काठमाडौं २३ कात्तिक- नेपाल पर्यटन बोर्डले चालू आर्थिक वर्ष ०७१÷७१ मा झन्डै १ अर्बको बजेट प्रस्तुत गरेको छ । बोर्डले निजी क्षेत्रसँग छलफल गरेर आवश्यक संशोधनसहित बजेट लागू गर्नेसमेत जानकारी दिएको छ । बोर्डले गत वर्षभन्दा बजेटको आकारमा झन्डै ५७ प्रतिशतले वृद्धि गरेको छ । गत वर्ष ६३ करोड रुपैयाँ हाराहारीको बजेट प्रस्तुत गरिएको थियो ।
बोर्डले आइतबार प्रारम्भिक छलफलमा ९५ करोड १० लाख ८९ हजार ६ सय ३८ रुपैयाँको बजेट छलफलका लागि प्रस्तुत गरेको छ । जुन गत वर्षभन्दा ३७ करोड रुपैयाँ बढी हो ।
बोर्डको उक्त अनुमानित बजेटका लागि पर्यटक सेवा शुल्कमार्फत ७६ करोड ८९ हजार ६ सय १० रुपैयाँ उठाउने लक्ष्य राखेको छ । चालू वर्ष ७ लाख ६७ हजार ९ सय ३७ पर्यटक हवाई मार्गमार्फत नेपाल भित्रिने प्रक्षेपण बोर्डले गरेको छ ।
बोर्डले प्रत्येक हवाई पर्यटकमार्फत १ हजार रुपैयाँ सेवा शुल्क उठाउँदै आएको छ । त्यस्तै पर्यटक सूचना प्रणाली (टिम्स) मार्फत १८ करोड ३१ लाख ५२ हजार २८ रुपैयाँ उठाउने लक्ष्य समेत राखेको बोर्डका योजना शाखा प्रमुख काशीराज भन्डारीले जानकारी दिए ।
बोर्डले प्रशासनिक खर्चतर्फ १० करोड ५० लाख हुने अनुमान गरेको छ । त्यस्तैगरी अन्तर्राष्ट्रिय प्रवद्र्धनका लागि २७ करोड ८६ लाख रुपैयाँ खर्च हुने अनुमानित बजेट बोर्डले पेस गरेको हो । बोर्डले प्रोडक्ट विकासका लागि १७ करोड २९ लाख तथा जन–सम्पर्कका लागि १६ करोड २९ लाख रुपैयाँ बजेट खर्च गर्ने लक्ष्य राखेको छ ।
त्यस्तै गरी पोखरा कार्यालयका लागि २ करोड ५० लाख, अनुसन्धान तथा विकासका लागि २ करोड ४५ लाख रुपैयाँ छुट्ट्याएको बोर्डले जानकारी दिएको छ । अन्य खर्चका लागि ११ करोड रुपैयाँ छुट्ट्याइएको छ । बोर्डले क्षेत्रीय कार्यक्रम तथा कार्यालयलगायतका लागि २७ करोड ८६ लाख रुपैयाँ छुट्ट्याएको छ । बजेट छलफल कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले पहिलो पटक बोर्डमा निजी क्षेत्रको संयोजकत्वमा बजेट तयार पारेको बताए । बजेट बोर्डका सदस्य फुर्वाग्याल्जेन लामाको संयोजकत्वमा निर्माण गरिएको हो ।
अन्तर्राष्ट्रिय हिमालयन मार्ट सञ्चालन हुने
बोर्डको अगुवाइमा नेपालमा यसै वर्ष अन्तर्राष्ट्रिय हिमालयन मार्ट सञ्चालन गरिने भएको छ । त्यसका लागि छुट्टै कार्यविधि तयार गरी सञ्चालन गरिने बोर्डले जनाएको छ । उक्त मार्ट विश्वभरबाट पर्यटन क्षेत्रका सरोकारवाला निकाय तथा ट्राभल्स कम्पनी र एजेन्टसहरूले सहभागिता जनाउने छन् ।
बोर्डले यसैवर्ष ग्लोबल मिडिया कार्यक्रमसमेत सञ्चालन गर्ने भएको छ, जसमा विश्वभरका पत्रकारहरूलाई विशेष प्याकेजमा नेपाल भिœयाउने र ठूला सञ्चारमाध्यममा नेपालको गन्तव्यका बारेमा प्रचार गराउने लक्ष्यसमेत बजेटमा राखिएको छ ।
अन्तर्राष्ट्रिय प्रवद्र्धनमा जोड देऊ ः निजी क्षेत्र
बोर्डले प्रस्तुत गरेको प्रारम्भिक छलफल कार्यक्रममा बोल्दै निजी क्षेत्रका प्रतिनिधिहरूले बोर्डले अन्तर्राष्ट्रिय प्रवद्र्धनका कार्यक्रमलाई जोड दिन माग गरेका छन् । कार्यक्रमा बोल्दै ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष रमेश धमलाले भने, “बजेटमा अन्तर्राष्ट्रिय प्रवद्र्धनलाई जोड दिने कार्यक्रम आउनुपर्छ ।” टिम्सको रकमबारे बाहिर नराम्रो अफवाह फैलाइएको बताउँदै बोर्डले टिम्समार्फत उठ्ने रकम र खर्च विवरण तत्काल सार्वजनिक गर्दिनुपर्ने माग धमलाले राखे ।
। एसिया प्यासिफिक (पाटा) का नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले बोर्डले हिमालयन मार्टमा बोर्डले गर्दै आएको राष्ट्रिय पर्यटन मेलालाई समेत गाभ्न सुझाव दिए ।
No comments:
Post a Comment