आर्थिक क्षेत्रका विशेष गतिविधी

Tuesday, June 2, 2015

निगममा कंसाकार, प्राधिकरणमा गौतम

 पर्यटन बोर्ड ४ वर्षदेखि प्रमुखविहीन
काठमाडौं, १४ जेठ – सरकारले पर्यटन क्षेत्रका मुख्य २ निकाय नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन  प्राधिकरणमा प्रमुख नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा पूर्वकार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार र प्राधिकरणको महानिर्देशकमा त्यहीँका उपमहानिर्देशक सञ्जीव गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो । दुवै संस्था २ महिनादेखि प्रमुखविहीन थिए ।
मन्त्रिपरिषद् बैठकमा नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन पर्यटनमन्त्री कृपासुर शेर्पाले २ निकायका प्रमुखमा नियुक्त गर्न कंसाकार र गौतमलाई सिफारिस गरेका थिए । २ वर्षअघि प्रतिस्पर्धाबाट निगमको महाप्रबन्धमा नियुक्त मदन खरेलले फागुनमा राजीनामा दिएका थिए भने प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनविरुद्ध भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि २ महिनादेखि प्राधिकरण पनि प्रमुखविहीन बनेको थियो । महानिर्देशक सुमनको पदावधि वैशाख २४ गते नै सकिएको छ । गौतमले यसअघि उप–महानिर्देशक पदमा रहेर काम गरेका थिए । नेपाल पर्यटन बोर्ड भने ४ वर्षदेखि प्रमुखविहीन छ ।
कंसाकार यसअघि एकपटक निगमको महाप्रबन्धक र कार्यकारी अध्यक्ष भइसकेका छन् । उनी तेस्रोपटक निगमको जिम्मेवारी सम्हाल्न आइपुगेका हुन् । २०६६ सालमा निगमले एउटा न्यारोबडी र अर्को वाइडबडी एयरबस विमान खरिदका लागि प्रक्रिया सुरु गरेसँगै उनी विवादमा तानिएका थिए । यद्यपि, अहिले किनिएका २ जहाज खरिदको जग उनैले बसाएका हुन् ।
कंसाकारले आवश्यक रकम व्यवस्था नहुँदै बैना पठाउनुलाई ‘भ्रष्टाचार’ भन्दै उनीसहित वरिष्ठ अधिकारीहरूविरुद्ध विशेष अदालतमा मुद्दा चलाइएको थियो । एयरबसले बैना फिर्ता गरेपछि कंसाकारको समूहले मुद्दा जितेको थियो । कंसाकारको मुद्दासँगै निगमको जहाज खरिद गर्ने प्रक्रिया ४ वर्ष ढिला भएको थियो ।
निगम व्यवस्थापन सुधार्ने प्रतिबद्धता
कंसाकारले आफ्नो मुख्य ध्यान निगमको व्यवस्थापन सुधार्नमा केन्द्रित हुने प्रतिक्रिया दिएका छन् । निगमको अन्तर्राष्ट्रिय उडानमा बजार हिस्सा ४ प्रतिशतमा खुम्चिएको उल्लेख गर्दै उनले अब नयाँ जहाज थपेर बजार हिस्सा बढाउनुपर्ने बताए ।
निगमको व्यवस्थापन लुफ्थान्सालाई दिने प्रस्ताव आफूले अध्ययन नगरेकोले यस विषयमा प्रतिक्रिया दिन हतार हुने उनको भनाइ छ । निगम व्यवस्थापन सुधार गर्नुको साथै पाइलटहरूको तत्काल नियुक्ति र नयाँ जहाज किन्ने योजना आफूसँग रहेको उनले जनाए ।
निगमसँग हाल अन्तर्राष्ट्रिय उडानका लागि ४ वटा विमान छ । निगमले कर्मचारी सञ्चय कोषलाई तिर्नुपर्ने १० अर्ब ऋण र त्यसको ब्याज कसरी तिर्ने भन्ने विषयलाई पनि आफूले विशेष प्राथमिकता दिने उनले बताए

No comments:

Post a Comment