आर्थिक क्षेत्रका विशेष गतिविधी

Wednesday, May 30, 2012

ग्रान्डी अस्पतालमा ५ अर्ब लगानी

केदार दाहाल
Nameकाठमाडौं, १० जेठ  - ग्रान्डी इन्टरनेसनल अस्पताल आगामी दसैंदेखि सञ्चालनमा आउने भएको छ । ग्रान्डी अस्पताल सञ्चालनमा आएपछि विश्वका उत्कृष्ट अस्पतालले दिने सुविधा उपलब्ध गराउने निर्माणकर्ताले दाबी गरेका छन् ।
बैंककको समितिभेज अस्पतालसँगको सहकार्यमा निर्माण डिजाइन भइरहेको उक्त अस्पतालको सञ्चालन तथा व्यवस्थापन पनि समितिकै रेखदेखमा हुने सम्झौता भएको छ ।  अस्पताल दुई चरणमा निर्माण सम्पन्न गर्ने योजनाअनुसार पहिलो चरणमा काम भइरहेको छ । पहिलो चरणको कार्य सम्पन्न भएपछि २ सय शैय्यामा अस्पताल सञ्चालनमा आउनेछ । दोस्रो चरणमा उक्त अस्पताललाई विस्तार गरी ५ सय शैय्यासम्म पु¥याइने योजना रहेको अस्पताल योजना समितिका अध्यक्ष रूप ज्योतिले बताए ।
२ सय शैय्या, ८ वटा शल्यचिकित्सा कक्ष रहने अस्पताल २३ रोपनी जग्गामा फैलिएको छ । काठमाडौंको धापासीमा रहेको उक्त अस्पताल १४ तले छ भने अस्पतालमा ३ वटा भ¥याङ तथा ५ वटा लिफ्ट रहनेछन् । पहिलो चरणमा २ अर्ब ६७ करोड रुपैयाँ लगानी रहने अध्यक्ष ज्योतिले जानकारी दिए ।
बैंककको समितिभेजसँग सहकार्य हुनुभन्दा पहिले जम्मा ८७ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएकोमा समितिको सल्लाहमा योजना परिमार्जित भएपछि लागत २ अर्व ६७ करोड रुपैयाँ पुगेको ज्योतिले बताए । सिई कन्स्ट्रक्सन, ज्योति समूहलगायतको मुख्य लगानी रहेको अस्पतालमा अन्य थुप्रै लगानीकर्ता सेयर होल्डर छन् ।  १ अर्ब रुपैयाँ शेयर लगानी गर्न इच्छुकहरूबाट र बाँकी १ अर्ब ६७ करोड रुपैयाँ ऋण लिएर कार्य सञ्चालन भइरहेको ज्योतिको भनाइ छ । “अस्पतालमा धेरै सेयरधनीहरूको सहभागिता रहोस् भनी शेयर होल्डरहरूलाई ५० लाख रुपयाँ देखि ५ करोड रुपयाँको सिमा कायम गरिएको छ,”  ज्योतिले भने । ज्योति समूहको भने हाल १० करोड रुपैयाँ अस्पतालमा लगानी छ, पछि निर्माणक्रममा लगानी अपुग भए समूहले लगानी बढाउने ज्योतिले जानकारी दिए ।
विश्वस्तरीय मापदण्डका सबै प्रयोग गरी अस्पताल निर्माण गर्न लागेकाले लगानीमा कुनै कसर बाँकी नराख्ने उनले बताए । अस्पताललाई दोस्रो चरणमा विस्तार गर्न अनुमानित थप २ अर्ब रुपैयाँ लगानी आवश्यक पर्छ । “दोस्रो चरणको विस्तारसँगै अस्पताल ५ सय शैय्याको हुनेछ,” उनले भने । अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा आउँदा झन्डै ५ अर्ब रुपैयाँ लगानी हुने छ । अस्पतालमा पहिलो चरणबाटै ५ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउने दाबीसमेत निर्माणकर्ताले गरेका छन् । 
अत्याधुनिक सेवायुक्त१४ तलाको अस्पतालमा एउटा तलाबाट अर्को तलामा कुनै कागजपत्र, रिपोर्ट, दिसा–पिसाब–रगत, स्पेसिमेन तथा औषधी पठाउनुपरेमा हावाबाट सञ्चालित ट्युब ट्रान्सपोर्ट सेवाबाट गरिनेछ । अस्पतालमा १ हजार २ सय ५० केभीएका दुईवटा डिजेल जेनेरेटर तथा आवश्यक ठाउँमा यूपीएस जडान हुने भएकाले विद्युत् आपूर्तिको समस्या रहनेछैन ।
अस्पतालमा बिरामी कुरुवा बसिरहनु नपर्ने भएकाले एक बिरामी एक नर्सको अवधारणामा सुविधा उपलब्ध गराइनेछ । बिरामी तथा बिरामीका आफन्तहरूको सुविधाका लागि कान्तिपथस्थित ज्योति भवनलाई केन्द्रका रुपमा विकास गरिने उनले बताए ।

हाल नेपालमा सञ्चालन भइरहेका अस्पतालहरूले दिने सेवा र सुविधाभन्दा कैयांै गुणा धेरै ग्रान्डी अस्पतालले उपलब्ध गराउने हुँदा सबैको पहुँच अस्पतालमा पु¥याउन आफुहरूले अहोरात्र काम गरिरहेको ज्योतिले जानकारी दिए ।
ग्रान्डी अस्पताल अन्य अस्पतालले लिइरहेको शुल्कभन्दा १० देखि १५ प्रतिशत मात्र महँगो हुने ज्योतिको अनुमान छ ।

     
 

बन्द–हड्तालका बेला पर्यटकलाई रात्रीकालीन सेवा

केदार दाहाल
काठमाडौं, ११ जेठ      
संविधान जारी गर्ने मिति नजिकिँदै गर्दा विभिन्न जातीय संघसंगठनले देशभर बन्द–हड्ताल जारी राखेपछि पर्यटन व्यवसायीहरूले पर्यटकलाई रात्रीकालीन सेवा उपलब्ध गराउन थालेका छन् ।
 अघिल्ला बन्दमा प्रेस, पर्यटक, एम्बुलेन्स, कूटनीतिक नियोगका गाडीहरूमा अवरोध नहुने गरे पनि हाल भइरहेको बन्दमा ती सबैलाई सुनियोजित रूपमा आक्रमण गरिन थालेपछि बाध्य भएर रात्रीकालीन सेवा उपलब्ध गराएको व्यवसायीको भनाइ छ । यसअघि बाध्यात्मक परिस्थितिमा मात्र पर्यटकहरूलाई रात्रीमा आवत–जावत गराउने परम्परा थियो । पछिल्लो समय आन्दोलनकारीले दिवा समयमा सडक अवरोध गरेपश्चात् पर्यटकलाई एकठाउँबाट अर्को ठाउँमा पु¥याउन कठिनाइ हँुदै आएको छ ।  
आन्दोलनकारीले रात्रीको समयमा कुनै अवरोध नगर्ने भएकाले आफूहरूले बाध्य भएर पर्यटकलाई रात्रीमा आवत–जावत गराइरहेको टुरिस्ट भेकल एसोसिएसन नेपालका अध्यक्ष रामहरि शर्माले बताए । “पर्यटकहरू रातको समयमा आवत–जावत गर्न नरुचाउने भए पनि व्यवसायीले बाध्यभएर रात्रीसेवा उपलब्ध गराउने विकल्प रोजेका हौं,” शर्माले भने । नेपाल आएका पर्यटकहरू भ्रमण अवधि छोट्याएर फर्कनेक्रम बढेको र काठमाडौंबाट बाहिरिनेको संख्या भने एकदमै न्यून रहेको शर्माले जानकारी दिए । “पर्यटकहरूलाई पोखरा, चितवन, लुम्बिनीलगायत क्षेत्रबाट रात्रीको समयमा काठमाडौं ल्याइरहेका छौं,” शर्माले भने ।
पर्यटन व्यवसायीहरूले रात्रीकालीन सेवाका लागि हाल ४० वटा पर्यटक सवारीको प्रयोग गरिरहेका छन् । उक्त सवारी विभिन्न स्थानबाट रातको समयमा आवत–जावत गराइएको छ । यसअघिको समयमा दैनिक सयौंको संख्याका पर्यटक गाडीहरूले पर्यटकलाई सेवा दिँदै  आएको व्यसायीको भनाइ छ । पर्यटन व्यवसायी तथा  नेपाल पर्यटन बोर्डको सहकार्यमा काठमाडौंमा भने पर्यटकीय क्षेत्र ठमेलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म तीनवटा पर्यटक सवारीबाट सेवा दिइरहेको शर्माले जानकारी दिए । यसरी रात्रीको समयमा पर्यटकलाई आवत–जावत गराउन बाध्यात्मक परिस्थिति आउनु नेपालको पर्यटन क्षेत्रको भविष्यमाथिनै गम्भीर प्रश्न चिह्न खडा भएको शर्माले बताए ।
हालको बन्दले सबैभन्दा बढीमार ‘टुर एन्ड ट्राभल’लाई परेको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का महासचिव मोहन लम्सालले बताए ।  हाल चितवन, पोखरा, लुम्बिनीलगायत क्षेत्रको भ्रमणमा आएका पर्यटक अलपत्र परेको बन्दकर्ताहरूले पर्यटक वहानमा समेत अवरोध गरेकाले रात्रीको समयमा मात्र पर्यटकलाई आवत–जावत गराउनुपर्ने समस्याले पर्यटकमा नकारात्मक सन्देश गएको लम्सालको भनाइ छ ।   
सन् २०१२ को पहिलो चार महिनामा नेपालमा पर्यटक आगमनदर हालसम्मकै उच्च रहेको भन्दै पर्यटन व्यवसायी उत्साहित भइरहेको बेला भएका बन्द तथा हड्तालले व्यवसायी भएको लम्सालले बताए ।  नेपालमा सन् २०१२ को  पहिलो चार महिनामा २ लाख ७ हजार ९ सय ६१ हवाई पर्यटकले नेपाल भ्रमण गरेका थिए । जुन संख्या पर्यटन वर्ष २०११ मा भन्दा २३.१ प्रतिशतले बढी हो । नेपालको पछिल्लो चार महिनामा पर्यटन आगवनदरले पर्यटन वर्षमा लिइएको १० लाख पर्यटक भिœयाउने लक्ष्य सन् २०१२ मा नै पुग्ने प्रतिक्रिया पर्यटन क्षेत्रका सरोकारवालाहरूले दिएका थिए ।      

            
 

३४ सय आरोहीद्वारा ६ हजार पटक आरोहण

केदार दाहाल
  • यस वर्ष १ सय ४५ विदेशी र २ सय ५ नेपाली चुचुरोमा
  • हालसम्म २ सय १० आरोहीले ज्यान गुमाए
  • आप्पा शेर्पाद्वारा २१ पटकको विश्व कीर्तिमान
  • हावा–हुरी र हिउँपहिरोका कारण जोखिम बढी 
 
 
Name
काठमाडौं, १५ जेठ - विश्वकै सबैभन्दा अग्लो चुचुरो सगरमाथाको शिखरलाई विभिन्न ३ हजार ४ सय आरोहीले अहिलेसम्म ६ हजारभन्दा बढी पटक आरोहण गरिसकेका छन् । ६० वर्षअघि सुरु भएको सगरमाथा आरोहण गर्ने र कृतिमानी राख्ने होडमा हालसम्म ६ हजारभन्दा बढी पटक सफलता प्राप्त भएकोे छ । 
सन् १९५३ देखि सन् २०११ सम्ममा ५ हजार ६ सय ४४ पटक सगरमाथा आरोहण भएको तथ्यांक छ । सन् २०१२ को पहिलो सिजन सकिएकाले यस वर्ष ३ सय ५० आरोहीले आरोहण गरेको एसियन टे«ेकिङ कम्पनीका अध्यक्ष आङछिरिङ शेर्पाले जानकारी दिए । “गत वर्ष र यस वर्ष समूह मात्र घटबढ भएको र संख्या भने उस्तै छ,” शेर्पाले भने । यस वर्ष १ सय ४५ विदेशी आरोहीले सगरमाथा आरोहण गरेका छन् भने २ सय ५ नेपालीले सगरमाथा आरोहण गरेको शेर्पाले जानकारी दिए । वसन्त र शरत् ऋतुमा गरी तिब्बती र नेपाली मोहडाबाट वार्षिक १ हजारभन्दा बढीले सगरमाथा आरोहण गर्दै आएका छन् । 
हालसम्म झन्डै ६ हजार पटक सगरमाथा आरोहण गरेको शेर्पाले बताए, तर आरोहण गर्ने व्यक्तिलाई हेर्ने हो भने हालसम्म ३ हजार ४ सय आरोहीले मात्र सगरमाथा आरोहण गरेका छन् । आरोहण सुरु भएदेखि हालसम्म २ सय १० आरोहीले ज्यान गुमाइसकेका छन् । यस वर्ष पनि आधा दर्जन आरोहीले ज्यान गुमाउनुप¥यो । गत वर्ष कुनै पनि दुर्घटना नभएको तर यस वर्ष अलि बढेको शेर्पाले बताए । यस वर्ष हावा–हुरी बढी चल्नुका साथै हिउँ–पहिरो पनि बढी गएकाले अलि बढी जोखिम बढेको उनको बुझाइ छ । 
विश्वभर नेपाललाई चिनाउने सगरमाथा जोगाउन सरकार र सम्बन्धीत क्षेत्र लाग्नुपर्ने शेर्पाको ठम्याइ छ । जलवायु परिवर्तनको मुख्य असर हिमाली क्षेत्रमा पर्दै गएकाले बेलैमा सबै पक्षले सोच्नुपर्ने उनको भनाइ छ । 
सन् १९५३ मे २९ गते का दिन तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले ८ हजार ८ सय ४८ मिटरको उचाइको सगरमाथाको आरोहण गरेपछि पछिल्लो समय सगरमाथा आरोहण गर्न र कृतिमानी तोड्नलाई होडनै सुरु भयो । सन् १९५३ देखि हालसम्म एउटै आरोही आप्पा शेर्पाले २१ पटकसम्म आरोहण गरेर विश्व कीर्तिमान राखेका छन् । त्यस्तै गरी अन्यले पनि एउटै आरोहीले पटक–पटक आरोहण विभिन्न कृतिमान राखिसकेका छन् । 
सगरमाथा आरोहणमा सबैभन्दा बूढो उमेर, सबैभन्दा सानो उमेर र सबैभन्दा पाको पटक, सबैभन्दा छोटो समयमा, एकै सिजनमा धेरै पटक, चुचुरोमा बढी समय, बिना अक्सिजनजस्ता सगरमाथा आरोहणमा कीर्तिमान कायम भइसकेका छन् । सगरमाथा आरोहणका लागि सन् १९२४ मा जर्ज मेलोरीले ब्रिटिस आरोहण दलका साथ सगरमाथा आरोहण गर्ने कोसिस गरे पनि सफल हुन भने सकेनन । सन् १८८५ मा भारतको ज्यामितीय शास्त्रको सर्वेक्षणले सगरमाथाको उचाइ पत्ता लगाएको थियो । 
नेपाल सरकारले विगत पाँच वर्षदेखि मे २९ गतेलाई सगरमाथा दिवसका रूपमा मनाउँदै आएको छ । सन् १९५३ मे २९ गते का दिन तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले विश्वको सबैभन्दा अग्लो सगरमाथाको सफल आरोहण गरेका थिए । सोही दिनलाई सरकारले प्रत्येक वर्ष सगरमाथा दिवसका रूपमा मनाउने पाँच वर्षअघि निर्णय गरेको थियो । यस वर्षको पाँचांै सगरमाथा दिवस पनि विभिन्न कार्यक्रम गरी मंगलबार मनाइँदैछ ।

६ वर्षमा सात गुणा बढे चिनियाँ पर्यटक

२०११ मा ४५ हजार आए
केदार दाहाल

Nameकाठमाडौं, १६ जेठ- नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटक संख्या गएको ६ वर्षमा सात गुणाले बढेको छ । सन् २००६ मा हवाई मार्ग हँुदै नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटक संख्या ६ हजार ५ सय ३१ थियो । गत वर्ष सन् २०११ मा सात गुणाले बढेर ४५ हजार ४ सय पुगेका छन् ।
चिनियाँ पर्यटक संख्या २०१२ को पहिलो चार महिनामा पनि उल्लेख्य वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । यो अवधिमा १७ हजार ८ सय १८ चिनियाँले नेपाल भ्रमण गरेका छन् । यो संख्या गत वर्षभन्दा ३८.३ प्रतिशतले बढी हो । गत वर्ष १२ हजार ८ सय ८३ चिनियाँ नेपाल आएका थिए ।
“यो तथ्यांकले नेपाल चिनियाँ पर्यटकका लागि आकर्षक गन्तव्य हुँदै गएको देखाउँछ,” नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का महासचिव अच्युत गुरागाईंले भने ।
सरकारले सन् १९९८ लाई नेपाल भ्रमण वर्ष मनाउँदा चिनियाँको आकर्षण रहे पनि त्यसको सात वर्षसम्म आगमनदर बढ्न सकेको थिएन । २००६ मा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या ह्वात्तै बढेको हो । भाषा नै मुख्य समस्या रहेकाले यसलाई समाधान गर्न सके नेपालमा बर्सेनि लाखौ चिनियाँ पर्यटक नेपाल भ्रमणमा आउने महासचिव गुरागाईंले बताए ।
“पर्यटन वर्ष २०११ मा १ लाख चिनियाँ पर्यटक नेपाल भिœयाउने लक्ष्य राखेको भए पनि प्रचार–प्रसार तथा प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न नसक्दा पूरा भएन,” उनले भने, “चिनियाँहरू  उल्लेख्य रूपमा नेपाल आउन चाहे पनि चीन सरकारको अध्यागमन विभागबाट स्वीकृति लिनुपर्ने भएकाले पनि भारतीयझैं आउन नसकेका हुन् ।” चिनियाँ नागरिकले विदेश भ्रमण जानुअगावै सरकारको स्वीकृति लिनुपर्ने व्यवस्था छ ।
नेपालमा हवाई मार्गबाटमात्र नभएर स्थलमार्ग हुँदै पनि बर्सेनि हजारौंको संख्यामा चिनियाँ पर्यटक आउने गरेको जानकारी उनले दिए ।
सन् २००६ मा ६ हजार ५ सय ३१ पर्यटक आएकामा २००७ मा १ सय २० प्रतिशतले बढेको थियो । यो वर्ष १४ हजार ४ सय २६ चिनियाँ पर्यटक नेपाल आएका थिए । २००८ मा आगमननदर खासै बढेन । त्यतिबेला १४ हजार ७६ पर्यटकमात्र आएका थिए । २००९ मा ३२.७ प्रतिशतले वृद्धि भएको थियो । यो वर्ष १८ हजार ६ सय ७७ चिनियाँ आएका थिए । सन् २०१० मा सन् २००९ को भन्दा ३६.८ प्रतिशतले बढेको थियो । २०१० मा हवाइमार्ग हुँदै नेपाल आउने चिनियाँको संख्या २५ हजार ५ सय ५९ पुगेको थियो ।
२०११ को अन्त्यमा ४५ हजार ४ सय पुगेपछि पर्यटक व्यवसायी उत्साहित भएका छन् । यो संख्या २०१० को भन्दा ७७ प्रतिशतले बढी हो ।
नेपालमा चिनियाँ पर्यटकलाई घुमाउने धेरै समस्यामध्ये भाषा मुख्य भएकाले व्यवसायी चिनियाँ गाइड उत्पादनका लागि तालिम सञ्चालन गराउन लागिपरेका छन् । चिनियाँहरू सहरी तथा सुविधासम्पन्न क्षेत्रमा घुम्न मन पराउने भएकाले पनि टुर गाइड बढी आवश्यक रहेको नाट्टाले जनाएको छ । नेपालमा चिनियाँ पर्यटकका लागि जम्मा २० टुर एन्ड ट्राभल्सले काम गर्दै आएका छन् ।

सन् २००६ देखि हालसम्मको तथ्यांक
वर्ष (सन्)    संख्या     वृद्धि प्रतिशत
२००६    ६,५३१  
२००७    १४,४२६    १२०.९
२००८    १४,०७६    –२
२००९    १८,६७७    ३२
सन् २०१०     २५,५५९    ३६.८
२०११      ४५,४००    ७७
२०१२ को हालसम्म    १७,८१८    

Sunday, April 15, 2012

पर्यटनपरिषद् बैठक बोलाउन प्रधानमन्त्रीको निर्देशन

केदार दाहाल
काठमाडौं, २ वैशाख
प्रधानमन्त्री बाबुराम भट्टराईले पर्यटन परिषद्को बैठक तत्काल बोलाउन पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएका छन् । परिषद्को बैठक विगत २ वर्षदेखि बस्न सकेको छैन । यसअघि प्रत्येक दुई महिनामा परिषद् बैठक बस्ने निर्णय भएको थियो ।
प्रधानमन्त्रीले बिहीबार देशवासीका नाममा गरेको सम्बोधनमा पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको क्षेत्रका रूपमा राखिने प्रतिबद्धता व्यक्त गरेका थिए । पर्यटन क्षेत्रका महत्वपूर्ण निर्णय परिषद्मार्फ गर्ने प्रचलन रहे पनि दुई वर्षदेखि बैठक बस्न नसक्दा कुनै नयाँ कार्यक्रम हुन सकेको छैन ।
। व्यवसायीको समेत सहभागिता रहने परिषद्बाट सिफारिस भएपछि मात्र पर्यटन क्षेत्रमा नयाँ कार्यक्रम मन्त्रिपरिषद्ले घोषणा गर्नुपर्ने कानुनी प्रावधान छ । तर यस प्रावधानविपरीत लुम्बिनी भ्रमण वर्ष मन्त्रिपरिषद्बाट घोषणा भएको हो ।
पर्यटनपरिषद् समयमा बस्न नसक्दा पर्यटन क्षेत्रमा समस्या सिर्जना भएको भन्दै सम्बद्ध संघसंस्थाहरूको चर्को दबाबपछि प्रधानमन्त्रीले पर्यटन परिषद्को बैठक बोलाउन निर्देशन दिएको मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री कार्यालयले पर्यटन मन्त्रालयलाई परिपत्र गर्दै केही साताभित्रै बैठक राखी पर्यटन क्षेत्रको अन्योलको बारेमा छलफल चलाउन निर्देशन दिएको छ । मन्त्रालयले पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्टमगर जापानबाट फर्किएपछि बैठक बोलाउने तयारी भइरहेको जनाएको छ ।
प्रधानमन्त्रीले बिहीबारको सम्बोधनमा पर्यटन उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गर्न उच्चस्तरीय कार्यदलले हालै बुझाएको प्रतिवेदन छिट्टै कार्यान्वयनमा लैजाने तयारी भइरहेको बताएका थिए । होटल एसोसिएसन नेपाल (हान) का तत्कालीन अध्यक्ष प्रसिद्धबहादुर पाण्डेको संयोजकत्वमा गठित उच्चस्तरीय कार्यदलले तीन महिनाअघि नेपालको पर्यटन क्षेत्रको सुधार तथा सुझाव पेस गरेको थियो ।
पर्यटन व्यवसायी र सरकारबीच सेतुको भूमिकामा रहेको नेपाल पर्यटन बोर्ड अहिले नेतृत्वविहीन अवस्थामा छ । बोर्डमा प्रमुख कार्यकारी अधिकृत छनोट प्रक्रियामा अन्योल छ भने बोर्ड सदस्य नियुक्तिको विवादको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । परिषद् बैठकले यसको समाधान गर्ने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री अध्यक्ष रहने उक्त पर्यटन परिषद्ले प्रत्येक दुई÷दुई महिनामा बैठक गरि पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड लगायतलाई विभिन्न कार्य गर्न निर्देशन दिने ऐनमा उल्लेख गरिए पनि वर्षौंसम्म पनि परिषद्को बैठक नबस्ने परिपाटीले समस्या सिर्जना गरेको पर्यटन व्यवसायीहरूले आरोप लगाउँदै आएका छन् । प्रधानमन्त्रीबाट परिषद्को बैठक बोलाउन गरिएको निर्देशन सकारात्मक रहेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष दीपक महतले बताए । आफ्नो कार्यकालमा पनि धेरै पटक बैठक बसाल्न नीतिहरू तय गर्ने प्रयास गरे पनि सफल हुन नसकेको नेपाल पर्यटन बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले बताए । सन् १९९८ नेपाल भ्रमण वर्ष घोषणा गर्दा बसेको उक्त बैठक १० वर्षपछि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा पर्यटन वर्ष २०११ मनाउने तयारी भएको बेला बसेको थियो ।
परिषद्को बैठकमा नेपालको पर्यटन क्षेत्रको समस्यालगायत नेपालमा रेस्टुराँ व्यवसायलाई वर्गीकरण गरिनुपर्ने मुद्दा प्राथमिकताका साथ उठाउने रेस्टुराँ एन्ड बार एसोसिएसन नेपाल (रेबन) का अध्यक्ष तजेन्द्रनाथ श्रेष्ठले जानकारी दिए । सार्वजनिक निजी साझेदारी (पीपीपी) को अवधारणाअनुसार पर्यटन विभाग विघटन गर्दै नेपाल पर्यटन बोर्ड गठन गरिएको भए पनि परिषद् निष्क्रिय हुँदा व्यावसायिक क्षेत्रको सहभागिता प्रभावकारी हुन नसकेको व्यवसायीले बताउँदै आएका छन् ।
प्रधानमन्त्री अध्यक्ष रहने परिषद्को संरचनामा, पर्यटनमन्त्री, नेपाल पर्यटन बोर्ड, उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, अर्थमन्त्रालयलगायतका संस्थाको प्रतिनिधित्व छ ।

Tuesday, April 10, 2012

पदयात्रा बुकिङ १५ प्रतिशतले वृद्धि


केदार दाहाल
काठमाडौं, २७ चैत
पदयात्राका लागि नेपाल आउने पर्यटकको संख्यामा यस वर्ष वृद्धि हुने भएको छ । भर्खरै सुरु भएको पदयात्रा सिजनका लागि बुकिङ उच्च रहेकाले यो वर्ष नेपाल आउने पर्यटककै संख्या बढ्न सक्ने व्यवसायीहरूको अनुमान छ । चालू सिजनमा ट्रेकिङ एजेन्सीहरूमार्फत पदयात्राका लागि पर्यटकको बुकिङ उच्चदरमा भएपछि व्यवसायीले यस्तो अनुमान गरेका हुन् । पदयात्राका लागि बुकिङ गराउने पर्यटक संख्यामा गत वर्षभन्दा १५ प्रतिशतले वृद्धि भएको व्यवसायीहरूले बताएका छन् ।
नेपाल पर्यटन वर्ष–२०११ मा पदयात्रा गर्ने पर्यटकको संख्यामा खासै वृद्धि नभएको व्यवसायीले बताउँदै आएका थिए । नेपालमा ट्रेकिङका लागि सामान्यता दुई सिजनमा मात्र पर्यटक बढी संख्यामा नेपाल आउने गरेका छन् । पदयात्राका लागि नेपालमा पहिलो सिजन चैत, वैशाख, जेठ र दोस्रो सिजन भदौ, असोज, कात्तिक र मंसिरमा बढी पर्यटक भित्रिने गर्छन् । सन् २०१२ को पहिलो सिजनका लागि गत वर्षभन्दा १५ देखि २० प्रतिशतको हाराहारीमा वृद्धि भएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष महेन्द्रसिंह थापाले बताए । “चालू सिजनका लागि यतिनै वृद्धि भएको छ भन्ने एकिन विवरण नआइसके पनि समग्रमा १५ प्रतिशतभन्दा बढी छ,” थापाले भने ।
चालू वर्षमा पर्यटन वर्षको प्रभावले पनि पदयात्रा गर्ने पर्यटकमा सुधार देखाएको हुन सक्ने उनको भनाइ छ । “नेपाल एक्सपीडिसनका लागि प्रमुख गन्तव्य हो, त्यसका लागि राज्यले ऐन कानुनमा परिवर्तन गर्नु आवश्यक छ,” थापाले भने ।
चालू वर्षको जनवरी तथा फ्रेब्रुअरीमा नेपालको माथिल्लो क्षेत्रमा पदयात्रा गर्न जानेको संख्यामा पनि उच्च वृद्धि भएको गृह मन्त्रालयअन्तर्गत रहेको अध्यागमन विभागको तथ्यांकले देखाएको छ । तथ्यांकमा सन् २०११ को जनवरी तथा फेब्रुवरीमा भन्दा चालू वर्षमा ‘रुट परमिट’ लिने पर्यटकको संख्यामा १ सय ३० प्रतिशतले वृद्धि भएको छ ।
सन् २०११ को जनवरीमा २२ पर्यटक त्यस क्षेत्रमा गएकामा सन् २०१२ को जनवरीमा ४० पर्यटकले त्यस क्षेत्रमा जानका लागि रुट परमिट लिएका छन् । त्यस्तैगरी सन् २०११ को फेब्रुअरीमा ५३ पर्यटकले मात्र रुटपरमिट लिएको चालू वर्षमा १ सय ३२ पर्यटकले त्यस क्षेत्रमा जानका लागि रुटपरमिट लिएको विभागले जानकारी दिएको छ । चालू वर्षको जनवरी तथा फेब्रुअरीमा नेपालको माथिल्लो क्षेत्रमा जाने पर्यटक संख्याको वृद्धिले यस वर्ष पर्यटक आवागमनमा राम्रो संकेत देखाएको अध्यक्ष थापाले बताए ।
सन् २०१० मा त्यस क्षेत्रमा जाने पर्यटक १० हजार ३ सय ५७ रहेको मा सन् २०११ मा १० हजार ७ सय ७५ पर्यटक त्यस क्षेत्रमा गएका थिए । पर्यटकहरू तिब्बतसँग सिमाना जोडिएका ताप्लेजुङ, संखुवासभा, सोलखुम्बु, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, गोरखा, डोल्पा, मुगु, हुम्ला, बझाङ, दार्चुलाका विभिन्न क्षेत्रहरू पर्छन् । चालू आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म ११ करोड ७७ लाख ६२ हजार ८ सय ५१ रुपैयाँ १६ पैसा सो क्षेत्रबाट रोयल्टी असुल भएको थियो ।

Monday, April 9, 2012

माथिल्लो मुस्ताङ खोलिए तिब्बत जाने पर्यटक नेपाल आउँछन्


केदार दाहाल सम्बन्ध: अन्तरवार्ता
महेन्द्रसिंह थापा
अध्यक्ष, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)
नेपाली पर्यटनको आधारस्तम्भ मानिने ट्रेकिङ व्यवसाय पछिल्लो समय संकटमुक्त छैन । विकास–निर्माणका पूर्वाधारले ट्रेकिङ रुटहरू धमाधम बिग्रँदै छन् भने यसको विकल्प खोजेर ट्रेकिङका लागि नेपाल आउने पर्यटकलाई जोगाइराख्नेतर्फ कसैको ध्यान गएको छैन । नेपाल भ्रमणमा आउने पर्यटकमध्ये ३० देखि ३२ प्रतिशत पदयात्रामा जाने गरेको तथ्यांक छ । लामो समयदेखि नेपाल साहसिक गन्तव्यका लागि परिचित मुलुक भएकाले राज्यले त्यसलाई ध्यान दिनुपर्ने ट्रेकिङ क्षेत्रमा कार्यरत व्यवसायी संघ–संस्थाहरूले आवाज उठाउँदै आएका छन् । सरकारले निषेधित क्षेत्र घोषणा गर्नाले पनि नेपालको ट्रेकिङ पर्यटन अघि बढ्न नसकेको व्यवसायीको अनुभव छ । मुस्ताङसँगै जोडिएको तिब्बतमा बर्सेनि ८० लाख पर्यटक जाने गरेका छन्, तर नेपालमा भने महŒवपूर्ण क्षेत्रलाई सुरक्षाको कारण देखाउँदै उक्त क्षेत्र बन्द गरिंदै आएको छ । नेपालमा ट्रेकिङ क्षेत्रको वर्तमान अवस्था, ट्रेकिङ व्यवसायीले भविष्यमा खेल्नुपर्ने भूमिकालगायत विषयमा टे«ेकिङ व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष महेन्द्रसिंह थापासँग पर्यटन संवाददाता केदार दाहालले गरेको कुराकानीको प्रमुख अंश ः
नेपालमा ट्रेकिङ व्यवसायको वर्तमान अवस्था कस्तो छ ?
नेपालमा ट्रेकिङ व्यवसायको वर्तमान अवस्था खासै सन्तोषजनक छैन । जहाँसुकैका पदमार्गहरू मोटरबाटोले भत्काउँदै गएको छ । नयाँ पदमार्गको खोजी भइरहे पनि सरकारले पर्याप्त रूपमा सहयोग गरेको छैन । पूर्वाधार आवश्यक पर्ने भएकाले यसलाई टिकाइराख्न सजिलो छैन । अझै पनि राजनीतिक अस्थिरताले प्रभाव पारिरहेको छ । कहिले मुस्ताङ क्षेत्र बन्द त कहिले कुन क्षेत्र बन्द भइरहेका छन् । पछिल्लो समय पदमार्ग क्षेत्रमा ‘सिन्डिकेट सिस्टम’ले समस्या पारेको छ । एभरेष्ट, अन्नपूर्ण क्षेत्रका स्थानीय होटलहरूले जबरजस्ती बस्नैपर्ने व्यवस्था, पहिले नै पैसा तिर्नुपर्नेजस्ता कार्यले उक्त क्षेत्रमा अप्ठेरो पारेको छ । राजनीतिक समस्याले स्वाभाविक रूपमा पर्यटन क्षेत्रमा झनै बढी समस्या सिर्जना गरेको छ ।
नेपालका ट्रेकिङ एजेन्सीहरू अझै व्यवसायिक बन्न नसकेको हो ?
त्यस्तो होइन, पहिले त्यस्तो थियो तर हाल ८ सय भन्दा बढी ‘प्रोफेसनल कम्पनी’हरू छन् । नेपालका ट्रेकिङ व्यवसायीहरूले भारत, तिब्बतलगायतका क्षेत्रमा पनि विदेशी पर्यटकहरूलाई भ्रमण गराउन बुकिङ गराउने गरेका छन् । केही व्यवसायीहरू व्यावसायिक बन्न नसक्ने कुरा छुट्टै भए पनि ट्रेकिङ व्यवसायीहरू व्यावसायिक बन्दै गएका छन् ।
विदेशी पर्यटकहरू किन नेपालमा आएर तिब्बतलगायत अन्य मुलुकको भ्रमण गर्ने गरेका हुन् ?
युरोपियन, अमेरिकन मुलुकलगायतबाट बर्सेनि धेरै पर्यटक नेपालमा आउने गरेका छन् । उनीहरूलाई चीनबाट भिसा समस्या हुने भएकाले नेपाल आएर तिब्बत जान्छन् । उक्त घुमाउने बुकिङ गराउने काम पनि नेपाली व्यवसायी नेपाली मजदुरहरूले गर्ने गरेका छन् । त्यस्तैगरी नेपाल आएका पर्यटकहरू भुटान, भारत, पाकिस्तान सम्म भ्रमणमा जाने गरेका छन् । विदेशी पर्यटकहरू नेपाल आएका बेला अन्यत्र पनि एकचोटि घुम्न जाने देश रोज्दा नजिकका मुलुक रोज्ने गरेका हुन् ।
पर्यटन वर्ष २०११ मा टे«किङ गर्ने पर्यटकमा खासै वृद्धि हुन नसकेको हो ?
पर्यटन वर्षमा मुख्य के भइदियो भने भारत र चीनबाट बढी मात्रमा पर्यटक नेपाल आएका थिए । त्यसरी भारत र चीनबाट नेपाल भ्रमण आउने पर्यटकहरूले खासै पदयात्रालाई महŒव नदिने परिपाटीले उल्लेख्य वृद्धि हुन नसकेको हो, तर त्यसो भन्दै गर्दा पदयात्रामा वृद्धि नै नभएको होइन । उनीहरू कम्पनीमार्फत भन्दा व्यक्तिगत रूपमा घुम्न जानेहरूको वृद्धि डाटाले देखाएको छ । पर्यटन वर्ष २०११ मा १ लाख पर्यटक अन्नपूर्ण क्षेत्रमा गएको देखाइएको छ । त्यत्तिकै संख्यामा ‘एभरेष्ट राउन्ड’मा पनि गएको देखाएको छ । ट्रेकिङ गर्ने पर्यटक त बढे तर कम्पनीमार्फतभन्दा व्यक्तिगत ट्रेकिङ गर्नेहरूको वृद्धि हुँदा कम्पनीहरूलाई र समग्रमा त्यस्ता पर्यटकले खर्च कम गर्ने भएकाले मजदुर, होटल, टुर एन्ड ट्राभल सबैमा घाटा लागेको छ ।
चालू वर्ष सन् २०१२ मा ट्रेकिङ व्यवसाय कस्तो हुने आशा देख्नुभएको छ ?
लुम्बिनी भ्रमण घोषणा गरिए पनि नेपाल भनेको ‘एड्भेन्चर ट्राभल’को क्षेत्र हो । जहाँ नेपाल आउने पर्यटक पहाड चढ्न, ¥याफ्टिङ गर्न, कायकिङ गर्न, हिमाल चढ्न मन पराउने भएकाले उक्त सबै क्षेत्र ट्रेकिङसँग जोडिन पुग्छ, त्यसैले भविष्य त सुनिश्चित छ । नेपालमा आउने पर्यटकको ३० देखि ३२ प्रतिशतभन्दा बढी पदयात्रा गर्न आउने गरेका छन् । खास गरी सरकार स्थायित्व नभएसम्म समस्या त बल्झिरहनेछन् । एउटा फाइल पास हुन वर्षौं लाग्छ, एउटा फाइल एउटा मन्त्रीलाई दिइएको अवस्थामा पास हुने बेलामा अर्का मन्त्री सचिव फेरिन्छन् । समस्याहरूबीचबाट पनि पर्यटन व्यवसायीहरू सुनौलो भविष्य देखेर लगानी गरिरहेका छन् ।
नेपालमा अवैधानिक रूपमा झोलाबाट पनि टे«ेकिङ व्यवसाय सञ्चालन भइरहेका छन्, भनिन्छ नि ?
नेपालमा केही वर्षअगाडि त झनै यस्तो समस्याले विकाराल रूप लिएको थियो । टानले यसलाई निरुत्साहित पार्न विभिन्न कार्यक्रम सञ्चालन गरेपछि अहिले अलि कम भएको स्थिति छ । हामीले नक्कली वेबसाइटहरू बन्द गराउन सरकारमार्फत पहल थाले पनि सफल हुन सकिरहेका छैनौं । हामीले यसलाई निरुत्साहित पार्न दुईवटा कुरा गर्नुपर्ने माग गरेका छौंै । एउटा नक्कली वेबसाइट बन्द गराउन र टिम्स कार्ड नेपाल पर्यटन बोर्डमार्फत वितरण नगरी सबै जिम्मा टान लाई जिम्मा दिइएको खण्डमा समस्या समाधान हुनेछ । त्यसका लागि सरकारी अधिकारीहरू छिट्टै गर्छौं भन्ने तर काम नगर्ने परिपाटीले अवैधानिक रुपमा व्यवसाय सञ्चालन गर्ने क्रम रोकिएको छैन । टिम्सको वितरण कार्य पनि टानलाई दिइने भनेर पटक–पटक छलफल भए पनि सफल हुन सकेको छैन ।
नयाँ पदमार्ग खोल्ने क्रम आहिले रोकिएको हो ?
नयाँ पदमार्ग खोल्नुपर्छ भन्नेहरू हामी त कहाँ रोक्ने नि ? नयाँ रुटमा खोल्ने क्रममा गत वर्ष पनि पाँच स्थानमा नयाँ पदमार्ग खोलेका थियौ । यस वर्ष पनि सिन्धुपाल्चोकको पाँचपोखरी क्षेत्रमा पदमार्ग खोल्यौं, अन्नपूर्ण क्षेत्रमा तीनवटा रुट खोलेका छौं । उक्त क्षेत्रमा पुनः बेसीसहरदेखि नयाँ पदमार्ग खोल्ने क्रममा रहेका छौं । हामीले पछिल्लो समय ग्रेट हिमालयन ट्रेललाई लिंक गर्ने गरी पदमार्ग खोल्ने प्रक्रियालाई तीव्रता दिइरहेका छांै ।
‘ग्रेट हिमालयन ट्रेल’ अहिले चर्चामा रहेको छ, पूर्वाधार पर्याप्त छ त ?
ग्रेट हिमालयन ट्रेललाई राम्रोसँग बजारीकरण गर्न सकेको खण्डमा अवश्य पनि पदयात्राको भविष्यलाई निर्धारण गर्छ । पूर्वाधार भन्ने कुरा त आफैं बन्दै जाने कुरा हुन् । टे«ेलमा जान टेन्ट पालहरूको आवश्यक पर्ने भएकाले पनि पूर्वाधारले खासै असर पार्दैन । टे«ेल राम्रो हुने कि नहुने भन्ने कुराको भविष्यको साँचो पनि राज्यसँग छ । टे«लमा जान एक दर्जनभन्दा बढी स्थानको रुटपरमिट लिनुपर्ने अवस्था छ । त्यसलाई एकद्वार नीतिमा नल्याएसम्म ट्रेलमा पर्यटकहरू जाने क्रमले तीव्रता आउँदैन । पर्यटकलाई धेरै ठाँउमा झन्झटिलो हुनुका साथै महँगो पनि पर्ने भएकाले त्यसलाई तत्काल समस्या समाधान गर्नुपर्नेछ । एउटै पर्यटकले सबै घुम्न जाने भन्ने कुरा कमै हुन्छ । त्यसमा पनि क्षेत्र छुट्याएर पदयात्रामा जाने गर्छन् । त्यसका लागि सरकारको पदयात्रा नीतिमा निर्भर गर्छ ।
माथिल्लो ट्रेकिङ क्षेत्र नखोल्नुको कारण के हो ? तपाईंहरूले पहल गर्नुभएको छैन ?
गृहमन्त्रालयले किन कुरा नबुझेको, हामीलाई थाहा छैन । मुस्ताङको पारिपट्टी चाहिँ विदेशीहरू नाच्न पाउने, जाँड–रक्सी खान पाउने तर नेपाल सरकारचाहिँ संवेदनशील क्षेत्र भनेर बसिरहेको छ । यदि यो सिमानाका क्षेत्र संवेदनशील हुन् भने त पहिले तिब्बतमा हुनुप¥यो । माथिल्लो मुस्ताङलाई खोलिएको खण्डमा तिब्बतमा जाने पर्यटक नेपालमा जान्छन्, त्यस्तै धेरै क्षेत्र छन् जहाँका स्थानीय खान नपाउने स्थितिमा छन् । उस्तै स्थानका जनता एभरेस्ट क्षेत्रका स्थानीयहरूको आयस्रोत कहाँ पुग्यो, तर मनास्लु क्षेत्रका स्थानीयहरू खान लाउन नपाउने स्थितिमा छन् । संवेदनशील क्षेत्र भनेर राज्यले एउटै मुलुकका नागरिकलाई पक्षपात गरेको छ । सन् २०१० मा तिब्बतमा ८० लाख पर्यटक गए उस्तै ठाउँ हो, नेपालमा खोइ त पर्यटक ?
ती क्षेत्रमा पर्यटक जान नै नपाउने हो र ?
जानै नपाउने भन्ने होइन, त्यस क्षेत्रमा घुम्न खुकुलो हुनुप¥यो । दस्तुरको नाउँमा महँगो शुल्क सरकारले असुल गर्नुभएन । त्यस्तै गरी व्यक्तिगत रूपमा पनि घुम्न पाउने व्यवस्था मिलाउनुप¥यो । पर्यटक जाँदा एक जना जान नपाउने, त्यस क्षेत्रमा दुई जना पर्यटक अनिवार्य जानुपर्ने, दुई मजदुर अनिवार्य लैजानुपर्ने अनि पर्यटक त्यस क्षेत्रमा कसरी जान सक्छन् ? खुला अर्थतन्त्रलाई स्विकार गर्ने, खुला पर्यटनको नीतिलाई स्वीकार गर्ने अनि घुम्नचाहिँ प्रतिबन्ध लगाउने कुन नीति नेपालका राज्य हाँक्छु भन्नेहरूले अवलम्बन गरेका हुन्, हामीले बुझ्न सकेका छैनौं । राज्यले नीति ग्रामीण पर्यटन भन्ने ग्रामीण क्षेत्र केन्द्रित कार्यक्रम खोइ त ?
खोल्ने प्रक्रिया कहाँ पुगेको छ ?
हामीले धेरै समयदेखि खोल्नुप¥यो भनेर सुझाव, ज्ञापनपत्र दबाब पूर्ण आन्दोलन पनि गरिरहेका छौ । सरकारले बुझ्नुप¥यो फाइदा ट्रेकिङ व्यवसायीलाई मात्र होइन, राज्यलाई हो, राज्यका ग्रामीण भेगका स्थानीयहरूलाई हो भन्ने । प्रधानमन्त्रीज्यूले आफ्नै जिल्लाको मनास्लु क्षेत्रका ५ सय स्थानिय काठमाडौंमै आएर खोल्न दबाब दिँदा पनि चासो दिनुभएको छैन, अन्यत्र खोल्ने कुरा त शंका उत्पन्न भएको छ । यस विषयमा पर्यटन मन्त्रालय खोल्न सधैं सहमतिमा आएको भए पनि गृहमन्त्रालयले सुरक्षाको कारण देखाउँदै मानिरहेको छैन । पर्यटनको जिम्मा पर्यटन मन्त्रालयलाई दिनुपर्ने हो भनेर हामीले गृहमन्त्रालयसँग पनि कुरा गरिरहेको छ । भीम रावल गृहमन्त्री भएको बेला पनि पटक पटक कुरा राखेका थियांै । पर्यटन मन्त्रालय हुँदै गृहमन्त्रालयमा बल्ल फाइल पुगेको थियो, मन्त्री हट्नुभयो अनि रोकिएको प्रक्रिया पुनः सुरु भएको छ ।
रोयल्टी विवाद आइरहन्छ नि किन ?
स्थानीय र मन्त्रालयबीच सधैंजसो रोयल्टी विवाद आइरहने गरेको छ । त्यसले हाम्रो ट्रेकिङ व्यवसायलाई असर पारिरहेको छ । अन्य क्षेत्रमा भन्दा पनि समस्या मुस्ताङ क्षेत्रमा रहेको छ । त्यहाँका स्थानीयले सधै रोयल्टीलाई किचलो झिकेर पदमार्ग बन्द गराउने गरेका छन् । सरकारले दिनुपर्ने रोयल्टी कति प्रतिशत हो दिएर समस्या समाधन गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।
पछिल्लो समय पदमार्गहरूमा सडक विस्तारले तीव्रता पाइरहेको छ, त्यसले ट्रेकिङ क्षेत्रलाई कतिको असर पारेको छ ?
पदमार्गमा सडक विस्तारले हामीहरूलाई धेरै समस्या पारिसकेको छ । सडक विस्तारको विरोध गर्दा विकासविरोधी भन्ने आरोप लाग्छ, नगरूँ भने सबै पदमार्गमा डोजर चलिसकेका छन् । अहिले सरकारसँग समन्वय गरेर भत्किएका सडकहरूलाई छोडेर नयाँ बाटो खोल्न अध्ययान थालेका छौं । अन्नपूर्ण पनि नयाँ–नयाँ रुटहरूमा खोल्ने तयारी गरेका छौं । हामीले अध्ययन गर्नका लागि विभिन्न टोलीहरू गइरहेका छन् ।
टानले टिम्समार्फत उठेको रकम सदुपयोग गरेन भन्ने आरोप छ नि ?
हामीहरूले टिम्समार्फत उठेको रकम विभिन्न क्षेत्रमा सहयोग तथा पूर्वाधार निर्माणमा लगानी गरिरहेका छौं । गत वर्ष मात्र टानले मजदुरहरूको उद्धारका लागि ११ पटक हेलिकप्टर लगेका थियौं । त्यस्तै गरी उठेको ३० प्रतिशत रकम नेपाल पर्यटन बोर्डले लैजाने गरेको छ । टिम्समार्पmत उठेको रकमको हिसाबकिताब राज्यलाई दिनुपर्छ, त्यसैले सदुपयोग भएन भन्ने कुरा होइन ।
पछिल्लो समय पर्यटन क्षेत्रका व्यवसायीमा बजार एकाधिकार बढेको हो ?
खुला अर्थतन्त्रमा बजार एकाधिकार भन्ने कुरा हुँदैन । प्रतिस्पर्धाको बजारमा एउटै व्यवसायीले टुर एन्ड ट्राभल, होटल, टे«ेकिङ आदि सञ्चालन गरिरहेका छन् । एकाधिकार भन्ने कुरा पनि यदि चक्रियता बनाएर पर्यटकलाई ठगिएको हो भने राज्यबाट अनुगमनलाई तीव्रता दिनुप¥यो । एकाधिकार भयो भनेर पन्छिएर बस्नुभएन ।
ट्रेकिङ क्षेत्रका होटल व्यवसायीहरूले मनपरी पैसा असुल गर्छन् रे, हो ?
ती क्षेत्रमा धेरै समस्या रहेका छन् । त्यहाँका होटलहरू आफैं मूल्य बढाउँछन् परिस्थिति हेरेर । त्यस क्षेत्रमा सञ्चालित होटलहरू ९० प्रतिशतभन्दा बढी करको दायरमा छैनन् । खोइ राज्यले अनुगमन गरेको खाली व्यवसायीले एकाधिकार गरे भनेर हुन्छ ?
ट्रेकिङ क्षेत्रमा प्रत्यक्ष रोजगारी कतिले पाएका छन् ?
नेपालको पर्यटन क्षेत्रमा सबैभन्दा बढी रोजगारी पाउने क्षेत्र भनेको ट्रेकिङ व्यवसायमा हो । ट्रेकिङ क्षेत्रमा हाल दैनिक २० देखि ३० हजारले प्रत्यक्ष रोजगारी पाएका छन् भने सम्पूर्ण सिजनलाई हेर्ने हो भने हाल १ लाखभन्दा बढीले टे«ेकिङ क्षेत्रबाट रोजगारी पाइरहेका छन् ।