आर्थिक क्षेत्रका विशेष गतिविधी

Monday, April 13, 2015

पर्यटन बोर्डमा पीपीपी मोडल असफल भएको छैन


पर्यटन बोर्डमा पीपीपी मोडल असफल भएको छैन
सुरेशमान श्रेष्ठ
सचिव, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हुन्, सुरेशमान श्रेष्ठ । वि.सं. २०४१ मा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गरेका श्रेष्ठ विभिन्न सरकारी निकाय हुँदै पर्यटन सचिवका रूपमा कार्यरत छन् । श्रेष्ठ नेपाल पर्यटन बोर्ड सञ्चालक समितिमा पदेन अध्यक्ष रहेकै बेला बोर्ड खालीजस्तै हुन पुगेको छ । निजी क्षेत्रले भने सरकार बोर्ड खारेज गर्न लागिरहेको आरोप लगाएको छ । तर, सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा स्थापना भएको बोर्ड खारेज नगर्ने अडानमा छन् उनी । पछिल्लो समय मुलुकको पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका विषयमा केन्द्रित रही कारोबारकर्मी केदार दाहाल र शिव बोहराले गरेको कुराकानी :
अनियमितता प्रकरणका कारण नेपाल पर्यटन बोर्डको अवस्था डामाडोल देखिएको छ, अब कसरी सञ्चालन हुन्छ ?
नेपाल पर्यटन बोर्ड मुलुकको पर्यटन प्रवद्र्धनको उद्देश्यका साथ स्थापना भएको सबैभन्दा ठूलो संस्था हो, जुन संस्थालाई सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालनमा ल्याइएको हो । कामकारबाहीको सिलसिलामा अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेर २३ जनाविरुद्ध मुद्दा दायर हुँदा बोर्डका अधिकांश उच्च तहका कर्मचारी निलम्बनमा परेका छन् । ३ तह खाली भएका छन्, जसमा प्रमुख कार्यकारी, निर्देशक र प्रबन्धकसमेत खाली भएको अवस्था छ ।
बोर्डमा अहिले १ अर्ब रुपैयाँको बजेट छ, १४ प्रतिशत मात्र बजेट खर्च भएको छ भने अब ३ महिनाभित्र बजेट खर्च हुने अवस्था छैन । अब कसरी लैजाने भन्ने विषयमा अहिले केही समस्या आएको छ । बोर्ड सञ्चालक समितिमा समेत ६ जना मात्र रहेको अवस्था छ । हामीले निजी क्षेत्रका अग्रजहरूलाई बोलाएर छलफल गरी बोर्ड सञ्चालक उपसमिति बनाउने निर्णय गरेका छांै । सञ्चालक समितिको सदस्यसचिव पनि निजी क्षेत्रकै प्रतिनिधिलाई राख्ने निर्णय गरेका छौं । बोर्डको उपसमितिमा निजी क्षेत्रको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरी काम सञ्चालन गर्नेछौं, जसमा निमित्त कार्यकारी प्रमुखमा मन्त्रालयबाट १ जना सहसचिवलाई पठाउने निर्णय भएका कारण अब काम अगाडि बढाउने अवस्थामा छौं ।
मन्त्रालयले हस्तक्षेप गरेर बोर्ड विघटन गर्न लागेको निजी क्षेत्रको आरोप छ नि !
सरकारले पर्यटन विभाग गठन गरेको अवस्थामा निजी क्षेत्रका साथीहरूले यस्तो आरोप लगाउँदै आउनुभएको छ । निजी क्षेत्रलाई नै अगाडि सारेर काम गर्ने हो र गरिरहेका पनि छौं । कुनै पनि ऐनले बोर्र्डमा सरकारलाई हस्तक्षेप गर्न दिँदैन । हामीले अहिले पनि संयोजक निजी क्षेत्रको प्रतिनिधि राखेर काम गर्न खाजेका हौं । हामीले निजी क्षेत्रको सुप्रिमेसी देखाइसक्यौं । उपसमितिको संयोजक पनि निजी क्षेत्रबाटै बनाएका छौं । हामीले जुन मोडलमा पर्यटन बोर्ड सञ्चालन गर्न खोजेका हौं भन्ने कुरालाई पछिल्लो निर्णयले पनि सपोर्ट गरेकै छ । यसमा निजी क्षेत्रले सरकार नकारात्मक छ भन्ने कुनै पनि शंका नराख्दा राम्रो हुन्छ ।
उपसमितिले प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोट प्रक्रिया अगाडि बढाउन सक्छ ?
बोर्डको प्रमुख कार्यकारी अधिकृत छनोट गर्ने काम कार्यकारी समितिको हो । निजी क्षेत्रका साथीहरूले आमजनमानसमा के भ्रम फैलाउनुभयो भने अब सरकारले पर्यटन बोर्ड खारेज गर्न लाग्यो । तर, हामीले सबै प्रक्रियामा निजी क्षेत्रलाई नै प्राथमिकतामा राखेका छौं भने यो कसरी सम्भव हुन्छ ? जबकि म बोर्डलाई स्थापनाको स्पिरिटअनुसार सञ्चालन गर्नुपर्छ भनेर लागिपरेको छु । निजी क्षेत्रले मलाई पनि विश्वास गर्दैन भने अब आउने सचिव मजत्तिको हुन आवश्यक छैन र नहुन पनि सक्छ । मेरो अहिलेको कदमबाट कतिपय (सरकारी) सदस्य साथीहरू असन्तुष्ट हुनुहुन्छ । हामी सरकार हौं । सरकारले आफ्नो भूमिका निर्वाह त गर्नुप¥यो नि । निजी क्षेत्रका साथीहरू आउनुहुन्छ आफ्नो कुरा राख्नु हुन्छ जानु हुन्छ तर त्यसका सम्पूर्ण जिम्मेवारी लिने त हामीले हो । म यति धेरै सकारात्मक ढंगले उहाहरूसँग प्रस्तुत भैरहँदा पनि असन्तुष्टि नै देखाइरहनुभएको छ । निजी क्षेत्रले बोर्डकै कर्मचारीलाई प्रमुख कार्यकारी अधिकृत बनाउने कुरा गर्नुभयो तर यो सम्भव छैन । मैले यो खालको कुरा गर्नुभयो भने तपाईंहरू नै बोर्डलाई धरासायी बनाउन खोज्दै हुनुहुन्छ भन्दै आएको छु । हामीले नयाँ आर्थिक वर्षसम्मका लागि प्रमुख कार्यकारीका रूपमा १ जना सहसचिवलाई जिम्मेवारी दिएर बोर्डमा पठाउने योजना बनाएका छौं । प्रमुख कार्यकारी नियुक्त गर्ने प्रावधानमा कार्यकारी समितिबाट निजी क्षेत्रका ५ जनामध्ये ३ जनाको सीईओ छनोट उपसमिति बन्छ । ती ३ जनाले विभिन्न प्रक्रिया पूरा गरी प्रमुख कार्यकारी छनोट गर्ने हो । तर, अहिले के भएको छ भने ५ जनामध्ये ३ जना अख्तियारले अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेका कारण निलम्बनमा परेका छन् । यसले गर्दा कोरम नै नपुग्ने अवस्था छ ।
बोर्डमा ३ वर्षअघि छनोट भएका १२ जनामध्येबाट कि नयाँ अनुहारबाट प्रमुख कार्यकारी ?
हामीलाई कात्तिकमा व्यवस्थापिका–संसद्को सार्वजनिक लेखासमितिले लामो समयदेखि बोर्डको प्रमुख कार्यकारी अधिकृत पद खाली भएकाले आवश्यक प्रक्रिया पु¥याइ योग्य र दक्षलाइ शीघ्र छनोट गर्नु भन्ने निर्देशन दियो । यसका लागि नियम संशोधन गर्नुपर्नेछ । यसमा फेरि १०÷१२ जना पुरानाले निवेदन दिएर बसेका छन् । लेखासमितिले पुरानोलाई नियुक्त गर्न भनेको छैन, खुला प्रतिस्पर्धाबाट छनोट गर्न भनेको हो । यसका लागि पछाडि फर्कन सकिँदैन । यसका लागि हामी नियम संशोधन प्रक्रियामा लागेका छौं ।
यसबाट त प्रक्रिया लम्बिने भएन र ?
पर्यटन बोर्डमा धेरै मुद्दामामिला पर्न थाले । कुनै ठाउँ बिग्रिएर लथालिंग नै भएको छ भने त्यसलाई पुनः सुधार गर्न त समय लागिहाल्छ । हाम्रो प्रयास कुनै पनि मुद्दामामिला र विवादरहित ढंगबाट बोर्डमा प्रमुख कार्यकारी अधिकृत ल्याउने भन्ने हो ।
अहिले नीतिगत निर्णय गर्दा समस्या आउँदैन र ?
हाम्रो देशको सरकारी संयन्त्र कस्तो छ भने तलबाट टिप्पणी उठाएर आउँछन् । त्यसमा सचिवले हेर्दै नहेरी हस्ताक्षर गर्छन्, जुन हेर्न सचिवले भ्याउने अवस्थासमेत हुँदैन । अहिले बोर्डमा जुन समस्या आएको छ, यसले मलाई अत्यन्त दुःखीत पारेको छ । हस्ताक्षर गरेकै भरमा अहिले २ जना बहालवाल सचिवज्यू नै अनियमितताको प्रकरणमा मुछिएको अवस्था छ । यस विषयमा म धेरै नबोलौं । बोर्ड बैठकमा एउटा कुरा हुने, माइन्युट गर्न नभ्याउने अनि २० दिनपछि हस्तक्षरका लागि अफिसमा पु¥याउने तर छलफल भएका विषयवस्तुभन्दा बाहिर गएर माइन्युट तयार गर्ने गरिएको रहेछ । छलफलकै विषय होला भनेर हस्ताक्षर गरिदिने प्रवृत्ति रहेछ । त्यसले पनि धेरै समस्या पारेको देखिएको छ । तर, मैले मरो कार्यकालमा भने तत्काल हस्ताक्षर गराएको छु । मैले भदौमा काम सुरु गरेको हुँ । मैलेचाहिँ त्यसयता भएका सबै गतिविधिका फोटोकपी मागेर सुरक्षित राखेको छु, जसले गर्दा भोलि समस्या आउँदैन ।
नेपाल वायुसेवा निगमका प्रमुखलाई त हटाई छाड्नुभयो भनिन्छ नि !
नेपाल वायुसेवा निगमका महाप्रबन्धकले गत महिना राजिनामा दिनुभयो । म त भन्छु कि उहाँले राजीनामा दिनु नै गलत छ । कसैले उहाँलाई दबाब दिएजस्तो लाग्दैन । प्रतिस्पर्धाबाट आएको मान्छेले दबाब नै भए पनि मलाई यस्तो भो भनेर सार्वजनिक गर्ने कि राजीनामा दिने ? मन्त्रालय र निगमबीच अहिले पुल नै टुटेको अवस्था छ । यसअघि सचिव अध्यक्ष हुने व्यवस्था थियो अहिले उक्त व्यवस्था हटाइएको छ । निगम व्यवस्थापनमा पनि समस्या हुन सक्छ । नयाँ जहाज आउनेबित्तिकै उडाउन नसक्नु, कर्मचारी युनियनबाट पनि सहयोग नहुनु तथा इन्जिनियरिङ विभागबाट पनि सहयोग नहुँदा राजीनामा दिएको हुन सक्छ । अब निगम यही कार्यशैलीले चल्न सक्दैन भन्ने मन्त्रालय र सरोकारवालाको ठहर छ । खालि कुन मोडालिटीमा जाने भन्ने विषय मात्र हो ।
त्यसो भए अब लुफथान्सालाई व्यवस्थापनको जिम्मा दिने तयारी भएको हो ?
हेर्दा राम्रो छ र नेपाललाई फाइदा हुन्छ भने व्यवस्थापनको जिम्मा जसलाई दिए पनि हुन्छ । सचिव, मन्त्रीले निर्णय गर्ने पनि होइन, यसलाई मन्त्रिपरिषद्ले पारित गर्नुपर्छ । तर, कुराचाहिँ के हो भने यही व्यवस्थापकीय कार्यशैलीले निगम चल्दैन । लुफथान्सालाई खालि कुन प्रक्रियाबाट जिम्मेवारी दिने भन्ने कुरा हो । लुफथान्साले अहिले एउटा प्रस्ताव ल्याएको छ, त्यही प्रस्ताव मान्ने भनेको होइन, अरू पनि हुन सक्छन् ।
चिनियाँ जहाज चलाउन सकिएन भनेर निगम बाँकी जहाज नल्याउने भन्नेतर्फ लागेको छ त ?
होइन, चिनियाँ जहाज पनि आउँछन । खाली अहिले समस्या कहाँ हुन भनेर निगमले पनि चिनियाँ कम्पनीमा कुरा त राख्नुप¥यो नि, खालि चलाउन सकिनँ भनेर हुन्छ ? त्यसकारण मैले निगम र चिनियाँ जहाज कम्पनी एभिकसँग एकपटक बसेर छलफल गरेर समाधान निकालौं भनेको छु । नयाँ जहाज हो समस्या आउने गरेको छ । एभिकले समस्या समाधान गर्न तयार छौं भनिरहेको छ । चीनले वाई–१२ ई र एमए–६० अनुदानका रूपमा दिएको हो भने वाई १२ ई ३ वटा र एमए–६० १ वटा सरल ऋणमा खरिद गर्दै छ । निगमले जहाज कम्पनीसँग न्यूनतम विषयहरू स्पेयर्स पार्टस्, पाइलटको तालिम, अन्य सुविधा, लागत मूल्य घटाउनुपर्नेलगायत माग गर्दै आएको छ । यसमा कम्तीमा छलफल त हुनुपर्छ नि !
नेपालमा अब नयाँ विमानस्थल खाँचो भएको होइन ?
हाम्रो दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नहुँदा धेरै समस्या आएका छन् । गत महिना टर्किस जहाजका कारण हाम्रो विश्वसँग सम्पर्क विच्छेद हुन पुग्यो, जसका कारण सबैलाई नयाँ विमानस्थल खाँचो महसुस त भएको छ । तापनि, हामीले अहिले क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु गरेका छौं । सन् २०१८ देखि गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनेछ भने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आगामी महिना चीनको एक्जिम बैंकसँग ऋण सम्झौता हुँदै छ । उक्त विमानस्थल पनि ३ वर्षभित्र सञ्चालनमा आउनेछ ।
क्षेत्रीयस्तरका विमानस्थलले समस्या समाधान हुन्छ त ?
पूर्णरूपमा समस्या समाधानका लागि हामीले निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नु अपरिहार्य छ । तापनि, अहिले त्रिभुवन विमानस्थलको पनि सुधार कार्य भइरहेको २ वटा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण पनि भइरहेको अवस्थामा उक्त आयोजना अगाडि बढाउन समस्या छ ।
निजगढको चर्चा मात्र बढी हो त्यसो भए ?  
एलएमलडब्लूले ४ वर्षअघि बुझाएको प्रतिवेदनका अनुसार विमानस्थल निर्माणका लागि पहिलो चरणमा ६५ अर्ब रुपैयाँ, दोस्रो चरणमा २ खर्ब ५५ अर्ब र तेस्रो चरणमा ३ अर्ब ५० अर्ब रुपैयाँ लागत लाग्ने अनुमान छ । सरकारले पहिले लगानीकर्ताको जोहो गर्नुको विकल्प छैन, जुन आयोजना मुलुकको अर्थतन्त्रले तत्काल धान्न सक्ने अवस्थामा छैन । टर्किस जहाजका कारणले विश्वसँग नेपालको सम्बन्ध टुटेपछि सबै क्षेत्रमा विमानस्थल निर्माण हुनुपर्नेमा एकमत भए पनि अहिले आँट गरेर आयोजना अगाडि बढाउने पक्षमा सरकार छैन । निर्माण गर्ने भनिएको १७ वर्षपछि मात्र आएर जग्गा निर्धारण प्रक्रियालाई गत महिनादेखि अगाडि बढाएका छौ । जसका लागि ५० करोड रुपैयाँ चालू आर्थिक वर्षमा छुट्ट्याइएको थियो । सरकारले विमानस्थल सञ्चालनका लागि काठमाडौंलाई तराईसँग जोड्ने द्रुतमार्ग निर्माण हुनुपर्ने भएकाले पनि त्यसलाई हाल आएर प्राथमिकतामा राखेको छ । द्रुत मार्गसँग विमानस्थल जोडिएको हुँदा द्रुतमार्गको सुनिश्चतता नभएसम्म विमानस्थलको लगानीकर्ता नभेटिने भएका कारण पनि आयोजना अगाडि बढाउन ढिलाइ भएको हो ।
एलएमडब्लूले गरेको अध्ययनलाई पुनरावोलकन गर्नुपर्ने हो ?
एलएमडब्लूले काम गरेको छ, अब कुनै कम्पनीले यसमै विश्वस्त भएर काम अगाडि बढाउँछुभन्दा त केही समस्या भएन । तर, होइन पुनः गरेर मात्र काम गर्छु पनि भन्न सक्छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारको काम त १० प्रतिशतमा अड्किएको नि !
निर्माण क्रममा माटोको समस्या देखिएको हो । पशुपति क्षेत्र विकास कोषको सहकार्यमा हामीले त्यस क्षेत्रबाट माटो लिएको तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि केही समय रोकिँदा समस्या आएको हो । अहिले काम अगाडि बढिसकेको छ ।
नेपालको हवाई आकाशलाई युरोपेली संघ (ईयू)ले कालोसूचीमा राखेको अवस्था छ । यसबाट नेपाललाई हटाउनका लागि मन्त्रालयका तर्फबाट कुनै पहल भएको छ ?
ईयूले १२ देशलाई कालोसूचीमा राखेको छ । खासमा हाम्रो देशलाई कालोसूचीमा राख्नुपर्ने कारण छैन । नेपालमा वायुसेवा कम्पनी र नागरिक उड्डयन प्राधिकरणले उड्डयन सुरक्षामा अपेक्षाअनुसार सफलता प्राप्त नगरेको भन्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले २ विशेषज्ञ नेपालमा राखेर निगरानी तथा अध्ययन गर्ने भनेको छ । सम्भवतः आगामी महिनादेखि उनीहरू आउँछन् होला ।  आईकाओले सन् २००९ मा नेपालको हवाई आकाशको अडिट गरी सुधारका लागि दिएका सुझावमा खासै प्रगति नदेखिएपछि प्रतिनिधि नै राखेर अध्ययन गर्नेछ । आइकाओको सुरक्षा कोषको सहयोगमा नेपालमा एयर ओर्दिनेस÷फ्लाइट अपरेसन विशेषज्ञ १ जना १ वर्षका लागि र पर्सनल लाइसेन्सिङ विशेषज्ञ १ जना ६ महिनाका लागि राख्न लागेको छ । उक्त २ प्रतिनिधिलाई हुने खर्च भने आइकाओ सुरक्षा कोषबाट ७५ प्रतिशत र प्राधिकरणले २५ प्रतिशत बेहोरिनेछ । त्यसपछि सन् २०१५ को अन्त्यसम्म नेपाल कालोसूचीबाट हट्न सक्छ ।
यस मन्त्रालयले १० वर्षमा २५ लाख पर्यटक भिœयाउने भनेको छ, पूर्वाधारबिनाको योजना सम्भव छ ?
नेपाल विश्वकै सुन्दर देश हो । यहाँको सम्भावनालाई हेर्ने हो भने २५ लाख होइन वार्षिक १ करोड पर्यटक आउन सक्छन् । भैहरवामा ३ वर्षभित्र विमानस्थल सञ्चालनमा आउँछ । त्यसपछि वार्षिक १० लाख पर्यटक त त्यही विमानस्थलबाट आउन सक्छन् । पोखरा विमानस्थन निर्माणपछि अर्को १० लाख थपिन्छन् । काठमाडौंबाट पनि उत्ति नै आउने भएकाले २५ लाख सम्भावना नभएको योजना होइन ।

No comments:

Post a Comment