केदार दाहाल
काठमाडौं, १६ मंसिर - माओवादी द्वन्द्वका कारण १ दशकअघि बन्द भएको दरबारमार्गस्थित उडल्यान्ड होटल पुनः सञ्चालनमा आएको छ । १० वर्षका लागि भाडामा चलाउने गरी गत असोजदेखि नयाँ लगानीकर्ताले उडल्यान्ड काठमाडौं होटल प्रालिको नामबाट सञ्चालनमा ल्याएका हुन् ।
चारतारे होटलबराबरकै सेवा–सुविधायुक्त सोहोटलमा संसरा रेमिटयान्सका अध्यक्ष प्रदीपकुमार श्रेष्ठ, अञ्जन थापासहित ३ जनाले ७ करोड रुपैयाँ लगानी गरेका छन् ।
करिब १० वर्षदेखि बन्द रहेको उक्त होटल आवश्यक मर्मत गरेर भाडामा लगाइएको उडल्यान्ड होटलका सेल्स एन्ड अपरेसन निर्देशक ऋषि पाण्डेले बताए । द्वन्द्व, मजदुरको दबाब, प्रतिकूल व्यापारिक वातावरणलगायतका कारण देखाउँदै वि.सं. २०६१ देखि सो होटल पूर्ण रूपमा बन्द थियो ।
होटल क्षेत्रमा व्यावसायिक चासो बढ्न थालेको र पर्यटक होटल सञ्चालनको अवश्यकतामहसुस गरेर भाडामा लिएर पुनः सञ्चालन गर्न लागिएको होटलले जानकारी दिएको छ । होटलले पुनः सञ्चालनका लागि नयाँ स्वीमिङपुल तथा हेल्थ क्लब, आन्तरिक व्यवस्थापन, रङ्गरोगनलगायतका काम गरेर सञ्चालनमा ल्याएको हो । उडल्यान्ड काठमाडौंका अनुसार प्रतिस्पर्धात्मक बजारमा होटल सञ्चालन गर्नुपर्ने भएकाले आधुनिक सेवा–सुविधा पनि थप गरेर बताएको छ । यसका लागि करीब ७ करोड खर्च गरेर लिफ्ट, स्वीमिङ पुल, होटलका कोठा, रेस्टुराँ, बगैंचाको मर्मत तथा पुरानो प्रविधिलाई हटाएर नयाँ राखिएको पाण्डेले जानकारी दिए । “हामीले यही नै भनेर स्तर लिएका छैनौं, तर चारतारे बराबरको सुविधा दिएका छौं,” पाण्डेले भने ।
१ सय कोठा रहेको सो होटलको ४० ओटा वठाबाट सेवा सुरु गरिएको छ, जसमध्ये ३ वटा कोठा भने फेमिली रुम बनाइएको छ । अन्य कोठामा हाल रेस्टुराँ तथा व्यापारिक प्रयोजनका निम्ति प्रयोग भइरहेको छ । यस होटलमा भिन्टेज क्याफे एन्ड बार रेस्टुरेन्ट र मिल्क कफी सप सञ्चालनमा छन् ।
२०३२ सालमा स्थापना भएको यो होटल पर्यटकीय स्टान्डर्ड हँुदै चारतारेसम्म आइपुगेको थियो । ०४७ सालमा मजदुर आन्दोलनका कारण होटल बन्द भएको थियो । केही समयपछि सञ्चालनमा आएको यो होटल पुनः २०६१ सालमा दोस्रो पटक बन्द भएपछि अहिले पुनः सञ्चालनमा ल्याइएको हो । उक्त होटल हरिहरलाल श्रेष्ठले सञ्चालन गरेका थिए ।
पर्यटन व्यवसायमा देखिएको सम्भावनाकै आधारमा द्वन्द्वकालमा बन्द भएका होटललाई पुनः सञ्चालनमा ल्याएको होटलका फाइनान्स निर्देशक कृष्ण वस्तीले बताए । होटलमा कर्पोरेट, बिजनेसलगायत अन्य पर्यटकहरू पनि आउने गरेको उनले बताए । “होटलमा चिनियाँ, भारतीयलगायत युरोपियन र अमेरिकनसमेत आउने गरेका छन्,” निर्देशक पाण्डेले भने । होटलमा नेपाली, चाइनिज, इन्डियन तथा कन्टिनेन्टल खाना पाइन्छ । होटलमा ३० जना अट्ने क्षमताको कन्फरेन्स हलसमेत छ ।
No comments:
Post a Comment