काठमाडौं, १५ कात्तिक – नेपाल वायुसेवा निगम सञ्चालक समितिले वाइड बडी जहाज
खरिद प्रक्रिया अघि बढाउने भएको छ । समितिको दसैंअघि नै बसेको बैठकले जहाज
खरिदका लागि प्राविधिक समिति बनाउने निर्णय गरेको छ । समितिले विस्तृत
योजनासहितको सुझाव सञ्चालक समितिलाई दिएपछि वित्तीय व्यवस्थापनसँगै
विश्वव्यापी बोलपत्रको प्रक्रिया अगाडि बढाइनेछ ।
समिति तयार नभइसके पनि छिट्टै टुंग्याइने निगम प्रवक्ता रामहरि शर्माले जानकारी दिए । नेपालमा चरम इन्धन अभावलगायत समस्याले सबै राज्यसंयन्त्र अन्यत्र केन्द्रित हुनु परेकाले तिहारपछि प्रक्रिया अगाडि बढाइने उनले बताए ।
सन् १९८७ मा निगमले अन्तर्राष्ट्रिय उडानका लागि २ जहाज (बोइङ–७५७) खरिद गरेको थियो । त्यसको २७ वर्षपछि गत वर्ष २ एयरबस–३२० खरिद गरेर अन्तर्राष्ट्रिय उडान गरिरहेको छ । न्यारो बडी जहाजले मात्र अन्तर्राष्ट्रिय बजार लिन नसक्ने भएकाले वाइड बडी आवश्यक रहेको भन्दै निगमले प्रक्रिया अगाडि बढाउन लागेको हो ।
“हामी लामो रुटमा जान वाइड बडी नै आवश्यक पर्छ, हाल भएका जहाजले छोटो दूरीमा मात्र उडान गर्ने हो,” शर्माले भने, “जहाज किन्ने प्रक्रिया लामो हुने भएकोले सबै व्यापारिक योजना बनाएर खरिद गरिनेछ ।”
आगामी ३ वर्षभित्रमा वाइडबडी खरिद गर्ने निगमको योजना छ । २ बोइङ ७५७ पुराना भइसकेकाले पनि केही वर्षभित्रै विस्थापन गर्ने र नयाँ जहाज खरिद गर्ने लक्ष्य उसले लिएको छ ।
निगमले २७ वर्षपछि सञ्चय कोषसँग १० अर्ब रुपैयाँ ऋण लिएर एयरबसका २ जहाज खरिद गरेको हो । ऋण तिर्ने कसरी भन्नेमै अलमल रहेका बेला वाइड बडी किनेर यही व्यवस्थापनले चलाउन सक्नेमा निगमका उच्च अधिकारी नै विश्वस्त छैनन् ।
निगमको व्यवस्थापन सुधार गर्न अन्तर्राष्ट्रिय परामर्शदाता नियुक्तिको तयारी पनि भइरहेको छ । निगमले विश्वव्यापी बोलपत्र आह्वान गरेर परामर्शदाता मागेकोमा एयरबस, लुफ्थान्सासहित २१ विदेशी कम्पनीले इच्छा देखाएका छन् ।
एयरबस ए–३२० सिरिजको न्यारो बडीमै निगमले झन्डै ८ अर्ब रुपैयाँ खर्चिएको छ । तर, नयाँ जहाज भए पनि पाइलट तथा प्राविधिक अभाव सल्टाउन उसले सकेको छैन, जसका कारण सानो समस्याले पनि जहाज पटक–पटक ग्राउन्डेड हुँदै आएका छन् ।
गत वर्ष फागुन र वैशाख गरी निगमले एयरबसका २ जहाज खरिद गरेको थियो । यिनबाट दिल्ली, मुम्बई, बैंग्लोरमा उडान भइरहेको छ । पुराना २ बोइङले पनि विभिन्न सेक्टरमा उडान गरिरहेका छन् ।
सरकारले संशोधन गर्न लागेको सार्वजनिक खरिद ऐनमा निगमले बिनाटेन्डर सिधै जहाज खरिद गर्न सक्ने व्यवस्था गरेको छ ।
निगम स्रोतका अनुसार सन् २०१९ सम्म बोइङका २ जहाज विस्थापन गर्नुका साथै सोही अवधिभित्र २ वाइड बडी खरिद गर्ने योजना अघि बढेको छ । यसअघि निगमले तयार पारेको सन् २०१५–२०२४ व्यावसायिक योजनामा भने बोइङ विस्थापन गरेर नयाँ खरिद गर्ने कुरा उल्लेख छ । निगमले १० वर्षमा २५ वटा जहाजमार्फत सेवा दिने रणनीतिक योजना तयार पारेको थियो ।
The picture you have published is not wide body aircraft.
ReplyDeleteIts seems like Russian Antonov cargo plane.