आर्थिक क्षेत्रका विशेष गतिविधी

Wednesday, June 17, 2015

पर्यटक आगमन ४०% घट्ने, ६२ अर्ब गुम्ने


– २ लाख पर्यटकले बुकिङ रद्द गरे
– ३ महिनामा १२ अर्ब नोक्सान
– २ लाखको प्रत्यक्ष रोजगारी गुम्यो
पर्यटक आगमन ४०% घट्ने, ६२ अर्ब गुम्ने

केदार दाहाल  : काठमाडौं, १ असार – वैशाख १२ को विनाशकारी भूकम्प र त्यसपछि लगातार आएका परकम्पपछि नेपाल आउने तयारीमा रहेका २ लाख पर्यटकले बुकिङ रद्द गरेका छन् । यसले ३ महिनामा पर्यटन क्षेत्रले करिब १२ अर्ब रुपैयाँबराबरको आम्दानी गुमाएको छ ।
यो वर्ष (सन् २०१५) मा पर्यटक आगमन ४० प्रतिशतले घट्ने प्रक्षेपण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरेको छ । आगामी २ वर्षसम्म लगातार २० प्रतिशत पर्यटक घट्ने प्रक्षेपण पनि उसको छ ।
“२ लाख पर्यटन आउने तयारीमा थिए, भूकम्पले सबै रोकिएका कारण हामीले कम्तीमा १२ अर्ब रुपैयाँ गुमाउनु परेको छ,” पर्यटन विभागका महानिर्देशक तुलसीप्रसाद गौतमले भने । विभागका अनुसार कम्तीमा १ पर्यटकले टिकटबाहेक मात्रै न्यूनतम ६० हजार रुपैयाँ खर्च गर्छन् । यसैलाई आधार मान्दा पनि कम्तीमा १२ अर्ब रुपैयाँ नोक्सान भइसकेको गौतमले बताए ।
पर्यटन क्षेत्रमा निर्भर ठूलो समूह यतिबेला बेरोजगार बनेको छ । पदयात्रामा आबद्धसमेत जोड्दा २ लाखको रोजगारी गुमेको मन्त्रालयले जनाएको छ । टुर, होटल तथा रेस्टुराँतर्फ पनि ठूलो रोजगारी कटौती हुन सक्ने आँकलन उसको छ ।
मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले यो वर्षमात्रै नभई दीर्घकालसम्म असर पर्ने देखिएको बताए । यो वर्ष पर्यटन क्षेत्रबाट मात्रै ६२ अर्ब रुपैयाँ गुमाइने उनको भनाइ छ । सन् २०१४ मा नेपाल आगमन गर्ने पर्यटक संख्या घटे पनि आम्दानी भने १२ अर्ब रुपैयाँ बढेको थियो ।
२०१३ मा ३४ अर्ब २१ करोड सय १ लाख रुपैयाँ आम्दानी भएकोमा २०१४ मा बढेर ४६ अर्ब ३७ करोड ५ लाख रुपैयाँ पुगेको थियो, जुन २०१३ भन्दा १२ अर्ब १४ करोड ६४ लाख रुपैयाँ बढी हो । सन् २०१३ मा ७ लाख ९७ हजार ६१६ पर्यटक नेपाल आएका थिए । २०१४ मा घटेर ७ लाख ९० हजार ११८ मात्र आएको तथ्यांक छ । मन्त्रालयका अनुसार अनुसार चालू वर्ष ४ लाख ८० हजारभन्दा पनि कम पर्यटक आउने प्रक्षेपण छ ।
चालू वर्ष पर्यटकको बसाइ अवधि र दैनिक खर्चमा समेत भारी गिरावट देखिएको छ । २०१३ मा नेपाल आउने पर्यटकले दैनिक ४२.८ डलर खर्च गरेकोमा गत वर्ष बढेर ४६.४ डलर पुगेको थियो । सन् १९९८ मा यस्तो खर्च ४० डलर थियो । मुलुक द्वन्द्वमा फसेपछि सन् २००६ मा २८ डलरसम्म झरेको थियो । २०१२ मा ३५ डलर थियो ।
भूकम्पका कारण पर्यटन क्षेत्रको भौतिक क्षतिमात्रै १८ अर्ब ८६ करोड रुपैयाँ भएको मन्त्रालयले जनाएको छ । प्रवक्ता सापकोटाका अनुसार यो क्षेत्र पुनर्निर्माणका लागि ४१ अर्ब रुपैयाँ लाग्ने अनुमान छ । भूकम्पका कारण ७४१ सम्पदा, १५ सय गुम्बा र ३५० किलोमिटर पदमार्गमा क्षति पुगेको छ । पर्यटकस्तरका होटलमा १५ प्रतिशत क्षति भएको छ । विशेषगरी लाङटाङ, खुम्बु तथा मनास्लु क्षेत्रका पदमार्गले बढी क्षति भोगेका छन् ।
ट्राभल एड्भाइजरी सच्याउन छलफल
भूकम्पपछि विभिन्न मुलुकले जारी गरेको ट्राभल एड्भाइजरी सच्याउन सरकारले विशेष पहल गर्ने भएको छ । चीन, बेलायत, अमेरिका, जर्मनी, नेदरल्यान्ड्स, फ्रान्सलगायत मुलुकले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न ट्राभल एड्भाइजरी जारी गरेका छन् । “हामीले आगामी साता सबै मुलुकका प्रतिनिधिसँग छलफल गरेर प्रतिबन्ध हटाउन आग्रह गर्दैछौं,” विभाग महानिर्देशक गौतमले भने ।

No comments:

Post a Comment