एक दर्जनले संस्थाले दिए आवेदन
काठमाडौं, १७ कात्तिक – प्याराग्लाइडिङका लागि नेपाल आकर्षक गन्तव्य बन्दै गइरहेका बेला अब पाइलटलाई प्रशिक्षण दिन पनि नेपालमै स्कुल खुल्ने भएका छन् । नेपालमा प्रशिक्षण स्कुल नहँुदा विदेशबाटै पाइलटहरू ल्याउनुपर्ने बाध्यता केही वर्षपछि समाप्त हुने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा यस्तो संस्था खोल्न पछिल्लो समय १ दर्जन संस्थाल आवेदन दिएका छन् । धेरैजसो आवेदन पोखरामा सञ्चालित प्याराग्याइडिङ कम्पनी रहेको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले बताए । उनका अनुसार सञ्चालनको तयारीमा रहेका र वर्षौंदेखि सञ्चालनमा रहेका कम्पनीले समेत प्याराग्लाइडिङ स्कुलको अनुमति माग गरेका छन् ।
नेपालमा नै प्रशिक्षण दिएर नेपाली प्याराग्लाइडिङ पाइलट उत्पादन गर्ने मुख्य उद्देश्यले आवेदन परेको मन्त्रालयको भनाइ छ । मन्त्रालयसमक्ष पाइलट प्रशिक्षण संस्थाको आवेदन माग्नेमा एभिया क्लब नेपाल, ब्ल्यु स्काई, परि फ्लाई, ओपन स्काई, किमुलस क्लाउडसहितका दर्जन कम्पनी रहेको मन्त्रालयले जानकारी दिएको छ । नेपाल अहिले अधिकांश विदेशी पाइलटल प्याराग्लाइडिङ उडाउने गरेका छन् । नेपाली पाइलट उत्पादन गर्ने र विदेशीलाई विस्थापन गरेर नेपालीबाट नै प्याराग्लाइडिङ सेवा सञ्चालन गर्ने उद्देश्यले प्रशिक्षण संस्थाको अनुमति मागिएको एभिया क्लबका निर्देशक बरुण ज्ञावलीले बताए । उनका अनुसार एभिया क्लबले अल्ट्रालाइटकोसमेत प्रशिक्षण संस्थाको अनुमति लिएको छ । यो संस्थाले हालसम्म ६ नेपाली पाइलट उत्पादन गरिसकेको छ ।
नेपालमा प्याराग्लाइडिङको व्यापार बढ्दै गएकाले प्रशिक्षण संस्थामार्फत आफैं पाइलट उत्पादन गर्न लागिएको पनि ज्ञवालीको भनाइ छ । उनका अनुसार नेपाली पाइलट उत्पादन भए विदेशीको तुलनामा कम खर्चमा नै प्याराग्लाइडर तयार हुन्छन् । नेपालीले रोजगारीका लागि बिदेसिनु नपर्ने र नेपालमा नै आम्दानीको राम्रो स्रोत हुने भएकाले पनि प्रशिक्षण संस्थाका रूपमा अनुमति लिन खोजिएको उनको भनाइ छ ।
पोखरा क्षेत्रमा मात्रै अहिले ३ दर्जन कम्पनीले अनुमति लिएर प्याराग्लाइडिङ सञ्चालन गरिरहेका छन् । धरान, सुर्खेत, बन्दिपुर, काठमाडौंसहितका अन्य गन्तव्यमा गरी कुल ५७ वटा कम्पनीले प्याराग्लाइडिङको अनुमति लिइसकेका छन् । नेपालमा पछिल्लो सयम साहसिक पर्यटन प्रतिको आकर्षण बढ्दै गाएकाले पनि प्याराग्लाडिङप्रतिको रुचि बढेको व्यवसायी बताउँछन् ।
नयाँ प्रशिक्षण संस्था स्थापनको लागि कार्यविधि आवश्यक पर्छ । यसका लागि मन्त्रालयले आवश्यक गृहकार्य सुरु गरिसकेको जानकारी दिएको छ । मन्त्रालयका अनुसार कति चुक्ता पुँजी राख्ने, इजाजत शुल्क कति लिने, वार्षिक नवीकरण शुल्क कति तय गर्ने भन्ने विषयसहितको कार्यविधि तयार पारेर दसैंपछिबाट अनुमति दिन सकिने भएको छ । अहिलेसम्म यस्तो कम्पनी मन्त्रालयमा आइनपुगेको र पहिले कुनै मापदण्ड नभएकोले पनि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको जानकारी दिएको छ ।
हवाई उड्डयन क्षेत्रको नियमक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरलेले भने प्राधिकरणले यसअघि तयार पारेको हवाई खेलकुद संस्थाको नियमावलीअनुसार प्रशिक्षण संस्थालाई अनुमति दिन सकिने बताए । उनका अनुसार हवाई खेलकुद नेपालमा पछिल्लो समय उदीयमान हुँदै गएकाले पनि यो क्षेत्रबाट निकै आशा गर्न सकिन्छ । अहिले पोखरा क्षेत्रमा मात्रै केन्द्रीकृत रहको प्याराग्लाइडिङलाई विस्तारै अन्यन्त्र पनि फैलाउँदै लैजाने गरी मन्त्रालयत तथा प्राधिकरणबाट अनुमति दिन थालिएको छ । प्रशिक्षण संस्था खोलेरै नेपालमा नै पाइलट उत्पादन गर्नुलाई सकारात्मक रूपमा लिनुपर्ने पनि पोखरेलको बुझाइ छ । मन्त्रालयले प्याराग्लाइडिङ सञ्चालन गर्न १ करोडको चुक्ता पुँजी देखाएर कम्पनी खोल्नुपर्ने, निवेदन दस्तुर ५ हजार, बैंक ग्यारेन्टी ५ लाख, इजाजत दस्तुर ५० हजार रुपैयाँ लिएर नयाँ कम्पनी सञ्चालको अनुमति दिने गरेको छ । बैंक ग्यारेन्टी भने कम्पनीले सेवा सञ्चालन गरेको ६ महिनापछि फिर्ता हुने गरेको छ ।
No comments:
Post a Comment