आर्थिक क्षेत्रका विशेष गतिविधी

Sunday, December 25, 2016

गौतम बुद्ध विमानस्थल नै विकल्प हुन्छ

नेपालको एक मात्र अन्तरराष्ट्रिय विमानस्थल व्यवस्थापनमा चुनौतीका पहाडैपहाड छन् । प्रतिघण्टा १ हजार ३ सय ४० हवाईयात्रु धान्न सक्ने गरी निर्माण गरिएको टर्मिनल भवनले यतिबेला प्रतिघण्टा २ हजार ५ सय हवाईयात्रुलाई सेवा दिइरहेको छ । यो विमानस्थलबाट दैनिक ४० भन्दा बढी अन्तरराष्ट्रिय उडान हुने गरेका छन् । 
२ सय ५० वटाभन्दा बढी आन्तरिक उडान/अवतरण हुने गरेका छन् । विमानस्थल विस्तारको योजनाअनुसार काम थालेको स्पेनिस कम्पनी सान्जोसेले काम गर्न नसकेपछि भर्खरै मात्र ठेक्का रद्द भएको छ । बिस्तार योजना लम्बिँदै जाँदा व्यवस्थापनमा कठिनाइ पनि बढ्दै जानेछ । 
सरकारले निर्माण सुरु गरेको भैरहवाको गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल समयमै सम्पन्न गरे धेरै बजेट एयरलाइन्स त्यसतर्फ उडान/अवतरण गराएर त्रिभुवन विमानस्थलको व्यवस्थापनमा सहजता ल्याउन सकिन्छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायसँग विमानस्थल सञ्चालनको अवस्था र व्यवस्थापनका आगामी योजनाका विषयमा केन्द्रित रहेर कारोबारले गरेको कुराकानीः
 
नेपालमा एक मात्र अन्तरराष्ट्रिय विमानस्थल छ । उडान/अवतरणको चाप धान्न आगामी दिनमा झनै मुस्किल हुँदै छ, कसरी व्यवस्थापन गरिरहनुभएको छ ? 
नेपालको अन्तरराष्ट्रिय विमानस्थल एउटा मात्रै छ । स्वभाविक हो, समयअनुसार विस्तार गर्न नसक्दा हवाईयात्रुको चाप धान्न कठिन छ । तर पनि चुस्त व्यवस्थापनका कारण हामीले राम्रै व्यवस्थापन गरिरहेका छौं । सुरुका दिनमा यो विमानस्थल जुन क्षमतामा निर्माण भएको थियो, आज दोब्बरभन्दा बढीले चाप छ । 
त्यसैले पनि व्यवस्थापन कठिन हुँदै गएको छ । वास्तवमा दोब्बर ह्यान्डल गर्दा टर्मिनल, पार्किङमा बेलाबेलामा समस्या आउने गरेका छन् । अहिले विमानस्थल साँघुरो हुँदै जाँदा एयरलाइन्सहरूले थप उडान गर्न पाएका छैनन् । जुन हाम्रो लागि भने घाटा हो । हामीले जति उडान बढाउन सक्छौं त्यति नै नेपालमा पर्यटक बढ्ने हो । 
अहिलेको मुख्य समस्या भनेको सबै एयरलाइन्स पिक आवरमा उडान भर्ने प्रतिस्पर्धाले पनि हो । एयरलाइन्सहरूले चौबीसै घण्टा विमानस्थल खोल्न दबाब दिइरहेका छन्, तर अहिले सम्भव छैन । 
विस्तारको काम झनै लम्बिने भयो । निर्माणको जिम्मा पाएको कम्पनीले काम गर्न सकेन । अब विस्तार नगरी कसरी व्यवस्थापन गर्ने ?
तत्कालका लागि हामीले उडान/अवतरण गर्न दुई योजना ल्याउने तयारी गरिरहेका छौं, जसमा बढी चाप भएको समय र कम चाप भएको समय छुट्ट्याएर बढी चापका बेला उडान भर्नेले १५ प्रतिशत बढी शुल्क तिर्नुपर्ने व्यवस्था गरिनेछ । यस्तो गर्दा हामीसँग केही बाँकी समय हुनेछ । एयरलाइन्सहरूले त्यो समयमा उडान गरे भने केही समयका लागि व्यवस्थापन गर्न सहज हुनेछ । 
चाप समय भन्नाले बेलुका ५ देखि १० बजे र बिहान ७ देखि १० बजेसम्मको हो, जसका कारण खाली समयमा उडान गर्नेहरूको संख्या बढ्ने र अहिले बढी होल्डको समस्या हट्नेछ । अहिले बिहान ८ बजेसम्म उडान नहुने अवस्था मौसमका कारणले हुने गरेको छ । त्यस्तो हुँदा एयर ट्राफिक जाम हुने अवस्था छ । छुटको व्यवस्था कार्यान्वयनमा आएमा व्यवस्थापनमा सहज हुनेछ । 
अर्को कुरा, चारवटा पार्किङ वे निर्माणको तयारी गरिरहेका छौं । जुन प्राधिकरणको आफ्नै स्रोतमा एक वर्षभित्रमा सम्पन्न गर्नेछौं । त्यसैगरी प्राधिकरणले विमानस्थलको समस्या आउन सक्छ भनेर समयमै काम सुरु गरेर सम्पन्न गर्ने लक्ष्यका साथ विश्वकै चर्चित कम्पनी स्पेनिस सान्जेसेलाई टर्मिनल भवन निर्माणका साथै दुवैतर्फ धावन मार्ग विस्तारको कामको जिम्मा दिइएको थियो । 
तर, सन् २०१६ मार्चमा सक्नुपर्ने काम अहिले नौ महिना समय गुजार्दा पनि १६ प्रतिशत मात्र गरेकाले समस्या भएको हो । आजसम्म काम भएको भए नौवटा पार्किङ वे हुने थिए । बोइङ ७७७ र एयरबस ३३० जहाजका लागि पार्किङको समस्या हट्ने थियो । 
टर्मिनल बन्ने थियो । धावन मार्ग सम्पन्न हुने थियो । अब समस्या फेरि ग्लोबल टेन्डरमा गएर काम गर्नुपर्ने अवस्था छ । पैसा पनि ६ अर्ब रुपैयाँ खर्च गर्दै थियौं । रकम भएर कामको जिम्मा दिएपछि काम सम्पन्न हुने आशा गरेका थियौं, तर स्पेनिस कम्पनीलाई पनि नेपाली हावा लाग्यो, जुन दुर्भाग्य हो । अझै केही वर्ष हामीले समस्या बेहोर्नुपर्ने अवस्था आयो । 
विमानस्थलको क्षमता कति हो, यो अवस्थामा कहिलेसम्म धान्न सक्छौं ?
विमानस्थलको टर्मिनल भवन निर्माण सम्पन्न गर्दा प्रतिघण्टा १ हजार ३ सय ४० हवाईयात्रुलाई सेवा दिन सक्ने गरी तयार भएको हो । अहिले विमानस्थल लगभग २ हजार ५ सय यात्रुलाई प्रतिघण्टा पिक आवरमा सेवा दिइरहेका छौं । अब सबैले बुझ्नुपर्छ । कति कठिन छ यतिबेला विमानस्थल व्यवस्थापनमा । जबसम्म हामी विकल्पमा जाँदैनौ तबसम्म चाप बढ्दै जान्छ । 
विमानस्थलमा एयर ट्राफिक जाम भएर जहाज होल्ड गरेर आकाशमै घुमाइरहनुपर्ने अवस्था छ नि । यसलाई कसरी व्यवस्थापन गर्ने ?
अहिले आकाशमै जहाज होल्ड गर्नुपर्ने समस्या छ । विश्वका सबैजसो विमानस्थल व्यस्त हुन्छन् र होल्ड गर्नुपर्छ । तर, होडिल्ङ तहमा जाने भएकाले समस्या हुँदैन । नेपालमा पहाड, तराई र काठमाडौं एकै छिनमा आउने र जाने तथा यात्रुले देख्ने भएकाले डराउने परम्परा छ । नेपालको भूगोल नै यस्तै हो । 
तर, विदेशमा सम्म भएको ठाउँमा होल्ड गर्र्दा यात्रुले पत्ता पाउँदैनन । यही हो नेपाल र अन्य देशको फरक । विश्वमा दुई प्रकारका जहाज हुन्छन् । एउटा भिज्युअल उडान नियम (भीएफआर) आँखाले देखेर उडान गर्ने र अर्को आईएफआर अर्थात् प्राविधिक उडान । जहाँ पायो त्यहीँ होल्ड गर्न पनि मिल्दैन । तह–तहमा जहाज होल्ड हुन्छ । एकै पटक दर्जनौं जहाज पनि होल्ड गर्न सकिन्छ, तर पनि धेरै होल्डमा राख्ने हाम्रो योजना छैन । यसले एयरलाइन्सहरूलाई महँगो पर्छ ।
अन्तरराष्ट्रिय र आन्तरिक विमानस्थलसँगै हुँदा पनि धेरै समस्या सिर्जना भएका हुन् ?
आन्तरिक विमानस्थलसँगै हुँदा व्यवस्थापनमा कठिनाइ भएकै हो । अलग्गै गर्न सकेको भए सहज हुने थियो । भीएफआर र आईएफआर उडानले समस्या आएको छ । आन्तरिकमा धेरैजसो भीएफआर उडान गर्नुपर्ने अवस्था छ । मिक्स उडानले समस्या पारेको छ । 
विश्वमा विमानस्थलहरू भीएफआर र आईएफआर उडान गर्ने छुट्टा–छुट्टै हुन्छ । विमानस्थललाई टाढा राख्दा यात्रुको खर्च पनि हेर्नुपर्ने हुन्छ । आन्तरिकलाई टाढा राख्न पनि समस्या हुने र काठमाडौंमै अन्यत्र विमानस्थल निर्माण गर्ने स्थान पनि नहुँदा समस्या परेको छ ।
निर्माणाधीन गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएपछि यहाँका कति उडान कटौती हुन्छन् ? 
हाल भैरहवामा निर्माणाधीन गौतम बुद्ध विमानस्थल सञ्चालनमा आएपछि धेरै समस्या समाधान हुनेछन् । गौतमबुद्ध विमानस्थलमा काठमाडौंका भन्दा बढी सेवा सुविधा हुनेछन् । अर्को कुरा, भौगोलिक हिसाबले पनि एकदमै राम्रो स्थान हो— भैरहवा । हुन त अहिलेसम्म त्यो विमानस्थल कुन मोडलमा सञ्चालन गर्ने भन्ने कुरा नछुट्ट्याएको भए पनि केही समयका लागि बजेट एयरलाइन्सलाई छुट प्याकेज दिन सके उतै डाइभर्ट हुनेछन् भन्ने हाम्रो विश्वास छ । 
बजेट एयरलाइन्स भन्नाले अहिले उडान गरिरहेका एयर एसिया, मलेसियन एयरलाइन्स, फ्लाई दुबई, एयर अरेबियालगायतका एयरलाइन्स त्यतैतर्फ जानेछन् । अर्को कुरा, पूर्व–पश्चिमबाट आउने यात्रुका लागि सहज हुनेछ । साथै भैरहवाबाट पोखराको उडान पनि गर्न सकिन्छ । त्यसले गर्दा पर्यटकहरू त्यसतर्फ केन्द्रित हुन्छन् । लुम्बिनी आउन चाहने पर्यटक सीधै त्यसतर्फ जाने भएकाले सो क्षेत्रबाट आउने एयरलाइन्सले त्यतैतर्फ उडान गर्नेछन् ।
धावनमार्गको कालोपत्रे गर्ने समय त सकियो, कहिले निर्माण हुन्छ ? 
निर्माणको काम त सुरु भएको छैन । टेन्डर आह्वान गरेको र अहिले ११ कम्पनीले आवदेन दिएकामा अब प्राविधिक अध्ययनपछि दुई कम्पनीलाई छानेर पुनः प्रतिस्पर्धा गरेपछि मात्र टुंगो लाग्छ । काम सुरु भएको २ वर्षभन्दा अगावै सम्पन्न गर्ने लक्ष्य छ । समस्या के छ भने हामी उडान रोक्न सक्दैनौं । 
रात्रिको समयमा काम गर्नुपर्ने हुन्छ । निर्माण गर्ने कम्पनीले जति कटान गर्छ उति निर्माण गरेर बिहान उडान अवतरणका लागि हामीलाई दिनुपर्ने छ । यसैले ५ घण्टामा काम गर्नुपर्ने हुन्छ । अहिले मर्मतको काम पनि यसरी नै गरेका छांै । 
विमानस्थललाई चैबीसै घण्टा सञ्चालन गर्न समस्याचाहि के हो त ?
अहिले त २४ घण्टा सञ्चालन गर्ने सम्भावना छैन । हामीले रातिको समयमा धावनमार्ग मर्मत गरेर काम गरिरहेका छौं । अर्कोचाहिँ धावनमार्गको कालोपत्र पूरै फेर्ने गरी काम सुरु हुन लागेकाले सो काम सम्पन्न भएपछि बल्ल २४ घण्टा विमानस्थल सञ्चालन गर्ने अवस्थामा पुग्नेछौं । यसमा पनि प्राधिकरण र एयरलाइन्सहरू तयार छन् । 
दुई संस्था मात्र तयार भएर विमानस्थल सञ्चालन हुँदैन । धावनमार्ग सञ्चालनपछि अन्य निकायपछि समन्वयमा जानेछौं । अर्काे कुरा, गौतम बुद्ध विमानस्थल निर्माण र सञ्चालनपछि २४ घण्टा सञ्चालन गर्नुपर्ने आवश्यकता हुन्छ कि हुँदैन भन्नेमा पनि छलफल होला । सन् २०१८ को जनवरीदेखि विमानस्थल सञ्चालनमा आइसक्ने लक्ष्य लिइएको छ । 
अर्को कुरा, चौबीसै घण्टा चलाउन नागरिक समाजको पनि अवरोध छ । विमानस्थलको चारैतर्फ बस्ती रहेका छन् । उनीहरूले पनि विरोध गर्ने भएकाले यस विषयमा पनि सोच्नुपर्ने हुन्छ ।
विमानस्थलमा ब्यागेज ह्यान्डलिङ समस्या सधैं किन भइरहन्छ ?
पहिले ब्यागेज ह्यान्डलिङमा समस्या थियो । हामीसँग दुईवटा मात्र कन्भेयर बेल्ट थिए । त्यो समयमा डेढ–दुई घण्टा पनि लाग्ने गरेको थियो । अहिले चारवटा कन्भेयर वेल्ट छन् । अन्तरराष्ट्रिय मापदण्ड ४५ मिनेट हो । यात्रुले विमानस्थलमा हाल सोही मापदण्डभित्रै आफ्नो ब्याग पाउँदै आएका छन् ।
ब्यागेजको अर्को महत्वपूर्ण पार्टचाहिँ के भो भने विदेशका विमानस्थलको अध्यागमन तथा टर्मिनल र पार्किङ वेबीच लामो दूरी पर्छ । पार्किङ वेबाट यात्रु ओर्लिएर अध्यागमन हुँदै ब्यागेजमा आउन कम्तीमा ४० मिनेट समय लाग्छ । तर, हाम्रोमा जहाजबाट ओर्लिएको १० मिनेटमा ब्यागेजमा पुग्छौं । 
अनि एकछिन कुर्दा पनि धेरै बेर कुरेजस्तो लागेको हो । त्यही भएर सापेक्ष रूपमा पनि सोच्नुपर्छ । अहिले एकैपटक चारवटा जहाजको ब्यागेजको काम गरिरहेका छौं भने निकट भविष्यमै थप दुई कन्भेयर वेल्ट थप्ने तयारीमा छौं । 
विमानस्थलमा सयौं संस्था हुँदा समन्वय अभाव हुँदैन ? एकद्वार प्रणाली कहिले लागू हुन्छ ? 
विमानस्थलभित्र २ सय ३८ वटा एजेन्सीले काम गर्छन्, तर पनि समन्वयमा त्यस्तो समस्या छैन । दैनिक १२ हजार कर्मचारीले काम गर्छन् । विमानस्थल ३ सिफ्टमा सञ्चालन हुँदै आएको छ, जसमा एक सिफ्टमा ४ हजार कर्मचारीले काम गरिरहेका हुन्छन् । 
बिहान ६ देखि १२, दिउँसो १२ देखि ६ र साँझ ६ देखि १२ बजेसम्म सिफ्ट हुन्छ । यहाँ मुख्य एजेन्सी भनेको अध्यागमन, प्रहरी, सेना र भन्सार हुन् । यदाकदा कहिलेकाहीँ समस्याहरू आउने गर्छन् । अब एकद्वारको कुरा गने हो भने ऐनमै यी कुरा समावेश हुँदै छन् । 
विमानस्थलकै कारण ठूला एयरलाइन्स तथा पर्यटक हवबाट आउँदैनन् भन्छन् नि ? 
यसमा कुनै सत्यता छैन । हो, नेपालमा युरोप, अमेरिका तथा चीनकै बेइजिङबाट उडानहरू भएका छैनन् । पहिले नेपाल वायुसेवा निगम हुँदा उडान भएका पनि थिए । आवश्यकता नदेखेर उनीहरूले उडान नगरेका हुन् । किनभने हामीलाई जहाँबाट आए पनि केही समस्या हुँदैन । 
हाल विश्वका ठूला भनिएका बोइङ ७७७ र एयरबस ३३० अहिले पनि उडान÷अवतरण गरिरहेकै छन् । कति समय लगाएर आउँछन् भन्नेमा विमानस्थलको चासोको विषय हुँदैन । यहाँ निगम बलियो भएर उडान सुरु गरेमा उनीहरू पनि आउन थाल्छन् । 
नेपालमा हवाईयात्रुको चाप किन बढिरहेको छ ?
हवाईयात्रुको चाप अत्यधिक बढेको छ । अहिले ग्वान्झाओको उदाहरण दिनुपर्दा पहिले सातामा चारवटा उडान थिए, अहिले दैनिक दुईवटा उडान छन् । चीनबाट उडान गर्ने सबैले दैनिक दुईवटा उडान गरिरहेका छन् । यति धेरै एयरलाइन्स नेपालमा उडान थप गर्न चाहन्छन्, जुन हामीले धान्ने अवस्था छैन । 
हामीकहाँ बजेटदेखि पाँचतारे एयरलाइन्सले उडान गरिरहेका छन् । आजको दिनमा २९ वटा एयरलाइन्सले दैनिक ४० भन्दा बढी उडान गरिरहेका छन् । नेपालका लागि ठूलो अवसर पनि भएकाले अब छिट्टै विमानस्थल निर्माण र सुधार गरेर धेरै एयरलाइन्स ल्याउने र यात्रु बढाउनुका साथै पर्यटक बढाउने दिशामा अग्रसर हुनु आवश्यक छ । 
अर्को महत्वपूर्ण कुरा, अहिले जहाज डाईभर्ट गर्नका लागि दिल्ली, लखनउ पठाउनुपर्ने अवस्था छ । कम्तीमा एउटा विमानस्थल तयार भएमा अझै धेरै एयरलाइन्स थपिनेछन् भने यात्रुलाई पनि भाडादर सस्तो हुनेछ । सन् २०२८ मा अहिले भएको यात्रुको संख्यामा दोब्बर वृद्धि हुनेछ ।

No comments:

Post a Comment