केदार दाहाल-काठमाडौं, २ मंसिर । पाकिस्तानको राष्ट्रिय ध्वजावाहक पाकिस्तानी अन्तर्राष्ट्रिय एयरलाइन्स (पीआईए)ले नेपाल उडान बन्द गरेको छ । १८ औं सार्क शिखर सम्मेलनमा सार्क राष्ट्रबीच ‘एयर कनेक्टिभिक्टी’ बढाउने एजेन्डा तय भइरहेका बेला १७ वर्षदेखि उडान गरिरहेको पीआईएले आन्तरिक कारण देखाउँदै सेवा बन्द गरेको हो ।
नेपालमा आफ्नै कार्यालय खोलेर दैनिक उडान गरिरहेको पीआईएले डिसेम्बर १५ देखि कार्यालय पनि बन्द गर्ने बताएको छ । उसले ३० वटा विमानमार्फत एसिया, युरोप तथा अमेरिकाका विभिन्न विमानस्थलमा उडान भर्दै आएको छ । थप ७ वटा विमानका लागि उसले एयरबस कम्पनीलाई अर्डर दिइसकेको छ ।
पीआईएले जुलाईबाटै नियमित उडान गरेको छैन । “नेपाल पीआईएको राम्रो गन्तव्य हुँदाहँुदै पनि आन्तरिक कारणले बन्द गर्नुपरेको हो,” कम्पनीका नेपाल प्रमुख महमद हमिद बाराकजायीले भने, “काठमाडौंबाट कराँची उडानमा ९० प्रतिशत र कराँचीबाट काठमाडौं ३५ प्रतिशत अकुपेन्सी थियो ।”
नेपाल र पाकिस्तानबीच सन् १९९५ मा द्विपक्षीय हवाई सम्झौता भएपछि पीआईएले १९९७ देखि नेपालमा उडान थालेको थियो । उसले एयरबस ए–३१० (२ सय सिट) विमानमार्फत् उडान गर्दै आएको थियो ।
१९९९ डिसेम्बर २४ मा भारतीय विमान कम्पनी एयर इन्डिया त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अपरहणमा परेपछि उसले उडान बन्द गरेको थियो ।
पाकिस्तानको कराँचीबाट काठमाडौंमा दैनिक उडान भर्दै आएको एयरलाइन्समा विशेषगरी नेपाली कामदार जाने–आउने गर्थे । नेपालबाट अफगानिस्तान, इराक, दुबईलगायत मुलुक जाने यात्रु प्रायः पीआईए चढ्थे ।
पीआईएले नेपालसँगै हङकङ र थाइल्यान्डमा समेत उडान बन्द गर्दै कार्यालय हटाइसकेको छ । “नेपालमा भने सार्क सम्मेलनका कारणले मात्र कार्यालय बन्द नगरेका हौं, नत्र हामी नोभेम्बर १५ मा जाने कार्यक्रम थियो,” बाराकजायीले ने ।
पीआईएले सेवा बन्द गरेपछि भारतबाट नेपाल उडानमा चाप पर्ने नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष डीबी लिम्बूले बताए । “जति धेरै एयरलाइन्स नेपाल आउँछन्, त्यति धेरै नेपालको सम्बन्ध अन्तर्राष्ट्रियस्तरमा विस्तार हुने भएकाले एयरलाइन्स बन्द हुनु राम्रो होइन,” उनले भने, “हामीले नेपाल र पाकिस्तान सरकारबीचको पहलबाट उडान सुचारु बनाउन पहल गरे पनि एयरलाइन्सकै समस्या भएकाले उपलब्धि भएन ।”
पीआईएले गत वर्ष १०५ वटा उडान गरेर झन्डै ३० हजार यात्रुलाई उडान-अवतरण गराएको थियो । नेपालमा हाल २७ वटा अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान भर्दै आएका छन् । पीआईए गएपछि अब २६ वटा हुनेछन् ।
No comments:
Post a Comment