आर्थिक क्षेत्रका विशेष गतिविधी

Sunday, November 16, 2014

छायाँसेन्टरको पाँचतारे होटल स्टारउडकै अलफ्ट ब्रान्डले चलाउने

-   मंसिर पहिलो साता सम्झौता हुँदै   
-    ५ अर्ब रुपैयाँ  लगानी गर्ने तयारी
-   भवन निर्माणको काम ४० प्रतिशत सकियो
-   सन् २०१७ देखि होटल सञ्चालनमा ल्याउने लक्ष्य

छायाँसेन्टरको पाँचतारे होटल स्टारउडकै अलफ्ट ब्रान्डले चलाउने
केदार दाहाल
काठमाडौं, २९ कात्तिक- राजधानीको ठमेलमा निर्माणधीन छायाँसेन्टरभित्र रहने पाँचतारे होटल स्टारउडकै ब्रान्ड ‘अलफ्ट ब्रान्ड’को नाममा सञ्चालन हुने भएको छ । छायाँसेन्टर र अलफ्ट बिजेनस होटलबीच आगामी मंसिर ८ गते सम्झौता हुने भएको छ । अलफ्ट ब्रान्डको मुख्य कम्पनी स्टरउडले विश्वभर १२ वटा ब्रान्डमार्फत होटल सञ्चालन गर्दै आएको छ । सन् २०१७ बाट सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको छायाँदेवी सेन्टरभित्र रहने उक्त होटल पाँचतारे हुनेछ । “अलफ्ट ब्रान्डसँग आगामी मंसिर ८ गते सम्झौतापत्रमा हस्ताक्षर हुँदै छ,” छायाँसेन्टरका बजार निर्देशक सुमन पाण्डेले भने । होटलको नाम ‘अलफ्ट बिजनेस होटल काठमाडौं’ रहने पाण्डेले जानकारी दिए । अलफ्टले सबै ब्रान्डिङ र व्यवस्थापनको जिम्मा लिने गरी सम्भौता हुने उनाले जानकारी दिए ।१५ तलाको भवनमा १ सय ७५ कोठा हुनेछ । होटलको सबै सुविधा डिलक्सको हुने उनले बताए ।
स्टारउडका विश्वभर एकदर्जन ब्रान्डमा चेन होटलहरू सञ्चालनमा छन् । सन् २००५ मा अलफ्ट ब्रान्ड सञ्चालनमा ल्याएको स्टरउडले हाल दर्जन ब्रान्डका होटल खोलिसकेको छ । जसमा अलफ्ट बिजनेस होटल, सेराटन, डब्लू होटल, फोरपेन्ट्स, लि मेरिडियन, लक्जरी कलेक्सन, इलेमेन्ट, स्टार रेजिस, स्टारउड प्रिफररेड गेस्ट र स्टारउड होटल विश्वभर हजारौंको संख्यामा छन् । अलफ्ट ब्रान्डबाट पनि अमेरिका, युरोप, क्यानाडा तथा एसियामा गरी ८५ वटा होटलहरू सञ्चालनमा छन् । छायाँदेवी कम्प्लेक्सभित्र रहने उक्त होटलको भवन निर्माणको काम आगामी वर्ष सकिने र सन् २०१७ भित्रबाट सञ्चालनमा ल्याउने योजना रहेको उनले बताए ।  
ठमेल मुख्य पर्यटकीय स्थल भए पनि सुविधा सम्पन्न होटल नहुँदा पर्यटकहरू बस्नका लागि बाहिर जानुपर्ने बाध्यता अन्त्य हुने पाण्डेले बताए ।“हाम्रो परियोजना सम्पन्न भएपछि उक्त समस्या स्वतः हल हुनेछ, होटलमा आफंै अन्तर्राष्ट्रिय मार्केटिङ गरेर गुणस्तरीय पर्यटक भिœयाउने योजना छ,” उनले भने ।
भवन निर्माणको काम ४० प्रतिशत सकियो  
ठमेलभित्रको ठमेल नाम दिइएको छायाँदेवी कम्प्लेक्सको भवन निर्माणको काम भने ४० प्रतिशत सकिएको पाण्डेले जानकारी दिए ।  होटल र कम्प्लेक्समा गरी ५ अर्ब रुपैयाँभन्दा बढी लगानी हुने पाण्डेको भनाइ छ । करिब १५ रोपनी क्षेत्रफलमा छायाँदेवी कम्पलेक्सले व्यावसायिक कम्पलेक्स निर्माण गर्न लागेको हो । छायाँदेवी कम्प्लेक्समा १५ तलाको भवनमा २ सय ५० वटा पसल, ७ वटा रेस्टुराँ, ४ सय ५० वटा कारको पार्किङस्थल, ५ वटा कन्फरेन्स हल रहने छन् । त्यस्तै ३ वटा सिनेमा हल रहनेछन भने १ हजार क्षमताको हल र फुड कोर्टसमेत रहनेछ ।
छायाँसेन्टर सञ्चालनमा आएपछि ठमेलको पर्यटनमा नयाँ आयाम थपिने दाबी पाण्डेको छ । छायाँसेन्टरमा इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेसहित निर्मल प्रधान, कालु गुरुङ, योगेन्द्र शाक्य, सुहृद घिमिरे, सुमन पाण्डे र महेश्वर श्रेष्ठले लगानी गरेका छन् ।  
सेन्टरमा मुलुकमै पहिलो पटक हाइड्रोलिक सिस्टमको पार्किङ स्थल रहने पाण्डेले जानकारी दिए । यो सिस्टमबाट एउटै तल्लामा तल र माथि गरी दुईतहमा गाडी पार्किङ गर्न सकिनेछ । अटोमेटेड मेसिनले ग्राहकको गाडी पार्किङ गर्ने र बाहिर निकाल्ने काम गर्नेछ । छायाँसेन्टरमा प्रसिद्ध ब्रान्डलाई प्राथमिकतामा राखिएको छ ।
कम्प्लेक्समा अहिलेसम्म क्यूएफएक्स, नाङ्लो बेकरी क्याफे, होन्डा, इटालियन रेस्टुराँ, एयरलाइन्स कम्पनी, पश्मिना र क्युरियो व्यवसायी, ट्राभल व्यवसायीलगायतले बुकिङ गरिसकेका छन् । स्वदेशी तथा विदेशी पर्यटकलाई सम्पूर्ण सेवा तथा सुविधा एकै स्थानमा उपलब्ध गराउने कम्प्लेक्सको लक्ष्य छ । नमुना कम्पलेक्सका रूपमा विकास गर्न लागिएको सेन्टर २४ घण्टा नै खुला रहनेछ ।   

Wednesday, November 12, 2014

सार्कमा भीआईपी आउँदा अन्य उडान\अवतरण रोकिने

एयर कनेटिभिक्टी बढाउन छलफल हुने

केदार दाहाल
काठमाडौं, २५ कात्तिक  - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले १८ औं सार्क शिखर सम्मेलनमा आउने विशिष्ट व्यक्ति (भीआईपी) को सुरक्षालाई ध्यान दिँदै आगमन÷प्रस्थानमा केही समय उडान÷अवतरण रोक्ने भएको छ । 
कार्यालयले आन्तरिक तथा बाह्य दुवै तर्फका एयरलाइन्स कम्पनीहरूलाई मंगलबार छलफल गरी भीआईपी आउने र जाने दिनमा उडान तथा अवतरण तालिका आवस्यकता अनुसार संशोधन गर्न लागि आग्रह गरेको हो । कार्यलयले केही दिनमा भीआईपीको आगमन तथा प्रस्थानको समय तालिका उपलब्ध गराउने र सोहीअनुसार एयरलाइन्स कम्पनीहरूले उडान तथा अवतरणको समय तालिका परिवर्तन गर्ने सहमति मंगलबारको छलफलमा भएको हो ।
कार्यालयले मंगलबार बिहान आन्तरिक वायुसेवा कम्पनी र दिवामा सम्पूर्ण अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्स कम्पनीसँग छलफल गरेको थियो । कार्यालयले सम्मेलनमा सहभागी हुन आउने भीआईपीलाई केन्द्रित गरी आगामी मंसिर ९ र १२ गते उडान तथा अवतरणमा समय तालिका परिवर्तन गराउन प्रस्ताव गरेको हो ।  
मंगलबार आन्तरिक र अन्तर्राष्ट्रिय उडान भर्ने एयरलाइन्ससँग छलफल भएको र केही दिनमा भीआईपीको आगमन र प्रस्थानको समय तालिका उपलब्ध गराएपछि एयरलाइन्स कम्पनीहरूले समय तालिका सोहीअनुसार परिवर्तन गर्ने विमानस्थल कार्यालयका महाप्रबन्धक वीरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
विश्वमा नै भीआईपी आउने र प्रस्थान गर्ने समयमा उडान तथा अवतरणमा केही अवरोध हुने परम्परा छ ।  “सार्क सम्मेलनमा पनि सुरक्षाको दृष्टिले पनि एयरलाइन्स कम्पनीहरूले समय तालिका परिवर्तन गरिदिनुपर्छ, ” श्रेष्ठले भने । विमानस्थल कार्यालयले समय तालिका उपलब्ध गराएपछि भीआईपी आउनुभन्दा १ घण्टा अगाडि सर्वसाधारणलाई विमानस्थल प्रवेशमा रोक लगाउने कार्यक्रमसमेत तय गरेको छ । कार्यालयले प्रहरी, पर्यटन मन्त्रालय, गृह मन्त्रालय र होटल एसोसिएसन  (हान) का प्रतिनिधिसँग पनि सोमबार छलफल गरेको थियो । “कार्यालयले छलफल गरेको र समय तालिका प्राप्त गरेपछि सोहीअनुसारको उडान तालिका निकाल्ने छांै,” वायुसेवा सञ्चालक संघ (आयोन) का प्रवक्ता घनश्याम आचार्यले भने । होटल सञ्चालकहरूले केही समय अगाडि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणको क्रममा पर्यटक तथा पर्यटकलाई स्वागत गर्न जाने होटलका प्रतिनिधिले बढी सास्ती बेहोर्न परेपछि यसपटक भने पहिले नै समय तालिका उपलब्ध गराउन माग गरेका थिए ।
विमानस्थल कार्यालयले होटलहरूलाई पनि समय तालिका उपलब्ध गराइदिने छ ।  सार्कसम्मेलनका लागि ८ देशका प्रमुख र पर्यवेक्षक गरी झन्डै ८ सयको हाराहारीमा सहभागी नेपाल आउँदैछन् ।   
विमानस्थलमा दैनिक ४ सयदेखि ४ सय ५० सम्म उडान÷ अवतरण हुन्छ, जसमा अन्तर्राष्ट्रिय २७ वटा एयरलाइन्स कम्पनीहरूले उडान भर्दै आएका छन भने आन्तरिकतर्फ पनि दैनिक सयौंको संख्यामा उडान÷अवतरण हुँदै आएको छ ।   

एयर कनेटिभिक्टी बढाउन छलफल हुने
१८ औं सार्क शिखर सम्मेलनमा सार्क क्षेत्रमा साझा पर्यटन एजेन्डा प्रस्तुत हुने भएको छ । सार्क राष्ट्रबीच एक अर्को मुलुकले संयुक्त पर्यटन गतिविधि सञ्चालन गर्ने, सडक सञ्जाल तथा एयर कनेटिभिक्टी बढाउने एजेन्डा तय भएको छ । नेपाल, भारत, म्यानमार, श्रीलंकासहितका बुद्ध धर्म मान्ने राष्ट्रहरूको बीचमा बुद्धिष्ट सर्किट बनाउने योजना अगाडि सारिएको छ ।  
सार्क शिखर सम्मेलन नेपालमा हुनु पर्यटन प्रवद्र्धनको महत्वपूर्ण अवसर भएकाले पनि विभिन्न सरकारी निकायले आ–आफ्नो क्षेत्रबाट भरपुर सहयोग पु¥याइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले बताए ।    
 

Monday, November 10, 2014

पर्यटन बोर्डको बजेट १ अर्ब

पर्यटन बोर्डको बजेट १ अर्ब
काठमाडौं २३ कात्तिक- नेपाल पर्यटन बोर्डले चालू आर्थिक वर्ष ०७१÷७१ मा झन्डै १ अर्बको बजेट प्रस्तुत गरेको छ । बोर्डले निजी क्षेत्रसँग छलफल गरेर आवश्यक संशोधनसहित बजेट लागू गर्नेसमेत जानकारी दिएको छ । बोर्डले गत वर्षभन्दा बजेटको आकारमा झन्डै ५७ प्रतिशतले वृद्धि गरेको छ । गत वर्ष ६३ करोड रुपैयाँ हाराहारीको बजेट प्रस्तुत गरिएको थियो ।
बोर्डले आइतबार प्रारम्भिक छलफलमा ९५ करोड १० लाख ८९ हजार ६ सय ३८ रुपैयाँको बजेट छलफलका लागि प्रस्तुत गरेको छ । जुन गत वर्षभन्दा ३७ करोड रुपैयाँ बढी हो ।
बोर्डको उक्त अनुमानित बजेटका लागि पर्यटक सेवा शुल्कमार्फत  ७६ करोड ८९ हजार ६ सय १० रुपैयाँ उठाउने लक्ष्य राखेको छ । चालू वर्ष ७ लाख ६७ हजार ९ सय ३७ पर्यटक हवाई मार्गमार्फत नेपाल भित्रिने प्रक्षेपण बोर्डले गरेको छ ।
बोर्डले प्रत्येक हवाई पर्यटकमार्फत १ हजार रुपैयाँ सेवा शुल्क उठाउँदै आएको छ । त्यस्तै पर्यटक सूचना प्रणाली (टिम्स) मार्फत १८ करोड ३१ लाख ५२ हजार २८ रुपैयाँ उठाउने लक्ष्य समेत राखेको बोर्डका योजना शाखा प्रमुख काशीराज भन्डारीले जानकारी दिए ।
बोर्डले प्रशासनिक खर्चतर्फ १० करोड ५० लाख हुने अनुमान गरेको छ । त्यस्तैगरी अन्तर्राष्ट्रिय प्रवद्र्धनका लागि २७ करोड ८६ लाख रुपैयाँ खर्च हुने अनुमानित बजेट बोर्डले पेस गरेको हो । बोर्डले प्रोडक्ट विकासका लागि १७ करोड २९ लाख तथा जन–सम्पर्कका लागि १६ करोड २९ लाख रुपैयाँ बजेट खर्च गर्ने लक्ष्य राखेको छ ।
त्यस्तै गरी पोखरा कार्यालयका लागि २ करोड ५० लाख, अनुसन्धान तथा विकासका लागि २ करोड ४५ लाख रुपैयाँ छुट्ट्याएको बोर्डले जानकारी दिएको छ ।  अन्य खर्चका लागि ११ करोड रुपैयाँ छुट्ट्याइएको छ । बोर्डले क्षेत्रीय कार्यक्रम तथा कार्यालयलगायतका लागि २७ करोड ८६ लाख रुपैयाँ छुट्ट्याएको छ । बजेट छलफल कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले पहिलो पटक बोर्डमा निजी क्षेत्रको संयोजकत्वमा बजेट तयार पारेको बताए । बजेट बोर्डका सदस्य फुर्वाग्याल्जेन लामाको संयोजकत्वमा निर्माण गरिएको हो ।  
अन्तर्राष्ट्रिय हिमालयन मार्ट सञ्चालन हुने
बोर्डको अगुवाइमा नेपालमा यसै वर्ष अन्तर्राष्ट्रिय हिमालयन मार्ट सञ्चालन गरिने भएको छ । त्यसका लागि छुट्टै कार्यविधि तयार गरी सञ्चालन गरिने बोर्डले जनाएको छ । उक्त मार्ट विश्वभरबाट पर्यटन क्षेत्रका सरोकारवाला निकाय तथा ट्राभल्स कम्पनी र एजेन्टसहरूले सहभागिता जनाउने छन् ।
बोर्डले यसैवर्ष ग्लोबल मिडिया कार्यक्रमसमेत सञ्चालन गर्ने भएको छ, जसमा विश्वभरका पत्रकारहरूलाई विशेष प्याकेजमा नेपाल भिœयाउने र ठूला सञ्चारमाध्यममा नेपालको गन्तव्यका बारेमा प्रचार गराउने लक्ष्यसमेत बजेटमा राखिएको छ ।   
अन्तर्राष्ट्रिय प्रवद्र्धनमा जोड देऊ ः निजी क्षेत्र
बोर्डले प्रस्तुत गरेको प्रारम्भिक छलफल कार्यक्रममा बोल्दै निजी क्षेत्रका प्रतिनिधिहरूले बोर्डले अन्तर्राष्ट्रिय प्रवद्र्धनका कार्यक्रमलाई जोड दिन माग गरेका छन् । कार्यक्रमा बोल्दै ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष रमेश धमलाले भने, “बजेटमा अन्तर्राष्ट्रिय प्रवद्र्धनलाई जोड दिने कार्यक्रम आउनुपर्छ ।” टिम्सको रकमबारे बाहिर नराम्रो अफवाह फैलाइएको बताउँदै बोर्डले टिम्समार्फत उठ्ने रकम र खर्च विवरण तत्काल सार्वजनिक गर्दिनुपर्ने माग धमलाले राखे ।
। एसिया प्यासिफिक (पाटा) का नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले बोर्डले हिमालयन मार्टमा बोर्डले गर्दै आएको राष्ट्रिय पर्यटन मेलालाई समेत गाभ्न सुझाव दिए ।  

Friday, November 7, 2014

फुजेलमा निशुल्क स्वास्थ्य शिविर सुरु

केदार दाहाल
फुजेल २१ कात्तिक
फुजेल–काठमाडौं सम्पर्क समितिको आयोजनामा गोरखा जिल्लाको फुजेल गाउँ विकास समितिमा निःशुल्क स्वास्थ्य शिविर शुक्रवार देखि सुरु भएको छ । दुई दिन सम्म् संचलन हुने उक्त शिविरमा फुजेलका स्थानियहरुको स्वस्थ्य परिक्षण निशुल्क गराइने सम्पर्क समितिका सचिव मोहन श्रेष्ठले जानकारी दिए । “समाजिक क्षेत्रमा सेवा गर्ने उद्देश्यले शिविर संचालन गरेको हो,” श्रेष्ठले भने । उनले दिएको जानकारी अनुसार शुक्रवार मात्र २ सय भन्दा बढी स्थानियले स्वास्थ्य परिक्षण गराएको बताए । शनिवार पनि उक्त क्रम जारी रहने सम्पर्क समितिले जानकारी दिएको छ । शुक्रवार सम्पर्क समितिका संस्थापक अध्यक्ष डोल प्रसाद दाहालको प्रमुख आतिथ्यतामा निशुल्क शिविर सुरु गरिएको हो ।

निगमले खरिद गर्न लागेको एयरबसको ९० प्रतिशत काम सकियो

एयरबसमा आएनपी–आर टेक्नोलोजी 
एयरबसको ४.६ खर्व डलरको जहाज अडर


केदार दाहाल
काठमाडौं, २० कात्तिक
नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको एयरबसका दुई जहाजको ९० प्रतिशत काम सकिएको एयरबस कम्पनीले जनाएको छ । युरोपेली जहाज निर्माता कम्पनी  एयरबसले आगामी माघको १५ सम्ममा पहिलो जहाज पठाइसक्ने समेत बताएको छ । नेपालले खरिद गर्न लागेको एयरबस ए३२०–२००  न्यारोवडी जहाजका पार्ट्स तथा बडीहरु बेलायत, फ्रान्स, जर्मनी र स्पेनका उत्पादन कम्पनीहरुमा भइरहेको कम्पनीले जनाएको छ । 
“हामीले सन् २०१५ को फेब्रुवरीमा पहिलो जहाज एयरबस ए३२०–२०० विमान नेपाललाई पठाइसकेका हुन्छौ, भने अर्को जहाज केही महिनापछी नेपाललाई हस्तान्तरण गर्ने छौ,” एयरबस कम्पनीका मिडिया संयोजक जस्टीन डुवनले भने । नेपाललले पहिलोपटक एयरबसका जहाज प्रयोग गर्न लागेको छ, त्यसैबाट नेपालसंगको सम्बन्ध अगाडी बढाउन पाउँदा खुसी रहेको डुवनले बताए ।
एयरबसमा प्रयोग भएको टेक्नोलोजीले नेपाल वायुसेवा निगमको ४ प्रतिशत तेललाई सुरक्षित गर्ने भएकोेले पनि निगमलाई यसजहाजले फाइदा गराउने एयरबसका बजार प्रवन्धक शिल सुक्लाले बताए । “हामीले नेपालका पाइलट तथा इन्जिनियरहरुलाई तालिमको लागि बैंग्लोर पठाइसकेका छौ,” सुक्लाले भने । नेपाललाई उचित मुल्यमा जहाज उपलव्ध गराएको तर सुविधामा भने कुनै सम्भौता नगरेको बताए । नेपाललाई दिने उक्त जहाजमा सुविधासम्पन्न क्याविन, डिलक्स सिट, सुरक्षामा उच्च प्रविधि लगायत सबै कम्प्युटर सिष्टममा उपलव्ध रहेको उनले जानकारी दिए ।
नेपाल वायुसेवा निगमले डेढ वर्ष अगाडी युरोपियन एयरवस कम्पनीसंग दुई जहाज खरिद गर्ने सम्झौता गरेको थियो । जसमा लाग्ने धेरैजसो रकम एयरबसलाई निगमले पठाइसकेको छ । निगमले जहाज खरिदको लागि संचयकोषसंग १० अर्व रुपैयाँ ऋण लिएको थियो ।  खरिद गरिने दुवै ए ३२०–२०० विमान १ सय ५० सिट क्षमताका रहने छन । हाल निगमले अन्र्तराष्ट्रिय उडानको लागि निगमले बोइङ–७५७ ले उडान भर्दै आएको छ । एयरबसका दुई जहाज नेपाल भित्रिएपछी ४ वटा जहाज मार्फत अन्र्तराष्ट्रिय उडान भर्ने छ । 
एयरबसमा आएनपी–आर टेक्नोलोजी
कम्पनीले निगमलाई दिने जहाजमा रिक्वायड नेभिगेसन परफरमेन्स अर्थोराइजेसन रिक्वायड (आएनपी–आर) टेक्नोलोजी प्रयोग गरेको छ । जसले गर्दा तेलको खपत कम गराउने, खराव मौसममा पनि सजिलै आफ्नो डिरेक्सनमा लैजान सकिने प्रविधि छ । सबैभन्दा महत्वपूर्ण कुराके भने यस प्रविधिले एक हातलेनै जहाजलाई पाइलटले कन्ट्रोल गर्न सक्दछन ।  हवाइयात्रुले डिलक्स सिटको प्रयोग गर्ने छन जसमा सिटको चौडाइ १८ इन्च रहेको छ ।
एयरबसको ४.६ खर्व डलरको जहाज अडर
एयरबसले आगामी २० वर्षको लागि ३१ हजार नयाँ जहाज अर्डर लिइसकेको जानकारी दिएको छ । जुन ४.६ (ट्रिलियन) खर्व डलर बराबर मुल्य हुन आउँछ । एयबसले गत सन् २०१३ मा ४२ (विलियन) अर्व डलरको कारोबार गरेको थियो । हाल एयरवसमा ७२ हजारले प्रत्यक्षरुपमा रोजगारी पाएका छन । एयरबसको हेडक्वाटर फ्रान्समा रहेको छ । भने यसका सवडिलरहरु अमेरिका, चीन, जापान, भारतमा रहेको छ । त्यस्तैगरी स्पेयर्सपार्ट्स सेन्टरहरु हमरुगं, फ्र्याङ्फ्रट, वासिङटन, वेइजिङ, दुवइ र सिंगापुरमा रहेको छ । 
    

Sunday, November 2, 2014

निलम्बनविरुद्ध निरौला सर्वोच्चमा


" पर्यटन बोर्डमा नीतिगत अनियमितता भएको देखिन्छ : अख्तियार "

काठमाडौं, १५ कात्तिक । नेपाल पर्यटन बोर्ड सञ्चालक समितिले निर्देशक पदसमेत नरहने गरी निलम्बित गरेपछि कायम–मुकायम कार्यकारी निर्देशक सुवास निरौलाले त्यसविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा दायर गरेका छन् । उनले प्रक्रिया नपु¥याइ बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय मान्य नहुने जनाउँदै शुक्रबार सर्वोच्चमा मुद्दा दायर गरेका हुन् । उनले सरकारलाई विपक्षी बनाएका छन् । निरौलाले अदालतमा दायर गरेको यो पन्ध्रौं मुद्दा हो ।  
निरौलाले सदस्य सचिवविना बसेको बैठकले गरेको निर्णय नमान्ने बताउँदै पद बचाउन शुक्रबार अदालतको ढोका ढक्ढक्याउन पुगेका छन् । निरौला कामु सीईओको हैसियतले सञ्चालक समितिमा सदस्य सचिव थिए । उनलाई नै निलम्बित गर्ने भएपछि निरौलालाई बैठकमा बोलाइएको थिएन ।
बोर्ड समितिको बिहीबार बसेको बैठकले व्यवस्थापिका(संसद् सार्वजनिक लेखासमितिको निर्देशनअनुसार निरौलालाई बोर्डमा आर्थिक अनियमितिता गरेको आरोपमा निलम्बित गरेको थियो । गत कात्तिक ५ गते निरौलालाई लेखासमितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत निरौलालाई निलम्बन गर्न निर्देशन दिएको थियो ।
बोर्ड सञ्चालक समितिले निर्णय गरेपछि मन्त्रालयले बिहीबार बोर्डको कार्यालयमा पत्र बुझाउन मन्त्रालयले कर्मचारी पठाएको थियो । निरौलाले पत्र लिएर गएका कर्मचारीलार्इ ‘म पत्र बुझ्दिन’ भन्दै हकारेका थिए । त्यसपछि कर्मचारी पत्र लिएर मन्त्रालयमा नै फर्किएका थिए । मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठका अनुसार निरौलाले पत्र नबुझे पनि बोर्डको कार्यालयमा जानकारी गराइसकेकोले निरौलाले पत्र नलिए पनि केही फरक नपर्ने बताए ।  
‘ नीतिगत अनियमितता भएको देखिन्छ’ : अख्तियार  
बिहीबार मात्र निलम्बनमा परेका पर्यटन बोर्डका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सुवास निरौलालाई छिट्टै कारबाहीको दायरामा ल्याउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
करौडौं रुपैयाँको अनियमितताको आरोप लागेका निरौलालाई गत साता मात्र संसद्को सार्वजनिक लेखासमितिले निलम्बन गरी काराबाही गर्न निर्देशन दिएको थियो । निरौलाको विषयमा पहिलो पटक मुख खोलेको अख्तियारले भ्रष्टाचारीलाई कुनै पनि हालतमा नछाड्ने भन्दै अनुसन्धान अन्तिम चरणमा पुगेको र छिट्टै कारबाहीको दायरामा ल्याउने आफ्नो अफिसियल टुईटर ह्यान्डलमार्फत जानकारी दिएको छ ।
टुईटरमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीले बोर्डमा नीति गत भ्रष्टाचार भएको उल्लेख गर्दै अनुसन्धान अन्तिम चरणमा पुगेको बताएका छन् । “नेपाल पर्यटनमा निरौलाले नीतिगत अनियमितता गरेको भेटिएको छ,” उनले भनेका छन् ।
 

Friday, October 31, 2014

पर्यटन बोर्डको अनियमिततामा अख्तियार बोल्यो

“बोर्डमा नीतिगत भ्रष्टाचार भएको छ,”- कार्की

केदार दाहाल
बिहिबार मात्र नेपाल पर्यटन बोर्ड संचालक समितिको निलम्बनमा परेका पर्यटन बोर्डका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सुवास निरौलालाई छिट्टै कारबाहीको दायारामा ल्याउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
करौडौं रुपैयाँको अनियमितताको आरोप लागेका निरौला गत साता मात्र संसदको सार्वजनिक लेखा समितिले निलम्बन गरी काराबाही गर्न निर्देशन दिएको थियो । निरौलाको विषयमा पहिलो पटक मुख खोलेको अख्तियारले भ्रष्टाचारीलाई कुनै पनि हालतमा नछाड्ने भन्दै अनुसन्धान अन्तिम चरणमा पुगेको र छिट्टै काराबाहीको दायारामा ल्याउने आफ्नो अफिसियल टुईटर ह्यान्डल मार्फत जानकारी दिएको छ । अख्तियारको अफिसियल टुईटर ह्यान्डल अख्तियार प्रमुख लोकमानसिंह कार्किले बोर्डमा नीति गत भ्रष्टाचार भएको उल्लेख गर्दै अनुसन्धान अन्तिम चरणमा पुगेको बताएका छन । उनले टुइट गर्दै भनेका छन–“ नेपाल पर्यटनमा निरौलाले नीतिगत अनियमितता गरेको भेटिएको छ,” । यसैबीच निरौलाले सर्वोच्च अदालतमा शुक्रवार अवैधानिक तवरले आफुलाई हटाएको भन्दै मुद्दा समेत दायर गरेका छन ।
निरौलालाई बोर्डको नियमावली २०५५ को नियम १२ र उपनियम ५ तथा बोर्ड ऐन २०५३ को दफा १४ को उपदफा ४ बमोजिम निलम्बन गरेको थियो ।
नेपाल पर्यटन बोर्डमा ८० करोड रुपैयाँ भन्दा बढी कारोबारलाई संकास्पद रुपमा लिदै धेरैजसो रकम अनियमितता भएको हुनसक्ने गम्भिर आसंका छानविन समितको प्रतिवेदनले समेत औल्याएको थियो । 
बोर्डमा २१ करोड ७२ लाख ९९ हजार ७ सय ४४ रुपैयाँ अनियमितता भएको पाइएको छ भने ५९ करोड ७ लाख ५३ हजार १ सय ६२ रुपैयाँ ९६ पैसाको कारोबार विवरण कहिकतै पनि उपलव्ध नभएको पाइएको छ । समतिले विशेषगरी छानविन समितिको प्रतिवेदनलाई टेकेर निलम्बन र कारबाहीको निर्देशन दिएको हो ।