आर्थिक क्षेत्रका विशेष गतिविधी

Thursday, December 4, 2014

५० लाख पर्यटक नभित्रिए आर्थिक मन्दी आउन सक्छ


वसन्तराज मिश्र (सचिव-कोषाध्यक्ष, प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) )
 
५० लाख पर्यटक नभित्रिए आर्थिक मन्दी आउन सक्छ

टेम्पल टाइगर ग्रुपका अध्यक्ष वसन्तराज मिश्र प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)का सचिव÷कोषाध्यक्ष हुन् । पाटामा आबद्ध भएको ४ दशकपछि सबैभन्दा उपल्लो तहमा पुग्ने नेपालीसमेत रहेका मिश्र मुलुकको ‘वाइल्डलाइफ टुरिजम’ क्षेत्रका ‘पायोनियर’ मानिन्छन् । मिश्र यसअघि पाटा नेपाल च्याप्टर, नेपाल एसोसियसन अफ टुर अपरेटर (नाटो) सहित आधा दर्जनभन्दा बढी प्रतिनिधिमूलक संस्थाको नेतृत्वतहमा रहिसकेका छन् । उनीसँग नेपाली पर्यटन क्षेत्रमा पछिल्लो समय निकै चर्चा कमाइरहेको बौद्ध सर्किटसहित समग्र पर्यटन क्षेत्रका समस्या र सम्भावनाका विषयमा कारोबारकर्मी विपेन्द्र कार्की र केदार दाहालले गरेको कुराकानी :
 
सार्क शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री र श्रीलंकाली राष्ट्रपतिले बुद्ध सर्किटको पक्षमा दिएको अभिव्यक्तिलाई नेपालको निजी क्षेत्रले कसरी लिएको छ ?
अब बुद्ध लुम्बिनीमा जन्मिएको भन्ने कुरामा कुनै दुविधा छैन । विभिन्न वैज्ञानिक अनुसन्धानले नै यस विषयलाई प्रमाणित गरिसक्यो । कहिलेकाहीँ यसमा हामी आफैं बढी ‘सेन्सेटिभ’ भइदिँदा मात्रै समस्या देखिने गरेको हो । अब रह्यो बुद्ध सर्किटको कुरा । यसमार्फत देशको पर्यटन प्रर्वद्धन कसरी गर्ने भन्ने हाम्रो पनि चासो हुनु स्वाभाविक हो । सर्किट भनेपछि ४ धाम हो । बौद्धविहार, कुशीनगर, बोधगया र लुम्बिनी हुन् । अहिले हामीले यसमा तिलौराकोटलाई पनि समावेश गरेका छौं । तिलौराकोट भारतमा पनि छ र नेपालमा पनि छ । त्यसमा पनि वादविवाद गर्नुपर्ने कुनै कारण छैन । कुनचाहिँ यथार्थ हो भन्ने कुरा वैज्ञानिक रूपमा पुष्टि भइसक्यो । 
अर्को कुरा, के हो भने बुद्ध धर्म विश्वभर फैलिए पनि बुद्ध स्वयम् भने नेपाल, विहार र यूपीबाहेक अन्यत्र गएको वैज्ञानिक रूपमा कतैबाट पनि पुष्टि भएको छैन । बुद्ध तराईका विभिन्न क्षेत्र र भारतको विहार र यूपीमा मात्रै गएको इतिहास छ । अब हामीले यसबारे प्रवद्र्धन गर्दा आ–आफ्नो ढंगबाट गरेर फाइदा छैन । बुद्ध धर्मको जुनसुकै ग्रन्थमा पनि माथि उल्लिखित चारै ठाउँमा जानैपर्ने उल्लेख गरिएको छ । त्यसैले नेपाल र भारत दुवैले मिलेर प्रवद्र्धन गर्ने हो भने दुइटै मुलुकलाई फाइदा पुग्छ । दुवै देशका सरकार र राष्ट्रप्रमुखको मन्तव्यले हामीलाई थप ऊर्जा मिलेको छ ।
 
बुद्ध सर्किटमा पनि नेपालको लुम्बिनीलाई भारतीय पक्षले ओझेलमा पार्न खोजिरहेका छन् भनेर सधैं चर्चा आइरहन्छ नि !
हालै मात्र भारत सरकारका तर्फबाट नेपालसहित करिब १ सय १० मुलुकका प्रतिनिधिलाई बोलाएर एकदम राम्रो किसिमले जानकारी दिइएको छ । नेपालका तर्फबाट हामी यसमा सहभागी थियौं । यसमा पनि सबैले बुद्धिष्ट गन्तव्यमा मिलेर लाग्नुपर्ने उल्लेख गरेका थिए । भारतीय पक्षले पनि बोधगयालगायत भन्ने र नेपालले पनि लुम्बिनी तिलौराकोट मात्र नभनी संयुक्त रूपमा प्रवद्र्धन गर्नतर्फ लागे दुवै मुलुक सफल हुनेछन् । यसको ठ्याक्कै तथ्यांक नभए पनि विश्वभर करिब १६ देखि २५ प्रतिशत जनसंख्या बौद्ध धर्मावलम्बी भएको पाइन्छ । कुनै पनि धर्म यति छिटो फैलिएको छ भने त्यो बुद्ध धर्म नै हो र त्यो पनि कुनै पहल बिनै । बुद्ध धर्म विश्वभर नै स्वतःस्फूर्त फैलिसकेको छ । यसका लागि हामी एसियाली क्षेत्रमा मात्र जान सक्यौं भने पनि पर्यटक मनग्य रूपमा भिœयाउन सकिन्छ । अहिले यसको ‘डिफल्ट’ के छ भने विश्व बैंकको तथ्यांकअनुसार १ जना पर्यटकले बुद्ध सर्किटमा ९ देखि १० डलरमात्रै खर्च गरेका छन् । यो भारत र नेपाल दुवैमा हो । यसले त पर्यटनमा कुनै प्रभाव देखिँदैन । यस क्षेत्रमा होटल बनेका छैनन् । विहार, लुम्बिनीमा पनि उस्तै छ भन्ने कुरा फैलिएको छ । हामीले अब केही खर्च बजार प्रवद्र्धनमा ग¥यौं भने खर्चालु पर्यटक भिœयाउन सकिन्छ । अहिले हामीलाई अर्को कुराले खुसी तुल्याएको छ । त्यो हो, भारतको बोधगया क्षेत्र र भैरहवामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बन्ने भएका छन् । यो क्षेत्रको भविष्य राम्रो देखिएको छ । नेपाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि यसलाई प्राथमिकतामै राखेको देखिन्छ । दुवै देशको संयुक्त पहल हुने हो भने यो क्षेत्रमा विश्वभरका पर्यटक आकर्षित गर्न सकिन्छ । 
 
त्यसो हो भने हामी अब धार्मिक पर्यटनतर्फ केन्द्रित हुन लागेका हौं ? अथवा नेपालले पर्वतारोहण, पदयात्रा र साहसिक पर्यटन छाडेर धार्मिक पर्यटनमा आफ्नो भविष्य खोजेको हो ?
त्यस्तो होइन, पर्यटन जहिले पनि मिसमास नै हुन्छ । हामीले हरेक क्षेत्रमा सबैखाले पर्यटक पु¥याउनुपर्छ । नेपाल भनेको यस्तो देश हो जहाँ २ सय मिटरदेखि विश्वको सर्वोच्च शिखरसम्म छ । एडभेन्चर टुरिजमका हाम्रो आफ्नै सेट छ, ८ हजार मिटर अग्ला १३ वटा हिमालमध्ये ८ वटा यहीँ छन् । अन्य विभिन्न प्राकृतिक छटाहरू पनि छन् । नेपालमा भएका सबै क्षेत्रलाई सदुपयोग त गर्नुप¥यो नि ! एयरपोर्टहरूमा लगानी भइरहेकाले पर्यटक आउने समस्या देखिँदैन । भारतले गर्ने मार्केटिङबाट नेपालले फाइदा लिन सक्नुपर्छ । भारतले ल्याएका पर्यटकमा ३\४ प्रतिशतमात्र नेपाल ल्याउन सके हामीले मार्केटिङ गर्नै पर्दैन ।
अहिले हाम्रो पर्यटन काठमाडौं, पोखरा र चितवनमा अडिएको छ । एडभेन्चर टुरिजम भन्नेबित्तिकै हिमालको नाउँ आइहाल्छ । ट्रेकिङदेखि हिमाल चढ्न र विभिन्न सिन हेर्न नेपालै आउनुपर्छ । हामीले हाम्रो देशभित्रै यस्ता क्षेत्रको ‘अन्डरभ्यालु’ गरिरहेका छौं । यसलाई हामीले तत्काल सच्चाउनुपर्छ । हामीकहाँ एकाधिकारका रूपमा रहेको सगरमाथाको त्यो चार्मलाई एकआपसमा लडेर किन त्यसको भाउ घटाउने ? सगरमाथा क्षेत्रबाट देखिने जस्तो सिन विश्वको कहीँबाट पनि देखिँदैन, त्यसैले यसको भ्यालु उच्च छ ।
सरकारले पिकको मूल्य जसरी घटायो, यसमा हामी र विश्वका प्रबुद्ध व्यक्तिहरूले पनि राम्रो मानेका छैनन् । सरकारले चीनले घटायो भन्ने तर्क गर्छ तर त्यसो होइन । चीनले भाउ घटाएको छैन, उसले सिजनअनुसार उच्च र न्यून दुवै मूल्य लिने गरेको छ । एड्भेन्चर टुरिजमको कन्सेप्टमा परिवर्तन हुनुपर्छ । सेवा, संस्कृति र वातावरणीय पक्षलाई हेरी मूल्य निर्धारण गरिने हो । यसमा मूल्य घटाउनुपर्छ भन्ने छैन । पर्यटन प्रवद्र्धनका लागि हामीले पीपीपी मोडलमा पर्यटन बोर्ड बनायौं, तर यसले सोचेअनुरूप काम गर्न सकेन । पर्यटनले देशको जीडीपीमा कति सहयोग गर्न सक्छ, रोजगारी कसरी सिर्जना गर्नेतर्फ समेत सोच्नुपर्छ ।
 
हामी धार्मिक पर्यटनको कुरा गरिरहेका छौं, त्यस्ता पर्यटकले बढी खर्च गरिदिऊन् भन्ने अपेक्षा गर्नु कतिको सान्दर्भिक हुन्छ ?
पर्यटन क्षेत्रले पर्यटकले खर्च गरोस् भन्ने अपेक्षा त राख्नैपर्छ । यसमा हाई एन्ड बिजनेस पोलिसी हुन्छ । कुनै होटलको रेट १० डलर छ भने उसका लागि त्यति नै तिर्ने पर्यटक ठूलो हुन्छ । तर, कुनै होटलको ३ सय डलर हुन्छ तर उसले १ सय डलरमा बेच्नुप¥यो भने उसका लागि खराब हुन्छ । त्यसैले पर्यटनलाई मिक्स मार्केटमा लैजानुपर्छ । पर्यटकले आएर बाटोघाटो प्रयोग गर्छन्, सबै प्रयोग गरेका हुन्छन्, त्यसको हिसाब गर्नु परिहाल्छ । त्यसकारण धार्मिक होस् वा अन्य सबै पर्यटकबाट पर्यटन क्षेत्रको अपेक्षा भनेको उसले गर्ने खर्च नै हो ।
 
प्रसंग बदलौं, नेपालको ‘वाइल्डलाइफ टुरिजम’ एसियाकै उदाहरणीय व्यवसाय भनिन्थ्यो, तर ३ वर्षदेखि बन्द छ । पर्यटन क्षेत्रमा यसको असर के परिरहेको छ ?
चितवन निकुञ्जभित्रका होटल बन्द हुनु भनेको नेपाली पर्यटनका लागि ‘ट्र्याजेडी’ हो । हिमाल भन्नेबित्तिकै नेपाल हो भन्ने विश्वभर बुझिन्छ । त्यस्तैगरी वाइल्डलाइफ भन्नेबित्तिकै अफ्रिका भन्ने बुझिन्छ । जब हामीले नेपालमा सुरु ग¥यौं, त्यसपछि अफ्रिकापछि वाइल्डलाइफका लागि नेपाल चिनिन थाल्यो । त्यतिबेला विदेशी मुद्रा कमाउनेमा काठमाडौंपछि चितवन नै थियो । ७ वटा होटलले जम्मा गर्ने मुद्रा पोखराका सबै होटलको भन्दा बढी थियो । उनीहरूले यसमा धेरै महँगो तिर्ने गरेका थिए । त्यहाँ संयुक्त राष्ट्रसंघ, डब्लूडब्लूएफलगायत सबैका क्षेत्रका प्रतिनिधिहरू नेपाल आउँदा त्यहीँ जाने गरेका थिए, जसले गर्दा चितवनको ब्रान्ड विश्वभर फैलिएको थियो । पछि वरपर र बाहिर होटलहरू आए तर होटलहरूको क्षमता कति हो, कति पर्यटक बस्न पाउने हुन् भन्ने नै पत्तो भएन । अनि अन्यको बुझाइ के पर्न गयो भने अब भित्रका होटलको काम बाहिरले गर्छन् । तर, त्यो सम्भव थिएन । १२ किलोमिटरमा राखेर हामीले जनावरदेखि सबै कुराको संरक्षण गरेका थियौ । बन्द हुनुले विशेष गरी दुइटा कुरामा असर परेको छ— एउटा, नेपालले खर्च गर्ने पर्यटक गुमाएको छ भने । अर्कातिर विदेशी लगानी भिœयाउने भन्ने, तर ५० वर्षअगाडि आएका लगानीकर्तालाई हटाउने काम भएको छ, यसले विश्वभर नकारात्मक प्रचार भएको छ । 
 
३ वर्षपछि आएर सर्वोच्च अदालतले होटल खुलाउने बाटो खोलिदिएको छ । तपाईं अग्रज व्यवसायी पनि भएका नाताले सरकारलाई के सुझाव दिनुहुन्छ ?
हामी चाहन्छौं— सरकारले गम्भीर भएर अध्ययन गरोस् । यसले कति असर पारेको थियो तथा सम्भावना के छ भनेर त्यस क्षेत्रमा विज्ञहरूको टोली बनाएर विस्तृत अध्ययन गर्नुपर्छ । हामी त अहिले पनि दाबीका साथ भन्छांै कि हाम्रा होटलले कुनै पनि असर गरेका थिएनन् । यसले जैविक विविधतलाई संरक्षण गर्ने काम गरेको छ । यदि कहीं कसैलाई असर गरेको छैन भने किन नदिने ? निकुञ्जभित्र पुनः होटल सञ्चालन गरिनुपर्छ ।
 
नेपालको पर्यटनमा धमाधम लगानी भइरहेको छ, होटल पनि बढिरहेकै छन्, तर पर्यटक संख्याचाहिँ बढ्न सकेको छैन । किन होला ?
कुनै पनि देशमा पर्यटक भित्रिने ‘बटम गेट’ भनेको विमानस्थल नै हो । तर दुर्भाग्य, हामीसँग सबैभन्दा समस्या विमानस्थलकै छ । हाम्रो मोटरबाटो राम्रो छैन, जलयात्रा सम्भव छैन । त्यसैले सबैभन्दा मुख्य फिडर भनेको विमानस्थल हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापन भनेको होटल व्यवस्थापनजस्तै हो । यहाँ चलाउने कुरमा विवादभन्दा पनि व्यवस्थापन गर्ने कुरा महŒवपूर्ण हो । निजगढ विमानस्थल कहिले बन्ने हो, पत्तो छैन । त्यो समयसम्मका लागि त्रिभुवन विमानस्थललाई विस्तार  र व्यवस्थापन गर्नु अत्यावश्यक भइसकेको छ । नेपालमा बन्दै गरेका पोखरा र भैरहवाका साथै निजगढ विमानस्थल निर्माण सम्पन्न भएपछि वर्ष दिनमा ५० लाख पर्यटक नेपाल आउनेछन् । आएनन् भने नेपालमा आर्थिक संकट हुनेछ । किनभने, अहिले २० वटाभन्दा बढी ठूला होटलहरू पाइपलाइनमा छन् । उनीहरूले त्यसैलाई केन्द्रित गरेर लगानी गरेका छन्, बैंकबाट ऋण लिएर । यदि पर्यटक नै आएनन् भने उनीहरूको लगानी डुब्नेछ । अनि नेपालमा आर्थिक मन्दी हुनेछ ।
 
तपाईं पाटाको सचिवसमेत हुनुहुन्छ, यसबाट नेपालले के फाइदा लिन सक्छ ?
पाटाले कुनै पनि मुलुकलाई फाइदा दिने भनेको मार्केटिङ गरेरै हो । पाटाले दिनेभन्दा पनि हामीले पाटाबाट कति लिन सक्छौं भन्ने महŒवपूर्ण विषय हो । पाटाको नेटवर्किङभित्र गएर आफ्नो नेटवर्क बनाउने हो । पाटा भनेको पर्यटन क्षेत्रको समुद्र हो । के लिने भन्ने कुरा देशले निर्धारण गर्नुपर्छ, त्यसपछि हामीले ब्रान्डिङ गर्नेदेखि सबै कुरामा सहयोग गर्न सक्छौं । पाटाले नेपाललाई चिनाउन धेरै मेहनत गरेको छ । हामीले इन्टरनेट पनि नभएका बेला हिमालयन मार्ट चलाएर काम गरेका थियौं, जसले गर्दा धेरै फाइदा भयो । त्यसैले अध्ययन गरेर मार्केटिङ गर्नुपर्छ, जसका लागि पाटाले सहयोग गर्छ ।
 
नेपाली पर्यटन क्षेत्रलाई गति दिन तत्काल के गर्नुपर्छ ?
नेपाललाई तत्कालका लागि चाहिएको भनेको विमानस्थल नै हो । विमानस्थल निर्माणपछि ठूला एयरलाइन्सहरू नेपाल आउनेछन् र उनीहरूले नै धेरै हदसम्म मार्केटिङ गर्नेछन् । नेपाल पर्यटन बोर्डले गरेको मार्केटिङ नै काम नलाग्ने भएको छ । कहाँको बजारमा कसरी मार्केटिङ गर्ने भन्ने अनुसन्धान गर्नुपर्छ । कुन क्षेत्रबाट पर्यटक बढेका छन्, कुनबाट घटेका छन् भन्ने अनुसन्धान गरेर मार्केटिङ गर्नुुपर्छ । त्यसका अतिरिक्त नेपालमा अस्वस्थ प्रतिस्पर्धा भइरहेको छ, जुन दुर्भाग्य हो । पर्यटकहरूलाई सस्तो गन्तव्य नेपाल भनेर प्रचार गराउनु गलत छ, यसमा सुधार हुनुपर्छ । सरकारले केही गर्नुपर्दैन, तत्काल बन्दै गरेका दुईवटा विमानस्थल समयमै निर्माण सम्पन्न गरेर निजगढ विमानस्थलमा केन्द्रित हुनुपर्छ । 
 
-बुद्ध धर्म विश्वभर फैलिए पनि बुद्ध स्वयम् भने नेपाल, विहार र यूपीबाहेक अन्यत्र गएको वैज्ञानिक रूपमा कतैबाट पनि पुष्टि भएको छैन । 
-विश्वमा कुनै पनि धर्म यति छिटो फैलिएको छ भने त्यो बुद्ध धर्म नै हो र त्यो पनि कुनै पहलबिनै ।
-सरकारले पिकको मूल्य जसरी घटायो यसमा हामी र विश्वका प्रबुद्ध व्यक्तिहरूले पनि राम्रो मानेका छैनन् । सरकारले चीनले घटायो भन्ने तर्क गर्छ तर त्यसो होइन ।
-जब हामीले नेपालमा वाइल्डलाइफ टुरिजम सुरु ग¥यौं,  त्यतिबेला विदेशी मुद्रा कमाउनेमा काठमाडौंपछि चितवन नै थियो । ७ वटा होटलले जम्मा गर्ने मुद्रा पोखराका सबै होटलको भन्दा बढी थियो ।
-पोखरा र भैरहवा विमानस्थलका साथै निजगढ विमानस्थल निर्माण सम्पन्न भएपछि वर्ष दिनमा ५० लाख पर्यटक नेपाल आउनेछन् ।

No comments:

Post a Comment