आर्थिक क्षेत्रका विशेष गतिविधी

Sunday, November 23, 2014

मोदी भ्रमणले धार्मिक पर्यटनमा उल्लास

मोदी भ्रमणले धार्मिक पर्यटनमा उल्लास
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संसारका जुनसुकै मुलुकमा गए पनि त्यस क्षेत्रको चर्चा विश्वमै हुन्छ, अझ भारतमा त यसको ग्राफ चुलिन्छ । भारतमा उनका करोडौं ‘फलोअर’ छन् ।क्रिकेटर र बलिउड कलाकारको नक्कल गर्ने करोडौं भारतीय अहिले मोदीका ‘फलोअर’ छन् । साउनमा मोदीले नेपाल नेपाल भ्रमण गरेर फर्किएपछि उनका भारतीय समर्थकको नेपाल आगमन ह्वात्तै बढेको छ ।
मोदी भ्रमणको प्रभाव सबैभन्दा धेरै धार्मिक पर्यटनमा परेको छ । उनले दर्शन गरेपछि पशुपतिनाथ आउने भारतीय पर्यटक दोब्बर वृद्धि भएको पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव गोविन्द टन्डन बताउँछन् । उनका अनुसार भदौयता दैनिक १२ हजारभन्दा बढी भारतीयले पशुपति दर्शन गर्न थालेका  छन् । यसअघि दैनिक ७ हजार हाराहारीमा मात्र भारतीय पर्यटक पशुपति पुग्ने गरेका थिए । मोदीले पशुपतिको दर्शन गरेर फर्किएपछि त भारतीयहरू मोदीले जसरी नै विशेष पूजा गरी दर्शन गर्न चाहेको टन्डनले जानकारी दिए ।
पर्यटन व्यवसायीले पशुपति आउने मात्र नभई समग्र नेपालको भ्रमणमा आउने भारतीय पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको जानकारी दिएका छन् । नेपाल भ्रमणमा हवाई र स्थलमार्गबाट आउनेमध्ये अहिले पनि भारतीयकै हिस्सा बढी छ । अध्यागमन विभाग र पर्यटन बोर्डले तथ्यांक राख्न नसक्दा पर्यटकको संख्या यकिन नभए पनि मोदीको भ्रमणले भारतीय पर्यटक संख्यामा धेरै सुधार आएको यो क्षेत्रसँग सम्बद्ध ट्राभल एजेन्सी तथा होटलहरूले बताएका छन् ।
पशुपति क्षेत्रमा भारतीय पर्यटकको आगमनदर बढेसँगै त्यस क्षेत्रका होटलको ‘अकुपेन्सी’ बढेको छ भने  नयाँ–नयाँ होटल थपिने क्रम पनि सुरु भएको छ । भदौयता मात्रै आधा दर्जनभन्दा बढी होटल निर्माण सुरु भएको छ । पछिल्लो समय बत्तीसपुतलीमा भारतीय चेन होटल लड्र्स मिरेज इन समेत खुलेको छ । भारतमा उसका २६ वटा चेन होटल सञ्चालनमा छन् । “मोदी आएर गएपछि धेरै भारतीय पर्यटक ओइरिएका छन्, ट्राभल एजेन्सीहरूले समेत धेरै बुकिङ आएको जानकारी गराएका छन्,” लर्डस् मिरेजका बजार प्रबन्धक विजेन्द्रभक्त भाजूले भने ।
भारतीय सञ्चारमाध्यमले मोदी आउँदा पशुपति क्षेत्रको समाचार धेरै कभरेज दिएकाले भारतीयहरू पशुपति दर्शनमा उल्लेख्ख रूपमा आउन थालेको टन्डनले बताए । “अहिले त धेरैजसो भारतीयहरू मोदी कुन बाटो गएर कसरी पशुपतिको दर्शन गरेका थिए, त्यसरी नै दर्शन गर्न आउनेको भीड छ,” उनले भने, “बढीजसो भारतीयहरू शिवरात्रिका बेला धेरै आउने गरे पनि मोदी भ्रमणपछि प्रवृत्ति फेरिएको छ । यस्तो भीड मैले यसअघि कहिल्यै देखेको थिइनँ ।”
केही साताअघि भारतीय यातायातमन्त्री नितिन गडकरी आउँदा पनि धेरै भारतीय आएको र त्यतिबेला पनि पशुपति दर्शन गर्नेले मोदीको नक्कल गरेको उनले सुनाए ।
होटल एसोसिएसन नेपाल (हान)का महासचिव विनायक शाहको अनुभव पनि यस्तै छ । “महाराष्ट्रबाट नेपाल आउनेको संख्या त झनै ठूलो छ, यसले नेपालको पर्यटनमा सकारात्मक सन्देश दिएको छ,” तीनतारे एयरपोर्ट होटलका प्रबन्ध निर्देशकसमेत रहेको शाहले भने, “भारतीयमध्ये पनि जेष्ठ नागरिक धेरै छन् ।”
मोदी आउँदा बसेको होटल ह्यात रिजेन्सीमा समेत धेरै भारतीय पर्यटक आइरहेको होटलका जनसम्पर्क कार्यकारी अनलकुमार प्रधानले जानकारी दिए ।
“नेपाल र नेपालीमाथि भारतीयको दृष्टिकोण खासै राम्रो थिएन तर मोदीको भ्रमणपछि सोचाइ फेरिएको छ,” नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा)का अध्यक्ष डीबी लिम्बू भन्छन्, “अहिले उनीहरू नेपाल भ्रमणमा चासो दिन थालेका छन् ।”

‘अबको भ्रमण नयाँ आयाम’
भारतीय प्रधानमन्त्री र सार्क नेताहरूले भ्रमण तय गरेका स्थानहरू जनकपुर, लुम्बिनी र मुस्ताङ भ्रमणपछि नेपालको पर्यटनले छलाङ मार्ने पर्यटन व्यवसायीको आशा छ । मोदीले गर्न लागेका तीनै स्थानको भ्रमणले भारतीय पर्यटक आगमनदरलाई अझै बढाउने विश्वास उनीहरूको छ । मोदीले मंगलबार नै हेलिकप्टरमार्फत तीनै क्षेत्रको भ्रमण गर्दैछन ।
“मोदीले यी क्षेत्रको भ्रमण गरे नेपालको पर्यटनमा सकारात्मक प्रभाव पार्ने निश्चित छ,” हान महासचिव शाह भन्छन्, “मोदीसँगै तीनै क्षेत्रको प्रचार विश्वभर हुनेछ, त्यसले गर्दा सबैलाई कौतुहलता जगाउनेछ । भारतीयमात्र नभई अन्य देशका नागरिकसमेत ती क्षेत्र जानेछन् ।” श्रीलंकाली राष्ट्रपति महिन्दा राजपाक्षे पनि लुम्बिनी जाँदैछन् ।
मोदी भ्रमणले नेपाली धार्मिक क्षेत्रको प्रचार सित्तैमा भएको र यसले पर्यटनमा उल्लेख्य टेवा दिने नाट्टा अध्यक्ष लिम्बूको भनाइ छ । “यसले लामो समयसम्म पनि भारतीयहरूमा प्रभाव पारिरहनेछ,” उनले भने ।
सन् २०१३ मा मात्रै १ लाख ८० हजार ९७४ भारतीयले नेपाल भ्रमण गरेका छन् । सन् २०१२ मा १ लाख ६५ हजार ८ सय १५ र २०११ मा १ लाख ४९ हजार ५ सय ४ भारतीय नेपाल आएका थिए । भारतीयहरू चिनियाँभन्दा बढी खर्चालु हुन्छन् ।

No comments:

Post a Comment