आर्थिक क्षेत्रका विशेष गतिविधी

Friday, December 18, 2015

पर्यटन : आक्रामक मार्केटिङको खाँचो

केदार दाहाल
गत वैशाख १२ गते गएको विनाशकारी भूकम्प र हालैको नाकाबन्दीका कारण नेपालको पर्यटनक्षेत्र यतिबेला अत्यन्त जटिल मोडमा उभिएको छ । असोज पहिलो सातादेखि जारी भारतीय नाकाबन्दीले यतिबेला होटलहरूले नेपाल आउने पर्यटकलाई खाना खुवाउनसमेत नसक्ने अवस्थामा पुगेका छन्, जसका कारण यो वर्ष पर्यटक आगमनदरमा गत वर्षभन्दा ६० प्रतिशतले गिरावट आउने सरकारले नै प्रक्षेपण गरिसकेको छ ।
नेपाललाई यतिबेला पर्यटनक्षेत्रलाई पुरानो अवस्थामा पु-याउनुका साथै सन् २०२० मा २० लाख पर्यटक भि-याउने लक्ष्य प्राप्तिको अभियानसमेत सम्पन्न गर्नुपर्ने प्रमुख चुनौती थपिएको छ । नेपालमा पर्यटन विकासमा अनेक मुद्दा उठाइने गरे पनि कार्यान्वयन तहमा फितलो देखिनु नै सबैभन्दा बढी समस्याका रूपमा रहँदै आएको छ । पर्यटनले नेपालमा प्रवेश पाएको ११४ वर्ष पूरा भइसकेको छ । नेपालभन्दा पछि पर्यटनले प्रवेश पाएका मुलुकहरूमा बर्सेनि ५० औं लाख विदेशी नागरिक भिœयाएर अर्बौं डलर आम्दानी गरिरहेका छन् भने लाखौंको संख्यामा रोजगारीको अवसर सिर्जना गरिरहेका छन् । नेपालमा भने गत वर्ष ८ लाख हाराहारीमा पर्यटक भिœयाउन सकिएको छ ।
नेपालमा पर्यटक भित्रिन नसक्नुको प्रमुख कारण नक्कली राष्ट्रवादले समेत असर पारेको बताउँछन् नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी (सीईओ) प्रचण्डमान श्रेष्ठ । भन्छन्, “हामीले यो वा त्यो नाउँमा नेपाल वायुसेवालाई पनि माथि उठ्न दिएका छैनौं भने नीतिगत रूपमा समेत सुधार गर्न सकेका छैनौ ।”
नेपालमा जतिसक्दो छिटो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र निगमको व्यवस्थापनलाई चुस्त बनाएर अगाडि नबढाएसम्म नेपालले अपेक्षा गरेको पर्यटक आगमनदरको लक्ष्य भेटाउन कठिन रहेको तर्क श्रेष्ठको छ । निगमको व्यवस्थापनमा विदेशी साझेदार भिœयाउनेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि विदेशी कल्सल्ट्यान्ट ल्याऊँ भन्दा सधैं राष्ट्रवादको नारा लाग्ने गर्छ । विश्वका जुनसुकै एयरलाइन्स तथा विमानस्थलहरूमा कन्सल्ट्यान्ट र साझेदार हुनुलाई स्वाभाविक मानिन्छ ।
०४६ पछि खुला अर्थनीतिका कारण नेपाली र विदेशीलाई पनि लगानीका ढोका खुले, जसका कारण घुम्ने गन्तव्य पनि लगानीकर्ता आफैंले बजारीकरण गर्न थाले र पर्यटक आगमन पनि ह्वात्तै बढ्यो । सन् १९९४ देखि नेपालमा ठूला चेनहरू पनि भित्रिए, जसमा होटल ¥याडिसन, हायातलगायत थिए । यसले नेपाल राम्रो छ भन्ने प्रभाव विश्वभर प¥यो । त्यसभन्दा अगाडि एउटा सोल्टीमात्र पाँचतारे होटल थियो ।
नेपालमा त्यस्ता चेन होटलले गर्दा पुँजीगत लगानीभन्दा पनि बजारीकरण छिटो हुन पुग्यो । ०४६ अगाडि सरकारले पनि पर्यटन उद्योगमा लगानी गर्नुपर्छ भन्ने मान्यता थियो तर पछि भने नीति स्पष्ट भएर आयो । नीतिमा के उल्लेख गरियो भने सरकारले पर्यटनका लागि आवश्यक पूर्वाधारहरू— जस्तै ः बाटो, बिजुली, पानीलगायत विकास गर्ने र निजी क्षेत्रले लगानी गर्ने तथा पर्यटक भिœयाउने भनेर छुट्ट्याइयो । यसले गर्दा निजी क्षेत्रको ठूलो लगानी पर्यटनमा आउने क्रम सुरु भयो । सरकारको यस्तो नीतिले ठूला होटल भने उल्लेख्य आउन सकेनन्, किनभने ठूला पाँचतारे होटलमा लगानी गर्ने क्षमता नेपालीसँग भएन । तर, एकतारे, दुईतारे होटल भने सयौंको संख्यामा खुले ।
०४६ पछि विदेशी मुद्रा आर्जनको पनि ठाउँ र महŒव फेरिएको छ । पहिले अमेरिका र युरोपका मात्र विदेशी मुद्राका रूपमा लिइन्थ्यो तर हाल जापानी, भारतीय, चिनियाँ मुद्रा पनि सोही हाराहारीमा आएको छ । ०४६ पछिको सबैभन्दा उपलब्धि भनेको पहिले युरोपतिरबाट ६० प्रतिशत तथा थाइल्यान्ड, भारतलगायत मुलुकबाट १० देखि १५ प्रतिशत पर्यटक आउँथे । चीनबाट त आउँदै आउँदैनथे । हाल आएर नेपालमा चिनियाँ र भारतीय पर्यटकमात्रै ५० प्रतिशतभन्दा धेरै आउन थालेका छन्, यो महŒवपूर्ण उपलब्धि हो । नेपाल सधैं वस्तुगत व्यपारघाटा हुने मुलुक भएकाले त्यसलाई सम्बोधन गर्न र सहज रोजगारीको अवसर सिर्जना गर्नका लागि पर्यटन क्षेत्रको विकासबिना असम्भव भइसकेको छ । यो कुरा नेपाल सरकार र निजी क्षेत्रले बुझ्नु जरुरी छ ।
ठूला विमानस्थलपछि ५० लाख पर्यटक
नेपालमा विमानस्थल निर्माण प्रक्रिया अगाडि बढेमा स्वदेशी र विदेशी लगानीकर्ताहरूका लागि अन्तर्राष्ट्रिय एयरलाइन्समा लगानी गर्ने उपयुक्त अवसर आउँदैछ । विश्वका ठूला एयरलाइन्सले सीधा हवाई उडान नगर्दा पर्यटनले अपेक्षित सफलता पाउन नसकेका बेला विमानस्थल निर्माणमा सबैको ध्यान केन्द्रित हुन थाल्नुले उक्त अवसर सिर्जना हँुदैछ । नेपालमा हाल चीनबाट क्षेत्रीय एयरलाइन्स आइरहेको भए पनि बेइजिङबाट हालसम्म पनि ‘एयर कनेक्सन’ हुन सकेको छैन । नेपालमा युरोपबाट हाल कुनै पनि एयरलाइन्सले उडान नेपाल गरेका छैनन् । नेपालमा ठूला मुलुकका ठूला सहरसँगै सीधा एयरलाइन्स ‘कनेक्सन’ नभएसम्म संख्यात्मक रूपमा पर्यटक बढाउन असम्भव रहेको निष्कर्ष स्वयं पर्यटन व्यवसायीको छ ।
भैरहवामा निर्माण हुन लागेको गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ निर्माण पूरा भए वार्षिक ५० लाख पर्यटक नेपाल भित्रिने सर्वेक्षणहरू सार्वजनिक भइसकेका छन् ।
नेपालमा हाल २७ वटा एयलाइन्स कम्पनीले उडान भरिरहेका छन्, जुन क्षेत्रीय रूपमा मात्र हो । नेपालमा क्षेत्रीय एयरलाइन्सभन्दा बढी वाइड बडी जहाजमार्फत ठूला सहरमा नेपाललाई सिधै जोड्नुपर्ने आवश्यकता छ, जसबाट मात्र नेपालमा लाखौं पर्यटक भिœयाउन सकिने तर्क सरोकारवालाहरूको छ ।
नेपालमा ठूला सहरबाट ठूला एयरलाइन्सहरूले उडान गर्नका लागि त्रिभुवन विमानस्थलको पूर्ण सुधार वा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नभएसम्म सम्भव नरहेको स्पष्ट छ ।
कुनै पनि देशको विकासका लागि उक्त मुलुकको सञ्जाल विश्वसँग जोडिनुपर्छ । अन्तर्राष्ट्रिय जगत्मा कुनै पनि देशको उपस्थितिको माध्यम भनेको हवाई सञ्जाल एकमात्र विकल्प हो । त्यसका लागि सुविधासम्पन्न र सुरक्षित विमानस्थल निर्माण हुन आवश्यक छ ।
कुनै पनि देशमा विदेशी लगानीकर्ता आकर्षित गर्नका लागि उक्त देशको हवाई सञ्जालका साथै त्यसको अवस्था नै पहिलो प्राथमिकतामा पर्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले क्षमताभन्दा बढी यात्रुलाई उडान तथा अवतरण सेवा दिन बाध्य छ । धावनमार्गमा क्षमताभन्दा बढी तौलका जहाज अवतरण गराउन बाध्यात्मक अवस्था छ, जसको मुख्य कारण वैकल्पिक विमानस्थल नहुनु हो । तर, अझै पनि सरकारले अन्तर्राष्ट्रिय उडान भर्न सक्ने विमानस्थल निर्माण प्रक्रिया भने ठोस ढंगले अगाडि बढाउन सकेको छैन ।
लगानीभन्दा मार्केटिङ महŒवपूर्ण
नेपाल कस्तो मुलुक र धरातल भएको भन्ने सबैलाई थाहा भएकाले राज्यले सबै कुरा गर्न सक्दैन भने नेपालको निजी क्षेत्रले पनि ठूला लगानी गर्न सक्ने अवस्था छैन । नेपाल सरकार र निजी क्षेत्रले पहिले नेपालका कुन–कुन क्षेत्रमा कस्तो लगानी गर्दा पर्यटक भिœयाउन सकिन्छ भन्ने पहिचान हुनुपर्छ; जसमा हिमाल, पहाड र तराई सबै भूभागको पहिचान गरी पर्यटन जोनको घोषणा गर्नुपर्छ । जहाँ बाटो, पानी, बिजुली छैन त्यस्ता ठाउँहरूको पहिचान गरेपछि अन्तर्राष्ट्रिय लगानीकर्ताहरूलाई २०–३० वर्षका लागि भाडामा दिनुपर्ने तर्क श्रेष्ठको छ । त्यसबापत राज्यले निश्चित रकम लिनुपर्छ । अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले सबै कुरा गरेर बजारको पनि विस्तार गरी ठूलो संख्यामा पर्यटक भिœयाउने काम गर्छन् ।
“हामीसँग उदारण पनि छ, यसअघि सन् १९६५ मा सौराहा, चितवनमा टाइगर टप्सलाई दिएपछि ब्रान्डिङ भयो,” श्रेष्ठले भने, “त्यसपछि नेपालका निजी क्षेत्रले पनि सौराहवरिपरि लगानी गर्न थालेका हुन् । सौराहा आज विश्वभर प्रचार भएर तेस्रो पर्यटक गन्तव्य भएको छ । हामीले उक्त मोडलअनुसार अन्तर्राष्ट्रिय लगानीकर्तालाई लगानी गर्ने वातावरण बनाइदिनुपर्छ । यस्तै मोडलअनुसार माल्दिभ्सले पनि धेरै ठाउँको विकास गरी लाखौं पर्यटक भिœयाइरहेको छ । यो मोडल नेपालमा सफल हुने निश्चित छ । कुनै ठाउँ दिने भनेको देश बिक्री गर्न होइन, उनीहरूले छोडेर गएपछि त्यो हाम्रै हुने हो ।”
यो मोडल अहिले विश्वभर चल्तीमा छ । माल्दिभ्समा ग्लोबल टेन्डर गरेर टापुहरूलाई लिजमा दिने गरिएको छ । यो मुलुकमा अहिले बर्सेनि लाखौं पर्यटक घुम्न जान्छन् । नेपाल आफैंमा प्रकृतिको सौन्दर्यले भरिएको मुलुक हो, जहाँ पर्यटनको विकास गर्नका लागि कुनै भौतिक संरचना आवश्यक पर्दैन । तर, भएका स्रोत–साधनको सदुपयोग गर्न सकिएमात्र पनि एकाध वर्षमै नेपालले पर्यटनमा ठूलै फड्को मार्न सक्ने देखिन्छ ।
नेपालमा भने अझै पनि पर्यटनक्षेत्रमा ठूलो लगानी गर्न निजी लगानीकर्ताहरू डराइरहेको अवस्था छ । नेपालको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको अवस्था जर्जर हुनु, नेपालमा पर्यटनबारे गाउँस्तरसम्म प्रचार गर्न नसक्नु र भएगरेका गतिविधिबारे विदेशमा प्रचार गर्न नसक्नु नै नेपालमा विदेशी पर्यटक नभित्रिनुको मुख्य कारण हो । नेपालमा हालसम्म पनि औंलामा गन्न सकिने ठाउँको मात्र विकास गर्ने र अन्य स्थानलाई प्रवद्र्धन नगर्ने हो भने अझै धेरै समयसम्म पनि नेपालको पर्यटनले गति लिने अवस्था छैन । हाल नेपालमा अन्नपूर्ण पदमार्ग, पोखरा, एभरेस्ट राउन्ड र सौराहमात्र पर्यटकीय क्षेत्र हुन् भन्ने प्रभावले गर्दा अन्य क्षेत्रहरू छायामा परेको निश्चित हो । अब नेपाल सरकार, पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्था, लगानीकर्ता अहिलेको सोच र स्थितिबाट माथि उठे अब आउने केही वर्षमै नेपालमा लाखौं पर्यटक भित्रिन सक्छन्, जसले गर्दा ओरालो लागेको नेपालको अर्थतन्त्र माथि उकासिने कुरामा दुईमत छैन ।

No comments:

Post a Comment