानुपातिक रूपमा वितरण गर्नेभन्दा पनि यसको उद्देश्य पूर्ति हुने गरी दिइनुपर्छ । सरकारले मिडिया प्लानिङ गर्दा नै यस्ता विषयमा विशेष ध्यान दिनुपर्छ । सरकारी विज्ञापनमा गुणस्तर, प्राविधिक पक्षलाई भन्दा पनि विज्ञापन दरलाई प्राथमिकता दिइँदा समस्या थपिँदै गएको देखिन्छ । अनावश्यक प्रतिस्पर्धाले नाफामा होइन, गुणस्तरमा समस्या पारेको छ ।
हामीले सरकारी विज्ञापनमा ज्यादै न्यून मार्जिन लिइरहेका छौं । नाफाको दर न्यून भए पनि सरकारी विज्ञापनमा रमाउने विज्ञापन एजेन्सीको संख्या ठूलै छ । यसको प्रमुख कारण सरकारी विज्ञापनको पैसा डुब्ने सम्भावना कम हुनु हो । क्रेडिटमा काम गर्नुपर्ने हुँदा निजीबाट पैसा नउठ्ने सम्भावना पनि हुन्छ र कतिपय अवस्थामा भएको पनि छ । प्रतिस्पर्धाका आधारमा काम हुने भएकाले यस्ता आरोपहरूमा कुनै सत्यता छैन ।

नेपाली च्यानलहरूमा अहिले पनि बहुराष्ट्रिय कम्पनीका विज्ञापन डबिङ गरेर नै बजाइन्छ । यहाँका विज्ञापन एजेन्सीहरू रचनात्मक हुन नसकेका हुन् ?
बहुराष्ट्रिय कम्पनीहरूले नेपाली एजेन्सीहरूलाई नै विज्ञापन बनाउन लगाएर बजाउन सुरु गरिसकेका छन् । उनीहरूले स्थानीय स्तरमै विज्ञापन उत्पादन गर्दा फाइदा हुने महसुस गरेका छन् । यसले हाम्रो क्षमता पुष्टि गर्छ । यो ‘ट्रेन्ड’ बढ्दो क्रममा छ । हामीले जति ‘क्रिएटिभ’ काम गर्न सक्छौं, उनीहरूले त्यत्ति नै विश्वास गर्दै जान्छन् । हामीले जति सस्तोमा गुणस्तरीय उत्पादन दिएर बहुराष्ट्रिय कम्पनीहरूलाई आकर्षित गर्न सक्छौं, त्यत्ति नै हाम्रो व्यापार बढ्दै जान्छ । यस्तो वातावरण सिर्जनाका लागि हामीले अहिले भएको मानव संसाधनलाई परिस्कृत गर्नु अनिवार्य छ । उनीहरूलाई थप रचनात्मक बनाउनुपर्छ । यसका लागि ‘इन्डस्ट्रियल मार्जिन’ बढाउनु आवश्यक छ । यसो भए आम्दानी वृद्धि हुन्छ ।

धेरै चर्चामा रहेको ‘क्लिन फिड’को कुरा कहाँ पुग्यो ?
‘क्लिन फिड’ टेलिभिजनसँग सम्बन्धित विषय हो । अहिले हामीले विदेशी च्यानल हेर्दा विज्ञापन पनि उनीहरूकै हेरिरहेका छौं । यसलाई ‘एड फिड’ भनिन्छ । हामीले गर्न खोजेको र तपाईंले भन्नुभएको ‘क्लिन फिड’ हो । हामीले धेरै समयदेखि ‘क्लिन फिड’ हुनुप¥यो भनेर व्यापक लबिङ गरिरहेका छांै । सरल भाषामा ‘क्लिन फिड’ भन्नाले विदेशी च्यानलमा कार्यक्रमसँगै बज्ने विज्ञापन रोक्नु हो । सरकारी तवरमा पनि पटक–पटक आग्रह गरिरहेका छौं । अहिले सरकारले विज्ञापन नीतिको खाका तयार गरिरहेको बताएको छ । यो नीति लागू भएपछि ‘क्लिन फिड’ पनि कार्यान्वयन हुनेमा हामी आशावादी छौं । यसकै लागि हामीले सरकारलाई घच्घच्याइरहेका छौं । धेरै देशहरूले आ–आफ्नो नीतिअनुसार ‘क्लिन फिड’ लागू गरेका छन् । नेपालले पनि लागू ग¥यो भने विज्ञापन क्षेत्रले ठूलो फड्को मार्ने निश्चित छ ।

आनले साना एजेन्सीलाई बेवास्ता गरी ठूलालाई मात्र काखी च्याप्ने गरेको आरोप लाग्छ । त्यस्तै भएको हो ?
आनको छाता संस्थाभित्र २६३ सदस्य एजेन्सी छन् । सदस्यहरूलाई वर्गीकरण नै नगरेको अवस्थामा कसलाई ठूलो, कसलाई सानो भन्ने ? सानो–ठूलो, प्रोफेसनल–ननप्रोफेसनल कसैलाई पनि भन्न मिल्दैन । वर्गीकरण नभएको अवस्थामा कसैलाई पनि यो वा त्यो भन्ने मिल्दैन । आनले सबै सदस्यलाई समान व्यवहार गर्दै आएको छ । विज्ञापन चक्रका सबै तत्वलाई समान रूपमा व्यवहार गरिनुपर्छ । हामीले वर्गीकरण नगर्दाको अवस्थामा पनि बजारमा त्यस्तो सुनिएको छ भने आनले सबैलाई समान व्यवहार गर्नेमा कुनै शंका नगर्न म सबैलाई आग्रह गर्छु ।

आनले सामूहिक मिडिया मार्केटिङको कुरा उठाउँदै आएको छ । के भन्न खोजेको हो, बताइदिनुस् न !
आनले सामूहिक मिडिया मार्केटिङ वा समानुपातिकबारे आधिकारिक रूपमा एजेन्डा नै बनाएर हिँडेको जस्तो मलाई लाग्दैन । विज्ञापनदाताले आफ्नो रोजाइअनुसार माध्यम छनोट गर्न पाउनुपर्छ भन्ने नै हो । सरकारी विज्ञापनको हकमा भने सबै मिडियालाई उपलब्ध गराउने उद्देश्यले विज्ञापन वितरण भएको देखिन्छ । जनसम्पर्क स्थापनाका लागि र व्यक्तिगत सम्बन्ध विस्तारका लागि यदाकदा भएको पनि पाइन्छ तर आधिकारिक रूपमा यसलाई कार्यान्वयनमा ल्याउनुपर्छ भन्ने छैन ।

विज्ञापनजस्तो प्राविधिक क्षेत्रमा जनशक्ति अभाव किन भएको हो ?
जब ‘इन्डस्ट्रियल मार्जिन’ बढी हुन्छ, यस्ता कुराहरू सुनिन छाड्छन् । मार्जिन धेरै भएको अवस्थामा व्यक्ति÷संस्थाको आम्दानी पनि बढ्छ । त्यससँगै राम्रा र दक्ष जनशक्ति ल्याउन सजिलो हुन्छ । जहाँ राम्रो आम्दानी हुन्छ, दक्षहरू त्यतैतर्फ जान्छन् । केही हदसम्म विज्ञापन क्षेत्रमा उच्च दक्ष जनशक्तिलाई आकर्षित गर्न नसकेको अवस्था पक्कै हो । तर, दक्ष नै छैनन् भन्ने होइन । विज्ञापन बजार विस्तार र नाफा दुवै वृद्धि हुने हो भने यो यसस्या आफैं समाधान हुन्छ । हामी यस्ता समस्या समाधानका लागि प्रयत्नरत छौं ।

विज्ञापनमा प्रयोग भएका भाषा अस्पष्ट र अप्ठ्यारो भएको सुनिन्छ । भाषा र शब्द छनोटमा विज्ञहरूको सुझाव लिइँदैन ?
भाषाका बारेमा हामी सतर्क छौं । सेवाग्राहीलाई विज्ञापन बुझाउने विभिन्न माध्यममध्ये भाषा सबैभन्दा महत्वपूर्ण हो । यो कुरा हामीले पनि महसुस गरिरहेका छौं । व्यावसायिक विज्ञापन एजेन्सीले भाषा हेर्न छुट्टै विज्ञ राखेका हुन्छन्, जसलाई ‘कपी राइटर’ भनिन्छ । उसले विभिन्न भाषालाई ख्याल गरेर एउटा सन्देश विकास गर्छ । त्यसमा लक्षित वर्गले बुझ्ने भाषालगायत सबै पक्षलाई मध्यनजर गरिएको हुन्छ । लक्षित वर्गले बुझ्नेमात्र नभई हामीले हाम्रो भाषा र संस्कृतिलाई पनि ध्यानमा राखेर विज्ञाजन बनाउनेतर्फ ध्यान दिन्छौं । कुनै–कुनै त्यस्ता अंग्रेजी शब्दहरू छन्, जसको अर्थ नेपाली शब्दकोशमै भेटिँदैन । त्यस्तो अवस्थामा भने हामीले अंग्रेजी शब्दलाई नै सापटी लिनुपर्ने अवस्था छ । सकेसम्म नेपाली शब्द र संस्कृतिलाई नै प्राथमिकता दिन्छौं र दिँदै आएका छौं ।

भर्खरै आनको नेतृत्व सम्हाल्नुभएको छ । आनसँगै विज्ञापन बजारलाई अगाडि बढाउन के योजना बनाउनुभएको छ ?
मेरो कुनै योजना छ भने त्यो विज्ञापन र मिडिया इन्डस्ट्री बनाउने नै हो । यसका लागि विज्ञापनको बजार विस्तार गर्नु आवश्यक छ, म त्यसमा लागिपर्नेछु । अर्को कुरा— विज्ञापन बजार विस्तार भएरमात्र हुँदैन, नाफाको दर पनि बढ्नुपर्छ । यसमा पनि मेरो ध्यान केन्द्रित हुनेछ । सबै विज्ञापन एजेन्सीलाई समान व्यवहार गर्दै यो क्षेत्रमा देखापरेका समस्या समाधान गर्नु र नेपाली विज्ञापन क्षेत्रलाई राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउनु मेरो योजना र लक्ष्य हो ।


 

No comments:

Post a Comment