केदार दाहाल
काठमाडौं, २८ मंसिर- सन् २०१५ सुरुवातसँगै अन्तर्राष्ट्रिय उडानका लागि आधा दर्जन नयाँ एयरलाइन्स नेपाल आउने भएका छन । बंगलादेशबाट रिजेन्ट, मलेसियाबाट मालिन्दो, चीनको छेन्दुबाट सिचुवान, श्रीलंकाबाट मिहिनलंका एयरलाइन्स, भारतबाट गो एयर र नेपाली तथा चिनियाँ लगानीको हिमालयन एयरलाइन्सले नेपाल उडानको अन्तिम तयारी गरिरहेका छन् । यससँगै नेपाल उडान भर्ने अन्तर्राष्ट्रिय एयरलाइन्सको संख्या ३३ पुग्नेछ ।
बंगलादेशबाट रिजेन्टले डिसेम्बर २७ देखि सातामा ७ उडान गर्नेगरी स्वीकृति लिइसकेको छ भने श्रीलंकाको मिहिनलंकाले २०१५ को सुरुबाटै उडान सुरु गर्नेगरी प्रक्रिया अगाडि बढाइरहेको छ । मलेसियाबाट मालिन्दोले केही दिनभित्रै उडान गर्नेगरी तयारी गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालले जानकारी दिए ।
चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सले सन् २०१५ को सुरुवातदेखि उडान गर्दैछ । हिमालयन एयरले फेब्रुअरीदेखि उडान गर्ने गरी उडान सञ्चालन प्रमाणपत्र (एओसी)को प्रक्रिया जारी राखेको छ ।
नेपालमा हाल विमान बंगलादेशले नेपाल उडान गरिरहेको छ । अब रिजेन्ट पनि थपिँदैछ । श्रीलंकाबाट अहिलेसम्म कुनै उडान छैनन् । मिहिनलंकाले उडान थालेपछि नेपाल र श्रीलंकाबीच सिधा हवाई सम्पर्क जोडिनेछ । मालिन्दोले उडान सुरु गरेपछि मलेसियाबाट नेपाल उड्ने एयरलाइन्स संख्या ३ पुग्नेछ । हाल मलेसियामा नेपालबाट वायुसेवा निगमले उडान गरिरहेको छ । मलेसियाबाट मलेसियन एयरलाइन्स र एयर एसियाले उडान गरिरहेका छन् । सिचुवानले नेपालमा एयरबस ३२० सिरिज जहाजमार्फत उडान गर्ने बताएको छ । उसले छेन्दु–ल्हासा–काठमाडौं उडान गर्नेछ ।
हिमालयले तिब्बत एयरलाइन्ससँगको सहकार्यमा उडान गर्दैछ । २ अर्ब ५० करोड रुपैयाँ लगानी गरी हिमालयन स्थापना भएको हो । चीनबाट यसअघि नै एयर चाइना, चाइना इस्टर्न र चाइना साउदर्न एयरलाइन्सले नेपाल उडान भर्दै आएका छन् । भारतबाट एयर इन्डिया, स्पाइस जेट र इन्डिगो एयरले उडान गरिरहेकामा गो थपिँदैछ ।
नेपालमा धेरै अन्तर्राष्ट्रिय एयरलाइन्सको ध्यान केन्द्रित भइरहेकाले यहाँको पर्यटनमा सकारात्मक प्रभाव पार्ने नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष रामकाजी कोने बताउँछन् । “हामीले निगमलाई बलियो बनाउन सकेको भए सिधै युरोप र अमेरिका उडान गर्न सक्थ्यौं,” उनी भन्छन्, “विदेशी एयरलाइन्सले बर्सेनि यति धेरै पैसा लगिरहेका छन्, त्यो त रोकिन्थ्यो !”
थपिने नयाँ एयरलाइन्स
देश एयरलाइन्स
बंगलादेश रिजेन्ट एयरलाइन्स
श्रीलंका मिहिनलंका एयर
मलेसिया मालिन्दो एयर
चीन (छेन्दुबाट) सिचुवान
चीन (ल्हासाबाट) हिमालयन एयर
भारत गो एयर
No comments:
Post a Comment