आर्थिक क्षेत्रका विशेष गतिविधी

Wednesday, April 15, 2015

पर्यटनमा अवसर

जगन्नाथ दुलाल
काठमाडौं  । बद्री पन्त १० वर्षदेखि पथप्रदर्शक (ट्रेकिङ गाइड)का रूपमा सक्रिय छन् । अवसरको खोजीमा साथीभाईले खाडी मुलुकको बाटो तताए । उनी भने देशभित्रै अवसरको खोजीमा लागे । पर्यटनमा सम्भावना खोज्दै पहाडका कुनाकन्दरा र हिमालका चुचुराहरूमा पुग्न थाले ट्रेकिङ गाइडका रूपमा ।
सुन्दर देश, प्राकृतिक रूपले सम्पन्नता, नेपालको आफ्नै परिचय । मुलुक सुन्दर भए पनि १० वर्षसम्म चलेको सशस्त्र युद्धले पर्यटन क्षेत्र दयनीय अवस्थामा पुगेको थियो । जति बेला उनले ट्रेकिङ गाइडका रूपमा विदेशीलाई डो¥याउन सुरु गरे । “त्यतिबेला जनसरकारका नाममा एकजना पर्यटकले दिनको सय रुपैयाँ बुझाउँथे,” उनले त्यतिबेलाको अवस्था सम्झिए, “शान्तिसुरक्षाको अवस्था त्यति राम्रो थिएन ।”
दशकअघि रोजेको पेसालाई फर्केर हेर्दा आफू सन्तुष्ट रहेको उनले बताए । कति कमाउँछन् त उनी मासिक ? “मासिक ५ हजारदेखि १ लाखसम्म कमाइ हुन्छ, ठ्याक्कै यति भन्ने हुँदैन,” उनले सुनाए । सिजनमा राम्रै कमाए पनि अफसिजनमा भने ट्रेकिङ गाइड फुर्सदिला हुन्छन् ।
अहिले उनी माउन्टेन मार्ट ट्रेक्समा कार्यरत छन् । पर्यटकलाई गाइड गर्नका लागि ट्रेकिङ गाइडको व्यवस्था यस्तै एजेन्सीले गर्ने गर्छन् । पर्यटन मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार नेपालमा १ हजार ६३६ वटा ट्रेकिङ एजेन्सी छन् । पर्यटन उद्योगमा सबैभन्दा धेरै रोजगारी ट्रेकिङ एजेन्सीमा छन् । ५० हजारले ट्रेकिङ एजेन्सीमार्फत काम पाइरहेका छन् ।
पर्यटन क्षेत्रका लागि फागुन, चैत, वैशाख र भदौ १५ गतेदेखि मंसिर १५ गतेसम्म गरी ६ महिना सिजन मानिन्छ । यो अवधिमा नेपालमा पर्यटकको आगमनदर उच्च हुन्छ ।
तर, यो वर्ष सिजनमै पनि पर्यटकको आगमनदर अघिल्लो वर्षको अनुपातमा घटेको पर्यटन व्यवसायीहरू बताउँछन् । यो सिजनमा पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा केही घटेको माउन्टेन लिडर्स प्राइभेट ट्राभल्सका प्रबन्ध निर्देशक केशव पाण्डेले बताए । “राजनीतिक दलले गरेको बन्द–हड्ताल, संविधान निर्माणमा भइरहेको ढिलाइ नै पर्यटक घट्नुको कारण हो जस्तो लाग्छ,” उनले भने । पर्यटक घटेपछि त्यसको नकारात्मक प्रभाव पर्यटन क्षेत्रको रोजगारीमा परेको छ ।
पर्यटन मन्त्रालयका अनुसार नेपालमा पर्यटन क्षेत्रसँग सम्बन्धित ४ हजार ८१९ कम्पनी छन् । यसमध्ये १०५ वटा तारे होटल, पर्यटकीय स्तरका होटल ६२५, निजी र सामुदायिक स्तरबाट सञ्चालिन होमस्टे २२६ वटा, ट्रेकिङ एजेन्सी १ हजार ६३६ वटा, ट्राभल एजेन्सी २ हजार ११२ वटा, ¥याफ्टिङ एजेन्सी ४९ वटा, अन्तर्राष्ट्रिय विमान कम्पनी २९ वटा, डोमेस्टिक एयरलाइन्स १५ वटा, प्याराग्लाइडिङ, अल्ट्रालाइट २२ वटा कम्पनी छन् ।
यो क्षेत्रमा रहेका २६ प्रतिशत कर्मचारीले मासिक १० हजारभन्दा कम, ३७ प्रतिशतको १० हजारदेखि २० हजारसम्म र ३७ प्रतिशतले २० हजारभन्दा बढी तलब खाने गरेको पर्यटन मन्त्रालयले गरेको पछिल्लो सर्वेक्षणमा पाइएको छ । नेपाली पर्यटन उद्योगमा रहेकामध्ये २८ प्रतिशत दक्ष कामदार  छन् । ४९ प्रतिशत जनशक्ति अर्धदक्ष र १२ प्रतिशत अदक्ष कामदार छन् ।
त्यस्तै अर्को धेरै रोजगारी सिर्जना गर्ने क्षेत्र हो, पर्यटक स्तरका होटल । यस्ता होटलमा २६ हजार ८०० ले रोजगारी पाएका छन् । तारे होटलमा १३ हजार ४५९, ट्राभल क्षेत्रमा २५ हजार २३८, ¥याफ्टिङ एजेन्सीमा ७ सयले काम गरिरहेको पर्यटन मन्त्रालयको तथ्यांक छ ।
त्यस्तै अन्तर्राष्ट्रिय विमान कम्पनीमा १२ हजार ८००, आन्तरिक उडान भर्ने विमान कम्पनीमा करिब ६ हजार, प्याराग्लाइडिङ र अल्ट्रालाइट कम्पनीमा ४४० जनाले रोजगारी पाएका छन् ।
पर्यटन क्षेत्रसँग सम्बन्धित ९ वटा उद्योगमा करिब ८८ हजार कामदार नियमित रूपमा काम गरिरहेका छन् । ५० हजार कामदार भने मौसमी कामदारका रूपमा छन् । पर्यटन क्षेत्रमा पनि महिलाको संख्या पुरुषको भन्दा कम देखिएको छ । पर्यटन उद्योगमा ८० प्रतिशत पुरुष र २० प्रतिशत महिला कार्यरत छन् ।
राजनीतिक स्थायित्व र संविधान बने पर्यटन क्षेत्रमा रोजगारीका धेरै अवसर बढ्ने देखिन्छ । देशमा भएको पर्यटनको सम्भावनालाई उपयोग गर्न सके रोजगारीको अवसर बढाउन सकिने पर्यटन व्यवसायीहरु बताउँछन् । त्यसका लागि पर्यटनसँग सम्बन्धित कतिपय नीतिमै सुधार गर्नुपर्ने ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान)का वरिष्ठ उपाध्यक्षसमेत रहेका पर्यटन व्यवसायी पाण्डे बताउँछन् ।
कहाँ कति रोजगारी
पर्यटक स्तरका होटल –२६८००
तारे होटल – १३४५९,
ट्राभल – २५२३८
¥याफ्टिङ एजेन्सी – ७००
अन्तर्राष्ट्रिय विमान कम्पनी – १२८००
आन्तरिक विमान कम्पनी – ६ हजार
प्याराग्लाइडिङ/अल्ट्रालाइट कम्पनी – ४४०

No comments:

Post a Comment