सुमन पाण्डे
अध्यक्ष, पाटा (नेपाल च्याप्टर)
१८ औं पुस्तासम्म नेपाली सेनामा रहेको नुवाकोटको पाण्डे परिवार अहिले भने पर्यटन व्यवसायमा अग्रणी मानिन्छ । सन् १९८८ मा हिमालयन एक्सपिडिसन कम्पनी खोलेर पर्यटनमा आएको यो परिवारको स्वामित्वमा अहिले दर्जनौं व्यवसाय छन् ।सुमन पाण्डे आफैंले सन् १९९६ मा हिमालयन एक्स्प्लोरर नामक कम्पनी खोले । सन् २००७ मा फिस्टेल एयर लिएर एयरलाइन्स क्षेत्र छिरेका पाण्डे हाल ठमेलमा छायाँ सेन्टर निर्माणमा तल्लीन छन् भने हिमालयन एयरलाइन्स सञ्चालनका लागि पनि उत्तिकै व्यस्त छन् । सँगै गोमा एयरको सञ्चालक भएरसमेत काम गरिरहेका छन् । पाटा नेपाल च्याप्टरका अध्यक्ष पाण्डे टानका पूर्वअध्यक्षसमेत हुन् । पर्यटनसँगको लामो अनुभव उनले कारोबारकर्मी केदार दाहालसँग यसरी बाँडे :अध्यक्ष, पाटा (नेपाल च्याप्टर)
पर्यटक आगमनदर हेर्ने हो भने घटिरहेको छ तर तपाईंहरू ठूलो लगानी गरेर होटल खोल्दै हुनुहुन्छ, विदेशी एयरलाइन्स ल्याइरहनुभएको छ, किन ?
अहिलेको अवस्था हेरेर लगानी गर्ने नै होइन । लगानी भनेको दीर्घकालीन सोच राखेर गर्ने हो । लगानी बढ्नु र पर्यटक आगमनदर छुट्टाछुट्टै विषय हुन् । नेपालमा शान्ति स्थापना भएपछि होटलमा मात्र होइन, जलविद्युत्मा पनि लगानी आइरहेका छन् । अन्य उत्पादनमूलक क्षेत्रमा पनि लगानी आइरहेका छन् । यतिबेला सबैलाई के अनुभव भइरहेको छ भने सबैतिर आर्थिक कुरामात्र भइरहेका छन् । यो नै लगानीको उपयुक्त अवसर बनेर आइरहेको छ । होटलमा आएको लगानी मुलुकमा शान्तिबहाली र संविधान जारी भएर मुलुक अगाडि बढ्छ भन्ने आशामा हो ।
त्यसो भए त पर्यटक पनि नघट्नु पर्ने होइन र ?
अहिले पर्यटक घट्नुमा ३–४ वटा कारण छन् । जुन हिसाबले विश्वमा पर्यटकहरूको संख्या बढेको छ, हामी त्यसका लागि तयार भएनौं । राज्य पनि खासै चासो दिएर यो विषमा लागेको पाइएन । सरकारी निकायमा भएका अनियमितताको विषयमा निजी क्षेत्रले सडक आन्दोलन गर्नुपर्ने अवस्था आउनुप¥यो । यसले पनि प्रष्ट पार्छ, जिम्मेवार निकायमा बसेकाहरू पर्यटन क्षेत्रको विकासमा कति महत्व दिन्छन् भन्ने । युरोपेली युनियनले नेपाली हवाई आकाशलाई कालोसूचीमा राख्दा पनि एजेन्टहरूले ठूला कार्यक्रम राखेका छैनन् । त्यसले पनि पर्यटक आगमनदर घटाइरहेको छ । नेपालमा पर्यटन क्षेत्रबाट प्रवद्र्धनका कार्यक्रमहरू जुन हिसाबले गर्नुपर्ने हो, त्यो हुन सकेको छैन । केही आशाहरू भने पक्कै थपिएका छन् । विमानस्थल निर्माण, सडक–बाटो विस्तारका कुराले गर्दा पनि पर्यटक आगमनदर बढ्छ । त्यसका लागि भए पनि होटलमा लगानी आवश्यक छ भन्ने सबै लगानीकर्ताले बुझेर होटलमा लगानी गरिरहेका हुन् ।
ठूला होटलमा लगानी त आइरहेका छन् तर पनि किन ठमेलकेन्द्रित ? यसले त झन् अस्वस्थ प्रतिस्पर्धा निम्त्याउँदैन र ?
ठमेलमा मात्र आएको भन्ने कुरा संयोग हो । हामीले वा अन्यले ठमेल नै खोजेर आएका होइनौं । तर, पनि लगानीकर्ताले अवसरचाहिँ अवश्य खोज्छन् । एउटा कुराचाहिँ के हो भने ठमेल विश्वका जुनसुकै मुलुकका नागरिकलाई पनि थाहा छ । यति सानो क्षेत्रमा यति धेरै कुरा छन्, जसले सबैको ध्यान तानेको देखिन्छ, जहाँबाट जसरी नेपाल पर्यटक आए पनि प्रायःले ठमेल आएरमात्र कुन स्थानमा घुम्न जाने भन्ने योजना बनाउँछन् । अर्को कुराचाहिँ अहिलेसम्म ठमेलमा भएका होटल तथा संरचनाहरू मध्यमस्तरका पर्यटकका लागि मात्र थिए । उच्चस्तरका पर्यटकले पनि ठमेलमा समय बिताउने वातावरण बनाउने होटलले नै हो, त्यसैले पनि लगानीकर्ताको ध्यान तानिएको हुन सक्छ । पर्यटकलाई खाना खान, ट्रेकिङ जाने सामग्री किन्नदेखि एजेन्ट खोज्न पनि ठमेल आउनुपर्ने तर बस्ने होटलचाहिँ नभएकाले होटल ठमेलकेन्द्रित भएका हुन् ।
तपाईंहरूले ठमेलमै छायाँ सेन्टर निर्माण गर्दै हुनुहुन्छ । यसले नेपालको पर्यटनमा के नयाँपन दिन्छ ?
नेपाल भ्रमण आउने पर्यटकका लागि रुचिको विषय हो ठमेल । हरेक कुरा ठमेलमा आएर ठोक्किन्छन् । छायाँ सेन्टर आएपछि नेपाल भित्रिने पर्यटक अन्यत्र जानुपर्दैन, सबै यहीँ व्यवस्था हुनेछ । सामग्री खरिद गर्नेदेखि खाने–बस्ने सुविधासम्म सबै प्रकारका सुविधा हुनेछन् । ठमेल आउँदा पार्किङको समस्या छायाँ सेन्टरले हाल गर्नेछ, जहाँ ४५० भन्दा बढी गाडी पार्किङ गर्न सकिन्छ । ठमेलभित्रको ठमेल बन्दैछ छायाँ सेन्टर । ठमेलले वास्तवमा नयाँ ठमेल पाउनेछ । यहाँ अहिलेसम्म सिनेमा हल छैनन् तर सेन्टरमा हल बन्दैछ । नेपालमा विश्वका सिनेमा पारखीहरू आउँछन्, त्यसमा पनि ठमेलमा त धेरै नै आउँछन् । उनीहरुलाई लक्षित गरेर हल बनाउन लागिएको हो । नेपालमा अहिलेसम्म बिजनेस कम्प्लेक्स र पाँचतारे होटल सँगै छैनन्, यहाँ एकै स्थानमा हुँदैछन् । नेपाल भित्रिने पर्यटकका लागि नयाँ प्रडक्ट हुनेछ छायाँ सेन्टर ।
छायाँ सेन्टर र होटल ठ्याक्कै कहिलेदेखि सञ्चालनमा आउँछन् ?
अहिले जुन हिसाबले काम अगाडि बढाइरहेका छौं, त्यसअनुसार सन् २०१६ को पहिलो पर्यटकीय सिजनमा छायाँ सेन्टर सञ्चालनमा आउँछ । त्यसको १ वर्षपछि स्टारउडको अलफ्ट ब्रान्डको पाँचतारे होटल सञ्चालनमा आउँछ ।
नेपाली लगानीकर्ताले लगानी गरेका अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनी एकपछि अर्को असफल भइरहेका बेला तपाईंहरूले रुचि देखाउनुको कारण ?
एयरलाइनस भनेको यस्तै बिजनेस हो । संसारभरिका राज्यले सञ्चालन गरेका एयरलाइन्सहरू पनि टाट पल्टिएका उदाहरण छन् भने सानो लगानी गरेर खोलिएका एयरलाइन्स कम्पनीले ठूलो मार्केट बनाएका सफल उदाहरण पनि छन् । भारतमा भीपी गोपीनाथ भन्ने पाइलटने सञ्चालन गरेको डेकन एयरले यसरी बजार विस्तार ग¥यो कि पछि त्यसलाई जेट एयरवेजले लियो । बेलायतमा रिचर्ज बेड्सनले दुइटा एयरक्राफ्टमार्फत सञ्चालनमा ल्याएको भर्जिन एयरलाइन्स आज युरोपको उत्कृष्ट एयरलाइन्स भएको छ । त्यसकारण एयरलाइन्सका सफल र असफल दुवै धेरै उदाहरण छन् । नेपालमा आन्तरिक र बाह्यमा आएकामध्ये कति बन्द भए, कतिले राम्रो गरिरहेका छन् । एयरलाइन्समा सबैभन्दा महत्वपूर्ण कुरा भनेको लगानी हो । लगानी भनेको एयरलाइन्स सञ्चालनमा आएपछि बिजनेस गरेर केही फाइदा जाने बेलासम्म भन्ने बुझिन्छ । त्यो हुन सकेन भने एयरलाइन्स टिक्दैन । बन्द हुनुको कारण पनि यही हो ।
अर्को कुरा दक्ष जनशक्ति अभाव हो । स्पेयर्स पार्ट्सदेखि व्यवस्थापनमा पनि दक्ष जनशक्ति आवश्यक पर्छन् । विगतमा आएका केही एयरलाइन्सहरू सञ्चालनको दिनसम्म मात्र टिक्ने हिसाबले आए, जुन एकदमै नकारात्मक कुरा हो । पहिले नै सबै तयारी गरेर आउनुपर्छ । उडान सुरु गरेर दक्ष जनशक्ति खोज्ने होइन । अरुको उदाहरण देखेर हामी के निर्णयमा पुग्यौं भने अन्तर्राष्ट्रिय एयरलाइन्समा लगानी गर्न नेपाली लगानीकर्ताको अझै समय भएको रहेनछ । त्यसैले प्राविधिक कारण र लगानीको रकमले गर्दा विदेशी एयरलाइन्ससँगको साझेदारीमा सञ्चालन गर्न खोजका हौं । हामीले एयर चाइनाको स्वामित्वमा रहेको तिब्बत एयरलाइन्ससँग मिलेर लगानी गरेको भएर हामी सफल हुनेमा आशावादी छौं । हामीले स्थानीयस्तरको सहयोग गर्ने हो, उनीहरूले प्राविधिक व्यवस्थापन र मार्केटिङ गर्ने भएकाले अन्य नेपालीले लगानी गरेर बन्द भएका एयरलाइन्सभन्दा हामी टिक्नेमा विश्वस्त छौं ।
एयरलाइन्स टिक्ने आधार विदेशी एयरलाइन्ससँगको साझेदारी नै हो त ?
त्योमात्र होइन तर त्यसले सहयोग गर्छ । एयरलाइन्सका लागि दक्ष जनशक्ति चाहियो, तालिम चाहियो, प्राविधिक दक्षता चाहियो र सदैव स्पेर्यस पार्ट्स सप्लाई हुनुप¥यो । अर्को कुरा लगानी हो । मुख्य कुरा मार्केटिङ हो, जुन साझेदारी एयरलाइन्सले गर्दा सहज हुनेछ । नेपाल वायुसेवा निगमको विश्वास गुमेको अवस्था छ । कुनै जमानामा बजार हिस्सा ६५ प्रतिशत रहेकोमा अहिले खुम्चिएर ३ प्रतिशतमा झरेको छ । विदेशी पर्यटकको पहिलो रोजाइ राष्ट्रिय ध्वजावाहक हुने भएकाले पनि निगम बलियो हुनुपर्छ । हामी पहिलो एयरलाइन्स हुन्छौं, जसले ध्वजावाहकको ‘ग्याप’ पूर्ति गर्छ । यो पनि हामी सफल हुने अर्को कारण हो ।
अहिले दैनिक १५ सयदेखि २ हजार नेपाली विदेश गइरहेका छन् । त्यसको २० प्रतिशतमात्र हामीले लिन सक्यौं भने एयरलाइन्स टिक्छ । विश्व ‘ग्लोबल भिलेज’का रूपमा अगाडि बढिरहेका बेला यसले पनि सहयोग गर्छ । आज नेपाल ‘फिफ्थ फ्रिडम’मा अडिएको अवस्था छ । विदेशी कम्पनी नेपाल आएर अन्य मुलुकमा उडान गर्न दिनुचाहिँ ‘फिफ्थ फ्रिडम’ हो तर नेपाल त्यसमा गएको छैन । आज विश्वमा ‘एट्थ फ्रिडम’का कुरा आइसकेको छ । विदेशी एयरलाइन्सले आन्तरिक उडानसमेत गर्न पाउने व्यवस्था खुला भइसकेको छ तर नेपालमा त्यो हुन सकेको छैन । सारा संसारको बजार खुला भइरहेका बेला नेपालीले राम्रो गर्दैनन् भन्ने कुरा मान्न सकिँदैन ।
चीनबाट यति धेरै एयरलाइन्स नेपाल आउँदैछन्, प्रतिस्पर्धा गर्न त सजिलो छैन नि !
म चीनसँग नजिक भएको २० वर्ष भयो । आजको दिनमा चिनियाँ सरकार र जनताको एकदमै सद्भाव पाएको छ । चीन सरकारले अहिले नेपालमा कसरी धेरै चिनियाँ पर्यटक पठाउने भन्ने ध्याउन्नमा छ । त्यही भएर पनि अहिले चिनियाँ पर्यटक नेपालमा बढिरहेका छन् । अहिलेको तथ्यांकअनुसार वार्षिक ८ करोड चिनियाँहरू विदेश भ्रमणमा जाने गरेका छन् । तिब्बतको ल्हासा चिनियाँका लागि खुलेको जम्मा १० वर्षमात्र भएको छ । त्यहाँ ४० लाख चिनियाँ पर्यटक आउजाउ गर्छन् ।
ल्हासाबाट चिनियाँ पर्यटक नेपालको बाटो हुँदै फर्कने वातावरण तयार हुँदैछ । यसपछि कति धेरै पर्यटक नेपाल आउनेछन् भन्ने कुरा हामी कल्पना पनि गर्न सक्दैनौं । ५ वर्षमा केरुङ रेल ल्याउँदै छ । आगामी ५ वर्षमा नेपालमा १० लाख चिनियाँ पर्यटक पठाउने गरी काम भइरहेको छ । अहिले हाइड्रो, विमानस्थल निर्माणदेखि हरेक स्थानमा चिनियाँहरू संलग्न भइरहेका छन् । यही नै पर्यटक भित्रिने संकेत हो । यसरी पर्यटक संख्या बढ्यो भने जति पनि एयरलाइन्स धान्न सकिन्छ ।
नेपाल पर्यटन बोर्डको विवाद त अझै मिलेको छैन । तपाईंहरूले अलपत्रै पारेर छाड्नुभयो है ?
विवाद नमिलेको होइन । हामीलाई पनि थाहा थिएन— ३ वर्षका यति धेरै संक्रमण फैलिएको रहेछ, जसले गर्दा हामीले आन्दोलन गर्नुप¥यो, मन्त्रालय जानुप¥यो, अख्तियारको ढोका चहानुप¥यो । त्यो नभएर संसद्समेत गुहार्नुप¥यो । तर, बोर्ड अब बिस्तारै किस्ताबन्दीमा पुरानै ठाउँमा फर्किंदै छ । बोर्डलाई फेरि सुधार गर्नुपर्ने छ । यसका लागि निजी क्षेत्र पनि इमान्दार हुनुपर्छ । हामी पनि आफ्नो स्वार्थलाई छाडेर बोर्डको स्वार्थमा केन्द्रित भयौं भने सबै कुरा सुध्रिनेछन् ।
नेपाली पर्यटन क्षेत्रमा पाटा नेपाल च्याप्टरको भूमिका कमजोर किन छ ?
नेपालमा धेरै संस्थाहरू छन्, सबैले आ–आफ्नो क्षेत्रबाट काम गरिरहेका हुन्छन् । पाटा पनि तिनै सदस्यहरूकै संस्था भएकाले पनि केही छायाँमा परेको जस्तो भएको छ । तर, पनि हामीले धेरै कुराहरू अगाडि बढाइरहेका छौं । हाम्रोचाहिँ ट्रेड युनियनको कामभन्दा पनि तालिम तथा व्यवस्थापनको काम हो । पाटा अन्तर्राष्ट्रियले विश्वभर कुनै पनि ब्रान्ड स्थापना गर्नका लागि मार्केटिङदेखि विविध कुरामा सहयोग गर्छ ।
पाटाले अब हिमालयन ट्राभल मार्ट सञ्चालन गर्नका लागि पहल गरिरहेको छ । पाटाको मुख्य काम भनेको ‘बिजनेस टु बिजनेस डिल’ गराइदिने हो, जसमा मार्टमार्फत ‘एजेन्ट टु एजेन्ट’, ‘बिजनेस टु बिजनेस’सँगै अन्यको पनि त्यसरी नै छलफल र प्रडक्ट आदान–प्रदान गराउने हो । हामीले आधुनिक व्यवस्थापनसम्बन्धी पनि काम गरिरहेका छौं । त्यसमा वार्षिक २ वटा तालिम सञ्चालन गराइरहेका छौं । हाम्रो काम भनेको विभिन्न तथ्यांक सार्वजनिक गर्ने र त्यहीमार्फत संसारभर पर्यटनका योजना बनाउने पनि हो । नेपालमा पनि हामीले त्यही काम गरिरहेका छांै ।
सोख– व्यवस्थापन
सुन्दर स्थान– पोखरा र स्याङ्बोचे
पुस्तक– इजरायली पूर्वप्रधानमन्त्री गोल्डा मेइरको ‘माई लाइफ’
हाल पढिरहेको पुस्तक– चेतन भगतका पुस्तक
परिवार – आमा, श्रीमती, छोरा र छोरी
No comments:
Post a Comment