- पर्यटक नआएपछि ऋणको किस्ता १ वर्ष थप्न माग
काठमाडौं, २१ असार – भूकम्पका कारण मार परेको भन्दै पर्यटन व्यवसायीले बैंकबाट लिएको ऋणको किस्ता तिर्ने समय १ वर्ष थप्न प्रस्ताव गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कृपाशुर शेर्पाको संयोजकत्वमा रहेको राष्ट्रिय पर्यटन प्रवद्र्धन समितिको बैठकले अर्थ मन्त्रालयलाई यस्तो आग्रह गर्ने निर्णय गरेको हो । यो समितिमा सरकार र निजी क्षेत्रको प्रतिनिधित्व छ ।
राष्ट्र बैंकको तथ्यांकहरूअनुसार चालू वर्षका १० महिनामा बैंकहरूले पर्यटनमा झन्डै ४० अर्ब रुपैयाँ लगानी गरेका छन् । वैशाखसम्म ट्रेकिङ, ट्राभल, ¥याफ्टिङलगायत क्षेत्रमा बैंकहरूको १० अर्ब ७० करोड ६६ लाख रुपैयाँ लगानी भएको छ । सबैभन्दा धेरै होटलतर्फ २८ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ लगानी रहेको तथ्यांक छ ।
यसैबीच समितिको बैठकले योगेन्द्र शाक्यको संयोजकत्वमा कार्यकारिणी समितिसमेत गठन गरेको छ । समितिलाई नेपालको पर्यटन क्षेत्रमा तत्काल र दीर्घकालीन योजना बनाएर काम गर्ने जिम्मेवारी दिइएको छ ।
“यतिबेला पर्यटन क्षेत्र शून्य छ, शून्यतामा ऋण तिर्न नसक्ने अवस्था आएकाले १ वर्ष किस्ता अवधि बढाउने प्रस्ताव गरिएको हो,” शाक्यले भने, “हामीले ऋण मिनाह गर भनेको होइन, खाली ३ महिनामा तिर्नुपर्ने किस्ता १ वर्ष अवधि सार्न आग्रह गरेका हौं ।” चालू वर्ष ४ देखि ५ लाखभन्दा बढी पर्यटक नआउने र आगामी वर्ष पनि ६ लाखभन्दा बढी नआउने प्रक्षेपण गरिएकाले व्यवसायीले केही सहुलियत खोजेको शाक्यले बताए ।
सरकारले पनि १० वर्षे रणनीतिक योजनामा सन् २०२० भित्र निजी क्षेत्रबाट २० वटा पाँचतारे होटल खोल्ने लक्ष्य राखेको छ । नेपालमा हाल १० वटामात्र पाँचतारे होटल छन् । घोषणा गरिएअनुसार व्यापारिक समूहका होटल निर्माण भए आगामी ५ वर्षभित्र पाँचतारे होटलको संख्या २२ भन्दा बढी हुनेछ, जुन लक्ष्यभन्दा बढी हो । “अहिले पूर्वाधार निर्माणमा होडबाजी चलेका बेला भूकम्पले पर्यटक आगमन नै ठप्प भएपछि व्यवसायी मारमा परेका छन्,” शाक्यले भने ।
नेपाल भम्रण वर्ष १९९८ मै होटलले १० लाख पर्यटक धान्न सक्ने पूर्वाधार तयार गरेका थिए । सन् २००३÷०४ मा केही चारतारे होटल बन्द भएपछि समस्या आए पनि अहिले १२ देखि १५ लाख पर्यटक धान्न सक्ने पूर्वाधार छन् । नेपालमा अहिले १० वटा पाँचतारे, २ वटा चारतारे, २२ वटा तीनतारेसहित दुईतारे, एकतारे, रिसोर्ट, पर्यटकस्तरका र ताराविहीन गरी १२ सय होटल सञ्चालनमा छन् । यी होटलमा करिब ४० हजार बेड छन । “पूर्वाधार बढ्दै जाने पर्यटक घट्दै जाँदा समस्या आउने देखिएको छ,” शाक्यले भने ।
मन्त्रालयका अनुसार भूकम्पका कारण पर्यटन क्षेत्रको भौतिक क्षति मात्र १८ अर्ब ८६ करोड रुपैयाँ छ भने पर्यटन क्षेत्रको पुनर्निर्माणका लागि मात्र ४१ अर्ब रुपैयाँ लाग्ने प्रवक्ता सापकोटाले बताए । भूकम्पका कारण सम्पदा ७४१ वटामा क्षति पुगेको छ भने १५ सय गुम्बामा क्षति पुगेको छ । त्यस्तै, ३५० किलोमिटर पदमार्गमा क्षति पुगेको छ । पर्यटक स्तरका होटलमा १५ प्रतिशत क्षति भएको छ । विशेषगरी लाङटाङ, खुम्बु, तथा मनास्लु क्षेत्रका पदमार्गमा क्षति पुगेको छ ।
सरकारले संकटग्रस्त क्षेत्र घोषणा गर्दा पर्यटक प्याकेज महँगो बन्न गएको भन्दै सरकारमार्फत नै अन्तर्राष्ट्रिय समुदायलाई विश्वस्त पार्ने निर्णय भएको छ । भूकम्पले क्षति पु¥याएका अग्ला भवन भत्काउन सरकारले ३ जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) लाई संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । “हामीले परराष्ट्र मन्त्रालयमार्फत स्पष्ट पार्न आग्रह गरेका छौं,” शाक्यले भने ।
No comments:
Post a Comment