– अझै हट्ने संकेत छैन
– पर्यटकलाई महँगो
– पर्यटकलाई महँगो
केदार दाहाल
काठमाडौं, २१ मंसिर : युरोपेली युनियन
(ईयू)ले नेपाली हवाई आकाशलाई कालोसूचीमा राखेको २ वर्ष पूरा हुँदा पनि अझै
हट्ने संकेत देखिएको छैन । कालोसूचीले नेपालको उड्डयन क्षेत्र एकातिर
अन्तर्राष्ट्रिय जगत्मा बदनाम भएको छ भने यसकै कारण नेपालको पर्यटन
क्षेत्रले प्रत्यक्ष मार खेप्दै आएको छ ।
कालोसूचीमा परेयता पुनर्बिमा कम्पनीहरूले
पर्यटकको बिमाशुल्क बढाएका छन्, जसका कारण नेपाल भ्रमण महँगो बनेको छ ।
ईयूले सन् २०१३ डिसेम्बर ५ (२०७० मंसिर २०)देखि नेपाली हवाई आकाशलाई
कालोसूचीमा राख्दै आएको छ । नेपालका सबै वायुसेवा कम्पनीलाई ईयूअन्तर्गतका
मुलुकमा उडान गर्न निषेध गर्दै उसले ईयू हवाई सुरक्षा सूची सार्वजनिक गरेको
थियो । उसले युरोपेली नागरिकलाई नेपालमा दर्ता भएका जहाजमा यात्रा नगर्न
समेत आग्रह गरेको थियो ।
नेपाल सरकारले नीतिगत रूपमा अगाडि
बढाउनुपर्ने सामान्य विषयमा समेत ध्यान नदिँदा नेपाल कालोसूचीबाट हट्न
नसकेको हो । सोमबार (डिसेम्बर ७) विश्वभर अन्तर्राष्ट्रिय नागरिक उड्डयन
संगठन (आईकाओ) दिवस मनाइँदैछ । नेपालमा पनि हरेक वर्ष यो दिवस मनाइन्छ ।
नागरिक उड्डयन प्राधिकरणले सुधारका विभिन्न काम गरिरहे पनि अझै कालोसूचीबाट
हट्न नसकेको प्राधिकरण उपमहानिर्देशक राजनराज पोखरेल बताउँछन् ।
नेपालको हवाई क्षेत्रबारे आईकाओले पहिलो
पटक सन् १९९९ मा प्रारम्भिक अडिट गरेको थियो । उसले २००१ मा पहिलो पटक
औपचारिक रूपमा अडिट गरेको थियो । त्यतिबेला पनि उसले हवाई सुरक्षाको कुरा
उठाएको थियो । त्यसपछि सन् २००४ र २००८ पनि अडिट गरिएको थियो ।
ईयूले एयर अपरेटर सर्टिफिकेट (एओसी)
दिँदाको स्टाटस, दुर्घटनाको जाँचबुझ प्रतिवेदन, सेप्टेम्बर २०१२ र
सेप्टेम्बर २०१३ को बीचमा ३ वटा दुर्घटनालगायत विषय उठाउँदै ईयूले नेपाली
हवाई आकाशलाई कालोसूचीमा राख्दै आएको छ । यसका कारण संयुक्त राष्ट्रसंघको
कार्यक्रममा गएको श्री एयरलाइन्सका २ हेलिकप्टर अफ्रिकी मुलुकबाट नेपाल
ल्याउन नसक्दा कम्पनीले करौडौं रकम क्षति बेहोर्नु परेको छ । कालोसूचीमा
राखेयता ईयूको टोलीले वायुसेवाप्रदायक ६ वटा एयरलाइन्स कम्पनीको समेत अडिट
गरिसकेको छ ।
“आईकाओको मुख्य चासो प्राधिकरणले जारी
गर्ने एयरक्राफ्ट सर्टिफिकेटमा थियो, त्यो हामीले सुधार गरिसकेका छौं,”
उपमहानिर्देशक पोखरलेले भने । कालोसूचीमा पर्नुअघिको आईकाओको पुरानै
नियमअनुसार प्राधिकरणले सर्टिफिकेट जारी गर्दै आएको थियो ।
गत अक्टोबरमा आएको ईयूको प्राविधिक सहयोग
मिसनले नेपालको अवस्था सुधारिएको प्रतिवेदन बुझाइसकेकाले अब आउने टोलीले
ठोस निर्णय लिने पोखरेल बताउँछन् । आईकाओको टोली आगामी मार्चमा अडिटका लागि
आउँदैछ । आईकाओको एसिया प्यासिफिक कार्यालयकै आग्रहमा टोली नेपाल आउने
भएकाले केही समयमा नेपाल कालोसूचीबाट हट्न सक्ने दाबी उनको छ ।
अहिले नेपालले आईकाओको नयाँ नियमअनुसार
उडान अनुमति, एओसी, एयरक्राफ्ट सर्टिफिकेटलगायतका विषयमा काम गरिरहेको छ ।
अहिले दुर्घटनादरमा समेत धेरै सुधार आएको पोखरेलले बताए । “हामीले आईकाओको
एसिया प्यासिफिक कार्यालयले भनेअनुसार काम गर्दै आएका छौं,” उनले भने ।
नेपालमा वायुसेवा कम्पनी र प्राधिकरणले
उड्डयन सुरक्षामा अपेक्षाअनुसार सफलता प्राप्त नगरेको भन्दै आईकाओले आफ्ना
विशेषज्ञ राखेर निगरानी तथा अध्ययन गर्दै आएको छ । नेपालका तर्फबाट
प्राधिकरणले ५ विषयलाई केन्द्रमा राखेर युरोपेली आयोगलाई कागजात पठाउँदै
आएको छ । आईकाओको युनिभर्सल सेफ्टी अडिट प्रोग्राम (यूएसएपी–२००९) र आईकाओ
भ्यालिडेटेड कोअर्डिनेसन मिसन (आईसीभीएम) अनुसार भएका सुधार, एओसीको
पुनवैधानिकीकरण, एओसीको अवस्था तथा जहाज दुर्घटना छानबिन आयोगका सुझाव र
तिनको कार्यान्वयन अवस्था समेटेर कागजात पठाइएको पोखरेलले बताए ।
तर, युरोपेली आयोगले भने कालोसूचीमा पर्ने
वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उड्डयन सुरक्षा मापदण्डको सम्मान
नगरेको, प्राधिकरणले अपेक्षाअनुसार सुरक्षा नियम पालना गराउन नसकेको
बताउँदै आएको छ ।
No comments:
Post a Comment