राष्ट्रिय ध्वजावाहक नेपाल
वायुसेवा निगमले आगामी साता दुई वाइड बडी जहाज खरिदका लागि विश्वव्यापी
प्रतिस्पर्धा (ग्लोबल टेन्डर) आह्वान गर्ने भएको छ ।
निगमको जहाज खरिदका लागि आवश्यक ऋणका
निमित्त जमानी बस्ने अर्थ मन्त्रालयको निर्णयपछि ग्लोबल टेन्डर सुरु गर्न
लागिएको हो । कर्मचारी सञ्चय कोषले गतसाता नै २५ अर्ब ऋण दिने आशयसहितको
पत्र पठाइसकेको छ ।
नागरिक लगानी कोष तथा अन्य वित्तीय संस्थाहरूले पनि सस्तो व्याजदरमा लगानी गर्न निगमलाई प्रस्ताव पठाएका छन् ।
“निगमलाई जहाज किन्नका लागि सबै प्रक्रिया
पूरा भएकाले अब टेन्डर आह्वान गर्दैछौं, एक साताभित्रमा निर्णय हुनेछ,”
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका हवाई महाशाखाका सहसचिव तथा
नेपाल वायुसेवा निगम सञ्चालक समितिका सदस्य बुद्धिसागर लामिछानेले भने ।
अर्थ मन्त्रालयबाट जमानी बस्ने पत्र मन्त्रालयमा आइसकेकाले अब जहाज खरिदका लागि लगानीको कुनै समस्या नहुने लामिछानेको भनाइ छ ।
“सञ्चयकोषले प्रस्ताव गर्नु सकारात्मक भए
पनि अब पहिलेको जस्तो महँगो व्याजमा निगमले ऋण लिँदैन,” लामिछानेले भने ।
निगमलाई यसअघि पनि न्यारो बडी जहाज खरिदका लागि कोषले १० अर्ब रुपैयाँ
प्रदान गरेको थियो ।
निगमले २ सय ६० सिट क्षमताका एयरबस ३३०–२०० सिरिजका दुईवटा जहाज खरिदको लागि ग्लोबल टेन्डर आह्वान गर्नेछ । जसमा अन्तरराष्ट्रिय लिज कम्पनी तथा एयरबस कम्पनीले पनि भाग लिनसक्ने निगम प्रवक्ता रामहरि शर्माले जानकारी दिए ।
निगमका न्यारो बडी जहाजसमेत एयरबस
कम्पनीकै भएकाले बोइङका जहाज विस्थापन हुनेछन् । निगमले गत वर्ष खरिद गरेका
न्यारो बडी जहाज एयरबस र अहिले खरिद गर्न लागिएको एयरबस ३३० को सिरिज एउटै
भएकाले सोही जहाज निगमको लागि उपयुक्त हुने प्रवक्ता शर्माले बताए ।
निगमजस्तो सानो संस्थामा धेरै कम्पनीमा निर्माण भएका जहाज चलाउनुभन्दा एकै किसिमको जहाज चलाउँदा लागत सस्तो पर्ने उनको दाबी छ ।
मन्त्रिपरिषद् नपठाइने
जहाज खरिदसम्बन्धी निर्णयको लागि यसपटक
निगम सञ्चालक समितिले फाइल मन्त्रिपरिषद् नपठाउने भएको छ । जहाज खरिदमा
विगतमा विवाद भएकाले मात्रै मन्त्रिपरिषद् लगिएको उल्लेख गर्दै उनले यसपटक
सञ्चालक समितिले नै निर्णय गरेर प्रक्रिया अगाडि बढाउने जानकारी दिए ।
No comments:
Post a Comment