आर्थिक क्षेत्रका विशेष गतिविधी

Sunday, December 25, 2016

गौतम बुद्ध विमानस्थल नै विकल्प हुन्छ

नेपालको एक मात्र अन्तरराष्ट्रिय विमानस्थल व्यवस्थापनमा चुनौतीका पहाडैपहाड छन् । प्रतिघण्टा १ हजार ३ सय ४० हवाईयात्रु धान्न सक्ने गरी निर्माण गरिएको टर्मिनल भवनले यतिबेला प्रतिघण्टा २ हजार ५ सय हवाईयात्रुलाई सेवा दिइरहेको छ । यो विमानस्थलबाट दैनिक ४० भन्दा बढी अन्तरराष्ट्रिय उडान हुने गरेका छन् । 
२ सय ५० वटाभन्दा बढी आन्तरिक उडान/अवतरण हुने गरेका छन् । विमानस्थल विस्तारको योजनाअनुसार काम थालेको स्पेनिस कम्पनी सान्जोसेले काम गर्न नसकेपछि भर्खरै मात्र ठेक्का रद्द भएको छ । बिस्तार योजना लम्बिँदै जाँदा व्यवस्थापनमा कठिनाइ पनि बढ्दै जानेछ । 
सरकारले निर्माण सुरु गरेको भैरहवाको गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल समयमै सम्पन्न गरे धेरै बजेट एयरलाइन्स त्यसतर्फ उडान/अवतरण गराएर त्रिभुवन विमानस्थलको व्यवस्थापनमा सहजता ल्याउन सकिन्छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायसँग विमानस्थल सञ्चालनको अवस्था र व्यवस्थापनका आगामी योजनाका विषयमा केन्द्रित रहेर कारोबारले गरेको कुराकानीः
 
नेपालमा एक मात्र अन्तरराष्ट्रिय विमानस्थल छ । उडान/अवतरणको चाप धान्न आगामी दिनमा झनै मुस्किल हुँदै छ, कसरी व्यवस्थापन गरिरहनुभएको छ ? 
नेपालको अन्तरराष्ट्रिय विमानस्थल एउटा मात्रै छ । स्वभाविक हो, समयअनुसार विस्तार गर्न नसक्दा हवाईयात्रुको चाप धान्न कठिन छ । तर पनि चुस्त व्यवस्थापनका कारण हामीले राम्रै व्यवस्थापन गरिरहेका छौं । सुरुका दिनमा यो विमानस्थल जुन क्षमतामा निर्माण भएको थियो, आज दोब्बरभन्दा बढीले चाप छ । 
त्यसैले पनि व्यवस्थापन कठिन हुँदै गएको छ । वास्तवमा दोब्बर ह्यान्डल गर्दा टर्मिनल, पार्किङमा बेलाबेलामा समस्या आउने गरेका छन् । अहिले विमानस्थल साँघुरो हुँदै जाँदा एयरलाइन्सहरूले थप उडान गर्न पाएका छैनन् । जुन हाम्रो लागि भने घाटा हो । हामीले जति उडान बढाउन सक्छौं त्यति नै नेपालमा पर्यटक बढ्ने हो । 
अहिलेको मुख्य समस्या भनेको सबै एयरलाइन्स पिक आवरमा उडान भर्ने प्रतिस्पर्धाले पनि हो । एयरलाइन्सहरूले चौबीसै घण्टा विमानस्थल खोल्न दबाब दिइरहेका छन्, तर अहिले सम्भव छैन । 
विस्तारको काम झनै लम्बिने भयो । निर्माणको जिम्मा पाएको कम्पनीले काम गर्न सकेन । अब विस्तार नगरी कसरी व्यवस्थापन गर्ने ?
तत्कालका लागि हामीले उडान/अवतरण गर्न दुई योजना ल्याउने तयारी गरिरहेका छौं, जसमा बढी चाप भएको समय र कम चाप भएको समय छुट्ट्याएर बढी चापका बेला उडान भर्नेले १५ प्रतिशत बढी शुल्क तिर्नुपर्ने व्यवस्था गरिनेछ । यस्तो गर्दा हामीसँग केही बाँकी समय हुनेछ । एयरलाइन्सहरूले त्यो समयमा उडान गरे भने केही समयका लागि व्यवस्थापन गर्न सहज हुनेछ । 
चाप समय भन्नाले बेलुका ५ देखि १० बजे र बिहान ७ देखि १० बजेसम्मको हो, जसका कारण खाली समयमा उडान गर्नेहरूको संख्या बढ्ने र अहिले बढी होल्डको समस्या हट्नेछ । अहिले बिहान ८ बजेसम्म उडान नहुने अवस्था मौसमका कारणले हुने गरेको छ । त्यस्तो हुँदा एयर ट्राफिक जाम हुने अवस्था छ । छुटको व्यवस्था कार्यान्वयनमा आएमा व्यवस्थापनमा सहज हुनेछ । 
अर्को कुरा, चारवटा पार्किङ वे निर्माणको तयारी गरिरहेका छौं । जुन प्राधिकरणको आफ्नै स्रोतमा एक वर्षभित्रमा सम्पन्न गर्नेछौं । त्यसैगरी प्राधिकरणले विमानस्थलको समस्या आउन सक्छ भनेर समयमै काम सुरु गरेर सम्पन्न गर्ने लक्ष्यका साथ विश्वकै चर्चित कम्पनी स्पेनिस सान्जेसेलाई टर्मिनल भवन निर्माणका साथै दुवैतर्फ धावन मार्ग विस्तारको कामको जिम्मा दिइएको थियो । 
तर, सन् २०१६ मार्चमा सक्नुपर्ने काम अहिले नौ महिना समय गुजार्दा पनि १६ प्रतिशत मात्र गरेकाले समस्या भएको हो । आजसम्म काम भएको भए नौवटा पार्किङ वे हुने थिए । बोइङ ७७७ र एयरबस ३३० जहाजका लागि पार्किङको समस्या हट्ने थियो । 
टर्मिनल बन्ने थियो । धावन मार्ग सम्पन्न हुने थियो । अब समस्या फेरि ग्लोबल टेन्डरमा गएर काम गर्नुपर्ने अवस्था छ । पैसा पनि ६ अर्ब रुपैयाँ खर्च गर्दै थियौं । रकम भएर कामको जिम्मा दिएपछि काम सम्पन्न हुने आशा गरेका थियौं, तर स्पेनिस कम्पनीलाई पनि नेपाली हावा लाग्यो, जुन दुर्भाग्य हो । अझै केही वर्ष हामीले समस्या बेहोर्नुपर्ने अवस्था आयो । 
विमानस्थलको क्षमता कति हो, यो अवस्थामा कहिलेसम्म धान्न सक्छौं ?
विमानस्थलको टर्मिनल भवन निर्माण सम्पन्न गर्दा प्रतिघण्टा १ हजार ३ सय ४० हवाईयात्रुलाई सेवा दिन सक्ने गरी तयार भएको हो । अहिले विमानस्थल लगभग २ हजार ५ सय यात्रुलाई प्रतिघण्टा पिक आवरमा सेवा दिइरहेका छौं । अब सबैले बुझ्नुपर्छ । कति कठिन छ यतिबेला विमानस्थल व्यवस्थापनमा । जबसम्म हामी विकल्पमा जाँदैनौ तबसम्म चाप बढ्दै जान्छ । 
विमानस्थलमा एयर ट्राफिक जाम भएर जहाज होल्ड गरेर आकाशमै घुमाइरहनुपर्ने अवस्था छ नि । यसलाई कसरी व्यवस्थापन गर्ने ?
अहिले आकाशमै जहाज होल्ड गर्नुपर्ने समस्या छ । विश्वका सबैजसो विमानस्थल व्यस्त हुन्छन् र होल्ड गर्नुपर्छ । तर, होडिल्ङ तहमा जाने भएकाले समस्या हुँदैन । नेपालमा पहाड, तराई र काठमाडौं एकै छिनमा आउने र जाने तथा यात्रुले देख्ने भएकाले डराउने परम्परा छ । नेपालको भूगोल नै यस्तै हो । 
तर, विदेशमा सम्म भएको ठाउँमा होल्ड गर्र्दा यात्रुले पत्ता पाउँदैनन । यही हो नेपाल र अन्य देशको फरक । विश्वमा दुई प्रकारका जहाज हुन्छन् । एउटा भिज्युअल उडान नियम (भीएफआर) आँखाले देखेर उडान गर्ने र अर्को आईएफआर अर्थात् प्राविधिक उडान । जहाँ पायो त्यहीँ होल्ड गर्न पनि मिल्दैन । तह–तहमा जहाज होल्ड हुन्छ । एकै पटक दर्जनौं जहाज पनि होल्ड गर्न सकिन्छ, तर पनि धेरै होल्डमा राख्ने हाम्रो योजना छैन । यसले एयरलाइन्सहरूलाई महँगो पर्छ ।
अन्तरराष्ट्रिय र आन्तरिक विमानस्थलसँगै हुँदा पनि धेरै समस्या सिर्जना भएका हुन् ?
आन्तरिक विमानस्थलसँगै हुँदा व्यवस्थापनमा कठिनाइ भएकै हो । अलग्गै गर्न सकेको भए सहज हुने थियो । भीएफआर र आईएफआर उडानले समस्या आएको छ । आन्तरिकमा धेरैजसो भीएफआर उडान गर्नुपर्ने अवस्था छ । मिक्स उडानले समस्या पारेको छ । 
विश्वमा विमानस्थलहरू भीएफआर र आईएफआर उडान गर्ने छुट्टा–छुट्टै हुन्छ । विमानस्थललाई टाढा राख्दा यात्रुको खर्च पनि हेर्नुपर्ने हुन्छ । आन्तरिकलाई टाढा राख्न पनि समस्या हुने र काठमाडौंमै अन्यत्र विमानस्थल निर्माण गर्ने स्थान पनि नहुँदा समस्या परेको छ ।
निर्माणाधीन गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएपछि यहाँका कति उडान कटौती हुन्छन् ? 
हाल भैरहवामा निर्माणाधीन गौतम बुद्ध विमानस्थल सञ्चालनमा आएपछि धेरै समस्या समाधान हुनेछन् । गौतमबुद्ध विमानस्थलमा काठमाडौंका भन्दा बढी सेवा सुविधा हुनेछन् । अर्को कुरा, भौगोलिक हिसाबले पनि एकदमै राम्रो स्थान हो— भैरहवा । हुन त अहिलेसम्म त्यो विमानस्थल कुन मोडलमा सञ्चालन गर्ने भन्ने कुरा नछुट्ट्याएको भए पनि केही समयका लागि बजेट एयरलाइन्सलाई छुट प्याकेज दिन सके उतै डाइभर्ट हुनेछन् भन्ने हाम्रो विश्वास छ । 
बजेट एयरलाइन्स भन्नाले अहिले उडान गरिरहेका एयर एसिया, मलेसियन एयरलाइन्स, फ्लाई दुबई, एयर अरेबियालगायतका एयरलाइन्स त्यतैतर्फ जानेछन् । अर्को कुरा, पूर्व–पश्चिमबाट आउने यात्रुका लागि सहज हुनेछ । साथै भैरहवाबाट पोखराको उडान पनि गर्न सकिन्छ । त्यसले गर्दा पर्यटकहरू त्यसतर्फ केन्द्रित हुन्छन् । लुम्बिनी आउन चाहने पर्यटक सीधै त्यसतर्फ जाने भएकाले सो क्षेत्रबाट आउने एयरलाइन्सले त्यतैतर्फ उडान गर्नेछन् ।
धावनमार्गको कालोपत्रे गर्ने समय त सकियो, कहिले निर्माण हुन्छ ? 
निर्माणको काम त सुरु भएको छैन । टेन्डर आह्वान गरेको र अहिले ११ कम्पनीले आवदेन दिएकामा अब प्राविधिक अध्ययनपछि दुई कम्पनीलाई छानेर पुनः प्रतिस्पर्धा गरेपछि मात्र टुंगो लाग्छ । काम सुरु भएको २ वर्षभन्दा अगावै सम्पन्न गर्ने लक्ष्य छ । समस्या के छ भने हामी उडान रोक्न सक्दैनौं । 
रात्रिको समयमा काम गर्नुपर्ने हुन्छ । निर्माण गर्ने कम्पनीले जति कटान गर्छ उति निर्माण गरेर बिहान उडान अवतरणका लागि हामीलाई दिनुपर्ने छ । यसैले ५ घण्टामा काम गर्नुपर्ने हुन्छ । अहिले मर्मतको काम पनि यसरी नै गरेका छांै । 
विमानस्थललाई चैबीसै घण्टा सञ्चालन गर्न समस्याचाहि के हो त ?
अहिले त २४ घण्टा सञ्चालन गर्ने सम्भावना छैन । हामीले रातिको समयमा धावनमार्ग मर्मत गरेर काम गरिरहेका छौं । अर्कोचाहिँ धावनमार्गको कालोपत्र पूरै फेर्ने गरी काम सुरु हुन लागेकाले सो काम सम्पन्न भएपछि बल्ल २४ घण्टा विमानस्थल सञ्चालन गर्ने अवस्थामा पुग्नेछौं । यसमा पनि प्राधिकरण र एयरलाइन्सहरू तयार छन् । 
दुई संस्था मात्र तयार भएर विमानस्थल सञ्चालन हुँदैन । धावनमार्ग सञ्चालनपछि अन्य निकायपछि समन्वयमा जानेछौं । अर्काे कुरा, गौतम बुद्ध विमानस्थल निर्माण र सञ्चालनपछि २४ घण्टा सञ्चालन गर्नुपर्ने आवश्यकता हुन्छ कि हुँदैन भन्नेमा पनि छलफल होला । सन् २०१८ को जनवरीदेखि विमानस्थल सञ्चालनमा आइसक्ने लक्ष्य लिइएको छ । 
अर्को कुरा, चौबीसै घण्टा चलाउन नागरिक समाजको पनि अवरोध छ । विमानस्थलको चारैतर्फ बस्ती रहेका छन् । उनीहरूले पनि विरोध गर्ने भएकाले यस विषयमा पनि सोच्नुपर्ने हुन्छ ।
विमानस्थलमा ब्यागेज ह्यान्डलिङ समस्या सधैं किन भइरहन्छ ?
पहिले ब्यागेज ह्यान्डलिङमा समस्या थियो । हामीसँग दुईवटा मात्र कन्भेयर बेल्ट थिए । त्यो समयमा डेढ–दुई घण्टा पनि लाग्ने गरेको थियो । अहिले चारवटा कन्भेयर वेल्ट छन् । अन्तरराष्ट्रिय मापदण्ड ४५ मिनेट हो । यात्रुले विमानस्थलमा हाल सोही मापदण्डभित्रै आफ्नो ब्याग पाउँदै आएका छन् ।
ब्यागेजको अर्को महत्वपूर्ण पार्टचाहिँ के भो भने विदेशका विमानस्थलको अध्यागमन तथा टर्मिनल र पार्किङ वेबीच लामो दूरी पर्छ । पार्किङ वेबाट यात्रु ओर्लिएर अध्यागमन हुँदै ब्यागेजमा आउन कम्तीमा ४० मिनेट समय लाग्छ । तर, हाम्रोमा जहाजबाट ओर्लिएको १० मिनेटमा ब्यागेजमा पुग्छौं । 
अनि एकछिन कुर्दा पनि धेरै बेर कुरेजस्तो लागेको हो । त्यही भएर सापेक्ष रूपमा पनि सोच्नुपर्छ । अहिले एकैपटक चारवटा जहाजको ब्यागेजको काम गरिरहेका छौं भने निकट भविष्यमै थप दुई कन्भेयर वेल्ट थप्ने तयारीमा छौं । 
विमानस्थलमा सयौं संस्था हुँदा समन्वय अभाव हुँदैन ? एकद्वार प्रणाली कहिले लागू हुन्छ ? 
विमानस्थलभित्र २ सय ३८ वटा एजेन्सीले काम गर्छन्, तर पनि समन्वयमा त्यस्तो समस्या छैन । दैनिक १२ हजार कर्मचारीले काम गर्छन् । विमानस्थल ३ सिफ्टमा सञ्चालन हुँदै आएको छ, जसमा एक सिफ्टमा ४ हजार कर्मचारीले काम गरिरहेका हुन्छन् । 
बिहान ६ देखि १२, दिउँसो १२ देखि ६ र साँझ ६ देखि १२ बजेसम्म सिफ्ट हुन्छ । यहाँ मुख्य एजेन्सी भनेको अध्यागमन, प्रहरी, सेना र भन्सार हुन् । यदाकदा कहिलेकाहीँ समस्याहरू आउने गर्छन् । अब एकद्वारको कुरा गने हो भने ऐनमै यी कुरा समावेश हुँदै छन् । 
विमानस्थलकै कारण ठूला एयरलाइन्स तथा पर्यटक हवबाट आउँदैनन् भन्छन् नि ? 
यसमा कुनै सत्यता छैन । हो, नेपालमा युरोप, अमेरिका तथा चीनकै बेइजिङबाट उडानहरू भएका छैनन् । पहिले नेपाल वायुसेवा निगम हुँदा उडान भएका पनि थिए । आवश्यकता नदेखेर उनीहरूले उडान नगरेका हुन् । किनभने हामीलाई जहाँबाट आए पनि केही समस्या हुँदैन । 
हाल विश्वका ठूला भनिएका बोइङ ७७७ र एयरबस ३३० अहिले पनि उडान÷अवतरण गरिरहेकै छन् । कति समय लगाएर आउँछन् भन्नेमा विमानस्थलको चासोको विषय हुँदैन । यहाँ निगम बलियो भएर उडान सुरु गरेमा उनीहरू पनि आउन थाल्छन् । 
नेपालमा हवाईयात्रुको चाप किन बढिरहेको छ ?
हवाईयात्रुको चाप अत्यधिक बढेको छ । अहिले ग्वान्झाओको उदाहरण दिनुपर्दा पहिले सातामा चारवटा उडान थिए, अहिले दैनिक दुईवटा उडान छन् । चीनबाट उडान गर्ने सबैले दैनिक दुईवटा उडान गरिरहेका छन् । यति धेरै एयरलाइन्स नेपालमा उडान थप गर्न चाहन्छन्, जुन हामीले धान्ने अवस्था छैन । 
हामीकहाँ बजेटदेखि पाँचतारे एयरलाइन्सले उडान गरिरहेका छन् । आजको दिनमा २९ वटा एयरलाइन्सले दैनिक ४० भन्दा बढी उडान गरिरहेका छन् । नेपालका लागि ठूलो अवसर पनि भएकाले अब छिट्टै विमानस्थल निर्माण र सुधार गरेर धेरै एयरलाइन्स ल्याउने र यात्रु बढाउनुका साथै पर्यटक बढाउने दिशामा अग्रसर हुनु आवश्यक छ । 
अर्को महत्वपूर्ण कुरा, अहिले जहाज डाईभर्ट गर्नका लागि दिल्ली, लखनउ पठाउनुपर्ने अवस्था छ । कम्तीमा एउटा विमानस्थल तयार भएमा अझै धेरै एयरलाइन्स थपिनेछन् भने यात्रुलाई पनि भाडादर सस्तो हुनेछ । सन् २०२८ मा अहिले भएको यात्रुको संख्यामा दोब्बर वृद्धि हुनेछ ।

Thursday, November 24, 2016

चिनियाँ चार जहाज चाँडै ल्याइने , पुस दोस्रो साता आइपुग्ने


काठमाडौं : नेपाल वायुसेवा निगम (नेवानि)ले ४ वर्षदेखि खरिद गर्ने तयारी गरिरहेको चिनियाँ जहाज पुस दोस्रो साता आइपुग्ने भएको छ । यसअघि निकै तामझामका साथ जहाज ल्याउने गरेको नेवानिले यसपटक भने ४ थान चिनियाँ जहाज भने चुपचाप ल्याउने तयारी गरेको छ । 

निगमले दुई वर्षअघि नै अनुदानका दुई चिनियाँ जहाज भने नेपाल ल्याइसकेको छ । “मन्त्रालयले एक महिनाअघि नै जहाज खरिद प्रक्रिया अगाडि बढाउन पत्र पठाएको छ र सोहीबमोजिम हामी लागिरहेका छौं,” निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले भने ।
गत महिना संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले चिनियाँ जहाज खरिद प्रक्रिया टुंग्याउन दिएको निर्देशनसँगै तयारीमा जुटेको निगमले आगामी पुस दोस्रो साताभित्र एमए–६० जहाज नेपाल ल्याइसक्ने योजना बनाएको छ । 
नेपाल सरकार र चीन सरकारबीचको कूटनीतिक सम्बन्धसँग जहाज खरिद प्रक्रिया जोडिन पुगेपछि सरकारले जुनसुकै हालतमा जहाज ल्याउने योजना बनाएको थियो ।
“चिनियाँ जहाज आवश्यकता भन्दा पनि बाध्यता भएको छ, पुस दोस्रो साता पहिलो जहाज काठमाडौं आउनेछ,” निगमका एक उच्च अधिकारीले भने ।
बाँकी ३ जहाज आगामी वैशाखसम्ममा ल्याइसक्ने योजना निगमले बनाएको छ । तर, कंसारकाले भने मिति तय नभएको तर दुई वटा जहाज छिटै आउने बताए । 
नेपालले खरिद गर्ने भनेको चिनियाँ जहाज एभिक इन्टरनेसनल होल्डिङ कम्पनीले तयार गरिसकेको र ७० प्रतिशत रकमसमेत नेपालले पठाइसकेकोले जहाज जसरी पनि ल्याउनैपर्ने अवस्थामा निगम पुगेको स्रोतको भनाइ छ ।
निगमले जहाज ल्याएपछि कुन–कुन स्थानमा उडाउने भन्ने विषयमा उडान तालिकासमेत तयार पार्न थालेको स्रोतको दाबी छ । गत फागुनमा मन्त्रालयले जहाज ल्याउने निर्णय गर्न मन्त्रिपरिषद्मा पठाएको प्रस्तावमा विवाद आएको थियो ।
मन्त्रिपरिषद् अन्तर्गतको समितिले मन्त्रीस्तरीय निर्णयले नै काम गर्न सक्ने अवस्था रहेको विषय किन मन्त्रिपरिषद् पठाएको भनेर मन्त्रालयमा पटक–पटक ताकेता गरेको थियो । 
एउटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज खरिदका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगिएको थियो । दुई वर्षअगाडि नै चीनले एउटा एमए–६० र एउटा वाई–१२ ई जहाज अनुदानमा दिएको थियो ।
६ वटा चिनियाँ जहाज ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ अनुदान तथा सहुलियत ऋणमा किन्न निगमलाई एक्जिम बैंकमार्फत ऋण उपलब्ध गराइएको हो । उक्त रकममध्ये २ अर्ब ९४ करोड १० लाख रुपैयाँ एमए–६० र एउटा वाई–१२ ई अनुदानमा लिन उपयोग गरिने सम्झौता भएको थियो भने बाँकी ३ अर्व ७२ करोड ८० लाख रुपैयाँमा एउटा एमए ६० र तीनवटा वाई १२ ई जहाज ऋणमा खरिद गर्ने गरी ४ वर्षअघि सम्झौता भएको थियो । 
निगमको मागमा चिनियाँ पक्ष सकारात्मक 
जहाज निर्माता कम्पनीनिगमले राखेका केही मागहरू सम्बोधन गर्नसमेत तयार भएको छ । चिनियाँ पक्षले निगमलाई झन्डै १ अर्ब रुपैयाँ खर्च गरेर ह्यांगर निर्माण गर्न पनि तयार भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
साथै चिनियाँ पक्ष स्पेयर पार्ट्स र पाइलटको समस्या समाधान गर्नसमेत तयार भएको छ ।
निगम व्यवस्थापनले चिनियाँ जहाज उडाउँदा हुने घाटा चिनियाँ पक्षले बेहोर्नुपर्ने, जगेडा सामान १० वर्षसम्म निःशुल्क उपलब्ध गराउनुपर्ने, जहाजसम्बद्ध नियम सबै चिनियाँ भाषाको सट्टा अंग्रेजी भाषामा लेखिएको हुनुपर्ने, चालक दलको तालिम खर्च कटौती र बिमा रकम कम हुनुपर्ने एवं जहाजले बोक्ने तौल बढी हुनुपर्ने सर्त पूरा भएमात्र बाँकी जहाज ल्याउने सर्त राखेको थियो ।

Monday, November 21, 2016

आन्तरिक पर्यटकलाई धमाधम टुर प्याकेज



केदार  दाहाल 
काठमाडौं :  घुमफिर वर्षलाई केन्द्रित गर्दै धमाधम पर्यटकीय प्याकेजहरू सार्वजनिक भएका छन् । सरकारले घोषणा गरेको आधा वर्षपछि बल्ल आन्तरिक पर्यटकलाई केन्द्रित गर्दै विभिन्न प्याकेजहरू सार्वजनिक गरिएका छन् । 
नेपाल पर्यटन बोर्ड र विभिन्न संस्थाहरूको सहकार्यमा प्याकेज सार्वजनिक गरिएको हो । नयाँ गन्तव्यको प्रवद्र्धन तथा पर्यटकीय गतिविधि बढाउन व्यावसायिक प्याकेज सुरु गरिएको बोर्डले जनाएको छ ।
पर्यटन बोर्डले नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालसँगको सहकार्यमा प्याकेज तयार गरेको हो । 
धेरैले घुमफिर वर्षलाई नै केन्द्रित गरेर प्याकेज ल्याउन अनुरोध गरेकाले औपचारिक रूपमै प्याकेज ल्याउन थालिएको नेपाल पर्यटन बोर्डका अधिकृत सुमन घिमिरे बताउँछन् ।
“बोर्डले नयाँ गन्तव्यको प्रवद्र्धन गर्न नसकेको आरोप लागिरहेकाले पनि नयाँ स्थानका प्याकेजहरू तयार पारेका हौं,” घिमिरेले भने । 
पहिलो चरणको प्याकेजमा हलेसी महादेव दर्शन टुर, जनकपुरधाम, पाथिभरा मन्दिरको भ्रमण, खप्तड टुर, लुम्बिनी–स्वर्गद्वारी भ्रमण टुुर, रारा टुर आदि छन् । यी पर्यटकीय प्याकेज पर्यटन व्यवसायीको सहकार्यमा तयार भएको हो ।
निकट भविष्यमै पदयात्रा, ¥याफ्टिङ, होमस्टे, क्यानोनिङसहितका पर्यटकीय प्याकेज पनि सार्वजनिक गर्ने तयारी भएको घिमिरेले जानकारी दिए ।
बोर्डले आफ्नो वेबसाइटमार्फत यस्तो प्याकेजको जानकारी दिएको छ । साथै सम्बन्धित पर्यटकीय संस्थामार्फत प्याकेज खरिद गर्न सकिनेछ । “पर्यटनको दीर्घकालीन विकासका लागि आन्तरिक पर्यटक नै मुख्य हो,” घिमिरेले भने ।
नेपालको पर्यटन व्यवसायको दरिलो आधार भनेकै आन्तरिक पर्यटक भएकाले नेपाल सरकारले घुमफिर वर्ष घोषणा गरेको घिमिरे बताउँछन् ।  
हलेसी महादेव दर्शन टुर 
नेपाल पर्यटन बोर्ड र नाट्टाको सहकार्यमा हलेसी महादेव दर्शन टुर प्याकेज सार्वजनिक गरिएको छ । आन्तरिक पर्यटकलाई लक्षित गरी सार्वजनिक गरिएको उक्त प्याकेजमा विशेष गरी धार्मिक पर्यटकहरू समावेश हुन सक्नेछन् ।
खोटाङ जिल्लामा रहेको हलेसी महादेव हिन्दूका साथै बौद्ध धर्मालवम्बीहरूको लागि समेत चर्चित क्षेत्र हो ।
सो क्षेत्रमा जानको लागि हवाई र सडक मार्ग दुवै प्रयोग गर्न सकिन्छ । सडक मार्गको प्रयोग गर्दा पहिलो दिन काठमाडौं–कटारी, जनकपुर अथवा विराटननगर जुनसुकै स्थानमा पनि जान सकिन्छ । 
पहिलो दिन : काठमाडौं–कटारी
दोस्रो दिन : कटारी–हलेसी 
तेस्रो दिन : हलेसी महादेव दर्शन 
चौथो दिन : कटारी हुँदै काठमाडौं 
जनकपुरधाम 
एतिहासिक मन्दिर जनकपुरधाम विश्वभरका हिन्दूहरूको लागि चर्चित छ । जनकपुरका लागि बोर्डले तीन दिने प्याकेज सार्वजनिक गरेको छ । 
पहिलो दिन : काठमाडौंबाट जनकपुर पुगेपछि आधा दिन जानकी मन्दिर, राम मन्दिर, विवाह मण्डप, राजदेवी मन्दिरलगायत क्षेत्रको अवलोकन गर्न सकिन्छ । 
दोस्रो दिन : बिहान ब्रेकफास्टपछि धनुष धामको पूजा, त्यसपछि सीताको विवाह भएको क्षेत्रलगायत ऐतिहासिक क्षेत्रको अवलोकन गर्न सकिन्छ । तेस्रो दिन काठमाडौं फर्किने ।
कोशी क्षेत्र
कोशी क्षेत्रमा जान पनि हवाई र सडक दुवै मार्गको प्रयोग गर्न सकिन्छ । यो पाँच दिने प्याकेज हो । 
पहिलो दिन : काठमाडौंबाट विराटनगर 
दोस्रो दिन : आधा दिन नजिकमा क्षेत्रहरूको अवलोकन । सोही दिन ६० किलोमिटर दूरी पार गर्दै कोशी टप्पु क्षेत्रमा जान सकिन्छ । सो दिन सोही क्षेत्रमा बसोबास । 
तेस्रो दिन : कोशी टप्पुबाट फर्किएर बराह क्षेत्रको अवलोकन गर्न सकिन्छ । त्यसको साथै सप्तकोशी नदीको बाँधस्थललगायत अन्य क्षेत्रको अवलोकन र सोही दिन भेडेटारमा बसोबास ।
चौथो दिन : नाम्जे भिलेज, पानी ट्यांकी डाँडा, धनकुटा तथा नमस्ते झरनाको अवलोकन । 
पाँचौं दिन : पाख्रीबास गाउँको अवलोकन तथा ५ किलोमिटर दूरीमा रहेको हिले बजारको अवलोकन गर्दै काठमाडौं फर्कने । 
पाथीभरा दर्शन 
ताप्लेजुङ जिल्लामा रहेको पाथीभरा मन्दिर हिन्दू धर्मालवम्बीहरूको प्रसिद्ध तिर्थस्थल हो । 
पहिलो दिन : काठमाडौंबाट काँकडभिट्टा 
दोस्रो दिन : विभिन्न स्थानहरूको अवलोकन गर्दै कन्याम चिया बगानमा जाने र सोही क्षेत्रमा बसोबास गर्ने । 
तेस्रो दिन : आधा दिन चिया बगानको अवलोकन गर्ने । सो दिन अन्तुडाँडामा बासोबास गर्ने ।
चौथो दिन : अन्तु डाँडाबाट ६ घन्टाकोे सवारी यात्रापछि ताप्लेजुङ पुग्न सकिन्छ । सो दिन सोही स्थानमा बस्ने । 
पाँचौं दिन : ताप्लेजुङ बजार क्षेत्र, पाथीभरा मन्दिर क्षेत्रको दर्शनपछि सो दिन ताप्लेजुङमै बस्ने । 
छैटौं दिन : बिहानै काठमाडौंको लागि प्रस्थान । 
खप्तड टुर 
सुदूरपश्चिमको रमणीय क्षेत्र खप्तडको लागि पनि पहिलो पटक टुर प्याकेज सार्वजनिक गरिएको छ । १२ जनाको समूहका लागि प्रतिव्यक्ति २५ हजार तोकिएको छ । 
पहिलो दिन : रात्रीबस सेवामार्फत काठमाडौंबाट धनगढी ।
दोस्रो दिन : धनगढीबाट डडेलधुरा ।
तेस्रो दिन : डडेलधुराबाट बझाङको लामातोला होमस्टे ।
चौथो दिन : लामातोलाबाट ७ घन्टाको पैदल यात्रापछि खप्तड क्षेत्र प्रवेश ।
पाँचौं दिन : खप्तड क्षेत्रको अवलोकन ।
छैटौं दिन : खप्तडबाट ७ घन्टाको पदयात्रा तथा १ घन्टाको सवारीको यात्रापछि डोटीको सिलगढी ।
सातौं दिन : सिलगढीबाट धनगढी 
आठौं दिन : दिनभरी धनगढीका अन्य क्षेत्रहरूको अवलोकन तथा रात्रिमा काठमाडौं फर्कने । 
लुम्बिनी स्वर्गद्वारी टुर 
काठमाडौंबाट लुम्बिनी क्षेत्र तथा प्युठानको स्वर्गद्वारीसम्मको यात्रा ६ दिनको हुनेछ । 
पहिलो दिन : काठमाडौंबाट लुम्बिनी रात्रि सेवामा । 
दोस्रो दिन : बिहानदेखि लुम्बिनीको भ्रमण गरेपश्चात पाल्पाको तानसेन होमस्टेमा बसोबास । 
तेस्रो दिन : गुल्मीको रिडी हुँदै तम्घास जाने । रेसुंगा क्षेत्रको अवलोकन 
चौथो दिन : अर्घाखाँचीको सन्धीखर्क तथा सुपादेउराली हुँदै सन्धीखर्कमा बसोबास । 
पाँचौं दिन : प्युठानको स्वर्गद्वारी 
छैटौं दिन : काठमाडौैं प्रस्थान 
खर्च :  प्रतिव्यक्ति १० हजार ५ सय रुपैयाँ 
रारा ताल 
राराताल जानको लागि ३ वटा प्याकेज लिन सक्ने गरी सार्वजनिक गरिएको छ । 
हवाई मार्गमार्फत
पहिलो दिन : काठमाडौं–नेपालगन्ज
दोस्रो दिन : नेपालगन्ज–ताल्चा विमानस्थल हुँदै ३ घन्टाको पैदल यात्रापछि रारा क्षेत्र 
तेस्रो दिन : रारामा रहेको डाँफे रिसोर्टमा बसोबास तथा घुमफिर 
चौथो दिन : ताल्चा विमानस्थलबाट नेपालगन्ज तथा नेपालगन्जबाट काठमाडौं फर्किने । 
खर्च : ३८ हजार रुपैयाँदेखि ४० हजार रुपैयाँसम्म 
सडक मार्गबाट
पहिलो दिन : काठमाडौंबाट नेपालगन्ज ।
दोस्रो दिन : सुर्खेत, दैलेख हुँदै कालिकोटमा बसोबास 
तेस्रो दिन : रारा क्षेत्र तथा मुगु पुगिन्छ । सो दिन डाँफे रिसोर्टमा बास ।
चौथो दिन : रारा तालको अवलोकन तथा भ्रमण बोटिङ गर्न सकिन्छ । सो दिन पनि सोही क्षेत्रमा बसोबास ।
पाँचौं दिन : ताल्चा विमानस्थलबाट नेपालगन्ज हुँदै काठमाडौं हवाई मार्गबाट आउन पनि सकिन्छ । साथै सोही रुटमार्फत काठमाडौं गाडीबाट आउन पनि सकिन्छ ।

Sunday, November 13, 2016

आन्तरिक उडानमा डेढ दर्जन बिमान थपिँदै, निजी कम्पनीले १३ वटा थप गर्ने


काठमाडौं : स्वदेशी वायुसेवा कम्पनीहरूले यसै वर्षभित्र आन्तरिक उडानका लागि डेढ दर्जनभन्दा बढी विमानहरू थप्ने भएका छन् । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले ४ वटा चिनियाँ जहाज थप्ने प्रक्रिया सुरु गरिसकेको छ भने निजी क्षेत्रका चार एयरलाइन्सले १३ वटा विमान थप्ने प्रक्रिया सुरु गरेका छन् ।  

यती एयरलाइन्सले जेटस्ट्रिम विमानहरू विस्थापन गरेर एटीआर–७२ विमान ल्याउने योजनाअन्तर्गत ४ वटा जहाज खरिद गर्नका लागि मन्त्रालयमा प्रस्ताव गरेको छ । निजी क्षेत्रकै गोमा एयरले १ जहाज खदिरको अनुमति लिइसकेको छ र सिम्रिक एयरलाइन्सले दुइटा जहाज केही समय अगाडि मात्र थपेको छ  ।
सिम्रिकले ४ वटा स्काई ट्रक ल्याउने प्रक्रियासमेत सुरु गरेको छ । श्री एयरलाइन्सले पनि अब हेलिकप्टर सेवाबाट जहाज उडान सुरु गर्दैछ । कम्पनीले अनुमति लिएर २ वटा जहाज खरिद प्रक्रियासमेत अगाडि बढाइसकेको छ ।
उडान अनुमति (एओसी) को प्रक्रिया अन्तिम चरणमा रहेकाले नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाउने बित्तिकै २ वटा जहाज नेपाल ल्याउने श्री एयरलाइन्सका प्रवन्ध निर्देशक सुधीर मित्तलले जानकारी दिए ।
जहाज ल्याउने बित्तिकै एयरलाइन्सले ५० सिट क्षमताको क्यानडियन कम्पनी बम्बाडियरको जेट सीआरजे–२०० सिरिजको जहाज खरिद गरेर नेपाल ल्याउने तयारी रहेको मित्तलले बताए । 
यती एयरलाइन्सले बुद्ध एयरले उडान गरिरहेको एटीआर जस्तै सिरिज ल्याउने प्रक्रिया सुरु गरेको छ । यतीले ७२ सिट क्षमताका ४ वटा जहाज ल्याउने तयारी गरेको हो । यतीले हाल जेट स्ट्रिमका ७ वटा जहाजमार्फत आन्तरिक उडान गरिरहेको छ । 
गोमा एयरले गत वर्ष २ जहाज खरिद गरेकोमा आगामी जनवरीभित्र थप एक जहाज ल्याउने अन्तिम तयारीमा गोमा एयरका निर्देशक सुमन पाण्डेले बताए । “आन्तरिक उडान गर्ने एयरलाइन्सहरू अहिले राम्रो गरिरहेकाले जहाज थप्ने काम धमाधम गरिरहेका छन्,” पाण्डेले भने ।
गोमाले चेकोस्लोभाकियाको जहाज निर्माता कम्पनी एलईटीले उत्पादन गरेको एल–४१० यूभीपी (ई २० सिरिज)का २ जहाजले उडान गरिरहेको छ ।  गोमासँग हाल २ वटा सिंगल इन्जिन जहाजमार्फत दुर्गम क्षेत्रमा यात्रु चार्टर तथा कार्गो उडान गरिरहेको छ ।
नियमित उडान गरिरहेको सिम्रिकले पनि अमेरिकी कम्पनी सिक्रोस्कीले पोल्यान्डमा निर्माण गरेका ४ वटा एम–२८ स्काई ट्रक ल्याउने तयारी थालेको छ । सिक्रोस्कीसँग सम्झौता भइसकेको एयरलाइन्सले यसअघि नै जानकारी दिएको छ ।
१९ सिट क्षमताको यो जहाज दुर्गम उडानका लागि उपयुक्त हुनेछ । यो जहाबाट रामेछाप, लुक्ला, फाप्लु, सुर्खेत, जोमसोम, खानीडाँडासहितका दुर्गम क्षेत्रमा उडान गर्ने योजना छ । नेपाल वायुसेवा निगमले एक एमए ६० र ३ वटा वाई १२ ई  जहाज खरिद प्रक्रियासमेत अगाडि बढेको छ । 
दुई वर्षदेखि उडान सुरु गरेको सौर्य एयरलाइन्सले पनि एउटा जहाजमार्फत उडान गरिरहेको छ । एयरलाइन्सले जेट सीआरजे–२०० सिरिजका थप २ जहाज ल्याउने प्रक्रिया सुरु गरिसकेको छ ।
 

Saturday, November 12, 2016

उत्पादनमूलक क्षेत्रमा लगानी गर्न छौं तर त्यसका लागि वातावरण चाहिन्छ

सौरभ ज्योति  
सभापति  
राजस्व समिति, नेपाल उद्योग वाणिज्य महासंघ
 देशकै ठूलो मध्येको एक व्यापारिक घराना ज्योति समूहका युवा नेतृत्वकर्ता सौरभ ज्योतिले युवा उद्यमीमा फरक पहिचान बनाएका छन् । हिमाल आइरन, वायर, अक्सिजन, ज्योति स्पिनिङ स्थापनापछि कम्पनीको स्वरूपमा आएको ज्योति समूह अहिले एक दर्जनभन्दा बढी व्यवसायमा संलग्न छ । तेस्रो पुस्ताका सौरभ ज्योति समूहको कार्यकारी निर्देशकको हैसियतले अर्बौंको कारोबारलाई दैनिक नियमन गर्छन् ।
नेपालमा स्वदेशी र वैदेशिक लगानी भित्र्याउन सरकारले सबैलाई समान व्यवहार गर्दै कानुन कार्यान्वयन गराउनुपर्नेमा उनी जोड दिन्छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का पूर्व अध्यक्षसमेत रहेका ज्योति हाल नेपाल उद्योग वाणिज्य महासंघको राजस्व समितिका सभापति छन् ।
ज्योति नेपाल उद्योग वाणिज्य महासंघको आगामी साधारणसभामा भने वस्तुगततर्फको उपाध्यक्षमा उम्मेदवारी दिने तयारीमा छन् । नेपालमा लगानीको वातावरण तथा संघीय संरचनामा हुनुपर्ने करको व्यवस्थालगायत विषयमा कारोबारले ज्योतिसँग गरेको कुराकानी :

नेपालमा संविधान जारी भएपछि राजनीतिक स्थिरता हुने र लगानी ओइरिने प्रचार गरिएको थियो । अवस्था त्यस्तो देखिँदैन, व्यवसायीले भन्ने गरेको लगानीको वातावरण चाहिँ कहिले बन्ने हो ?
संविधान जारी भएपछि केही प्रगति भएको छ । औद्योगिक व्यवसाय ऐन बनेको छ, श्रम ऐन बन्ने क्रममा छ । तैपनि हात्ती छि¥यो पुच्छर अड्कियो भनेजस्तो भएको छ ।
सबै ऐन तथा नियमावली स्पष्ट रूपमा आउन सकेका छैनन् । नीति नियमहरू आएर मात्र भएन त्यसको कार्यान्वयन पक्ष अझ राम्रो हुनुपर्छ । नेपालमा भएका नीतिनियमहरू राम्रा छन्, बजेटमा पनि राम्रा पक्ष समेटिन्छन् ।
तर त्यसको कार्यान्वयन पक्ष ज्यादै कमजोर छ । कार्यान्वयन नभएपछि त्यसको कुनै औचित्य देखिँदैन । ऐन आउनु सकारात्मक हो भने त्यो कार्यान्वयन भए लगानी आउन समस्या देखिँदैन । कार्यान्वयनमा लागेपछि व्यवसायीमा विश्वास बढ्छ र त्यसले लगानीलाई आकर्षित गर्छ ।
त्यसो हो भने सरकारले गर्ने काम सकिएको र अबको जिम्मेवारी निजी क्षेत्रको बाँकी भन्न खोज्नुभएको हो ?
सरकारले गर्ने काम कसरी सकियो ? औद्योगिक व्यवसाय ऐन आयो तर त्यसलाई कार्यान्वयन गर्नुपर्छ । त्यस्तै श्रम ऐन आफैं अड्किइ नै रहेको छ ।
सबै ऐनको कार्यान्वयन सरकारले गर्ने हो, त्यसमा हामी व्यवसायीले सहयोग गर्ने मात्रै हो । ऐन कार्यान्वयन हुँदा लगानीकर्तामा आत्मविश्वास बढ्छ र उनीहरू लगानीका लागि आकर्षित हुन्छन् ।
वातावरण बने स्वदेशी लगानी उत्पादनमूलक क्षेत्रमा जाने र विदेशी लगानी पनि आउँछ भन्न खोज्नुभएको हो ?
अहिलेको अवस्थामा श्रम ऐन पारित भए विदेशी लगानी आउन धेरै सहयोग पुग्छ । श्रम ऐनमा लगानीकर्ता र श्रमिकबीच धेरै ब्यालेन्स मिलाइएको छ ।
विदेशी लगानीभन्दा स्वदेशी लगानी नै महत्वपूर्ण छ । नेपालीले विदेशमा लगानी गरिरहेका छन्, हामीले विदेशी लगानी चाहियो मात्र भनेर हुँदैन । नेपालीको लगानी यहीँ ल्याउँ, लगानी गरौं । हामीले लगानी गरेर सम्मृद्धितर्फ अगाडि बढे एफडीआई आइ नै हाल्छ । 
नेपाली व्यवसायीहरू उत्पादनमूलक क्षेत्रमा भन्दा ट्रेडिङ बिजनेसमा लगानी गर्छन् भन्ने आरोप लाग्ने गरेको छ नि ?
आरोप–प्रत्यारोप लगाउनेभन्दा पनि व्यवसायीहरू किन ट्रेडिङ बिजनेसमा मात्र लागे भन्ने कुरा पनि हेर्नु प¥यो । निजी क्षेत्र र सरकारसँगै मिलेर काम गर्ने हो ।
सरकारको सहजीकरणमा निजी क्षेत्रले लगानी गरी रोजगारी सिर्जना गर्ने हो । तर, सरकारले यो काम गरेन । निजी क्षेत्रले यो काम गरेन भन्ने कुरै छैन ।
उत्पादनमूलक उद्योग, सेवा, स्वास्थ्यलगायतका क्षेत्रमा लगानी गर्न लगानीकर्ताले सुरक्षित महसुस नै गर्न सकेका छैनन् । किनभने, अर्को सरकार आउँदा नीति बदलिने हो वा यो अर्कै हो भनेर व्याख्या हुने डर व्यवसायीमा छ । यसले उनीहरूमा आत्मविश्वास बढ्न नसकेको हो । दुवै पक्ष मिलेर सामूहिक कार्य गर्ने हो । व्यवसायीहरू उत्पादनमूलक क्षेत्रमा लगानी गर्न तयार छन्, त्यसका लागि वातावरण त हुनुप¥यो ।
व्यवसायीले लगानी गर्ने हो, अर्थतन्त्रलाई टेवा पु¥याउने हो, सँगै नाफा पनि कमाउने हो । नाफा नै नकमाउने हो भने व्यवसायीले के गर्न सक्छन् ? नाफाको बदला व्यवसायीले राज्यलाई कर तिर्ने र रोजगारी सिर्जना गर्ने हो । तर अहिले त्यो वातावारण छैन । नीतिगत कुराले सहयोग गर्दैन ।
उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने भनेको अर्बौं लगानी गरेर दशकौंको योजना हो । माथिका सबै कुरामा स्पष्टता नहुँदा व्यवसायीहरू ट्रेडिङ व्यवसायमा लागेका हुन् । त्यसमा व्यवसायीको मात्र के दोष ?
हाम्रो व्यापार घाटा दश गुणाले बढेको छ । यही उत्पादन गर्न किन सरकारले व्यवसायीलाई प्रोत्साहन गर्दैन त ? स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सरकारले नीतिमा स्पस्ष्टता दिनु आवश्यक छ । 
विश्वमा राजनीतिक अस्थिरता भएका धेरै देश छन् । नेपालमै चाहिँ किन राजनीतिक अस्थिरताले लगानी आएन भन्ने गरिन्छ ?
मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने लगानी गर्नका लागि न्यूनतम पूर्वाधारको त ग्यारेन्टी हुनुपर्छ । श्रम, लगानीको सुरक्षा जस्ता विषय नै अन्योलमा छन् भने कसरी लगानी हुनसक्छ ? जग बलियो भयो भने न घर बलियो हुन्छ ।
जग नै बलियो छैन निजी क्षेत्रले कति तला थप्न सक्छ, त्यो त भत्किहाल्छ । यहाँ जग भनेको नीतिगत स्पष्टता हो । औद्योगिक ऐन, श्रम ऐन, करको विषयमा प्रष्टता, बजेटको कार्यान्वयन जरुरी छ वातावारणका लागि ।
यहाँ त सुरु नै भएको छैन, सुरु भयो भनेन निजी क्षेत्रले धकेल्ने हो । नेपालमा अहिलेसम्म त्यो धकेल्ने वातावारण नै बनेन । त्यो नेपालमा मात्र होइन संसारका सबै देशमा लगानी गर्न चाहनेले खोज्ने कुरा हो ।
ज्योति समूहले केही समयअघिदेखि नै कृषि, पर्यटनलगायत क्षेत्रमा लगानी गर्ने कुरा आएको थियो । कहाँ पुग्यो तपाईहरूको लगानीको कुरा ?
हामीले कृषिमा त लगानी गरी सकेका छौं । ६–८ करोड रुपैयाँ ग्रिन हाउसलगायतमा लगानी भइसकेको छ । त्यो धेरै अघि बढिसकेको छ । त्यस्तै पर्यटन क्षेत्रमा पनि लगानी गरिरहेका छौं । ठमेलमा बन्दै गरेको छायाँदेवी सेन्टर, त्यसमा बन्ने होटल अलफ्टमा पनि हामी साझेदार छौं ।
त्यसमा लगानीका बारेमा हस्ताक्षर भइसकेको छ । सपिङ मल तयार भइसक्यो, अलफ्ट होटल सन् २०१७ को अन्त्यसम्ममा सञ्चालनमा आउँछ । हामी लगानीलाई विस्तार गरिरहेका छौं ।
बजाजले नेपालमै मोटरसाइकल उत्पादनको तयारी गरिसकेको छ, जगदम्बा मोटर्सले उत्पादन गर्ने घोषणा गरेको छ । होन्डाको योजना चाहिँ के छ ?
हो, हामी पनि पक्कै गछौं । होन्डा टु ह्वीलर्स नेपालको मार्केट लिडर हो । लगानी गर्न हामी पछि हट्दैनौं । तर यसका लागि नीतिगत स्पष्टता हुनुप¥यो । यसमा प्लान्ट सेटअप गर्न एक÷दुई वर्षमै सम्भव छ । त्यसका लागि वातावरण हुनुप¥यो ।
कच्चा पदार्थ आयात गर्न मोटरसाइकलमै लागेको भन्सार लाग्नु भएन । प्लान्ट स्थापना गरेर मात्र के गर्ने ? त्यसबाट लगानीकर्ता र उपभोक्तालाई केही फाइदा त हुनुप¥यो नि । मोटरसाइकल प्लान्ट स्थापना भए अन्य उद्योग पनि खुल्दै जान्छन्, रोजगारी बढ्दै जान्छ । तर अहिले मुलुकमा त्यो वातावरण बनेको छैन ।
मलाई त घोषणा गर्न पनि डर लाग्छ । भएका उद्योग नै चल्न सकेका छैनन् । नयाँ प्लान्ट स्थापना गरेर सुनको हात्ती जस्तो देखाएर मात्र राख्ने ?
अहिले नेपालमा अटो मोबाइलको कारोबार कस्तो छ ?
पछिल्लो समय नेपालमा अटो मोबाइलको कारोबार राम्रो हुँदै गएको छ । चारपांग्रे तथा दुईपांग्रे दुवै सेगमेन्टका सवारीको बिक्रीमा दोहोरो अंकको वृद्धि छ । गत वर्ष अटो मोबाइल क्षेत्रले सरकारलाई करिब ८० अर्ब राजस्व तिरिसकेको छ । यो वर्ष यस क्षेत्रले १ खर्ब राजस्व तिर्ने अनुमान गरेका छौं ।
काठमाडौंलगायत क्षेत्रको ट्राफिकको स्थिति दयनीय छ । त्यसैले हामीले सरोकारवालाको बैठक बोलाउन लागेका छौं । जसरी राजस्वको संकलन भएको छ, त्यो अनुपातमा भौतिक पूर्वाधार बन्न सकेको छैन ।
नेपालमा सवारीसाधनको संख्या धेरै भएको होइन । सडक कम भएको हो । सडक विस्तारका लागि प्राथमिक क्षेत्र छुट्याएर काम गर्नुपर्छ ।
देशभर दुई पांग्रे सवारी चढ्नेको संख्या कुल जनसंख्याको ८ प्रतिशत मात्र छ । केही वर्ष अघिसम्म त्यो २ प्रतिशत थियो । ४/५ वर्षमा ८ प्रतिशत पुग्नु राम्रो हो । गाडी हुनेको संख्या १ प्रतिशत मात्र छ । के त्यो सवारी धेरै भएको हो त ।
गाडी गुडाउन मात्र होइन सडकको विस्तार हरेक क्षेत्रको विकासको मेरुदण्ड हो । सडक विकासको लाइफलाइन हो । त्यसैले यसको विकास र विस्तारमा जोड दिनुपर्छ । 
तपाईं महासंघको राजस्व समितिको सभापति पनि हुनुहुन्छ । के यो कुरा सरकारलाई बुझाउन नसकिएको हो कि नबुझेको हो ?
यस विषयमा पनि नीतिगत कुरा आउँछ । यो व्यक्तिगत नभई सबैका लागि फाइदा पुग्ने कुरा हो । क्षेत्रगत विकासका लागि संघ/संस्थाले पहल गर्ने हो । म व्यक्तिगत रूपमा गएँ भने त्यो मेरो फाइदाका लागि हुन सक्छ । तर हामीले नाडा, महासंघमार्फत सरकारलाई भनी नै रहेका छौं ।
छलफलहरू धेरै भएका छन्, कुराहरू सुनिएका पनि छन् तर कार्यान्वयन पक्ष निक्कै कमजोर छ । सरकारले हाम्रो देशमा भएका लगानीका सम्भावना ऊर्जा, कृषि, खाद्य सुरक्षा, पर्यटन, भौतिक पूर्वाधारलगायतलाई प्राथमिकता दिनुप¥यो ।
हो, सरकारले घोषणा गरेका यी क्षेत्रमा समेत सुविधा दिए व्यवसायी लगानी गर्न हिचकिचाउँदैनन् । सरकारको सपोर्ट बिना त निजी क्षेत्रले जति नै लगानी गरे पनि केही हुँदैन । सरकार र निजी क्षेत्र एकै रथका दुईपाटा हुन् । एउटाले काम नगर्दा अर्को चल्न सक्दैन । सबैको एउटा कमन भिजन हुनुपर्छ । 
हाम्रो देश त्यत्रो द्वन्द्वमा किन फस्यो त ? देशमा युवा बेरोजगारी भएर हो । आम्दानी हुन्थ्यो, रोजगारी थियो भने त्यस्तो हुने सम्भावना थिएन । अहिले युवा पलायन भइरहेका छन् । हाम्रा युवा खाडी मुलुकको अर्थतन्त्र विकासमा सघाइ रहेका छन् ।
त्यो युवा शक्ति हाम्रै देशको अर्थतन्त्र विकासमा किन नलगाउने ? युवा बेरोजगार हुँदै गए देशको अवस्था यस्तै रहे फेरि अर्को द्वन्द्व नदोहोरिएला भन्न सकिन्छ । तर त्यस्तो स्थिति नआओस । रोजगारी दिने निजी क्षेत्र नै हो । कुराहरू मिलि नै रहेका छन् तर कता कता अलाइनमेन्ट मिलेको छैन ।
सरकारले कर तिर्नेहरूका लागि प्रोत्साहन गर्नुप¥यो, नतिर्नेका लागि कारबाही हुनुप¥यो । न्यून बिजकीकरण गर्नेका लागि कारबाही नहुने हो भने फेयर काम गर्नेलाई के हुन्छ ? त्यसैले सरकारले सबैलाई एकै खालको नीतिगत व्यवहार गर्नुपर्छ । 
धेरै चर्चा र विवादमा तानिएको एनसेल कर प्रकरणमा निजी क्षेत्र किन मौन बसेको हो ?
हामी मौन बसेका त हैनौं । त्यसको पनि आफ्नै वैधानिक बाटाहरू थिए । त्यसको व्याख्या भएको थियो । अन्ततः नेपाल सरकारको नियमअनुसार यहाँको कम्पनी भएकाले उसले कर तिरेर काम अघि बढाइ नै सक्यो । 
बैंकहरूले ब्याजदरमा गरेको वृद्धिले उद्योगीहरूलाई प्रभावित पा¥यो । बैंकले सिन्डिकेट ग¥यो भनेको सुनिएको छ, त्यस्तै हो ?
बैंकको ब्याज दर नियमित प्रक्रिया हो । यो कहिले बढ्छ कहिले घट्छ । घट्दा खुसी हुन्छौं, बढ्दा दुःखी । बैंकहरूमा तरलताको अभावले ब्याजदरमा वृद्धि भएको हो । यो कारणले गर्दा बैंकहरूले ब्याजदर बढाएका हुन् । यसबारेमा बैंकर संघ, बैंकहरू र महासंघले छलफल गरी नै रहेका छन् ।
यो नियमित प्रक्रिया भएकाले सिन्डिकेट ग¥यो भन्न चाहिँ मिल्दैन । त्यसमा पनि बैंकले उद्योग, व्यापारलगायतमा ब्याज दर बेग्लाबेग्लै तोकेको छ । आफ्ना कस्टुमर प्रोफाइल गरेकै हुन्छ । त्यसैले तरलता बढ्ना साथै बैंकहरूले व्याजदर समायोजन गर्न सक्छन् ।  
मुलुक संघीयतामा गइसक्यो । प्रदेशिक संरचनाहरू निर्माण भएपछि त्यसमा करलगायतका समस्या आउन सक्छन् । यस बारेमा निजी क्षेत्रसँगै छलफल भएको छ कि छैन ?
यसबारे बृहत् छलफल हुन त बाँकी नै छ । तर, हामीले दुई वर्षअघि एक जना विशेषज्ञ ल्याएर अध्ययन गरेका थियौं । भौगोलिक संघीयतामा राज्यहरूको कर कति हुने, कसले कुन कर लिने यसबारे एउटा मोडालिटी नै पेश गरेका थियौं । हाम्रो मुख्य ध्यान उत्पादन लागत बढ्नु भएन ।
केन्द्र सरकार र राज्य सरकारले लिने कर दोहोरो हुनु भएन । अहिले नै यस्तो अवस्था छ भने पछि विवाद नहुने गरी निमय बन्नुपर्छ । यसका विभिन्न अन्तरराष्ट्रिय फर्मुलाहरू छन् । यसमा हामी गहन अध्ययन र छलफल गर्न तयार छौं ।
महासंघको केही समयअघि भएको विधान संशोधनमा यहाँ विपक्षमा हुनुहुन्थ्यो भन्ने गरिन्छ । विपक्षमा बस्नुको कारण के थियो ?
विधान संशोधनको विपक्षमा म थिइनँ । यो कुुरा कुशकुमार जोशी अध्यक्ष हुँदा नै उठेको हो, जसको म सधैं पक्षमै थिएँ । जुन प्रस्ताव पारित भएको छ त्यही प्रस्ताव हामीले राखेका थियौं । महासंघमा राजनीति हुनुभएन भन्ने मै हाम्रो जोड हो । प्रक्रियामा भने सबै सरोकारवाला पक्षसँग यथोचित छलफल भएन भन्ने मात्र हो ।
तर अब त्यो कार्यसमितिले पारित गरेर विशेष साधारणसभाले समेत स्वीकृत गरिसक्यो । अब यसको कार्यान्वयमा गर्ने हो । एकै ठाउँमा रहेर काम गर्ने हो । आफैं कार्यसमितिमा रहेको मान्छेले विरोध ग¥यो भन्न त के मिल्ला र ।
महासंघको चुनाव पनि नजिकिँदै छ । लामो समय काम गर्नुभयो । अबको चुनावमा तपाईंको दाबेदारी केमा हो ?
मैले महासंघमा तीन कार्यकाल काम गरें । यो अवधिमा विभिन्न जिम्मेवारी सम्हालिसकेको छु । अहिलेको कार्यकालमा म राजश्व समितिको सभापतिको रूपमा काम गरिरहेको छु ।
९ वर्ष महासंघमै र त्योभन्दा अघि महासंघकै युवा उद्यमी मञ्चमा ५/६ वर्ष काम गरिसकेको हुनाले महासंघमा यो पटक मैले एसोसिएटतर्फबाट उपाध्यक्षमा नोमिनेसन दर्ता गर्नेछु । यसमा मेरो पनि दाबी रहनु स्वाभाविक हो ।
त्यसमा साथीभाइ, परिवार सबैको साथ र सहयोग रहने आशा गरेको छु ।

चार वर्षको प्रयासपछि नागरिक उड्डयन सुरक्षा नियमावली स्वीकृत, विदेशी एयरलाइन्सले आफूखुसी एयर मार्सल राख्न नपाउने


काठमाडौं : नेपालमा उडान गर्ने विदेशी एयरलाइन्सहरूले अब आफूखुसी एयर मार्सल राख्न नपाउने भएका छन् । एयर मार्सल राख्नका लागि ती एयरलाइन्सले गृह मन्त्रालयबाट अनिवार्य रूपमा स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ ।

हाल भारतीय एयरलाइन्सहरूले विभिन्न नाममा एयर मार्सल राख्दै आएका छन् । 
२०५६ पुस ९ मा काठमाडौंबाट नयाँ दिल्लीका लागि उडेको इन्डियन एयरलाइन्सको विमान अपहरण भएपछि भारतले आफ्नो विमानको सुरक्षाका लागि भन्दै नेपालबाट भारतीय भूमिमा उडान गर्दा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आफैं सुरक्षा जाँच गर्दै आएको छ ।
भारतले नेपाली विमानस्थलमा सुरक्षा जाँच भइसकेका यात्रुलाई आफ्ना जहाजका भ¥याङमा बसेर थप सुरक्षा जाँच गर्ने गरेको दश वर्षभन्दा बढी भइसकेको छ ।
‘नागरिक उड्डयन सुरक्षा नियमावली २०७३’ कार्यान्वयनमा आएसँगै एयर मार्सलका नाउँमा हुने गरेको मनोमानी रोकिने आशा गरिएको छ । नियमावलीमा नेपालका विमानस्थलमा अवतरण गर्ने अन्य राष्ट्रका वायुसेवा सञ्चालन संस्थाले वायुयानभित्र हातहतियारसहितका व्यक्ति राख्नु पर्ने भएमा गृह मन्त्रालयबाट इजाजत प्राप्त गर्नु पर्ने उल्लेख छ ।
यस्तै, संकटकालीन योजना बनाउनु पर्ने अवस्थामा नागरिक उड्डयन कार्यालयले वायुयानको अनधिकृत हस्तक्षेपको प्रतिरोध तथा संकटकालीन व्यवस्था लगाउन पाउने अधिकार समितिलाई दिइएको छ ।
नियमावली असोज तेस्रो साता मन्त्रिपरिषद्ले पारित गरेसँगै कार्यान्वयनमा आएको छ । मन्त्रालयको चार वर्षको प्रयासपछि गैरसैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २०१५ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी नियमावली जारी गरिएको हो ।
नियमावलीले विमानस्थलमा कार्यरत सबै निकाय तथा संयन्त्रको जिम्मेवारी तोकिएको छ । विमानस्थलमा ३६ भन्दा बढी संयन्त्र तथा संस्था क्रियाशील छन् । जसमा एकद्वार प्रणाली नहुँदा सुरक्षामा गम्भीर समस्या आउने चेतावनी सरोकारवाला निकायहरूले दिँदै आएका थिए ।
सरकारले वि.सं २०४६ मा सामान्य ड्राफ्टको रूपमा ल्याएको नियमावलीले काम चलाउँदै आएको थियो । “मन्त्रालयले लामो समयदेखि पहल थाले पनि अहिले कार्यान्वयमा आएको छ,” मन्त्रालयका उपसचिव हरिबहादुर खड्काले भने ।
उनका अनुसार नियमावलीले नागरिक उड्डयन सुरक्षा विरुद्धका खतरा (थे्रट) को प्रकृति तथा क्षेत्रको आधारमा राष्ट्रिय नागरिक उड्डयन सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न नागरिक उड्डयनसम्बन्धी विभिन्न निकायबीच सुरक्षा समन्वय गराउने विषयलाई जोड दिएको छ ।
नागरिक उड्डयन सुरक्षाका सम्बन्धमा अवलम्बन गर्नु पर्ने राष्ट्रिय नीति तथा कानुनमा गर्नु पर्ने सुधारको विषयमा नेपाल सरकारलाई सुझाव दिने छ ।
नागरिक उड्डयन सुरक्षाविरुद्धका सम्भावित खतराको सामना गर्न अवलम्बन गर्नु पर्ने सुरक्षात्मक व्यवस्थाका सम्बन्धमा नागरिक उड्डयन सुरक्षा अधिकारी तथा सम्बद्ध अन्य निकायलाई निर्देशन राष्ट्रिय नागरिक उड्डयन सुरक्षा समितिले दिनेछ । 
विमानस्थलमा कार्यरत राष्ट्रिय अनुसन्धान विभाग निगरानी शाखाको जिम्मेवारी समेत नियमावलीमा तोकिएको छ ।
त्यस्तैगरी विमानस्थलको निषेधित क्षेत्रमा प्रवेश पास भएका व्यक्तिबाहेक अरुलाई अनधिकृत प्रवेश हुन नदिने तथा प्रवेश पास भएको व्यक्ति र निजसँग सम्बन्धित सामान तथा सवारी साधनको सुरक्षा जाँच लिने नेपाल प्रहरीलाई जिम्मेवारी तोकिएको छ ।
नागरिक उड्डयनको सुरक्षाको विरुद्ध प्रयोग हुन सक्ने निषेधित सामान वायुयान तथा विमानस्थलको निषेधित क्षेत्रमा जान नदिने सबै काम प्रहरीको अधिकार दिइएको छ । 
विमानस्थल सुरक्षाको लागि खटिएका नेपाली सेनाको जिम्मेवारी समेत तोकिएको छ । नागरिक उड्डयन सुरक्षाविरुद्धको खतरामा वृद्धि भएमा खतराको प्रकृति अनुरुप समितिको निर्णयबमोजिम अतिरिक्त सुरक्षाको व्यवस्था गर्नेछ ।
विमानस्थलको सुरक्षाको प्रतिकूल हुने गतिविधि वा अनधिकृत प्रवेशमा नियन्त्रण गर्ने जिम्मेवारी तोकिएको छ । त्यसैगरी शसस्त्र प्रहरी, भन्सार विभागलगायत सबैको काम कर्तव्य र अधिकार तोकिएको छ । 
सुरक्षाको नेतृत्व महानिर्देशकलाई
सरकारले ल्याएको २४ पृष्ठको नियमावलीमा विमानस्थल तथा जहाजको सुरक्षासम्बन्धी नेतृत्व नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले नै लिनुपर्ने व्यवस्था गरिएको छ ।  यसअघि गृहले सुरक्षा नेतृत्व आफूले पाउनुपर्ने दाबी गर्दै आएको थियो । विमानस्थलका प्रमुख अध्यक्ष हुनेगरी सुरक्षा समिति समेत गठन हुनेछ । जसको बैठक वर्षमा चार पटकमा नघटाई बस्ने व्यवस्था उल्लेख छ ।
नियमावलीले राष्ट्रिय नागरिक उड्डयन सुरक्षा समितिको समेत व्यवस्था गरेको छ । नागरिक उड्डयनमन्त्री अध्यक्ष हुने समितिमा सबै क्षेत्रको सहभागिता रहनेछ ।
 

वाइड बडीका लागि ११ वटा आवेदन, एक साताभित्र टेन्डर छनोट भइसक्ने


काठमाडौं : नेपाल वायुसेवा निगमलाई वाइड बडी जहाज उपलब्ध गराउन ११ अन्तरराष्ट्रिय कम्पनीले प्रस्ताव गरेका छन् ।  निगमले दुई ठूला जहाज खरिदका लागि ४५ दिनअघि ग्लोबल टेन्डर गरेको थियो ।

बिहीबार खोलिएको टेन्डरमा ११ कम्पनीले सहभागिता जनाएको निगम प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले जानकारी दिए । निगमले डेढ वर्षभित्र एयरबस ३३०–२०० सिरिजका जहाज उपलब्ध गराउन सक्ने कम्पनीका लागि टेन्डर खुलाएको थियो ।
असोज ९ मा आह्वान गरिएको विश्वव्यापी टेन्डरअनुसार कम्पनीहरूले आवेदन गरेका थिए । निगम व्यवस्थापनले बिहीबार नै प्राविधिक विभाग प्रमुख आरबी शाहको संयोजकत्वमा सिफारिस समिति गठन गरेको छ ।
समितिले निगम व्यवस्थापनलाई टेन्डरमा सहभागी कम्पनीहरूको विषयमा विस्तृत अध्ययन गरी व्यवस्थापनसमक्ष सिफारिस गर्नेछ । “दश कम्पनीमध्ये सवैभन्दा कम मूल्य प्रस्ताव गर्ने र बिक्रीपछि चित्तबुझ्दो सुविधा दिने कम्पनी छनोट गरिने छ,” कंसाकारले भने ।
उनका अनुसार समितिले सिफारिस गरेका कम्पनीमध्ये एकलाई निगम सञ्चालक समितिलाई निर्णय गर्नेछ । एक साताभित्रै कुन कम्पनीमार्फत जहाज खरिद गर्ने भन्ने टुंगो लागिसक्ने निगमले जनाएको छ । 
निगम स्रोतका अनुसार केएल एसो पार्टस्, केआईटी इन्भेस्टमेन्ट एन्ड वनवल्र्ड क्लोआउटस् लिमिटेड, रोनमोटा एन्ड एसोसिएट एयरक्राफ्ट सेल्स एन्ड पार्ट्स, एयरक्राफ्ट इन्भेस्टमेन्ट ग्रुप, क्राउन कमर्सियल सर्भिस लिमिटेड, सिनर्जी एरोस्पेस, एसटी एरोस्पेस, लि ग्रुप डेल्टा, एएआर कर्पोरेसन, सौर्य एयर सपोर्ट कम्पनी र रोल्स रोयज टेन्डरमा सहभागी भएका छन् । 
निगमले पहिलोपटक वाइड बडी जहाज खरिद गर्ने भएको हो । यसअघि भाडामा वाइड बडी जहाज ल्याएर केही समय सञ्चालन गरे पनि त्यसले निरन्तरता पाउन सकेको थिएन । निगमले करिब २५ अर्ब रुपैयाँ खर्चिएर जहाज खरिद गर्नेछ ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारले जहाज खरिदलाई प्राथमिकतामा राखेसँगै यसको प्रक्रिया अघि बढेको हो ।
जहाज खरिदमा सरकार जमानी बस्ने सरकारको निर्णयपछि कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष तथा विभिन्न वाणिज्य बैंकहरूले ऋण दिनका लागि निगममा प्रस्ताव पठाएका छन् । 

जहाजको प्राविधिक परीक्षण नेपालमै, बुद्धको ह्याङ्गरबाटै एमआरओ सुविधा


काठमाडौं : मुलुकमै पहिलोपटक जहाजको परीक्षण र मर्मतसम्भार (एमआरओ) सेवा सुरु भएको छ । निजी क्षेत्रद्वारा सञ्चालित बुद्ध एयरले स्वदेशी र विदेशी एयरलाइन्सहरुलाई यस्तो सुविधा उपलब्ध गराउने भएको हो ।

सरकारले गत भदौमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा रहेको बुद्ध एयरको ह्याङ्गरलाई एमआरओ सेवा दिनसक्ने अनुमति दिएको थियो ।
नेपालमा जहाजको सामान्य चेकजाँच हुने गरे पनि यस्तो सुविधा यसअघि थिएन । बुद्धका अनुसार अब एटीआर र बीच एयरक्राफ्टको ‘होलबडी’ चेकजाँच र मर्मत गर्न नेपाल बाहिर लैजानु नपर्ने भएको छ ।  
बुद्धको ह्याङ्गरबाट सुरु भएको एमआरओ सेवाले दीर्घकालमा विदेशी एयरलाइन्सका जहाजसमेत मर्मत गर्ने बाटो खुलेको छ । “लामो समयसम्मको तयारीपछि एमआरओ सेवा सुरु गरेका छौं,” बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले भने ।
सरकारले भदौमा अनुमति दिएपछि अहिले विमान मर्मतका सबै कामहरु सुरु भइसकेको बस्नेतले जानकारी दिए । एमआरओ सेवा लिनका लागि अन्तरराष्ट्रिय एयरलाइन्स कम्पनीहरुले समेत चासो दिन थालेका छन् ।
हालसम्म बंगलादेशको नोभो एयर र भुटानको ड्रुक एयरले मर्मतको सेवा लिन बुद्ध एयरसँग सम्झौता गरिसकेका छन् । बुद्धको ह्याङ्गरमा हाल १ सय ४६ प्राविधिक कार्यरत छन् । 
एमआरओ परीक्षणको शुल्क नतोकिए पनि ३० हजार डलरदेखि १ लाख डलरसम्म पर्छ । नेपालमा दुई ठूला विमानस्थल (पोखरा र भैरहवा) निर्माण भइरहेकाले पनि बुद्ध एयरले सञ्चालन गर्ने एमआरओ सेवाले धेरै एयरलाइन्सले सेवा पाउने बताइएको छ ।
बुद्धको ३७ हजार वर्गफिट क्षेत्रफलमा रहेको ह्याङ्गरबाटै यो सेवा उपलब्ध हुने जनाइएको छ । बुद्धले सन् २०१२ मा झन्डै २५ करोड रुपैयाँ खर्चिएर यो ह्याङ्गर निर्माण गरेको थियो ।
सरकारको अनुमतिसँगै बुद्धले एयरबस ३२० र बोइङ ७३७ जहाजको मर्मतसम्भारको पूर्वाधार तयारी थालेको छ । जसबाट राष्ट्रिय ध्वजावाहक नेपाल वायुुसेवा निगमसहितका निजी क्षेत्रबाट सञ्चालित हिमालय एयरलाइन्ससम्म प्रत्यक्ष लाभान्वित हुनेछन् ।
ठूला जहाजको प्रकृतिअनुसार प्रत्येक १८ महिना अथवा ५ हजार घण्टा उडान गरेपछि सी–चेकिङ र ओभरल चेकिङ गर्नुपर्छ ।
हाल यसका लागि जहाज विदेश लैजानु पर्ने बाध्यता छ । एउटा जहाजको इन्जिन ओभरल चेकिङ गर्न ५५ करोड, सी–चेकिङ गर्न २५ करोड रुपैयाँभन्दा बढी लागत पर्दछ । 
बुद्धले दिने सेवाबाट सबैभन्दा बढी फाइदा निगमलाई नै हुनेछ । जसका कारण विदेश लैजानु पर्ने बाध्यता हट्ने छ भने खर्चसमेत घट्नेछ ।
निगमले हाल एमआरओका लागि जहाज सिंगापुर पठाउँदै आएको छ । बुद्धले खासगरी मर्मतका लागि ल्याइने स्पेयर्स पार्ट्सहरुमा देखिएको करको दरकालाई हेरफेर गर्न सरकारसँग माग गर्दै आएको छ ।

Friday, September 23, 2016

वाइड बडीका दुई जहाज खरिदका लागि ग्लोबल टेन्डर हुँदै


राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आगामी साता दुई वाइड बडी जहाज खरिदका लागि विश्वव्यापी प्रतिस्पर्धा (ग्लोबल टेन्डर) आह्वान गर्ने भएको छ ।

निगमको जहाज खरिदका लागि आवश्यक ऋणका निमित्त जमानी बस्ने अर्थ मन्त्रालयको निर्णयपछि ग्लोबल टेन्डर सुरु गर्न लागिएको हो । कर्मचारी सञ्चय कोषले गतसाता नै २५ अर्ब ऋण दिने आशयसहितको पत्र पठाइसकेको छ । 
नागरिक लगानी कोष तथा अन्य वित्तीय संस्थाहरूले पनि सस्तो व्याजदरमा लगानी गर्न निगमलाई प्रस्ताव पठाएका छन् ।
“निगमलाई जहाज किन्नका लागि सबै प्रक्रिया पूरा भएकाले अब टेन्डर आह्वान गर्दैछौं,  एक साताभित्रमा निर्णय हुनेछ,” संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हवाई महाशाखाका सहसचिव तथा नेपाल वायुसेवा निगम सञ्चालक समितिका सदस्य बुद्धिसागर लामिछानेले भने ।
अर्थ मन्त्रालयबाट जमानी बस्ने पत्र मन्त्रालयमा आइसकेकाले अब जहाज खरिदका लागि लगानीको कुनै समस्या नहुने लामिछानेको भनाइ छ ।
“सञ्चयकोषले प्रस्ताव गर्नु सकारात्मक भए पनि अब पहिलेको जस्तो महँगो व्याजमा निगमले ऋण लिँदैन,” लामिछानेले भने । निगमलाई यसअघि पनि न्यारो बडी जहाज खरिदका लागि कोषले १० अर्ब रुपैयाँ प्रदान गरेको थियो । 
निगमले २ सय ६० सिट क्षमताका एयरबस ३३०–२०० सिरिजका दुईवटा जहाज खरिदको लागि ग्लोबल टेन्डर आह्वान गर्नेछ । जसमा अन्तरराष्ट्रिय लिज कम्पनी तथा एयरबस कम्पनीले पनि भाग लिनसक्ने निगम प्रवक्ता रामहरि शर्माले जानकारी दिए ।
निगमका न्यारो बडी जहाजसमेत एयरबस कम्पनीकै भएकाले बोइङका जहाज विस्थापन हुनेछन् । निगमले गत वर्ष खरिद गरेका न्यारो बडी जहाज एयरबस र अहिले खरिद गर्न लागिएको एयरबस ३३० को सिरिज एउटै भएकाले सोही जहाज निगमको लागि उपयुक्त हुने प्रवक्ता शर्माले बताए । 
निगमजस्तो सानो संस्थामा धेरै कम्पनीमा निर्माण भएका जहाज चलाउनुभन्दा एकै किसिमको जहाज चलाउँदा लागत सस्तो पर्ने उनको दाबी छ । 
मन्त्रिपरिषद् नपठाइने  
जहाज खरिदसम्बन्धी निर्णयको लागि यसपटक निगम सञ्चालक समितिले फाइल मन्त्रिपरिषद् नपठाउने भएको छ ।  जहाज खरिदमा विगतमा विवाद भएकाले  मात्रै मन्त्रिपरिषद् लगिएको उल्लेख गर्दै उनले यसपटक सञ्चालक समितिले नै निर्णय गरेर प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।

Wednesday, September 21, 2016

निगमलाई २५ अर्ब ऋण दिन सञ्चय कोष तयार



दुई वाइड बडी जहाज खरिद

काठमाडौंः राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई दुई वाइड बडी जहाज खरिदका लागि कर्मचारी सञ्चय कोषले २५ अर्ब रुपैयाँ ऋण दिने भएको छ । निगमलाई यसअघि पनि न्यारो बडी जहाज खरिदका लागि १० अर्ब रुपैयाँ प्रदान गरेको सञ्चय कोषले सरकार जमानी बस्ने भएपछि थप ऋण प्रदान गर्ने भएको हो । 
सञ्चय कोषले नेपालको वित्तीय इतिहासमै यति ठूलो परिमाणमा कर्जा प्रवाह गर्न लागेको हो । “निगमलाई २५ अर्ब ऋण दिनका लागि तयार भएको पत्र पठाएका छौं,” कोषका प्रमुख प्रशासक कृष्णप्रसाद आचार्यले भने, “यसअघि पनि हामीले न्यारो बडीमा लगानी गरेका थियौं, अहिले सरकार जमानी बस्ने भएसँगै ऋण लगानीका लागि पत्र पठाएका छौं ।” 
यसै साता निगम अधिकारीसहित पर्यटन र अर्थमन्त्रीबीचको छलफलमा ऋणका लागि सरकार जमानी बस्ने सहमति भएको थियो ।  निगमलाई कति प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्ने भन्ने टुंगो लागिसकेको छैन । “हामीले ऋण दिने प्रस्ताव मात्रै गरेका हौं, व्याजदरको विषय भने आपसी छलफलबाटै टुंग्याउनेछौं,” आचार्यले भने, “उहाँहरू हाम्रोमा महँगो भयो, अन्यत्रैबाट ऋण लिन्छौं भन्नुहुन्छ भने पनि स्वतन्त्र हुनुहुन्छ ।” 
सरकार ग्यारेन्टी बस्ने सहमतिसँगै निगम व्यवस्थापन र सञ्चय कोषबीच पटक–पटक वार्ता भएको थियो । निगम प्रवक्ता रामहरि शर्माका अनुसार अब निगमलाई जहाज किन्ने बाटो खुला भएकाले केही दिनभित्रै प्रक्रिया सुरु हुनेछ । 
निगमले पर्यटनमन्त्री जीवनबहादुर शाही र अर्थमन्त्री कृष्णबहादुर महरालाई वाइड बडी जहाज खरिदपछिको आफ्नो ‘बिजनेस प्लान’का विषयमा जानकारी गराएको थियो । प्रस्तावमा अर्थमन्त्रीले समेत सहमति जनाएपछि अर्थ र पर्यटन मन्त्रलयले जहाज खरिद प्रक्रिया अघि बढाउन निगमलाई निर्देशन दिएका थिए । “सरकार नै जमानी बसेपछि निगमलाई जहाज खरिद गर्नका लागि ऋण दिन हामीलाई अब कुनै समस्या छैन,” कोषका प्रशासक आचार्यले बताए । 
हामीले ऋण दिन तयार रहेको पत्र पठाएका छौं, व्याजदरको विषय भने आपसी छलफलबाट पछि टुंग्याउनेछौं ।
कृष्णप्रसाद आचार्य
प्रमुख प्रशासक, संचय कोष
निगमलाई प्राप्त हुने यो ऋणबाट २ सय ६० सिट क्षमताका एयरबस ३३०–२०० सिरिजका दुईवटा जहाज खरिद गरिनेछ । निगमका न्यारो बडी जहाजसमेत एयरबस कम्पनीकै भएकाले बोइङका जहाज विस्थापन हुनेछन् । बोइङको एक जहाज मर्मत हुन नसक्ने अवस्थामा रहे पनि अर्को जहाज भने चालू अवस्थामा नै छ । पहिलो जहाज एक वर्षमा र दोस्रो अर्को वर्ष खरिद गर्ने लक्ष्य छ । 
निगमको जहाज खरिद अध्ययन समितिले तयार पारेको प्रस्तावअनुसार सञ्चालक समितिले नयाँ जहाज खरिदको योजना सर्वसम्मत पास गरेको छ । यसअघि तत्कालीन बोर्ड बैठकमा अर्थ मन्त्रालयका प्रतिनिधि टंकमणि शर्माले हस्ताक्षर नगरेपछि न्यारो बडी जहाज खरिद प्रक्रिया विवादमा तानिएको थियो । अर्थ मन्त्रालयको असहमति र संसदको सार्वजनिक लेखा समितिले समेत छानबिन गरेसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको थियो । 
निगमले गत वर्ष खरिद गरेका न्यारो बडी जहाज एयरबस र अहिले खरिद गर्न लागिएको एयरबस ३३० को सिरिज एउटै भएकाले सोही जहाज निगमको लागि उपयुक्त हुने प्रवक्ता शर्माले बताए । 
निगमजस्तो सानो संस्थामा धेरै कम्पनीमा निर्माण भएका जहाज चलाउनुभन्दा एकै किसिमको जहाज चलाउँदा लागत सस्तो पर्ने उनको दाबी छ । हाल निगमसँग अन्तरराष्ट्रिय उडानको लागि न्यारो बडी बोइङ–७५७ को एकसहित एयरबस–३२० का दुई जहाज छन् । 

सरकारले अनुमति दिए ६ महिनाभित्र क्षेत्रीय उडान गर्नेछौं

सुधीर मित्तल
अध्यक्ष, श्री एयरलाइन्स 
१७ वर्षअघि  हेलिकप्टरका माध्यमले हवाईसेवा दिँदै आएको श्री एयरलाइन्स अब हवाईजहाजमार्फत आन्तरिक र अन्तरराष्ट्रिय उडान थाल्ने तयारीमा जुटेको छ । नेपालको सबैभन्दा ठूलो हेलिकप्टर कम्पनी श्री एयरलाइन्सले आगामी तीन महिनाभित्र तीनवटा जहाजमार्फत आन्तरिक उडान गर्नेगरी उडान अनुमति (एओसी) लिने प्रक्रिया सुरु गरिसकेको छ ।
श्री एयरलाइन्सको लक्ष्य आन्तरिकमा मात्र सीमित छैन । आगामी वर्षदेखि नै अन्तरराष्ट्रिय उडानसमेत थाल्ने गरी गृहकार्य अघि बढाइसकिएको छ । एयरलाइन्सले ५० सिट क्षमताको क्यानेडियन कम्पनी बम्बाडियरको जेट सिआरजे–२०० सिरिजको जहाज खरिद गर्दैछ । जसबाट सुगम क्षेत्रमा उडान गर्ने योजना बनाएको छ भने अन्तरराष्ट्रियतर्फ क्षेत्रीय रुटहरूमा उडान गर्ने बताएको छ ।
नेपालमा निजी क्षेत्रबाट अन्तरराष्ट्रिय उडान गर्ने कम्पनीहरू स्थापनासँगै बन्द हुने क्रम रहेका बेला श्री एयरलाइन्स भने व्यवस्थित कार्य योजनाका साथ उडान गर्नेगरी लगानी गर्ने तयारीमा जुटेको छ । एमआई–१७ सिरिजका ठूला हेलिकप्टर धेरै भएको दक्षिण एसियाकै सबैभन्दा ठूलो कम्पनी हो । यसले विश्व खाद्य कार्यक्रम र अन्य अन्तरराष्ट्रिय संस्थाका कामसहित प्राकृतिक प्रकोप, उद्धार, खाद्यान्न ढुवानी, यात्रु ओसारपसारमा विश्वसनीयता कमाएको छ ।
त्यसबाहेक संयुक्त राष्ट्रसंघका लागि हेलिकप्टर उडान गर्ने एयरलाइन्स दक्षिण एसिया र पूर्वी एसियाकै एकमात्र कम्पनी पनि हो । पिता स्व. वनवरीलाल मित्तलको निधनसँगै कम्पनीको नेतृत्व गरिरहेका छोरा सुधीर मित्तल आफैं पनि विश्व बैंकअन्तर्गतको अन्तरराष्ट्रिय फाइनान्स कर्पोरेसनको दक्षिण एसिया प्रमुख रहेर काम गरिसकेका छन् । मित्तलसँग कारोबारकर्मी केदार दाहालले गरेको कुराकानी :
नेपालमा सञ्चालनमा रहेका धेरै एयरलाइन्सहरूको वित्तीय अवस्था कमजोर छ र यिनीहरू फाइदामा छैनन् । तपाइँहरू भने नाफा कमाइरहेको हेलिकप्टरबाट किन हवाईजहाजमा लगानी गर्न उत्साहित हुनुभएको ?
हामीले यसलाई ‘सट टर्म’मा सोचेका छैनौं । अल्पकालीन विश्लेषण गर्ने हो भने उनीहरूले भनेका ठीकै हो जस्तो लाग्दछ । पछिल्लो समय यात्रु संख्यासमेत अपेक्षित वृद्धि हुन नसकेको बेला त्यो स्वाभाविक पनि लाग्न सक्छ । त्यसमा पनि नयाँ खेलाडी आउँदा अनौठो लाग्न सक्छ ।
लुक्लालगायतको फ्लाइटमा आउँदासम्म स्वाभाविक लाग्न सक्छ तर हामी ट्रंक रुटमा जाने हो । अहिले नै यसमा जाँदा फाइदा छैन । हाम्रो सोचाइ भने दीर्घकालीन छ । हामीले अहिले विस्तार गर्न लागेको सेवा आन्तरिक त छँदैछ योसँगै मुख्य लक्ष्य अन्तरराष्ट्रिय उडान गर्ने हो ।
सुरुमा क्षेत्रीय उडान भारत, म्यानमार, भुटान नै होला । त्यससँगै ठूला जहाज थप्दै अन्य गन्तव्यसम्म जाने नै हो । हाम्रो देशबाट अहिले यतिका कामदार खाडी मुलुक, मलेशियामा कामका लागि गहिरहेका छन् । उनीहरूलाई विदेशी एयरलाइन्सले बोकिरहेका छन्, हामीले किन नबोक्ने ?
हाम्रो सोचाइ यो हो तर यसमा जान समय लाग्छ । कतार एयरवेजले सातामा २० वटासम्म फ्लाइट गरिरहेको छ, एनएसीले सातामा सात वटा र अहिले हिमालय एयरले पनि फ्लाइट सुरु गरेको छ । खाडी मुलुकका एयरलाइन्सहरूले धमाधम फ्लाइट गरिरहँदा यसमा अवसर छ भन्ने लाग्छ ।
सस्तोमा सेवा दिनु प¥यो, सस्तोमा सेवा दिन नसकिने होइन, सकिन्छ । यसलाई अवसरका रूपमा लिन सकिन्छ । त्यसका लागि राम्रो नीति हुनु प¥यो नीति राम्रा भएर मात्र पनि भएन कार्यान्वयन अझ राम्रो हुनुपर्छ । 
दीर्घकालीन योजना छ भन्नुभयो । आन्तरिक सेवा कहिलेबाट र अन्तरराष्ट्रिय कहिलेदेखि सुरु गर्ने योजना बनाउनु भएको छ ?
आन्तरिक उडानका लागि हामीले इजाजत पाइसकेका छौं । मन्त्रालयले दिएको इजाजतमा नागरिक उड्डयन प्राधिकरणले थप गरिदिने मात्रै हो । प्राधिकरणका लागि हामी नयाँ एयरलाइन्स नै होइनौ । हामीले अन्तरराष्ट्रिय उडान गरेको १७/१८ वर्ष भइसक्यो ।
वास्तवमा नेपाल एयरलाइन्सपछि हामी नै हौं अन्तरराष्ट्रिय उडान गर्ने नेपाली कम्पनी । हामीले अफ्रिकाका दुर्गम क्षेत्रमा ७ वर्ष  उडान ग¥यौं । त्यसमा यूएनले हरेक ३÷३ महिनामा गर्ने मूल्यांकनमा हामी ‘एक्सिलेन्ट’मा पथ्र्यौ ।
तर दुर्भाग्यवश नेपाल नागरिक उड्डयन प्राधिकरणको कमजोरीका कारण सेफ्टी कन्सर्न देखाएर आईकाओले ब्ल्याक लिस्टेड गरेपछि यूएनले ठेक्का तोड्यो । अन्तरराष्ट्रिय उडान गर्नेमा बुद्ध पनि पर्छ तर उसको फ्लाइट थोरै छ । त्योबाहेक हिमालयले हालैमात्र सुरु गरेको छ । यो सन्दर्भमा हामीलाई नयाँ हो भनेर ट्रिट गर्न भएन ।
हामीसँग त्यतिका वर्षदेखिको अनुभव छ । हामीलाई पुरानो, एक्सपेरियन्स एयरलाइन्स हो भनेर एओसी थप्नु पर्ने हो । एओसीमा ५ वटा स्टेज पार गर्नुपर्छ । हामी त्यो सबै पूरा गर्न तयार छौं तर नयाँ एयरलाइन्सलाई जस्तै नभई सहज र छरितो रूपमा दिइनु प¥यो भन्ने हो । 
मुलुकको यो अवस्थामा ठूलो लगानी तपाइँहरूको दुस्साहस नै हैन र ? 
देशमा राजनीतिक अस्थिरता छ, लगानीमैत्री वातावरण छैन । यत्रो ठूलो लगानी किन गर्न लागेको भनेर मलाई धेरैले गाली गरे । तर मेरो प्रतिप्रश्न के हो भने आफ्नै देशमा लगानी किन नगर्ने ? हेलिकप्टरमै लगानी गर्दा यूएनले नलिएको अवस्था छ ।
नागरिक उडयन प्राधिकरणसमेत आईकाओको लिस्टबाट बाहिरिन नसक्दासम्म यो सम्भव छैन । त्यसपछि दीर्घकालीन सोच बनाएर के गर्नेभन्दा आन्तरिक हुँदै अन्तरराष्ट्रिय उडान गर्ने योजना बनाएको हो । 
प्राधिकरणले छिटो एओसी थपेको खण्डमा हामी ३/४ महिनामा आन्तरिक उडानमा जाने र त्यो भएपछि मन्त्रालयमा अन्तरराष्ट्रिय उडानको अनुमतिका लागि निवेदन दिन्छौं । मन्त्रालयले अन्तरराष्ट्रिय अनुमति दिएपछि भारतसँग ‘सेक्युरिटी क्लियरेन्स’का लागि ६ महिना लाग्छ ।
त्यसपछि विदेशमा भएर व्यवस्थापन गर्नुप¥यो । मन्त्रालयले जति ढिलो ग¥यो त्यति नै ढिलो हुन्छ सेवा सञ्चालन गर्न । मन्त्रालयले आन्तरिकको पाएपछि अन्तरराष्ट्रियमा जानुस् भनेको छ । हामीसँगै अन्तरराष्ट्रियको एओसी त छ नि त्यसमा जहाज थप गर्नुुपर्ने हो । सरकारले अहिले अनुमतिपत्र दियो भने ६ महिनाभित्र क्षेत्रीय उडान गर्न हामी सक्छौं ।
आन्तरिक उडान कतिवटा जहाजमार्फत गर्दै हुनुहुन्छ ?
अहिले हामी २ वटा जहाजमार्फत सुरु गर्दैछौं । हाम्रो टार्गेट चाहिँ कम्तीमा ३ वटा जहाज राख्ने हो । त्यो नरहँदा विश्वसनीयता नै हुँदैन । एउटा जहाज राख्दा प्राविधिक समस्या आउँदा त्यो फ्लाइट स्थगित हुँदा प्यासेन्जरमा त्यसको रिलायबिलिटि हुँदैन । 
एयरलाइन्समा प्राविधिकदेखि पाइलट अभावसम्मका विभिन्न समस्या देखिने गरेका छन् । यसमा तपाइँहरूको तयारी के छ ?
यसमा हामीले राम्रो या सवल पक्ष हामीले ल्याउन लागेको जहाज जेट हो । नेपालमा सौर्य एयरलाइन्सबाहेक अरुसँग यस्तो जेट जहाज नै छैन । त्यसो हुँदा अरु जहाज उडाउनेलाई जेट उडाउने रहर पनि हुन्छ । उनीहरूको क्यारियरको कुरा पनि हुन्छ ।
जेट उडाएपछि पाइलटका लागि एयरबस ३२० उडाउने बाटो पनि खुल्छ । पाइलटका लागि हामीलाई कुनै समस्या छैन त्यसका लागि हामीले दर्खास्त नै मागिसकेका छौं । त्यसमा हामीलाई चाहिएको र खोजेको भन्दा बढी आवेदन आएको छ । 
तपाईहरू १७ वर्ष हेलिकप्टर सञ्चालन गरेर जहाज उडानमा जाँदै हुनुहुन्छ, अब हेलिकप्टर सेवाचाहिँ के गर्नु हुन्छ ? 
हामीले हेलिकप्टर पनि चालू राख्छौं । चलिरहेको व्यवसाय बन्द गर्ने कुरै छैन । एउटा कम्पनीभित्र विभिन्न विङहरू सञ्चालन गर्दैछौ । हामीसँग अब हेलिकप्टरको साथै जहाजको पनि आन्तरिक र अन्तरराष्ट्रिय उडानका दुवै विङहरू रहने छन् । अर्को कुरा हेलिकप्टरमा अन्तरराष्ट्रिय उडान गर्ने पहिलो कम्पनी हामी हौं ।
अहिले आईकाओले नेपाललाई सेफ्टी लिस्ट ब्ल्याक लिस्टेड गरेपछि भने संयुक्त राष्ट्रसंघले हामीले राम्रो सेवा दिँदादिँदै पनि हाम्रो हेलिकप्टर प्रयोग नगरेको हो ।
नेपालमा एमआई हेलिकप्टर सञ्चालन गर्ने कम्पनी हामी मात्रै छौ । नेपालमा कि त सेनासँग छ कि हामीसँग छ । अहिले पनि हेलिकप्टर बिजनेस एकदमै राम्रो रहेको छ । त्यसैले अहिले बिजनेश दिइरहेको सेवा बन्द गर्दैनौ ।
नेपालमा धेरै एयरलान्सहरू अन्तरराष्ट्रिय सेवा दिनको लागि भन्दै आउने र छिट्टै जाने भइरहेको छ । तपाईंहरू टिकिरहन सक्नुहुन्छ ? 
मैले केही कुरा माथि पनि भनिसकें । हामीले हेलिकप्टर सेवा सुरु गर्दा एमआई १७ मार्फत गरेका थियौ । त्यो समयमा उक्त कुरा ठूलो जोखिम रहेको थियो । तर पनि सुहजै सञ्चालन गर्न सक्यौं ।
एयरलाइन्स बिजनेस भनेको आज लगानी गरेर भोलि प्रतिफल खान मिल्ने व्यवसाय हैन । यो विशुद्ध सेवा गरेर पैसा कमाउने व्यवसाय भएकाले जोखिम हुन्छ । तर, व्यवस्थापन, लगानी र योजना तीनवटा कुराले नै एयरलाइन्स बिजनेसलाई अगाडि बढाउने हो ।
यसमा एउटामात्र कुरा पनि तलमाथि भयो भने एयरलाइन्स अगाडि बढ्न सक्दैन । हवाईजहाज मर्मतमा ठूलो खर्च हुन्छ । तर लगानीकर्ता डुब्नुको कारण के हो भने कमाएको बेला बाँडफाँट गरिहाल्ने अनि मर्मतमा खर्च हुनेबेला लोन लिने गरेपछि बिजनेस त अगाडि जाँदैन ।
मैले देखेको अधिकांश बन्द भएका एयरलाइन्समा त्यही नै समस्या पाएको छु । पहिले नै सबै कुरा थाहा भएको हुन्छ । कुन बेला के गर्ने भन्ने एयरलाइन्स बिजनेसमा पहिले नै थाहा हुन्छ, मात्रै व्यवस्थापन कसरी गर्दछ र योजना कसरी कार्यान्वयन गर्दछ भन्ने हो ।
अरु किन सफल भएनन् भन्ने तर्फ जानुभन्दा पनि हामी किन सफल हुन्छौ भने हामीसँग योजना र योजना कार्यान्वयन गर्ने सक्ने जनशक्ति र व्यवस्थापन छ । 
एयरलाइन्स बिजनेसमा मुख्य कुरा व्यवस्थापन मात्रै हो र ? 
सबै क्षेत्रको बिजनेसमा व्यवस्थापन मुख्य कुरा हो । तर कहिलेकाहीँ योजना व्यवस्थापन हुृँदाहुृँदै पनि सफल हुृँदैन । किनभने म एउटा उदाहरण दिन्छु, हामीले संयुक्त राष्ट्रसंघमा राम्रो गरी उडान गरिरहेका थियौं ।
तर नेपाल नागरिक उड्डयन प्राधिकरणका कमजोरीका कारण हामीले उडान रोक्नुृ प¥यो । भनेपछि हाम्रो कमजोरी त हैन । एयरलाइन्स बिजनेसलाई नेपालको कानुनभन्दा पनि अन्तरराष्ट्रिय कानुनले समातेको हुन्छ । यसको लागि नीतिगत कुराहरूले पनि धेरै असर पार्ने गर्दछ । 
धेरै व्यवसायीहरू ट्रेडिङ बिजनेस गरेर पैसा कमाइरहेका बेला तपाईहरू चाहिँ हरेक पटक जोखिम मोल्दै हुनुहुन्छ किन ? 
हो, हामी पनि मोटरसाइकल, गाडी ल्याएर बिक्री गरेर धेरै पैसा कमाउन सक्थ्यौ होला । तर, कुरा के हो भने सेवा पनि गर्ने र सोहीबाट थोरै आर्जन पनि गर्ने भन्ने मेरो बुबाको सिद्धान्त भएकाले मैले पनि अलिकति जोखिम मोलेको हो । एयरलाइन्स भनेको विशुद्ध सेवा गरेर थोरै कमाउने क्षेत्र हो । यसैले नै मलाई आत्मसन्तुष्टि दिएको छ । 
नेपालमा धेरै निजी क्षेत्रका एयरलाइन्सहरू आउन खोजे पनि सफल नहुनुमा सरकारको नीतिगत समस्या हुन् र ?  
धेरै समस्याहरू छन । म सानो उदाहरण दिन्छु । नेपालमा ट्राभल्स चलाउनेहरूलाई गाडीमा भन्सार छुट दिइन्छ । मैलै त्यसको विरोध गरेको हैन । उनीहरूलाई डलर कमाउने भनेर विषेश छुट दिइएको छ । त्यसो भए नेपालका एयरलाइन्सहरूले चाहिँ डलर आम्दानी गर्दैनन् ?
सबैभन्दा ठूलो डलर कमाउने सेक्टर त एयरलाइन्स नै हो । त्यसलै हामीलाई के सहुलियत दिन सकिन्छ सरकारले दिन आवश्यक छ । अर्को कुरा नेपाल नागरिक उड्डयन प्राधिकरण नियामक निकाय हो । यसलाई नै बलियो बनाउन पर्दछ ।
तर प्राधिकरणले एयरलाइन्सैपिच्छे फरक व्यवहार गर्नु भएन । सबैलाई कानुन कार्यान्वयन गर्दा एकै किसिमको हुनु पर्दछ । अर्को कुरा विमान दुर्घटना हुन्छ । जुन संसारभर भइरहने कुरा हो । तर छानबिन प्रतिवेदनले औंल्याएका कुराहरूमा प्राधिकरण कतिपय विषयहरूमा मौन बस्दै आएको छ ।
यसरी नेपालको हवाई उड्डयन माथि उठ्न सक्दैन । अर्को मुख्य कुरा नेपालमा प्राविधिकको धेरै समस्याहरू छन् । पाइलटको अभाव हुन्छ । पाइलट नेपालमा विदेशबाट ल्याउन यति धेरै झन्झट रहेको छ । यो विषयमा हामीले बारम्बार कुरा उठाउँदा पनि सुनुवाइ भएको छैन ।
एउटा कामदार नेपाल ल्याउन दर्जनौं पटक फाइल घुमाउने प्रचलन रहेको छ । अझैभन्दा यही उनीहरूलाई कामदारको प्रवेश गरेको पार्सपोट बुझाउनु पर्दछ । यहाँ महिनौसम्म हामीले काम नसक्दा लामो समय पाइलटहरू पाल्नु पर्दछ । यो सानो विषय पनि अहिले सम्म सुनुवाइ भएको छैन । 
स्पेयर्स पार्ट्सका भन्सारमा पनि विभिन्न समस्या उठाउँदै आउनु भएको थियो नि ? 
भन्सारमा पनि हामीलाई भन्सार छली गर्ने जस्तो सोच्न भएन । एयरलाइन्समा एओजी भन्ने सिस्टम हुन्छ । जसले कुनै पनि जहाजको कुनै पार्ट्सको समय हुन्छ । सो समयभन्दा अगाडि नै बिग्रियो भने केही पैसा थपेर जहाज उत्पादक कम्पनीहरूले सट्टा पट्टा गर्ने परम्परा रहेको छ ।
तर यहाँ त्यसरी ल्याउँदा पहिले ल्याउँदाको रकम र अहिले ल्याउँदाको रकम मिलेन भन्सार छली भयो भनेर आरोप लगाइन्छ । यसमा प्राविधिक विषयहरू भन्सार स्पेयर्स पार्ट्समा रहेको छ । यसमा हामीले सम्बोधन हुनु प¥यो भनेर पटक–पटक कुरा उठाइरहेका छौ तर सुनुवाइ भएको छैन  ।
युरोपेली युनिययनको आयोगले नेपालका एयरलाइन्सहरूलाई कालोसूचीमा राखेको छ । यसको मार सबैभन्दा बढी तपाईंहरूलाई भयो समस्या कहाँ हो ? नियामक निकायमा हो कि एयरलाइन्समा ? 
यसमा दुईवटा कुराहरू रहेका छन् । युरोपेली युनियनले कालोसूचीमा किन राख्यो भन्ने कुरा अहिले बाहिर आएको छैन । मुख्य कुरा युरोपमा कुनै पनि एयरलाइन्स (नेपालबाट) जाँदैन त्यसको अर्थ के हो ? अर्को कुरा भनेको आईकाओले नेपालमा सन् २००९ देखि नै समस्या रहेको कुरा नियामक निकायलाई भन्दै आएको थियो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सो विषयमा सुधार गर्न सकेन, सेफ्टी लिस्टमा राख्यो । जसको मार हामीले भोग्नु परेको हो । नियामक निकाय प्राविधिक रूपमा दक्ष भएन । हवाई सुरक्षाको मामालामा गम्भीर देखिएन, आईकाओले यति धेरै कुरा उठाएको थियो । जुन सुधार गर्न सकेन । त्यसैले समस्या आएको हो ।
आईकाओले भनेबमोजिम प्राधिकरणको जनशक्ति, कार्यशैली र नीतिगत सुधारहरू गर्न नसक्नु हो । आईकाओले नेपालका केही एयरलाइन्सबाहेक अन्यत्रमा समस्या देखाएको छैन ।
अहिले बल्ल नागरिक उड्डयन प्राधिकरणले अहिले आएर सुधारको काम थालनी गरेको छ । आशा गरौ छिट्टै नेपाल आईकाओको सुरक्षा लिस्टबाट हट्ने छ । 
एयरलाइन्स बिजनेसबाहेक अन्य क्षेत्रमा लगानी सोच्नु भएको छ कि छैन ?
तत्काल एयरलाइन्सबाहेक अन्यत्रमा जाने अवस्थामा छैनौ । किनभने भर्खर आन्तरिकको तयारी गरेका छौं । केही समयपछि अन्तररराष्ट्रिय उडान गर्ने तयारी गरेकाले अहिले नगए पनि निकट भविष्यमा सेवामूलक उद्योगमै लगानी गर्ने सोच छ ।   
अन्तरराष्ट्रिय उडानको तीतो अनुभव 
एयरलाइन्स आफैंमा जोखिमपूर्ण व्यवसाय हो । संसारभरका राज्यले सञ्चालन गरेका एयरलाइन्सहरू पनि टाट पल्टिएर गएका उदाहरण छन् भने सानो लगानी गरेर खोलिएका एयरलाइन्स कम्पनीहरूले ठूलो मार्केट बनाएका सफल उदाहरण पनि छन् ।
भारतमा भीपी गोपीनाथ पाइलटले सञ्चालनमा ल्याएको डेकन एयरले यसरी बजार विस्तार ग¥यो जसलाई पछि जेट एयरवेजले लिन बाध्य भयो । बेलायतमा रिचर्ज बेडसनले दुईबाट एयरक्रफटमार्फत सञ्चालनमा ल्याइएको भर्जिन एयरलाइन्स आज युरोपको उत्कृष्ट एयरलाइन्स भएको छ ।
त्यसकारण एयरलाइन्सका सफल र असफल दुवैका धेरै उदाहरण छन् । नेपालमा आन्तरिक र बाह्यमा आएका मध्ये कति बन्द भए कतिले राम्रो गरिरहेका छन् । 
एयरलाइन्समा सबैभन्दा महत्वपूर्ण पाटो भनेकै लगानी हो । लगानी भनेको एयरलाइन्स सञ्चालनमा आएपछि बिजनेस गरेर केही फाइदा जाने बेलासम्म भन्ने बुझिन्छ । त्यो हुन सकेन भने एयरलाइन्स टिक्दैन । बन्द हुनुको कारण पनि यही हो । अर्को कुरा असाध्यै दक्ष जनशक्ति महत्वपूर्ण कुरा हो ।
स्पेयर्स पार्ट्सदेखि व्यवस्थापनमा पनि दक्षजनशक्ति आवस्यक पर्दछ । विगतमा आएका केही एयरलाइन्स कम्पनीहरू सञ्चालनको दिनसम्म मात्र टिक्ने हिसाबले आए जुन एकदमै नकारात्मक कुरा हो । यसको पहिले नै सबै तयारी गरेर आउनु पर्दछ । उडान सुरु गरेर दक्षजनशक्ति खोजेर हुँदैन ।
एयरलाइन्सको लागि दक्षजनशक्ति चाहियो, तालिम चाहियो, प्राविधिक दक्षता चाहियो र सदैव स्पेर्यसपार्ट्स सप्लाई हुनुपर्दछ । अर्को कुरा लगानी चाहियो । मुख्य कुरा मार्केटिङ पनि मुख्य भूमिका रहन्छ ।  
नेपाल वायुसेवा निगम विश्वास गुमेको अवस्था छ । कुनै जमनामा बजार हिस्सा ६५ प्रतिशत रहेकोमा अहिले खुम्चिएर ७ प्रतिशतमा झरेको छ । 
विदेशी पर्यटकको पहिलो रोजाइ भनेको राष्ट्रिय ध्वजावाहक भएकाले पनि निगम बलियो हुनुपर्ने हो । नेपालमा विभिन्न कारण हुन नसकेका बेला निजी क्षेत्रले अन्तरराष्ट्रिय एयरलाइन्समा लगानी आउनु सकारात्मक हो ।
 अर्को भनेको आजको दिनमा लाखौ नेपाली विदेश गइरहेका छन् । त्यसको २० प्रतिशत मात्र पनि नेपालका एयरलाइन्सहरूले लिन सकेमा एयरलाइन्स टिक्ने अर्को कारण बन्छ । अर्को कुरा ग्लोबल भिलेजको रूपमा विश्व अगाडि बढिरहेका बेला यसले पनि सहयोग गर्दछ ।
आज नेपाल भने फिप्थ फ्रिडममा अड्एिको अवस्था छ । विदेशी कम्पनी नेपाल आएर अन्य मुलुकमा उडान गर्न दिनु चाहिँ फिप्थ फ्रिडम हो तर नेपाल त्यसमा गएको छैन ।
आज आज विश्वमा एड्थ फ्रिडमका कुरा आइसकेको विदेशी एयरलाइन्सहरू त्यस देशको आन्तरिक उडानसमेत गर्न पाउने व्यवस्था खुल्ला गरिसकेको छ तर नेपालमा त्यो हुन सकेको छैन । यसरी सारा संसारको मार्केट ओपन भइरहेका बेला नेपालीले राम्रो गर्दैनन् भन्ने कुरा मान्न गलत हुनेछ । 
अवसर पनि छ अन्तरराष्ट्रिय उडानमा 
नेपाल वायुसेवा निगमले बजार हिस्सा गुमाउँदै गएको बेला नेपालमा निजी लगानीकर्तालाई लगानी गर्ने उपयुक्त अवसर हो । नेपालमा २७ वटा एयरलाइन्सहरूले उडान भर्दै आएका छन् जसले वार्षिक ७५ अर्बभन्दा बढी रकम लैजाने गरेका छन् । 
भूकम्प र नाकाबन्दीका कारण नेपालमा गत वर्ष अन्तरराष्ट्रिय आगमनदरमा केही कमी आए तापनि नेपालमा पछिल्ला वर्षहरू हवाई यात्रुको संख्या बढ्दै गएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सन् २०१५ को हवाई यात्रुदर १३ वर्ष यताकै ठूलो गिरावट थियो ।
सन् २०१५ मा नेपाल उडान भर्ने एयरलाइन्स कम्पनीहरूले २६ हजार ५ सय ६३ उडान भएका छन् । सन् २०१५ मा ३.२१ मिलियन अर्थात् ३२ लाख १० हजार अन्तरराष्ट्रिय हवाई यात्रु रहेका थिए ।   
नेपालमा उडान भर्ने कतार एयरवेजले सबैभन्दा बढी यात्रु बोकेको छ । एयरवेजले ३ लाख २५ हजार ८ सय ९७ यात्रु बोकेको छ । कतार एयरवेजको उक्त यात्रुसंख्या भने गत वर्षभन्दा १.२१ प्रतिशतले बढी हो ।  जेट एयरेजवले ३ लाख ११ हजार ६ सय ६६ यात्रुलाई सेवा दिएको छ ।
एयर अरेबियाको भने ८.५८ प्रतिशतले बढी यात्रुलाई सेवा दिएको छ । अरेबियाले २ लाख ९२ हजार ३३ यात्रुलाई सेवा दिएको छ । त्यस्तैगरी फ्लाई दुबईले ८.६९ प्रतिशतले बढाउँदै २ लाख ६७ हजार ४ सय ३८ यात्रुलाई सेवा दिएको थियो ।
नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले भने २२.८७ प्रतिशतले यात्रुसंख्या बढाएको छ । निगमले सन् २०१५ मा २ लाख ५३ हजार ६ सय ५८ यात्रु बोकेको छ । जुनसंख्या गत वर्षभन्दा ४७ हजारले बढी हो ।  
भारतबाट नेपाल उडान गर्ने इन्डियन एयरलाइन्सले २ लाख २४ हजार १ सय ६८ यात्रुलाई सेवा दिएको छ । त्यस्तैगरी इत्तेहाद एयरवेजको सन् २०१५ मा १ लाख ६२ हजार ९ सय ९९ यात्रु रहेका छन् ।
त्यस्तैगरी मलेसिया सेक्टरमा उडान गर्ने एयर एसिया एक्स र मलेसियन एयरलाइन्सको १ लाख ६० हजार ४ सय २६ यात्रुलाई सेवा दिएको थियो ।
एयर एसिया एयरलाइन्सले १ लाख ५३ हजार ९ सय ६४ यात्रुलाई सेवा दिएको छ । त्यसैगरी मालिन्दो एयरले ५३ हजार ६ सय ७९ यात्रु बोकेको थियो ।  ओमन एयरले १ लाख ५८ हजार ६ सय ५३ यात्रुलाई सेवा दिएको छ ।
टर्किस एयरलाइन्सले १ लाख १ हजार ३ सय ३० यात्रुलाई सेवा दिएको छ । हङकङबाट उडान भर्ने ड्रागन एयरले १ लाख ८ सय ५८ यात्रुलाई सेवा दिएको छ ।