आर्थिक क्षेत्रका विशेष गतिविधी

Saturday, November 7, 2015

३५ वर्षपछि हेलिकप्टर खरिद गर्ने तयारीमा वायुसेवानिगम

केदार दाहाल
काठमाडौं, २० कात्तिक – नेपाल वायुसेवा निगमले ३५ वर्षपछि फेरि हेलिकप्टर खरिद गर्ने भएको छ । निगम सञ्चालक समितिको बैठकले सोमबार ४ हेलिकप्टर र ८ नयाँ जहाज खरिद प्रक्रिया थालेको छ । १ महिनाभित्र औपचारिक प्रस्ताव अघि बढाउन समितिले व्यवस्थापनलाई निर्देशन पनि दिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा बोर्ड अध्यक्ष दिनेश थपलियाको अध्यक्षतामा बसेको बैठकले ४ हेलिकप्टर तथा अन्तर्राष्ट्रिय उडानका लागि २ वाइड बडी र २ न्यारो बडी जहाज खरिदको प्रस्ताव ल्याउन निर्देशन दिएको हो । आन्तरिक उडानका लागि हाल रहेका ट्विनअटर वा त्यस्तै खालका ४ अन्य विमान पनि किन्ने निर्णयमा निगम पुगेको छ ।
निगमलाई चीनका थप ४ वटा जहाजसमेत खरिद गर्न चर्को दबाब छ । गत वर्ष चीनले आन्तरिक उडानका लागि एमए ६० र वाई १२ ‘ई’ जहाज अनुदान दिएको थियो । बाँकी ४ वटा जहाज पनि सरल ऋणमा दिने सम्झौता छ ।
बैठकमा थपलियाले जहाज खरिद र निगमको व्यवस्थापन सुधारका लागि जस्तोसुकै सहयोग गर्न मन्त्रालय तयार रहेकाले तत्काल खरिद प्रक्रिया अगाडि बढाउन व्यवस्थापनलाई आग्रह गरेका थिए । पुराना ऐन–नियम पनि संशोधन हुन लागेकाले अब कहीँकतै बाधा अवरोध नरहने समेत उनको भनाइ थियो ।
सरकारले संशोधन गर्न लागेको सार्वजनिक खरिद ऐनमा निगमले बिनाटेन्डर सिधै जहाज खरिद गर्न सक्ने व्यवस्था छ । ऐन संशोधन भए निगमले सम्बन्धित कम्पनीसँग सिधै डिल गरेर खरिद गर्न सक्छ ।
“कुन खालको जहाज उडाउँदा नेपालका लागि अधिकतम फाइदा हुन्छ, कहिलेसम्म कति वटा जहाजटबाट सजिलै उडान गर्न सक्छौं जस्ता विषय समेटेर प्रस्ताव ल्याउन बैठकले निर्देशन दिएको छ,” निगम प्रवक्ता रामहरि शर्माले भने ।
उनका अनुसार बैठकले निगमलाई हेलिकप्टरसमेत आवश्यक पर्ने भएकाले त्यसबारे पनि अध्ययन गरी प्रक्रिया अघि बढाउन भनेको छ । यसअघि निगमले सन् १९८० मा केही हेलिकप्टरमार्फत सेवा दिए पनि पछि बन्द भएको थियो । निगमले हेलिकप्टर सेवा सुरु गरे आपकालीन सेवालाई सस्तो र चुस्त बनाउन सक्ने व्यवस्थापनको बुझाइ छ । हाल निजी सेवाप्रदायक तथा नेपाली सेनले हेलिकप्टर सेवा दिँदै आएका छन् ।
निगमले व्यवस्थापकीय सुधार परामर्शदाताका लागि गरेको विश्वव्यापी बोलपत्र आह्वानमा एयरबस, लुफ्थान्सासहित २१ विदेशी कम्पनीले इच्छा देखाएकाले यो विषयलाई समेत छिटो टुंग्याउन बैठकले निर्देशन दिएको शर्माले बताए ।
निगमले आन्तरिक व्यवस्थापन सुधार गर्न र रणनीतिक साझेदार ल्याउन विदेशी परामर्शदाता नियुक्तिका लागि प्रस्ताव मागेको थियो । अन्तर्राष्ट्रिय ख्याति कमाइसकेका एयरबस, लुफ्थान्सासहित ठूला कम्पनी आउन चाहेका छन् ।
निगमले १० वर्षे गुरुयोजनामा पनि जहाज खरिदको विषयलाई प्राथमिकता दिँदै सन् २०२४ सम्म २५ वटा जहाजमार्फत उडान गर्ने लक्ष्य लिएको छ । एयरबस ए–३२० सिरिजको न्यारो बडीमै उसले झन्डै ८ अर्ब रुपैयाँ खर्चिएको छ । गत वर्ष फागुन र वैशाख गरी निगमले एयरबसका २ जहाज खरिद गरेको थियो । यी जहाजबाट निगमले दिल्ली, मुम्बई, बैंग्लोरमा उडान गरिरहेको छ । पुराना २ बोइङले पनि विभिन्न सेक्टरमा उडान गरिरहेका छन् ।

Thursday, November 5, 2015

थप जहाज किन्न निगमलाई चिनियाँ दबाब


थप जहाज किन्न निगमलाई चिनियाँ दबाब


– चिनियाँले बुझाए ‘पर्फर्मेन्स डकुमेन्ट’
– अध्ययनपछि नेपाली पक्षले निर्णय लिने
केदार दाहाल
काठमाडौं, १९ कात्तिक – नेपाल वायुसेवा निगमलाई पूर्वसम्झौताबमोजिम थप जहाज खरिदका लागि चिनियाँ सरकारले दबाब दिएको छ । हाल सञ्चालनमा रहेका जहाजको ‘पर्फर्मेन्स’ चित्तबुझ्दो नभएकाले नयाँ जहाज खरिद नगर्ने मनस्थितिमा पुगेको निगमलाई थप ४ जहाज खरिद प्रक्रिया तत्काल अगाडि बढाउन चिनियाँ पक्षले दबाब दिएको हो । सरकारी स्वामित्वको जहाज निर्माता कम्पनी एभिक इन्टरनेसनल होल्डिंग्सले निगमका अधिकांश माग पूरा गरेको भन्दै उसले सरकारी सम्झौताअनुसार खरिद प्रक्रिया अगाडि बढाउन भनिरहेको छ ।
निगमले चिनियाँ पक्षसँग १ वर्षदेखि उडान ‘पर्फर्मेन्स डकुमेन्ट’ मागेको थियो । चिनियाँ पक्षले वर्ष दिन ढिला गरी डकुमेन्ट उपलब्ध गराएको केही सातामै खरिद प्रक्रिया थाल्न दबाब सुरु गरेको हो । हाल सञ्चालनमा रहेका दुवै चिनियाँ जहाज अनुदानका हुन् । नयाँ जहाज भने निगमले खरिद गर्नुपर्नेछ ।
चिनियाँ पक्षले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको छलफलमा पनि जहाज खरिद प्रक्रियालाई अगाडि बढाउन भनेको छ । उसले गत सातामात्र अर्थ मन्त्रालयका अधिकारीसँग यसबारे छलफल गरेको थियो । दुबै छलफलमा खरिद प्रक्रिया नै प्राथमिक एजेन्डा रहेको स्रोतले बताएको छ ।
निगमलाई उपलब्ध गराइएको उडान ‘पर्फर्मेन्स डकुमेन्ट’मा स्पेयर पाटर््स, पाइलट तालिम, बिमालगायत जहाजको उडान क्षमता उल्लेख छन् । जहाजसँगै उपलब्ध गराउनुपर्ने यो डकुमेन्ट वर्षदिन ढिलो पठाउँदा निगमले दुवै जहाज सञ्चालनबाट वर्षभरि नोक्सानी बेहोरेको थियो ।
“भर्खरै डकुमेन्ट आएको छ, निगमको प्राविधिक समितिले अध्ययन गरेपछि मात्र बाँकी प्रक्रिया अगाडि बढाउने जवाफ दिएका छौं,” संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको हवाई महाशाखाका प्रमुख बुद्धिसागर लामिछानेले भने, “हामीले जहाज कहाँ निर्माण भयो हेर्दैनौं तर हामीलाई फिट हुने खालको भयो भनेमात्र लिने भनेका छौं ।”
चीनले गत वर्ष वाई–१२ ‘ई’ र एमए–६० जहाज अनुदानका रूपमा निगमलाई दिएको थियो । चिनियाँ कम्पनीले जहाजको म्यानुअलमै गडबढी गरेको भन्दै समस्या समाधान नभए जहाज खरिद नगर्ने चेतावनी निगमले यसअघि नै दिएको थियो । जवाफमा एभिकले अगस्टभित्र उडान ‘पर्फर्मेन्स डकुमेन्ट’ बुझाउने भने पनि कात्तिक पहिलो दोस्रो सातामात्र दिएको थियो ।
६ चिनियाँ जहाज किन्न चिनियाँ एक्जिम बैंकमार्फत निगमलाई ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ अनुदान तथा सहुलियत ऋण उपलब्ध गराइने सम्झौता छ । यो रकममध्ये २ अर्ब ९४ करोड १० लाख रुपैयाँ एमए–६० र एउटा वाई–१२ ‘ई’ अनुदानमा लिन उपयोग गरिनेछ भने बाँकी ३ अर्ब ७२ करोड ८० लाख रुपैयाँमा एउटा एमए–६० र ३ वटा वाई–१२ ‘ई’ ऋणमा खरिद गर्ने सम्झौतामा छ ।
एभिकले बिमाशुल्क समेत २५ प्रतिशत घटाएको छ । एमए–६० जहाजका लागि निगमलाई ४.४७ प्रतिशत बिमाशुल्क बुझाउनु परेको थियो, जसको दैनिक २ लाख ४६ हजार रुपैयाँ हुन्छ । छुटपछि दैनिक १ लाख ८५ हजार रुपैयाँमात्र बुझाए पुग्छ । जहाजले राम्रो उडान गरेर कमाएका बेला दैनिक ७ लाख रुपैयाँ आम्दानी हुन्छ । निगमले १ वर्षका लागि बिमा नवीकरण गरिसकेको छ ।
एभिकले पहिले एमए–६० को यात्रु क्षमता ५६ जना भएको बताएको थियो तर जहाज नेपाल आइसकेपछि म्यानुअलमा ४६ सिट भनिएको छ । एमए–६० मात्रै नभएर दुर्गम उडानका लागि ल्याइएको वाई–१२ ‘ई’मा पनि सुरुमा यात्रु क्षमता १८ को म्यानुअल दिइएको थियो । पछि १३ जनाको मात्र दिइएको छ । त्यो पनि कुन सेक्टरमा उड्ने, सोही अनुसारमात्र हुने गरेको छ । निगमलाई वाई–१२ ‘ई’को उडान ‘पर्फर्मेन्स डकुमेन्ट’ नदिइँदा दुर्गममा उडान गर्न सकेको छैन ।

Tuesday, November 3, 2015

नयाँ पर्यटकीय गन्तव्य : बडिमालिका


केदार दाहाल
नयाँ पर्यटकीय गन्तव्य : बडिमालिकाप्रकृतिसँग नरमाउने मानिस सायदै कम हुन्छन् । त्यसमध्ये हिमाल र बादलभन्दा पनि माथि आफूलाई पाएपछि नरमाउने कुरै भएन । बाजुराको कैलाशमान्डु गाविसमा रहेको बडिमालिका वास्तवमै अनुमप र सुन्दर स्थल  हो ।
ठाडो पहाडको बाटो हरेक समय परिरहने सिमसिम पानीमा भिज्दै बडिमालिका क्षेत्रमा पुग्दा पृथ्वीलाई छोडेर सौर्यमण्डलको छुट्टै ग्रहमा पुगेको भान गराउँछ । बडिमालिका क्षेत्र प्रकृतिको हिसाबले धनी हँुदा–हँुदा पनि मानव निर्मित भौतिक सुविधाले पछिपर्दा भने केही खिन्नता महसुस हुन्छ । समुद्री सतहबाट झन्डै ४ हजार ३०० मिटर उचाइमा रहेको बडिमालिका क्षेत्र सुदूरपश्चिमको मात्र सुन्दर क्षेत्र नरहेर नेपालका चर्चित क्षेत्रमध्ये एक हो । अन्य समयमा सुनसान रहने यस क्षेत्रमा जनैपूर्णिमाको अघिल्लो दिन सुदूरपश्चिमका ९ वटै जिल्लाबाट स्थानीयहरू झन्डै १० हजारको हाराहारीमा पूजा गर्नका लागि त्यस क्षेत्रमा जाने गर्छन् ।
प्राकृतिक छटाले भरिपूर्ण त्यस क्षेत्रको विकासका लागि हालसम्म कुनै पनि गतिविधि अगाडि नबढेको यस क्षेत्र पर्यटकीय सम्भावना बोकेको सुन्दर क्षेत्र हो । धार्मिक पर्यटनको विशेष सम्भावना रहेको यस क्षेत्रमा काठमाडौैंबाट त्यस क्षेत्रमा पुगेर काठमाडौंमा फर्कनका लागि ९ दिन समय लाग्छ । हवाईमार्ग, सडक मार्ग र ५ दिनको पैदलयात्राले बडिमालिका यात्रा सहज र रमाइलो बनाउँछ । पैदल यात्राको क्रममा पूरैक्षेत्र जंगल र पहाड मात्र भएकोले खाने–बस्ने व्यवस्था भएकाले टेन्टमा बास बस्नुपर्छ, जसका लागि सबै व्यवस्था समूहले आफैं गर्नुपर्छ ।

धार्मिक महत्व  
बडिमालिका मन्दिर हिन्दू धर्मावलम्बीका लागि धार्मिक आस्थाको केन्द्र बिन्दुका रूपमा छ । यहाँ हरेक वर्ष जनै पूर्णिमाको सु–अवसर पारेर मेला लाग्ने गर्छ । मेला अवधीमा सुदूर पश्चिमाञ्चलका सम्पूर्ण जिल्ला, कर्णाली अञ्चलका तथा अन्य जिल्लाहरू साथै भारतबाट पनि दर्शनार्र्थीको भीड लाग्ने गरेको छ । धार्मिक ग्रन्थ, स्वस्थानी व्रत कथाको आधारमा यस क्षेत्रमा (मन्दिर) दक्ष प्रजापतिको यज्ञमा सतीदेवीले आत्मदाह गरेपछि शिवजीले उनको मृत शरीर बोकेर विभिन्न स्थानमा घुम्ने क्रममा यहाँ पुगेर सतीदेवीको कुम पतन भई यस पर्वत (मलयागिरी पर्वत) मा देवी उत्पन्न भई बडिमालिका मन्दिर स्थापना भएको कथन छ । त्यसैले हिन्दू धर्मावलम्बीहरूले आफ्नो मनोकांक्षा पूर्ण होस् भन्ने उद्देश्यका साथ यस मन्दिरमा दर्शन गर्न आउने गरेका छन् ।
पर्यटकीय महत्व
बडिमालिका मन्दिरसँग आफनो छुट्टै धार्मिक महत्वको विषय भए पनि यस मन्दिर जान आउन गर्नुपर्नेबीच बाटोमा प्रशस्तै यस्ता स्थलहरू छन्, जसबाट प्रचुर मात्रामा आन्तरिक तथा बाह्य पर्यटकहरू भिœयाई आर्थिक उपार्जन गर्न सकिने सम्भावनाहरू छन् । बडिमालिका मन्दिर पुग्न बाजुरा सदरमुकाम मार्तडीदेखि जान आउन करिब ३,४ दिन लाग्छ । सदरमुकामबाहेक यस मन्दिर जान छोटो बाटोको रूपमा कैशाशमाण्डु गाविसको नाटेश्वरी मन्दिर भएर जान सकिन्छ । यी तिन ठाउँबाट जाँदा बाटामा थुप्रै मन्दिर, जडिबुटी, वनस्पति, वन्यजन्तु, पहाड, पर्वत, नदी, खोल्सा, झरना आदि जस्ता पर्यटकलाई आकर्षित गर्ने खालका र उनीहरूका मुख्य खोजीका विषयहरू त्यस क्षेत्रमा छन् ।
बडिमालिका क्षेत्र धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिबाट प्रचुर सम्भावना बोकेको क्षेत्र हो । एकैदिन १० हजारको संख्यामा पुग्ने तीर्थयात्रीहरूको उपस्थितिले यसलाई प्रमाणित गर्छ । प्रचार–प्रसारमा ल्याउन सके आन्तरिक तथा धार्मिक पर्यटन बढ्नेमा दुईमत छैन । यसका साथसाथै बडिमालिका क्षेत्रबाट प्याराग्लाइडिङको सम्भावना पनि प्रचुर छ । यसका लागि अध्ययन भए पनि व्यवहारमा भने लागू हुन सकेको छैन । भाद्र जनैपूर्णिमा बाहेकको अन्य समयमा पनि यस क्षेत्रमा पर्यटक लैजान सके सुदूरपश्चिममा खप्तड पछिको दोस्रो प्रसिद्ध पदयात्रा तथा पर्यटकीय स्थल बन्न सक्छ ।
काठमाडौं–बडिमालिका नवौं दिनको यात्रा 
पहिलो दिन   
काठमाडौंबाट ९ दिन समयमा पूरै घुमेर फर्किन सकिने यस क्षेत्रमा जानका लागि पदयात्राबाहेक अन्य विकल्प छैन । काठमाडौंबाट १ घन्टा २० मिनेटको हवाई यात्रापछि धनगढी विमानस्थल पुग्न सकिन्छ । त्यसपछि भने सोही दिन धनगढी बाट ५ घन्टाको सवारीको यात्रापछि डडेलधुरामा गएर पहिलो दिनको यात्रा सकिन्छ ।
दोस्रो दिन
डडेलधुराबाट डोटीको दीपायल, सिलगढी हँुदै अछामको साँफेबगरबाट अगाडि बाजुराको मौरिया ८ घन्टाको  बस यात्रापछि पुग्न सकिन्छ । मौरियाबाट पुन २ घन्टाको यात्रापछि लामागढा पुग्न सकिन्छ । केही छिनको पैदल यात्रापछि बाजुराको जडंगा पुगेपछि दोस्रो दिनको यात्रा समाप्त हुन्छ ।
तेस्रो दिन
समुद्री सतहबाट १ हजार १६७ मिटर उचाइमा रहेको जडंगाबाट ४ घन्टाको पैदल यात्रापछि कोर्दा भन्ने स्थानमा बिहानको खाना खाइन्छ । त्यसपछि लगातार ५ घन्टाको पैदलयात्रापछि  ९ घन्टाको पदैल यात्रापछि २ हजार ९९१ मिटर उचाइमा रहेको करली चौर भन्ने स्थानमा बास बस्नुपर्छ । पानीको सुविधाहरू रहेकाले त्यसक्षेत्रामा बस्न खासै समस्या हुँदैन ।
चौथो दिन   
चौथो दिनको यात्रा धेरै उचाइसम्म हुने भएकाले केही लेक लाग्ने समस्याले समेत सताउने भएकाले पानी जतिसक्दो धेरै पिउनुपर्छ । करलीचौरबाट बिहान ७ बजेदेखि हिँड्दा त्यो दिनको यात्रा बूढीगंगाको शिरभाग रक्तकुन्ड र दूधकुन्डको संगम त्रिवेणीसम्म पुग्नका लागि ९ घन्टाभन्दा बढी समय पैदलयात्राको क्रममा लाग्छ । करलीचौरबाट केही घन्टाको पैदल यात्रापछि  ३ हजार १३२ मिटर उचाइमा रहेको देउराली छौपाटनमा पुग्न सकिन्छ । छौपाटनबाट केही तल पारिपाटन हँुदै सोटा पाटन भन्ने स्थानमा बिहानको खाना खाइन्छ । जुन ३ हजार ४०३ मिटर उचाइमा पर्छ, जहाँ मानव निर्मित जस्तो देखिने फूलहरूले पूरै क्षेत्र ढकमक्क देखिन्छ । जहाँ प्रकृतिले आफैं निर्माण गरेको हो । त्यसमा केही समयको आरमपछि पदैल यात्रा सुरु हुन्छ । २ घन्टाको पदैल यात्रापछि ३ हजार ६३९ मिटर उचाइमाथि रहेको घोडापाटन क्षेत्र पुग्न सकिन्छ । घोडापाटनबाट केही घन्टाको पैदल यात्रपछि वीरबसौना हुँदैै ३ हजार ३६७ मिटर उचाइमा रहेको भित्ताछैना भन्ने स्थानमा पुग्न सकिन्छ । सयौंथरीका फूलहरूले मन लोभ्याउँदै झन अगाडि बढ्न प्रेरित गर्छ । त्यसको केही घन्टाको पैदलयात्रापछि समुद्री सतहदेखि ३ हजार ८७० मिटर उचाइमा रहेको कालीकोट र बाजुरा जिल्लालाई जोडेको त्रिवेणी पुग्न सकिन्छ । उक्त क्षेत्रलाई बूढीगंगा नदीको शिरभागको रूपमा रहेको त्रिवेणीमा दूधकुन्ड र रक्तकुन्ड नदी मिसिएको छ । बडिमालिका जान आउने हजारांै तीर्थयात्रुहरू पालटाँगेर त्यसै नदीको छेउछाउमा रात बिताउँछन् । काठमाडौंबाट हिँडेको चौथो दिनको रात त्यसै क्षेत्रमा बिताइन्छ ।
पाँचौं दिन
बडिमालिका पुगिने दिन भएकाले पाँचौं दिन विशेष खालको स्मरण राख्ने दृश्यहरू र कौतुहलताले बढी सताउँछ । बिहानैदेखि त्रिवेणीमा आफ्ना स्वर्गवास भएका बाबु र आमाको श्राद्ध गर्नेहरूको भीड नदीवरपर देखिन्थ्यो । केही भने पूजा गर्नमा बेस्त देखिन्थे नदीको बीचभागमा । तर, त्यो दृश्यले भन्दा त्यसको माथिल्लो भागहरूमा देखिने घाम र छायाले मन लोभ्याउँछ । केही छिनमै पूरै अन्धकार हुने गरी कुहिरोले ढाकिन्छन पहाडहरू भने केही छिनमै घाम लागेर खुल्दा कतै स्वर्गमा आइपुगेको भान हुन्छ त्रिवेणी वरपरको दृश्य ।  त्रिवेणी क्षेत्रमा रहेको अर्को अचम्म लाग्दो र आकर्षक दृश्यावलोकनको क्षेत्र हो खेतीबेती । यो क्षेत्रमा तराईका फाँटमा झै यति उचाइमा धानका गह्राहरूझै मिलाएर धान रोपिएको जस्तै दृश्य देख्न सकिन्छ । यहाँ लगाएको जस्तो देखिने धान जस्तै तर नफलेको देखिन्छ । यी गह्राहरूमा यो बाली दूरी मिलाएर डोरी हालेर लगाएको जस्तो गरी बोटहरू रोपिएका छन् । पौराणिक कथनअनुसार वर्षायाममा चराहरू बेसीतिर नहुनुको कारण त्यहाँ गएर खेतीबेतीमा खेती गर्छन् रे । बिहानको सुन्दर दृश्यको अवलोकनपश्चात् सुरु हुन्छ बडिमालिका मन्दिरको यात्रा । त्रिवेणीबाट लगातार ६ घन्टाको यात्रापछि बडिमालिका पुगिन्छ । त्रिवेणीबाट केही घन्टाको हिँडाइपछि लौरी विनायक पुग्न सकिन्छ । जहाँ भेडा र घोडा चरेका दृश्यहरू देख्न सकिन्छ । ६ घन्टाको पैदल यात्रापछि पाँचौं दिनको साँझ बडिमालिका मन्दिर परिसर पुगिन्छ । समुद्री सतहबाट ४ हजार २१४ मिटर उचाइमा रहेको बडिमालिका मन्दिर वरपर हजारांै तीर्थयात्रीहरू पालटाँगेर रात्री १२ बजे देखिलाग्ने पुजाको प्रतीक्षमा बसेका हुन्छन् । बेलुकीपख खास मौसम नखुल्ने भएकाले चिसोका कारण धेरै मानिसहरू पालमा बस्छन् ।
छैटौं दिन
छैटौं दिनको बिहान बडिमालिका मन्दिर परिसरबाट देखिने प्राकृतिक दृश्य शब्दहरूमा बयान हुन सक्दैनन् । पारिपाटी देखिने हिमालका दृश्य त्यसभन्दा तल बादल र बादलभन्दा माथि आफू रहेको दृश्य क्यामेरामा कैद गर्न तँछाड र मछाड गरेका हुन्छन् । विहान सूर्य उदाउँदाको दृश्य झनै मनमोहक देखिन्छ । रातको १२ बजेदेखि दिनको १२ बजेसम्म गरिने विशेष पूजामा १० हजारभन्दा बढीले दर्शन गर्छन् । पहाडको टाकुरामा रहेको मन्दिर परिसर मानिसहरूको भीडले कोलाहल भइरहे तापनि प्राकृतिक छाटाले आनन्द महसुस दिलाउँछ । केही घन्टाको बडिमालिकाको मनोरम दृश्यको अवलोकनपछि तल झर्नेक्रम सुरु हुन्छ । छैटांै दिनमा ४ हजार २१४ मिटर उचाइमा रहेको बडिमालिकाबाट बीचमा बस्ने स्थान नभएकाले २ हजार १०१ मिटर तल नाट्टेश्वरीमा आएर बास बस्नुपर्ने हुन्छ । बडिमालिकाबाट ३ हजार ६५६ मिटर उचाइमा रहेको विष्णुपानी, चानकिली हुँदै ३ हजार ३७७ मिटर उचाइमा झरेपछि धर्मघर आइपुगिन्छ । त्यस्तैगरी ३ हजार १७ मिटर उचाइमा रहेको ठूलागढा हँुदै २ हजार ६६१ मिटर उचाइमा रहेको मोतीबनी हुँदै २ हजार १९५ मिटर उचाइमा रहेको लामागढा पुगिन्छ । त्यसको १ घन्टाको पदयात्रापछि २ हजार १०१ मिटर उचाइमा रहेको नाट्टेश्वरी पुगिन्छ । बडिमालिकाबाट १० घन्टाको लगातार पदयात्रपछि नाट्टेश्वरीमा बास बसिन्छ । बडिमालिका पुगेका सबै तीर्थयात्रीहरू नाट्टेश्वरीमा आइपुगेपछि पालटाँगेर रातभर देऊडा गीत गाएर रमाइलो गरी बस्छन् ।
सातौं दिन
सातौं दिन जनैपूणर््िामा दिन पर्ने भएकाले नाट्टेश्वरीमा मन्दिरमा ठूलो मेला लाग्ने गर्छ । त्यहाँ जिल्ला प्रशासन कार्यालयले समेत बोकाको बली चढाउने प्रचलन छ । जनैपूर्णिमा दिन सबै तीर्थयात्रीहरूले पूजा गरेपछि आफ्नो गन्तव्यमा लाग्छन् । नाट्टेश्वरीबाट झन्डै ४ घन्टाको पैदलयात्रापछि १ हजार ८ मिटर उचाइमा रहेको मौरियामा आइपुगिन्छ । त्यसपछि बिहानको खाना खाएर बसको यात्रा सुरु हुन्छ । मौरियाबाट अछाम हँुदै ८ घन्टाको यात्रापछि डोटीको सदरमुकामा सिलगढी आइपुगिन्छ । त्यहाँ नै सातांै दिनको यात्रा समाप्त हुन्छ ।
आठौं दिन  
डोटीको सिलगढीबाट आठौं दिनको यात्रा सुरु हुन्छ । सिलगढीबाट डडेलधुरा हुँदै ८ घन्टाको बसको यात्रापछि धनगढी पुगिन्छ । धनगाढीमा आठांै दिनको यात्रा सकिन्छ ।
नवौं दिन    
नवौं दिन भने धनगढीमा रहेको धनगढी विमानस्थलबाट १ घन्टा २० मिनेटको हवाईयात्रापछि काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि बडिमालिका यात्रा समाप्त हुन्छ ।
एक जनाका लागि न्यूनतम खर्च (रुपैयाँमा)
काठमाडौं–धनगढी बसभाडा तथा खाना– २,०००।–
धनगढीदेखि जडांगा बसभाडा तथा खाना–२,०००।–
मौरयादेखि धनगढी बसभाडा–२,०००।–
धनगढीदेखि काठमाडौं बसभाडा तथा खाना–२,०००।–
होटेल तथा खाना खर्च–१०,०००।–
जम्माः १८,००० ।–
काठमाडौं धनगढी जहाजबाट थप–१०,००० ।–
जम्मा २८,०००।–
नोट–पदयात्राका क्रममा ३ दिन कुनै होटेल तथा आवासको सुविधा नभएकाले खाना तथा टेन्ट, स्लिपिङ ब्याग आफैंले प्रबन्ध गर्नुपर्ने हुन्छ