आर्थिक क्षेत्रका विशेष गतिविधी

Tuesday, November 3, 2015

नयाँ पर्यटकीय गन्तव्य : बडिमालिका


केदार दाहाल
नयाँ पर्यटकीय गन्तव्य : बडिमालिकाप्रकृतिसँग नरमाउने मानिस सायदै कम हुन्छन् । त्यसमध्ये हिमाल र बादलभन्दा पनि माथि आफूलाई पाएपछि नरमाउने कुरै भएन । बाजुराको कैलाशमान्डु गाविसमा रहेको बडिमालिका वास्तवमै अनुमप र सुन्दर स्थल  हो ।
ठाडो पहाडको बाटो हरेक समय परिरहने सिमसिम पानीमा भिज्दै बडिमालिका क्षेत्रमा पुग्दा पृथ्वीलाई छोडेर सौर्यमण्डलको छुट्टै ग्रहमा पुगेको भान गराउँछ । बडिमालिका क्षेत्र प्रकृतिको हिसाबले धनी हँुदा–हँुदा पनि मानव निर्मित भौतिक सुविधाले पछिपर्दा भने केही खिन्नता महसुस हुन्छ । समुद्री सतहबाट झन्डै ४ हजार ३०० मिटर उचाइमा रहेको बडिमालिका क्षेत्र सुदूरपश्चिमको मात्र सुन्दर क्षेत्र नरहेर नेपालका चर्चित क्षेत्रमध्ये एक हो । अन्य समयमा सुनसान रहने यस क्षेत्रमा जनैपूर्णिमाको अघिल्लो दिन सुदूरपश्चिमका ९ वटै जिल्लाबाट स्थानीयहरू झन्डै १० हजारको हाराहारीमा पूजा गर्नका लागि त्यस क्षेत्रमा जाने गर्छन् ।
प्राकृतिक छटाले भरिपूर्ण त्यस क्षेत्रको विकासका लागि हालसम्म कुनै पनि गतिविधि अगाडि नबढेको यस क्षेत्र पर्यटकीय सम्भावना बोकेको सुन्दर क्षेत्र हो । धार्मिक पर्यटनको विशेष सम्भावना रहेको यस क्षेत्रमा काठमाडौैंबाट त्यस क्षेत्रमा पुगेर काठमाडौंमा फर्कनका लागि ९ दिन समय लाग्छ । हवाईमार्ग, सडक मार्ग र ५ दिनको पैदलयात्राले बडिमालिका यात्रा सहज र रमाइलो बनाउँछ । पैदल यात्राको क्रममा पूरैक्षेत्र जंगल र पहाड मात्र भएकोले खाने–बस्ने व्यवस्था भएकाले टेन्टमा बास बस्नुपर्छ, जसका लागि सबै व्यवस्था समूहले आफैं गर्नुपर्छ ।

धार्मिक महत्व  
बडिमालिका मन्दिर हिन्दू धर्मावलम्बीका लागि धार्मिक आस्थाको केन्द्र बिन्दुका रूपमा छ । यहाँ हरेक वर्ष जनै पूर्णिमाको सु–अवसर पारेर मेला लाग्ने गर्छ । मेला अवधीमा सुदूर पश्चिमाञ्चलका सम्पूर्ण जिल्ला, कर्णाली अञ्चलका तथा अन्य जिल्लाहरू साथै भारतबाट पनि दर्शनार्र्थीको भीड लाग्ने गरेको छ । धार्मिक ग्रन्थ, स्वस्थानी व्रत कथाको आधारमा यस क्षेत्रमा (मन्दिर) दक्ष प्रजापतिको यज्ञमा सतीदेवीले आत्मदाह गरेपछि शिवजीले उनको मृत शरीर बोकेर विभिन्न स्थानमा घुम्ने क्रममा यहाँ पुगेर सतीदेवीको कुम पतन भई यस पर्वत (मलयागिरी पर्वत) मा देवी उत्पन्न भई बडिमालिका मन्दिर स्थापना भएको कथन छ । त्यसैले हिन्दू धर्मावलम्बीहरूले आफ्नो मनोकांक्षा पूर्ण होस् भन्ने उद्देश्यका साथ यस मन्दिरमा दर्शन गर्न आउने गरेका छन् ।
पर्यटकीय महत्व
बडिमालिका मन्दिरसँग आफनो छुट्टै धार्मिक महत्वको विषय भए पनि यस मन्दिर जान आउन गर्नुपर्नेबीच बाटोमा प्रशस्तै यस्ता स्थलहरू छन्, जसबाट प्रचुर मात्रामा आन्तरिक तथा बाह्य पर्यटकहरू भिœयाई आर्थिक उपार्जन गर्न सकिने सम्भावनाहरू छन् । बडिमालिका मन्दिर पुग्न बाजुरा सदरमुकाम मार्तडीदेखि जान आउन करिब ३,४ दिन लाग्छ । सदरमुकामबाहेक यस मन्दिर जान छोटो बाटोको रूपमा कैशाशमाण्डु गाविसको नाटेश्वरी मन्दिर भएर जान सकिन्छ । यी तिन ठाउँबाट जाँदा बाटामा थुप्रै मन्दिर, जडिबुटी, वनस्पति, वन्यजन्तु, पहाड, पर्वत, नदी, खोल्सा, झरना आदि जस्ता पर्यटकलाई आकर्षित गर्ने खालका र उनीहरूका मुख्य खोजीका विषयहरू त्यस क्षेत्रमा छन् ।
बडिमालिका क्षेत्र धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिबाट प्रचुर सम्भावना बोकेको क्षेत्र हो । एकैदिन १० हजारको संख्यामा पुग्ने तीर्थयात्रीहरूको उपस्थितिले यसलाई प्रमाणित गर्छ । प्रचार–प्रसारमा ल्याउन सके आन्तरिक तथा धार्मिक पर्यटन बढ्नेमा दुईमत छैन । यसका साथसाथै बडिमालिका क्षेत्रबाट प्याराग्लाइडिङको सम्भावना पनि प्रचुर छ । यसका लागि अध्ययन भए पनि व्यवहारमा भने लागू हुन सकेको छैन । भाद्र जनैपूर्णिमा बाहेकको अन्य समयमा पनि यस क्षेत्रमा पर्यटक लैजान सके सुदूरपश्चिममा खप्तड पछिको दोस्रो प्रसिद्ध पदयात्रा तथा पर्यटकीय स्थल बन्न सक्छ ।
काठमाडौं–बडिमालिका नवौं दिनको यात्रा 
पहिलो दिन   
काठमाडौंबाट ९ दिन समयमा पूरै घुमेर फर्किन सकिने यस क्षेत्रमा जानका लागि पदयात्राबाहेक अन्य विकल्प छैन । काठमाडौंबाट १ घन्टा २० मिनेटको हवाई यात्रापछि धनगढी विमानस्थल पुग्न सकिन्छ । त्यसपछि भने सोही दिन धनगढी बाट ५ घन्टाको सवारीको यात्रापछि डडेलधुरामा गएर पहिलो दिनको यात्रा सकिन्छ ।
दोस्रो दिन
डडेलधुराबाट डोटीको दीपायल, सिलगढी हँुदै अछामको साँफेबगरबाट अगाडि बाजुराको मौरिया ८ घन्टाको  बस यात्रापछि पुग्न सकिन्छ । मौरियाबाट पुन २ घन्टाको यात्रापछि लामागढा पुग्न सकिन्छ । केही छिनको पैदल यात्रापछि बाजुराको जडंगा पुगेपछि दोस्रो दिनको यात्रा समाप्त हुन्छ ।
तेस्रो दिन
समुद्री सतहबाट १ हजार १६७ मिटर उचाइमा रहेको जडंगाबाट ४ घन्टाको पैदल यात्रापछि कोर्दा भन्ने स्थानमा बिहानको खाना खाइन्छ । त्यसपछि लगातार ५ घन्टाको पैदलयात्रापछि  ९ घन्टाको पदैल यात्रापछि २ हजार ९९१ मिटर उचाइमा रहेको करली चौर भन्ने स्थानमा बास बस्नुपर्छ । पानीको सुविधाहरू रहेकाले त्यसक्षेत्रामा बस्न खासै समस्या हुँदैन ।
चौथो दिन   
चौथो दिनको यात्रा धेरै उचाइसम्म हुने भएकाले केही लेक लाग्ने समस्याले समेत सताउने भएकाले पानी जतिसक्दो धेरै पिउनुपर्छ । करलीचौरबाट बिहान ७ बजेदेखि हिँड्दा त्यो दिनको यात्रा बूढीगंगाको शिरभाग रक्तकुन्ड र दूधकुन्डको संगम त्रिवेणीसम्म पुग्नका लागि ९ घन्टाभन्दा बढी समय पैदलयात्राको क्रममा लाग्छ । करलीचौरबाट केही घन्टाको पैदल यात्रापछि  ३ हजार १३२ मिटर उचाइमा रहेको देउराली छौपाटनमा पुग्न सकिन्छ । छौपाटनबाट केही तल पारिपाटन हँुदै सोटा पाटन भन्ने स्थानमा बिहानको खाना खाइन्छ । जुन ३ हजार ४०३ मिटर उचाइमा पर्छ, जहाँ मानव निर्मित जस्तो देखिने फूलहरूले पूरै क्षेत्र ढकमक्क देखिन्छ । जहाँ प्रकृतिले आफैं निर्माण गरेको हो । त्यसमा केही समयको आरमपछि पदैल यात्रा सुरु हुन्छ । २ घन्टाको पदैल यात्रापछि ३ हजार ६३९ मिटर उचाइमाथि रहेको घोडापाटन क्षेत्र पुग्न सकिन्छ । घोडापाटनबाट केही घन्टाको पैदल यात्रपछि वीरबसौना हुँदैै ३ हजार ३६७ मिटर उचाइमा रहेको भित्ताछैना भन्ने स्थानमा पुग्न सकिन्छ । सयौंथरीका फूलहरूले मन लोभ्याउँदै झन अगाडि बढ्न प्रेरित गर्छ । त्यसको केही घन्टाको पैदलयात्रापछि समुद्री सतहदेखि ३ हजार ८७० मिटर उचाइमा रहेको कालीकोट र बाजुरा जिल्लालाई जोडेको त्रिवेणी पुग्न सकिन्छ । उक्त क्षेत्रलाई बूढीगंगा नदीको शिरभागको रूपमा रहेको त्रिवेणीमा दूधकुन्ड र रक्तकुन्ड नदी मिसिएको छ । बडिमालिका जान आउने हजारांै तीर्थयात्रुहरू पालटाँगेर त्यसै नदीको छेउछाउमा रात बिताउँछन् । काठमाडौंबाट हिँडेको चौथो दिनको रात त्यसै क्षेत्रमा बिताइन्छ ।
पाँचौं दिन
बडिमालिका पुगिने दिन भएकाले पाँचौं दिन विशेष खालको स्मरण राख्ने दृश्यहरू र कौतुहलताले बढी सताउँछ । बिहानैदेखि त्रिवेणीमा आफ्ना स्वर्गवास भएका बाबु र आमाको श्राद्ध गर्नेहरूको भीड नदीवरपर देखिन्थ्यो । केही भने पूजा गर्नमा बेस्त देखिन्थे नदीको बीचभागमा । तर, त्यो दृश्यले भन्दा त्यसको माथिल्लो भागहरूमा देखिने घाम र छायाले मन लोभ्याउँछ । केही छिनमै पूरै अन्धकार हुने गरी कुहिरोले ढाकिन्छन पहाडहरू भने केही छिनमै घाम लागेर खुल्दा कतै स्वर्गमा आइपुगेको भान हुन्छ त्रिवेणी वरपरको दृश्य ।  त्रिवेणी क्षेत्रमा रहेको अर्को अचम्म लाग्दो र आकर्षक दृश्यावलोकनको क्षेत्र हो खेतीबेती । यो क्षेत्रमा तराईका फाँटमा झै यति उचाइमा धानका गह्राहरूझै मिलाएर धान रोपिएको जस्तै दृश्य देख्न सकिन्छ । यहाँ लगाएको जस्तो देखिने धान जस्तै तर नफलेको देखिन्छ । यी गह्राहरूमा यो बाली दूरी मिलाएर डोरी हालेर लगाएको जस्तो गरी बोटहरू रोपिएका छन् । पौराणिक कथनअनुसार वर्षायाममा चराहरू बेसीतिर नहुनुको कारण त्यहाँ गएर खेतीबेतीमा खेती गर्छन् रे । बिहानको सुन्दर दृश्यको अवलोकनपश्चात् सुरु हुन्छ बडिमालिका मन्दिरको यात्रा । त्रिवेणीबाट लगातार ६ घन्टाको यात्रापछि बडिमालिका पुगिन्छ । त्रिवेणीबाट केही घन्टाको हिँडाइपछि लौरी विनायक पुग्न सकिन्छ । जहाँ भेडा र घोडा चरेका दृश्यहरू देख्न सकिन्छ । ६ घन्टाको पैदल यात्रापछि पाँचौं दिनको साँझ बडिमालिका मन्दिर परिसर पुगिन्छ । समुद्री सतहबाट ४ हजार २१४ मिटर उचाइमा रहेको बडिमालिका मन्दिर वरपर हजारांै तीर्थयात्रीहरू पालटाँगेर रात्री १२ बजे देखिलाग्ने पुजाको प्रतीक्षमा बसेका हुन्छन् । बेलुकीपख खास मौसम नखुल्ने भएकाले चिसोका कारण धेरै मानिसहरू पालमा बस्छन् ।
छैटौं दिन
छैटौं दिनको बिहान बडिमालिका मन्दिर परिसरबाट देखिने प्राकृतिक दृश्य शब्दहरूमा बयान हुन सक्दैनन् । पारिपाटी देखिने हिमालका दृश्य त्यसभन्दा तल बादल र बादलभन्दा माथि आफू रहेको दृश्य क्यामेरामा कैद गर्न तँछाड र मछाड गरेका हुन्छन् । विहान सूर्य उदाउँदाको दृश्य झनै मनमोहक देखिन्छ । रातको १२ बजेदेखि दिनको १२ बजेसम्म गरिने विशेष पूजामा १० हजारभन्दा बढीले दर्शन गर्छन् । पहाडको टाकुरामा रहेको मन्दिर परिसर मानिसहरूको भीडले कोलाहल भइरहे तापनि प्राकृतिक छाटाले आनन्द महसुस दिलाउँछ । केही घन्टाको बडिमालिकाको मनोरम दृश्यको अवलोकनपछि तल झर्नेक्रम सुरु हुन्छ । छैटांै दिनमा ४ हजार २१४ मिटर उचाइमा रहेको बडिमालिकाबाट बीचमा बस्ने स्थान नभएकाले २ हजार १०१ मिटर तल नाट्टेश्वरीमा आएर बास बस्नुपर्ने हुन्छ । बडिमालिकाबाट ३ हजार ६५६ मिटर उचाइमा रहेको विष्णुपानी, चानकिली हुँदै ३ हजार ३७७ मिटर उचाइमा झरेपछि धर्मघर आइपुगिन्छ । त्यस्तैगरी ३ हजार १७ मिटर उचाइमा रहेको ठूलागढा हँुदै २ हजार ६६१ मिटर उचाइमा रहेको मोतीबनी हुँदै २ हजार १९५ मिटर उचाइमा रहेको लामागढा पुगिन्छ । त्यसको १ घन्टाको पदयात्रापछि २ हजार १०१ मिटर उचाइमा रहेको नाट्टेश्वरी पुगिन्छ । बडिमालिकाबाट १० घन्टाको लगातार पदयात्रपछि नाट्टेश्वरीमा बास बसिन्छ । बडिमालिका पुगेका सबै तीर्थयात्रीहरू नाट्टेश्वरीमा आइपुगेपछि पालटाँगेर रातभर देऊडा गीत गाएर रमाइलो गरी बस्छन् ।
सातौं दिन
सातौं दिन जनैपूणर््िामा दिन पर्ने भएकाले नाट्टेश्वरीमा मन्दिरमा ठूलो मेला लाग्ने गर्छ । त्यहाँ जिल्ला प्रशासन कार्यालयले समेत बोकाको बली चढाउने प्रचलन छ । जनैपूर्णिमा दिन सबै तीर्थयात्रीहरूले पूजा गरेपछि आफ्नो गन्तव्यमा लाग्छन् । नाट्टेश्वरीबाट झन्डै ४ घन्टाको पैदलयात्रापछि १ हजार ८ मिटर उचाइमा रहेको मौरियामा आइपुगिन्छ । त्यसपछि बिहानको खाना खाएर बसको यात्रा सुरु हुन्छ । मौरियाबाट अछाम हँुदै ८ घन्टाको यात्रापछि डोटीको सदरमुकामा सिलगढी आइपुगिन्छ । त्यहाँ नै सातांै दिनको यात्रा समाप्त हुन्छ ।
आठौं दिन  
डोटीको सिलगढीबाट आठौं दिनको यात्रा सुरु हुन्छ । सिलगढीबाट डडेलधुरा हुँदै ८ घन्टाको बसको यात्रापछि धनगढी पुगिन्छ । धनगाढीमा आठांै दिनको यात्रा सकिन्छ ।
नवौं दिन    
नवौं दिन भने धनगढीमा रहेको धनगढी विमानस्थलबाट १ घन्टा २० मिनेटको हवाईयात्रापछि काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि बडिमालिका यात्रा समाप्त हुन्छ ।
एक जनाका लागि न्यूनतम खर्च (रुपैयाँमा)
काठमाडौं–धनगढी बसभाडा तथा खाना– २,०००।–
धनगढीदेखि जडांगा बसभाडा तथा खाना–२,०००।–
मौरयादेखि धनगढी बसभाडा–२,०००।–
धनगढीदेखि काठमाडौं बसभाडा तथा खाना–२,०००।–
होटेल तथा खाना खर्च–१०,०००।–
जम्माः १८,००० ।–
काठमाडौं धनगढी जहाजबाट थप–१०,००० ।–
जम्मा २८,०००।–
नोट–पदयात्राका क्रममा ३ दिन कुनै होटेल तथा आवासको सुविधा नभएकाले खाना तथा टेन्ट, स्लिपिङ ब्याग आफैंले प्रबन्ध गर्नुपर्ने हुन्छ

1 comment:

  1. Thankyou Kedar sir for your effort to promote Badimalika

    ReplyDelete