दुई वाइड बडी जहाज खरिद
काठमाडौंः राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई दुई वाइड बडी जहाज खरिदका लागि कर्मचारी सञ्चय कोषले २५ अर्ब रुपैयाँ ऋण दिने भएको छ । निगमलाई यसअघि पनि न्यारो बडी जहाज खरिदका लागि १० अर्ब रुपैयाँ प्रदान गरेको सञ्चय कोषले सरकार जमानी बस्ने भएपछि थप ऋण प्रदान गर्ने भएको हो ।
सञ्चय कोषले नेपालको वित्तीय इतिहासमै यति ठूलो परिमाणमा कर्जा प्रवाह गर्न लागेको हो । “निगमलाई २५ अर्ब ऋण दिनका लागि तयार भएको पत्र पठाएका छौं,” कोषका प्रमुख प्रशासक कृष्णप्रसाद आचार्यले भने, “यसअघि पनि हामीले न्यारो बडीमा लगानी गरेका थियौं, अहिले सरकार जमानी बस्ने भएसँगै ऋण लगानीका लागि पत्र पठाएका छौं ।”
यसै साता निगम अधिकारीसहित पर्यटन र अर्थमन्त्रीबीचको छलफलमा ऋणका लागि सरकार जमानी बस्ने सहमति भएको थियो । निगमलाई कति प्रतिशत व्याजदरमा ऋण प्रवाह गर्ने भन्ने टुंगो लागिसकेको छैन । “हामीले ऋण दिने प्रस्ताव मात्रै गरेका हौं, व्याजदरको विषय भने आपसी छलफलबाटै टुंग्याउनेछौं,” आचार्यले भने, “उहाँहरू हाम्रोमा महँगो भयो, अन्यत्रैबाट ऋण लिन्छौं भन्नुहुन्छ भने पनि स्वतन्त्र हुनुहुन्छ ।”
सरकार ग्यारेन्टी बस्ने सहमतिसँगै निगम व्यवस्थापन र सञ्चय कोषबीच पटक–पटक वार्ता भएको थियो । निगम प्रवक्ता रामहरि शर्माका अनुसार अब निगमलाई जहाज किन्ने बाटो खुला भएकाले केही दिनभित्रै प्रक्रिया सुरु हुनेछ ।
निगमले पर्यटनमन्त्री जीवनबहादुर शाही र अर्थमन्त्री कृष्णबहादुर महरालाई वाइड बडी जहाज खरिदपछिको आफ्नो ‘बिजनेस प्लान’का विषयमा जानकारी गराएको थियो । प्रस्तावमा अर्थमन्त्रीले समेत सहमति जनाएपछि अर्थ र पर्यटन मन्त्रलयले जहाज खरिद प्रक्रिया अघि बढाउन निगमलाई निर्देशन दिएका थिए । “सरकार नै जमानी बसेपछि निगमलाई जहाज खरिद गर्नका लागि ऋण दिन हामीलाई अब कुनै समस्या छैन,” कोषका प्रशासक आचार्यले बताए ।
हामीले ऋण दिन तयार रहेको पत्र पठाएका छौं, व्याजदरको विषय भने आपसी छलफलबाट पछि टुंग्याउनेछौं ।
कृष्णप्रसाद आचार्य
प्रमुख प्रशासक, संचय कोष
निगमलाई प्राप्त हुने यो ऋणबाट २ सय ६० सिट क्षमताका एयरबस ३३०–२०० सिरिजका दुईवटा जहाज खरिद गरिनेछ । निगमका न्यारो बडी जहाजसमेत एयरबस कम्पनीकै भएकाले बोइङका जहाज विस्थापन हुनेछन् । बोइङको एक जहाज मर्मत हुन नसक्ने अवस्थामा रहे पनि अर्को जहाज भने चालू अवस्थामा नै छ । पहिलो जहाज एक वर्षमा र दोस्रो अर्को वर्ष खरिद गर्ने लक्ष्य छ ।
निगमको जहाज खरिद अध्ययन समितिले तयार पारेको प्रस्तावअनुसार सञ्चालक समितिले नयाँ जहाज खरिदको योजना सर्वसम्मत पास गरेको छ । यसअघि तत्कालीन बोर्ड बैठकमा अर्थ मन्त्रालयका प्रतिनिधि टंकमणि शर्माले हस्ताक्षर नगरेपछि न्यारो बडी जहाज खरिद प्रक्रिया विवादमा तानिएको थियो । अर्थ मन्त्रालयको असहमति र संसदको सार्वजनिक लेखा समितिले समेत छानबिन गरेसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरेको थियो ।
निगमले गत वर्ष खरिद गरेका न्यारो बडी जहाज एयरबस र अहिले खरिद गर्न लागिएको एयरबस ३३० को सिरिज एउटै भएकाले सोही जहाज निगमको लागि उपयुक्त हुने प्रवक्ता शर्माले बताए ।
निगमजस्तो सानो संस्थामा धेरै कम्पनीमा निर्माण भएका जहाज चलाउनुभन्दा एकै किसिमको जहाज चलाउँदा लागत सस्तो पर्ने उनको दाबी छ । हाल निगमसँग अन्तरराष्ट्रिय उडानको लागि न्यारो बडी बोइङ–७५७ को एकसहित एयरबस–३२० का दुई जहाज छन् ।
No comments:
Post a Comment