आर्थिक क्षेत्रका विशेष गतिविधी

Friday, April 17, 2015

लुफ्थान्साको टोलीसँग औपचारिक छलफल हुने

 काठमाडौं, ३ वैशाख  – लुफ्थान्सा कन्सल्टिङ कम्पनीलाई नेपाल वायुसेवा निगमको व्यवस्थापन जिम्मा दिने विषयमा नेपाल सरकार र लुफ्थान्साबीच आइतबारसम्ममा वार्ता हुने भएको छ । नेपाल वायुसेवा निगमको व्यवस्थापन सम्हाल्ने प्रस्ताव गरेको जर्मनीको लुफ्थान्सा कन्सल्टिङको टोली शुक्रबार काठमाडौं आउँदै छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत माघ ७ गते लुफ्थान्सा कन्सल्टिङलाई पत्र लेखी प्रस्ताव मागेको थियो । छलफलका लागि मन्त्रालयले लुफ्थान्सालाई नेपाल आउन आग्रह गरेको थियो । लुफ्थान्सा टोली शुक्रबार आउने भएको पर्यटन मन्त्रालयका सह–सचिव सुरेश आचार्यले जानकारी दिए ।
टोलीले पर्यटन मन्त्रालय, नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरणको टोलीसँग निगमको व्यवस्थापन लिने विषयमा २ पक्षीय र त्रिपक्षीय छलफल हुँदै छ ।
 लुफ्थान्साको प्रस्ताव स्वीकारयोग्य भएको अवस्थामा लुफ्थान्साले निगमको व्यवस्थापनको जिम्मा लिने पनि मन्त्रालयको भनाइ छ ।
निगमको व्यवस्थापन लुफ्थान्सालाई दिन निगम सञ्चालक समिति, पर्यटन मन्त्रालयदेखि अर्थ मन्त्रालयसम्म सकारात्मक देखिएका छन् ।  माघ ११ गतेनै कन्सल्टिङले व्यवस्थापन सञ्चालन गर्न इच्छुक रहेको आशयसहितको ८१ पृष्ठ लामो प्रस्ताव मन्त्री दीपकचन्द्र अमात्यलाई सम्बोधन गर्दैै पठाएको थियो । “प्रस्ताव आए पनि दुईपक्षबीच छलफल भएको थिएन, अब वार्ता गरेर दुवै पक्षको कुरा एउटै टेबलमा राखिनेछन्,” मन्त्रालयका एक अधिकारीले भने ।
मन्त्रीदेखि मन्त्रालयका उच्च तहका कर्मचारीहरू समेत लुफ्थान्सालाई व्यवस्थापन सम्हाल्न दिनुपर्ने पक्षमा छन् । प्रस्तावको छलफलको क्रममा निगम सञ्चालक समितिले मन्त्रालयलाई आफ्नो रायसमेत पेस गर्दै लुफ्थान्साको प्रस्ताव अगाडि बढाउन बाटो खोलिसकेको छ  । सन् १९७० मा एयर फ्रान्सले निगमको सम्पूर्ण व्यवस्थापन सम्हालेको थियो । उसले २ वर्ष व्यवस्थापन सम्हालेर फिर्ता भएको थियो ।
प्रस्तावमा लुफ्थान्सा कन्सल्टिङले ३ चरणमा निगमको व्यवस्थापन हेर्ने गरी प्रस्ताव पेस गरेको छ । ३ चरणका लागि ४ वर्षसम्म काम गर्ने उसको प्रस्ताव छ । पहिलो २ वर्षभित्र ४ वटा न्यारोबडी जहाज थप्ने पनि उसले प्रस्ताव राखेको छ । कन्सल्टिङले गरेको प्रस्तावमा ४ वर्षपछि समीक्षा गरेर नेपाल सरकारसँग थप सम्झौता गरी १२ वर्षसम्म पनि व्यवस्थापन सम्हाल्ने सक्ने गरी प्रस्ताव गरेको छ ।
कन्सल्टिङले गरेको प्रस्तावमा ३ चरणमा सञ्चालन, बजारीकरण र इन्जिनियरिङ पक्ष हेर्ने उल्लेख छ ।  प्रस्तावमा शून्य चरणमा आयोजना मोबिलाइजेसन, पहिलो चरणको काम गर्न २ लाख ९५ हजार युरो निगमले दिनुपर्ने प्रस्ताव छ ।
त्यसैगरी निगमले गर्ने कुल आम्दानीको २ प्रतिशत हिस्सा परामर्श शुल्कसमेत दिनुपर्ने प्रस्तावमा उल्लेख गरेको छ । प्रस्तावमा व्यावसायिक योजना २०२० बनाएर काम गर्ने प्रस्ताव गरेको छ भने निगमले तयार गरेको व्यावसायिक योजनालाई समेत कार्यान्वयन गराउने लुफ्थान्साले प्रस्तावमा राखेको छ ।
निगमले १० वर्षे व्यावसायिक कार्ययोजना बनाएर सन् २०२४ सम्मा २४ वटा जहाजमार्फत व्यावसायिक उडान गर्ने लक्ष्य राखेको थियो । लुफ्थान्साले पहिलो चरणको काम ४ महिनामा सम्पन्न गर्ने गरी प्रस्ताव गरेको छ ।
लुफ्थान्साले दोस्रो चरणको ‘ए’ मा अन्तरिम व्यवस्थापन गर्नेछ, जसमा उसले आयोजना निर्देशक राख्ने छ भने त्यस्तैगरी प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुुखकार्यकारी अधिकृत र आर्थिक व्यवस्थापन प्रमुखसमेत तोक्नेछ भने हस्ताक्षर गराउने काम भने निगम कर्मचारीकै अधिकार हुनेछ । ‘बी’ चरणमा निगमको पुनःसरचना गर्नेछ ।  पुनःसंरचना कस्तो हुने भने प्रस्तावमा उल्लेख छैन ।
लुफ्थान्सालले तेस्रो चरणमा भने स्थानीय व्यवस्थापन गराउनेछ, जसमा उसले व्यावसायिक योजना २०२० अनुसार अन्तर्राष्ट्रिय एयरलाइन्सहरूसँग सम्बन्ध विस्तार गर्नेछ । जर्मनीको राष्ट्रिय ध्वजावाहक लुफ्थान्सा एयरलाइन्सको सहायक कम्पनी कन्सल्टिङले विश्वका दर्जनभन्दा बढी एयरलाइन्समा काम गरिरहेको छ ।

No comments:

Post a Comment