काठमाडौं : स्वदेशी वायुसेवा कम्पनीहरूले
यसै वर्षभित्र आन्तरिक उडानका लागि डेढ दर्जनभन्दा बढी विमानहरू थप्ने भएका
छन् । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले ४ वटा चिनियाँ जहाज थप्ने
प्रक्रिया सुरु गरिसकेको छ भने निजी क्षेत्रका चार एयरलाइन्सले १३ वटा
विमान थप्ने प्रक्रिया सुरु गरेका छन् ।
यती एयरलाइन्सले जेटस्ट्रिम विमानहरू
विस्थापन गरेर एटीआर–७२ विमान ल्याउने योजनाअन्तर्गत ४ वटा जहाज खरिद
गर्नका लागि मन्त्रालयमा प्रस्ताव गरेको छ । निजी क्षेत्रकै गोमा एयरले १
जहाज खदिरको अनुमति लिइसकेको छ र सिम्रिक एयरलाइन्सले दुइटा जहाज केही समय
अगाडि मात्र थपेको छ ।
सिम्रिकले ४ वटा स्काई ट्रक ल्याउने
प्रक्रियासमेत सुरु गरेको छ । श्री एयरलाइन्सले पनि अब हेलिकप्टर सेवाबाट
जहाज उडान सुरु गर्दैछ । कम्पनीले अनुमति लिएर २ वटा जहाज खरिद
प्रक्रियासमेत अगाडि बढाइसकेको छ ।
उडान अनुमति (एओसी) को प्रक्रिया अन्तिम
चरणमा रहेकाले नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाउने बित्तिकै २ वटा
जहाज नेपाल ल्याउने श्री एयरलाइन्सका प्रवन्ध निर्देशक सुधीर मित्तलले
जानकारी दिए ।
जहाज ल्याउने बित्तिकै एयरलाइन्सले ५० सिट
क्षमताको क्यानडियन कम्पनी बम्बाडियरको जेट सीआरजे–२०० सिरिजको जहाज खरिद
गरेर नेपाल ल्याउने तयारी रहेको मित्तलले बताए ।
यती एयरलाइन्सले बुद्ध एयरले उडान
गरिरहेको एटीआर जस्तै सिरिज ल्याउने प्रक्रिया सुरु गरेको छ । यतीले ७२ सिट
क्षमताका ४ वटा जहाज ल्याउने तयारी गरेको हो । यतीले हाल जेट स्ट्रिमका ७
वटा जहाजमार्फत आन्तरिक उडान गरिरहेको छ ।
गोमा एयरले गत वर्ष २ जहाज खरिद गरेकोमा
आगामी जनवरीभित्र थप एक जहाज ल्याउने अन्तिम तयारीमा गोमा एयरका निर्देशक
सुमन पाण्डेले बताए । “आन्तरिक उडान गर्ने एयरलाइन्सहरू अहिले राम्रो
गरिरहेकाले जहाज थप्ने काम धमाधम गरिरहेका छन्,” पाण्डेले भने ।
गोमाले चेकोस्लोभाकियाको जहाज निर्माता
कम्पनी एलईटीले उत्पादन गरेको एल–४१० यूभीपी (ई २० सिरिज)का २ जहाजले उडान
गरिरहेको छ । गोमासँग हाल २ वटा सिंगल इन्जिन जहाजमार्फत दुर्गम क्षेत्रमा
यात्रु चार्टर तथा कार्गो उडान गरिरहेको छ ।
नियमित उडान गरिरहेको सिम्रिकले पनि
अमेरिकी कम्पनी सिक्रोस्कीले पोल्यान्डमा निर्माण गरेका ४ वटा एम–२८ स्काई
ट्रक ल्याउने तयारी थालेको छ । सिक्रोस्कीसँग सम्झौता भइसकेको एयरलाइन्सले
यसअघि नै जानकारी दिएको छ ।
१९ सिट क्षमताको यो जहाज दुर्गम उडानका
लागि उपयुक्त हुनेछ । यो जहाबाट रामेछाप, लुक्ला, फाप्लु, सुर्खेत, जोमसोम,
खानीडाँडासहितका दुर्गम क्षेत्रमा उडान गर्ने योजना छ । नेपाल वायुसेवा
निगमले एक एमए ६० र ३ वटा वाई १२ ई जहाज खरिद प्रक्रियासमेत अगाडि बढेको छ
।
दुई वर्षदेखि उडान सुरु गरेको सौर्य
एयरलाइन्सले पनि एउटा जहाजमार्फत उडान गरिरहेको छ । एयरलाइन्सले जेट
सीआरजे–२०० सिरिजका थप २ जहाज ल्याउने प्रक्रिया सुरु गरिसकेको छ ।
No comments:
Post a Comment