केदार दाहाल
काठमाडौं, ३२ जेठ – नेपाल वायुसेवा निगम सञ्चालक समितिले अन्तर्राष्ट्रिय उडान गरिरहेको बोइङ–७५७ मोडलका २ वटा जहाज विस्थापन गर्ने निर्णय गरेको खुलासा भएको छ । फागुन १८–१९ मा बसेको बोर्ड बैठकले दुवै जहाज (गण्डकी र कर्णाली) विस्थापन गर्ने निर्णय गरे पनि अहिलेसम्म यो विषय गुप्त राखिएको थियो ।
अमेरिकी जहाज निर्माता बोइङ कम्पनीद्वारा निर्मित यी जहाज निगमले २७ वर्षअघि भिœयाएको हो । हाल यी मोडलको उत्पादन बन्द भइसके पनि बोइङका लोकप्रिय सिरिजमा पर्छन् । न्यारो बडीमा सबैभन्दा बढी सिट क्षमता (१९०) रहेकाले पनि यी जहाज संसारभर लोकप्रिय भएका हुन् । झन्डै ३ दशक निगमको अस्तित्व जोगाएका यी जहाज मर्मतका नाउँमा बर्सेनि ठूलो चलखेल हुँदै आएको छ । अन्तर्र्राष्ट्रिय उडान भरिरहेको जहाज विस्थापन गराउने निर्णयमा त्यस्तै चलखेल भएको हुन सक्ने आंशका निगमभित्रै गरिएको छ ।
सन् १९८७ मा निगमले अन्तर्राष्ट्रिय उडानका लागि यी २ जहाज खरिद गरेको थियो । सञ्चालक समितिले मर्मतमा वार्षिक २ अर्ब रुपैयाँ खचए गर्न नसकिने भन्दै विस्थापनतर्फ जाने निर्णय गरेको जनाएको छ । यद्यपि २ वटै जहाजले वार्षिक ५ अर्ब रुपैयाँ आम्दानी गर्दै आएका छन् । निगम सानो कम्पनी भएकाले एयरबस र बोइङ दुवै कम्पनीका जहाज राख्दा व्यवस्थापनमा समस्या आउने भन्दै विस्थापनका लागि यसअघिदेखि नै प्रयास हुँदै आएको छ ।
निगमका नवनियुक्त महाप्रबन्धक सुगतरत्न कंसाकारले भने यसबारे आफूलाई कुनै जानकारी नभएको बताए । “मैले पहिलेका निर्णय अध्ययन गरिरहेको छु, सबै निर्णय अहिल्यै कार्यान्वयन हुन्छन् भन्ने छैन,” उनले भने, “यसअघि तयार पारिएको व्यावसायिक योजनाअनुसार काम अगाडि बढ्छन् ।”
यसअघि निगमले तयार पारेको व्यावसायिक योजना (सन् २०१५–२०२४)मा पनि बोइङ विस्थापन गरेर नयाँ खरिद गर्ने उल्लेख छ । निगमले १० वर्षमा २५ वटा जहाजमार्फत सेवा दिने रणनीतिक योजना तयार पारेको थियो ।
सेवा दिइरहेका जहाजबाट आम्दानीभन्दा खर्च बढी भएको भन्दै विस्थापनमा यथाशक्य चाँडै पठाउने निर्णय गरिएको एक सञ्चालकले बताए । निगम स्रोतका अनुसार लिलामीमा पठाउँदा नेतृत्वमा बसेका कर्मचारीदेखि माथिल्लो तहसम्म राम्रो कमिसन आउने भएकाले जबर्जस्ती यो निर्णय गरिएको हो ।
निर्णयमा निगमले ‘एयरक्राफ्ट फाइनान्स योजनाअनुसार एयरबस थप्ने र बोइङका २ विमान सञ्चालनमा राखिराख्न उपयुक्त नहुने भएकाले हटाई उपयुक्त व्यवस्था गर्नेगरी सरकारी निर्णय गराउने’ उल्लेख छ । निगमसँग भएका प्राविधिक जनशक्तिको व्यावसायिक स्तर सामान्य रहेको, तिनै पनि पर्याप्त संख्यामा नभएको, बोइङको मर्मत खर्चिलो हुँदै गएको भन्दै निर्णयमा नयाँ जहाज थप्ने र पुराना विस्थापन गर्ने उल्लेख छ ।
निगमकै केही उच्च अधिकारीहरू यही निर्णयलाई आधार बनाएर पुरानो प्रवृति दोहोरिन सक्ने आशंका गर्छन् । ०५० मा २ वटा ९ एनबीएन बोइङ १२ करोड रुपैयाँमै जर्मनीमा बेचिएको उनीहरू बताउँछन् । त्यतिबेला ती जहाज युरोपमा उडिरहेका थिए । हाल तिनै जहाजले अफ्रिकामा उडान भरिरहेका छन् ।
बोइङ–७५७ प्रत्येक १८ महिना अथवा ५ हजार घण्टा उडेपछि सी–चेकिङ र ओभरअल चेकिङ गर्नुपर्छ । त्यसका लागि निगमले जहाज बाहिर लैजाँदै आएको छ । यसमा निगमको वार्षिक २ अर्ब रुपैयाँजति खर्च हुन्छ । २ जहाजले वार्षिक ५ अर्ब रुपैयाँ आम्दानी गरे पनि २ अर्ब मर्मतमै खर्च हुने गरेको छ । एउटा जहाजको इन्जिन ओभरअल चेकिङ गर्न ५५ करोड, सी–चेकिङ गर्न २५ करोड तथा स्पेयर पार्ट्सका लागि २० करोड रुपैयाँ हाराहारी खर्च हुने गरेको छ ।
सन् १९८७ मा निगमले अन्तर्राष्ट्रिय उडानका लागि बोइङ–७५७ खरिद गरेको थियो । त्यसको २७ वर्षपछि २ वटा एयरबस–३२० खरिद गरेर अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । नयाँ विमान आएपछि पुरानो बोइङ ७५७ बाट कमभन्दा कम उडान गर्नुपर्ने भएकाले अन्तराष्ट्रिय सेक्टर खासै बढाउन नसकिने निगमको बुझाइ छ ।
No comments:
Post a Comment