केदार दाहाल
काठमाडौं, १० मंसिर- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार सार्क शिखर सम्मेलनमा ‘बुद्ध सर्किट’को प्रसंग निकालेपछि नेपालको पर्यटन क्षेत्रमा तरंग पैदा भएको छ । नेपाल र भारत सरकारबीच पर्यटनसम्बन्धी सम्झौता भएको भोलिपल्ट मोदीले ‘बुद्ध सर्किट’ विकास गर्दै यसैमार्फत दक्षिण एसियालाई जोड्न सकिने बताएका छन् ।
“बुद्ध जन्मस्थान लुम्बिनीदेखि बुद्धले बुद्धत्व प्राप्त गरेको बोधगयासम्मको क्षेत्र विकासलाई अगाडि बढाउनुपर्छ,” उनले भने, “यसले नेपाल र भारतलाई मात्र नभई पूरै दक्षिण एसियालाई जोड्नेछ ।”
यो योजना पूरा हुन सके धार्मिक पर्यटनका क्षेत्रमा नयाँ आयाम थपिने व्यवसायी बताउँछन् । हाल भारतीय बाटो हुँदै आउने बुद्धमार्गीहरू लुम्बिनीमा जम्मा २ घण्टामात्रै बिताउने गरेकाले उनीहरूको बसाइ अवधि लम्ब्याउन यो योजना कोसेढुंगा हुने विश्वास उनीहरूको छ ।
व्यवसायीले वर्षौंदेखि बुद्ध जन्मस्थल लुम्बिनी, उनले बुद्धत्व प्राप्त गरेको बोधगया र महापरिनिर्वाण प्राप्त गरेको कुशीनगरसँगै कपिलवस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम र रुपन्देहीको देवदहसमेतलाई जोडेर ‘बुद्ध सर्किट’ निर्माण गर्नुपर्ने माग गर्दै आए पनि कुनै सुनवाइ भएको थिएन ।
पर्यटन व्यवसायी तथा ‘बुद्ध सर्किट’ निर्माणका अभियन्ता विक्रम पाँडे मोदी अभिव्यक्तिको सकारात्मक प्रभाव पर्ने बताउँछन् । बुद्धसँग जोडिएका सबै क्षेत्रलाई जोडेर एकीकृत ‘बुद्ध सर्किट’ बनाउँदा दुवै देशलाई उत्तिकै फाइदा हुने उनको भनाइ छ ।
सार्क शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका मोदीको उपस्थितिमा दुवै देशबीच ‘बुद्ध सर्किट’लाई समेत अगाडि बढाउने सम्झौता भएको छ । मंसिर ६ देखि विभिन्न चरणमा भएका द्विपक्षीय छलफलमा पर्यटन विकासलाई संयुक्त रूपमा अगाडि बढाउने सम्झौताभित्र यो विषयलाई समेत समावेश गरिएको छ ।
नेपाल र भारतबीच भएका द्विपक्षीय सम्झौताका ७३ बँुदामा ‘बुद्ध सर्किट’ पनि समावेश भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव पूर्णचन्द्र भट्टराईले जानकारी दिए । “बुद्ध सर्किटमा छुट्टै सहमति भएको होइन तर पर्यटनका विभिन्न सम्झौताभित्र यसलाई राखिएको छ,” उनले भने, “यो लुम्बिनीको मात्र नभई नेपालको समग्र पर्यटन क्षेत्रको विकासमा कोसेढुंगा हुनेछ ।”
नेपालले २ वटा कोणबाट ‘बुद्ध सर्किट’लाई अगाडि बढाउन खोजेको उनले बताए । “जन्मस्थल लुम्बिनीदेखि ज्ञान प्राप्त गरेको भारतको बोधगयासम्मका क्षेत्रलाई समेटेर अन्तर्राष्ट्रिय बुद्ध सर्किट बनाउने,” उनले प्रष्ट्याए, “अर्को— आन्तरिक रूपमा लुम्बिनीदेखि काठमाडौंका स्वयम्बू, बौद्ध, कपनलगायत क्षेत्रलाई समेट्ने लक्ष्य छ ।”
‘बुद्ध सर्किट’ले दुवै देशको धार्मिक तथा पर्यटकीय महत्वलाई फाइदा पुग्ने गरी प्रवद्र्धनका कार्यक्रम अगाडि बढाउने सम्झौता भएको छ । भैरहवामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएकाले पनि ‘बुद्ध सर्किट’ अपहरिहार्य भएको भट्टराई बताउँछन् ।
सरकारले २०१७ सम्ममा निर्माण सम्पन्न गर्ने गरी विमानस्थलको काम अगाडि बढाइसकेको छ । विमानस्थल निर्माणसँगै ‘बुद्ध सर्किट’समेत अगाडि बढाउन सकिए लुम्बिनीमा बर्सेनि लाखौं बौद्धमार्गी आउने विश्वास छ ।
भारतले हाल बोधगया, कुशीनगर, सारनाथ र श्रावस्तीलाई लुम्बिनीसँग जोडेर ‘बुद्ध सर्किट’ बनाइरहेको छ । पाँडेका अनुसार हाल भारतीय बौद्ध क्षेत्रहरूलाई लुम्बिनीसँग मात्रै जोडेर सर्किटका रूपमा प्रचार हुँदै आएको छ । सोही रुटमा नेपालका कपिलवस्तु (तिलौराकोट), रामग्राम (नवलपरासी) र देवदह पूर्ण रूपमा ओझेल पर्ने भएकाले एकीकृत सर्किटको अवधारणा ल्याइएको हो । नेपालका ‘बुद्ध सर्किट’को विकास र प्रचारप्रसारबिना भारतीय क्षेत्र पनि ओझेलमा पर्छन् ।
“विश्वका प्रायः बौद्धमार्गी सबैभन्दा पहिले लुम्बिनी भ्रमण गर्न चाहन्छन्,” पाँडे भन्छन्, “त्यसैले पनि लुम्बिनीसहित, कपिलवस्तु, रामग्राम, देवदहको विकास गरी एकीकृत बुद्ध सर्किटमा जोड दिइएको हो ।”
No comments:
Post a Comment