आर्थिक क्षेत्रका विशेष गतिविधी

Wednesday, March 6, 2013

केडियाका बाहेक २६ सिटका सबै गाडी छुटे

 केदार दाहाल

-मंगलबार मात्रै तीन दर्जन गाडी भित्रिए
काठमाडौं, २२ फागुन - तीन महिनादेखि वीरगन्ज भन्सार कार्यालयमा रोकिएका २६ सिटर गाडी मंगलबारदेखि छुट्न थालेका छन् । केही समयअगाडि सिट थप गरी एसएमएल इसुजु गाडीको नेपालका लागि अधिकृत विक्रेता केडिया इन्टरनेसनल प्रालिले अन्तःशुल्क छलेपछि कार्यालयले उक्त मोडलका सबै गाडी भित्रिन रोक लगाएको थियो । अन्य गाडी आयतकर्ताहरूले पनि त्यस्तै गरेको हुन सक्ने आशंकामा कार्यालयले यस्ता कुनै पनि गाडी भित्रिन दिएको थिएन । मंगलबार मात्र तीन दर्जन गाडी भन्सार कार्यालयबाट छुटेका छन् । 
केडियाले सिट थप गरी ३० प्रतिशत अन्तःशुल्क छलेकोमा कार्यालयले राजस्व असुलसमेत गराइसकेको छ ।  कार्यालयले यसघि गाडी छुटाउनका लागि धरौटी रकम माग गरेको थियो । व्यवसायीले भने २६ सिटर गाडी नै भएकाले धरौटी रकम राख्न अस्वीकार गरेपछि भन्सार कार्यालयले गाडी भित्रिन रोक लगाएको थियो । 
केडिया इन्टरनेसनलले भारतीय गाडी कम्पनीसँग सेटिङ मिलाई मिनिबसलाई बसका रूपमा नेपाल भिœयाएको थियो । कम्पनीले २४ प्लस १ सिटरको मिनिबसलाई २५ प्लस १ सिटरको बस भन्दै  ३० प्रतिशत अन्तःशुल्क छलेको थियो । उक्त तथ्य कारोबार दैनिकले खुलासा गरेपछि इन्टनेसनल कारबाहीमा परेको थियो । हाल भन्सार कार्यालयले एसएमएल इसुजु गाडीसँगै टाटा, अशोक लेल्यान्ड, महिन्द्रालगायत गाडीमासमेत रोक लगाएको थियो । हाल कार्यालयले केडियाको फाइल देखाउँदै अन्य गाडीहरूलाई समेत भित्रिन रोक लगाएको भन्दै व्यवसायीले आपत्ति जनाएका थिए । 
“अन्यले पनि त्यस्तै गरेको आशंकामा गाडी रोकिएको थियो,” नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का प्रवक्ता गोपी न्यौपानेले भने ।
भन्सार कार्यालयको पाइपलाइनमा रहेका टाटाका १८ वटा, महिन्द्राका १७, र अशोक लेल्यान्डका १६ वटा लगायतका गाडीहरू रोकिएका थिए ।  “हामीले गाडी रोकेको नभएर छानबिनलाई कडाइ गर्दा प्रक्रिया लम्बिएको हो,” वीरगन्ज भन्सार कार्यालयका प्रमुख रामहरि अर्यालले भने, “इन्टरनेसनलले हामीलाई समेत झुक्याई गाडी भिœयाएको रहेछ, अन्यले पनि त्यस्तो गरेको हुनसक्ने भएर हामीले चेकजाँचलाई कडाइ गरी सिट संख्याका बारेमा छानबिन गर्न यातायात व्यवस्था विभागलाई पत्र काटेकोले समय लागेको हो ।” सिटमा अन्तःशुल्क छलेको पहिलोपल्ट देखिएको र यसले राजस्वमा धेरै घाटा पार्ने भएकाले गाडी भित्रिन रोकेको नभएर निगरानी बढाएको अर्यालको भनाइ छ ।
अन्तःशुल्क छलेको भन्दै राजस्व अनुसन्धान विभाग र राष्ट्रिय सर्तकता केन्द्रले समेत अनुसन्धानलाई तीव्रता दिएपछि कार्यालयले छानबिन गर्न यातायात कार्यालयलाई पत्र काटेको थियो ।
सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम १५ बमोजिम चालकसहित १५ देखि २५ यात्री राख्न मिल्ने उक्त गाडी मिनीबस भएको तर कम्पनीले बस भनी अन्तःशुल्क छलेको थियो । २६ देखि ४५ सिट क्षमताको गाडीलाई बसका रूपमा वर्गीकरण गरिएको र साथै नियम १८ बमोजिम यात्रुबाहक सवारीको स्तरसमेत स्पष्ट गरिएको अवस्थामा सवारी उपभोक्तालाई असहज हुने गरी कम्पनीले सिट थप गरेको थियो ।  एउटा गाडी कम्पनीले गलत गर्दैमा सबैलाई एउटै ठाउँमा राख्न नहुने भएकाले कार्यालयले यस्ता कार्य रोक्नुपर्ने प्रवक्ता न्यौपानेको भनाइ छ ।


आयातकर्ताले २६ सिटर गाडी नभिœयाउने 
गाडी कम्पनीका अधिकृत विक्रेताहरू २६ सिटरको गाडी नभिœयाउने मुडमा पुगेका छन् । भन्सार कार्यालयले २५ प्लस १ सिटर गाडीमा चेकजाँचलाई कडाई गरेपछि कुनै पनि सवारी आयतकर्ताले २६ सिटरको नयाँ गाडी अडर दिएका छैनन् । पहिले नै अडर भइसकेका गाडीहरू मात्र आइरहेका छन् । उक्त गाडी भिœयाउनसमेत समस्या भएपछि नयाँ अडर गर्न व्यवसायी पर्ख र हेरको स्थितिमा छन् ।
सरकारले भन्सार मूल्यांकनअनुसार सवारी साधनको भन्सार शीर्षक नं.८७०२१०२० र ८७०२९०२० अनुसारका मिनिबसहरूमा मोल प्रतिशतका आधारमा ३५ प्रतिशत राजस्व लाग्ने व्यवस्था छ ।
भन्सार शीर्षक नम्बर ८७०२ र ८७०४ अनुसारका बसहरूमा मोल प्रतिशतको ५ प्रतिशत मात्र राजस्व लाग्ने व्यवस्था छ । कम्पनीसँगको मिलोमतोमा केडिया इन्टरनेसनले राज्य र सवारी उपभोक्तालाई खुलेआम ठगी गर्दै एउटा गाडीमा ६ लाख ६५ हजार रुपैयाँसम्म छली गरेको थियो ।

ठगी गर्न नपाएपछि ट्याक्सी व्यवसायी आन्दोलनमा


केदार दाहाल
 काठमाडौं, २२ फागुन - यात्रुलाई ठग्दै आएका ट्याक्सीविरुद्ध ट्राफिक प्रहरी महाशाखाले कारबाही चर्काएपछि व्यवसायी र चालक आन्दोलनमा उत्रिएका छन् । ट्राफिकले कारबाही नरोके र प्रतिकिलोमिटर भाडा ५० रुपैयाँ कायम नगरे चक्काजामसम्म गर्ने चेतावनी उनीहरूले दिएका छन् । सडकमा नयाँ ट्याक्सी गुड्न नदिन पनि उनीहरू लागिपरेका छन् ।
ट्याक्सी व्यवसायीले कल फास्ट गरी मिटर चलाउने, मिटर नराख्ने, मिटरको सिल तोड्ने र मिटर नचल्ने बनाउने गरेपछि ट्राफिक प्रहरीले कारबाहीलाई तीव्रता दिएको हो ।
आन्दोलनरत ट्याक्सी व्यवसायी कारबाही नगर्न माग गर्दै मंगलबार खुलामञ्चमा जम्मा भएका थिए । भित्र बसेका यात्रुलाई समेत जबर्जस्ती ओरालेर ट्याक्सीलाई -यालीमा सहभागी गराइएको थियो । आन्दोलनमा जान नमान्ने ट्याक्सीलाई जबर्जस्ती ¥यालीमा सहभागी गराइएको भन्दै स्वयं व्यवसायीले नै विरोध गरेका छन् ।
सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेकोमा समेत व्यवसायीले विरोध गरेका छन् । उनीहरूले पुरानै ट्याक्सी चलाउन पाउनुपर्ने माग गरेका छन् । सरकारले हाल ५ हजार नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरिरहेको छ ।
“ट्याक्सी व्यवसायीले खुलेआम लुट्न पाउनुपर्छ भनी आन्दोलन गरेकोमा हाम्रो आपत्ति छ,” राष्ट्रिय उपभोक्ता मञ्चका महासचिव पुष्पराम पौडेलले भने, “यस्तो प्रवृत्तिको सबै क्षेत्रबाट विरोध हुनुपर्छ ।” सरकारले व्यवसायीको आन्दोलनका कारण नयाँ ट्याक्सी दर्ता प्रक्रियालाई रोक्न नहुने भन्दै उनले तत्काल दर्ता सुरु गर्नुपर्ने बताए ।
यातायात मन्त्रालयअन्तर्गत रहेको यातायात व्यवस्था विभागले १३ वर्षपछि काठमाडौंमा नयाँ ट्याक्सी दर्ता खोल्ने प्रक्रिया सुरु गरेको थियो । दर्ता नखोल्दा नेपाली उपभोक्ता पुरानो ट्याक्सी चढ्न बाध्य भएको भन्दै विभागले यस्तो तयारी थालेको हो । व्यवसायी स्वयंले नयाँ दर्ता खोल्न माग गर्दै आए पनि सिन्डिकेट चाहने व्यवसायीले यसको विरोध गर्दै आएका छन् । मंगलबारको विरोध यिनै व्यवसायीले गरेका हुन् ।
“केही व्यवसायी सिन्डिकेट चाहन्छन्, त्यसैले आन्दोलन गरिरहेका छन्, हामीलाई मान्य छैन,” एक व्यवसायी राम थापाले भने, “उनीहरू मिटर बिगारेर पैसा कमाउन चाहन्छन्, अहिले बढेको कारबाहीबाट डराएर आन्दोलनमा आएका हुन् ।”
आन्दोलनरत व्यवसायीले प्रतिकिलोमिटर ५० रुपैयाँ भाडा बनाउनुपर्ने समेत माग गरेका छन् । “हाल प्रतिकिलोमिटर ३२ रुपैयाँ रहेकोले बढाएर ५० बनाउनुपर्छ,” नेपाल राष्ट्रिय यातायात व्यवसायी सर्वोच्च महासंघका अध्यक्ष विष्णु सिवाकोटीले भने, “हामीले ट्राफिकको चेकजाँच र नयाँ ट्याक्सी दर्ताको समेत विरोध गरेका हौं । अहिले गुडिरहेका ट्याक्सी नै पर्याप्त रहेकाले नयाँ दर्ता खुलाउन हुँदैन ।”
विभागले आफ्नो प्रतिवेदनमा काठमाडौंमा ५ हजार ५ सय ५७ ट्याक्सीमात्र सञ्चालनमा रहेको बताएको छ । सोही प्रतिवेदनका आधारमा ट्याक्सीहरू गए गुज्रेको अवस्थामा रहेको निष्कर्षमा विभाग छ ।
उपत्यकामा १३ वर्षअघि झन्डै ९ हजार हाराहारीमा रहेका ट्याक्सी हाल ५ हजार ५ सय ५७ वटामात्र सञ्चालनमा देखिएका छन् ।
आन्दोलन गर्न भन्दै व्यवसायीले प्रत्येक ट्याक्सीसँग जबर्जस्ती १ हजार रुपैयाँसमेत उठाएको आरोप छ ।

Tuesday, September 18, 2012

बोर्डले बीबीसी र सीएनएनको ५ करोड तिरेन


बोर्डले बीबीसी र सीएनएनको ५ करोड तिरेन

प्रस्तुति: केदार दाहाल
Nameकाठमाडौं, ३१ भदौ - नेपाल पर्यटन बोर्डले गत वर्ष विश्वप्रसिद्ध समाचार च्यानल बीबीसी र सीएनएनमा प्रसारण गरेको पर्यटन वर्षसम्बन्धी विज्ञापनको ५ करोड रुपैयाँ अझै भुक्तानी दिएको छैन । दुवै संस्थाले पटक–पटक लिखित ताकेता गरे पनि बोर्डमा कार्यकारी प्रमुख (सीईओ) नहुँदा भुक्तानी प्रक्रिया नै रोकिएको छ । नेपाल उनीहरूको कालोसूचीमा पर्ने खतरा बढेको छ ।
विगत एक वर्षदेखि बोर्ड नेतृत्वविहीन छ । बोर्डले विभिन्न मुलुकमा गरेका प्रवद्र्धनात्मक कार्यक्रमको समेत भुक्तानी गरेको छैन ।
समयमै रकम भुक्तानी नगर्दा विदेशी च्यानलले सार्वजनिक सूचनासमेत जारी गर्नसक्ने बोर्डका अधिकारी स्वीकार्छन् । यसले अन्तर्राष्ट्रियस्तरमा नेपाली पर्यटन प्रवद्र्धन गरिरहेको बोर्डको साख गिर्ने चिन्ता उनीहरूलाई छ ।
बोर्डले गत मंसिरमा दुवै च्यानलमार्फत प्रवद्र्धनात्मक विज्ञापन गरेको थियो । पर्यटन वर्षको अन्त्यमा प्रचारप्रसार गरिएको कार्यक्रमको त्यतिबेलै चर्को आलोचनासमेत भएको थियो । कार्यक्रमको भुक्तानी नगराउँदा नेपालको गलत प्रचार हुने सम्भावना बढेको छ ।
बोर्डमा गत वर्ष भदौदेखि सीईओ नियुक्त हुन सकेका छैनन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कायममुकायम सीईओ नियुक्त नगरेका कारण पनि बोर्डका सानातिना काममा निर्णय हुन सकेको छैन ।
पर्यटन वर्ष २०११ मा सरकारले अन्तर्राष्ट्रिय प्रवद्र्धनका लागि भन्दै १३ करोड रुपैयाँ बजेट छुट्ट्याएको थियो । भारत र चीनका लागि ८ करोड रुपैयाँ छुट्ट्याइए पनि कार्यक्रम सञ्चालन नहुँदा रकम फ्रिज भएको छ ।
बोर्डका निमित्त सीईओ सुवास निरौलाले भुक्तानीसम्बन्धी निर्णय गर्ने अधिकार आफूलाई नभएको बताए । “बीबीसी र सीएनएनले धेरै अगाडि बिल पठाएका हुन्,” उनले भने, “तर, म नाममात्रको निमित्त सीईओ भएकाले बजेट भुक्तानी दिन सक्दिनँ ।”
भारत र चीनमा गर्ने भनिएको प्रचार पनि सीईओ नहुँदा रोकिएको उनले बताए । “एक वर्षदेखि बोर्ड नेतृत्वविहीन भएकोले पर्यटनका हरेक क्षेत्रमा असर पर्दै आएको छ,” उनले भने, “पहिले पास भएका कार्यक्रम कार्यान्वयन गर्ने र कर्मचारीलाई तलब खुवाउने मात्र काम भइरहेको छ ।”
बोर्डसम्बन्धी ऐनमा कामु तोक्ने व्यवस्था नभएको भनेर मन्त्रालय पन्छिँदै आएको छ । बोर्डमा सीईओ रिक्त रहेको अवस्थामा पाँच जना निर्देशक मिलेर काम गर्नुपर्ने व्यवस्था रहेको उसको भनाइ छ । “तर, यसअघि पनि टेकराज डाँगी सीईओ हुँदा कार्यवाहकको जिम्मेवारी दिइएकाले मन्त्रालयले चाहेमा कसैले छेक्न सक्दैन,” निरौलाले भने ।

Tuesday, August 28, 2012

फर्म दर्ता सिफारिस विवाद-महासंघ, चेम्बर र वाणिज्य विभागविरुद्ध सर्वोच्चमा मुद्दा

प्रस्तुति: केदार दाहाल 
काठमाडौं, ३२ साउन -फर्म दर्ता तथा नवीकरणका लागि नेपाल उद्योग वाणिज्य महासंघ र चेम्बर अफ कमर्सले दिँदै आएको सिफारिसको प्रावधान विवादमा तानिएको छ । वाणिज्य विभागले फर्म दर्ता तथा नवीकरणका लागि नेपाल उद्योग वाणिज्य महासंघ र चेम्बर अफ कमर्सको अनिवार्य सिफारिसको प्रावधान खारेज गर्न माग गर्दै सर्वोच्चमा मुद्दा दायर भएपछि उक्त प्रावधान विवादमा परेको हो । उक्त प्रावधान हालसम्म निर्माण भएका सबै कानुन तथा ऐनविरुद्द भएको भन्दै सो व्यवस्था खारेजीको मागसहित सर्वोच्चमा रिट दायर गरिएको छ ।
राष्ट्रिय उपभोक्ता मञ्च नेपालले वाणिज्य विभाग, चेम्बर अफ कमर्स तथा नेपाल उद्योग वाणिज्य महासंघलाई विपक्षी बनाउँदै बिहीबार सर्वोच्चमा मुद्दा दायर गरेको छ । सरकारले वि.स २०४१ साल साउनमा मन्त्रीस्तरीय निर्णय गरी वाणिज्य विभागमा फर्म दर्ता तथा नवीकरणका लागि अनिवार्य रूपमा चेम्बर अफ कमर्स तथा तत्कालीन नेपाल उद्योग वाणिज्य संघको सिफारिस पेस गर्नुपर्ने प्रावधान राखिएको थियो । सो प्रावधान गैरकानुनी भएकाले खारेज गर्न माग गर्दै आफूहरूले कानुनी बाटो रोजेको मञ्चका महासचिव पुष्पराम पौडेलले बताए ।
वाणिज्य विभागमा कुनै संघसंस्थाको सिफारिस अनिवार्य रूपमा पेस गर्न लगाउनु मौलिक हक तथा व्यावसायिक स्वतन्त्रताविरुद्ध भएको भन्दै उक्त व्यवस्था खारेज गर्नुपर्ने माग विभिन्न सरोकारवाला निकायले माग गर्दै आएका थिए ।
तत्कालीन सरकारको निर्णय अन्तरिम संविधान २०६३, नागरिक अधिकार ऐन २०१२, प्राइभेट फर्म रजिस्ट्रेसन ऐन २०१४, साझेदारी ऐन २०२०, वाणिज्यसम्बन्धी प्राइभेट फर्म दर्ता तथा नवीकरण कार्यविधि २०६३ विरुद्ध भएको भन्दै उक्त व्यवस्था खारेज गर्न माग गरिएको छ ।  वाणिज्य विभागले उक्त निर्णय खारेज नगरी व्यवसायीहरूको साझा संस्थालाई सरकारी विभागको सरह मान्यता दिएकाले उक्त व्यवस्था खारेज गराउन लागि परेको मञ्चको  तर्क छ । 
। “कहीँ कतै कानुनमा उल्लेख नभएको प्रावधान लागू गरेर व्यवसायी र विभागले सिन्डिकेट प्रणाली अपनाएका छन्,” पौडेलले भने, “अघोषित सिन्डिकेटका विरुद्ध हामी उभिएको हो ।”
व्यवसायीहरूले भने आफूहरूले वाणिज्य विभागको निर्देशनलाई कार्यान्वयन गर्दै आएको प्रतिक्रिया दिएका छन् । मन्त्रिपरिषद्को निर्णयलाई विभागले कार्यान्वयन गर्दै आएको र आफूहरूले त्यसमा सहयोगीको भूमिका मात्र खेलेको उनीहरूले बताएका छन् ।

असोजदेखि पर्यटक एक्लै लाङटाङ घुम्न नपाउने

प्रस्तुति: केदार दाहाल 
काठमाडौं, २ भदौ  -लाङटाङ क्षेत्रमा भ्रमणमा जाने पर्यटकले गाइडलैजानुपर्ने अनिवार्य व्यवस्था पर्यटकलाई महँगो पर्ने भएको छ । लाङटाङ क्षेत्रमा पर्यटक पदयात्रामा जान आउदो सेप्टेम्बर महिनादेखि अनिवार्य गाइड लैजानुपर्ने भएपछि पर्यटक दोहोरो मारमा पर्ने भएका हुन् ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले सेप्टेम्बर महिनादेखि लागू हुने गरी अनिवार्य गाइडको व्यवस्था गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएको छ । बोर्डले मन्त्रालयको सो निर्देशन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) मार्फत सम्पूर्ण व्यवसायीहरूलाई सर्कुलरसमेत गरिसकेको छ । लाङटाङ क्षेत्रमा पर्यटक हराउने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालय रसुवाले गृह मन्त्रालयलाई पत्र लेखी अनिवार्य गाइडको व्यवस्था गराउन माग गरेको थियो । सोही मागका आधारमा गृह मन्त्रालयले संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई रसुवा क्षेत्रमा अनिवार्य गाइडको व्यवस्था गर्न गराउन परिपत्र गरेको थियो । गृहको परिपत्र अनुसार पर्यटन मन्त्रालयले अनिवार्य गाइडको व्यवस्था गरेको हो ।
लाङटाङ क्षेत्रमा पर्यटकहरू जाँदा गाइड वा मजदुरलाई खर्च गर्नुपर्ने भएपछि थोरै रकम वा अध्ययनको क्रममा नेपाल आउने पर्यटकलाई अफ्ठेरो पर्ने भन्दै मन्त्रालय र बोर्डका केही अधिकारीहरू असन्तुष्ट भएका छन् । विगत लामो समयदेखि सम्पूर्ण क्षेत्रमा अनिवार्य गाइडको व्यवस्था हुनुपर्छ भनेर लविङ गर्दै आएका ट्रेकिङ व्यवसायीहरूले भने राम्रो कदम भन्दै स्वागत गरेका छन् ।
पर्यटन मन्त्रालय र बोर्डका अधिकारीहरू भने पर्यटकले स्वतन्त्र घुम्न पाउने (एफआईटी) नीतिविपरीत यो निर्देशन भएको भन्दै रुस्ट बनेका छन् । व्यवसायीहरूले गाइडको व्यवस्था गर्दा सम्पूर्ण व्यवसायी माताहत पर्यटक स्वतहः आउने भएकाले देशभर यस्तो व्यवस्था लागू गर्नपर्नेमा छन् ।
“हामी धेरै पहिलेदेखि गाइडको व्यवस्था अनिवार्य गर्नुपर्छ भन्ने पक्षमा उभिएको थियौँ ढिलै भए पनि यस्तो व्यवस्था सुरु हुनु सकारात्मक छ,” टानका महासचिव मोहन लम्सालले भने, “लाङटाङ क्षेत्रमा धेरै पर्यटकहरू हराउने गरेकाले अनिवार्य गाइडको व्यवस्थाले उक्त समस्या हट्नेछ ।” व्यवसायीहरू यतिबेला लाङटाङ क्षेत्रसँगै अन्य क्षेत्रमा पनि अनिवार्य गाइडको व्यवस्था गर्न पर्यटन मन्त्रालयमा माग गरिरहेका छन् । अनिवार्य गाइडको व्यवस्था गर्दा नक्कली व्यवसायीहरू पलायन हुने भएकाले पनि यस्तो व्यवस्था देशभर लागू गर्नुपर्ने पक्षमा आफूहरू उभिएको लम्सालको भनाइ छ ।
लाङटाङ क्षेत्रमा बेला बेलामा पर्यटकहरू हराइरहेकाले मन्त्रालयले उक्त निर्णय गरेको बोर्डका प्रवक्ता आदित्य बरालको भनाइ छ । “हामीले मन्त्रालयले गरेको परिपत्रलाई टानमा पठाइदिएका हौं,” बरालले भने ।
।
व्यवसायी गलत प्रचारमा  
मन्त्रालयले लाङटाङ क्षेत्रमा घुम्न जानका लागि अनिवार्य नेपालीको व्यवस्था गरेको भए पनि व्यवसायीहरू भने गलत प्रचारमा लागेका छन् ।  ट्रेकिङ व्यवसायीहरूले एफआईटी सिष्टम नै खारेज भइसकेको तथा सम्पूर्ण ठाउँमा घुम्नका लागि अनिवार्य गाइड र व्यवसायी माताहत मात्र घुम्न पाउने व्यवस्था सुरु भएको भन्दै गलत प्रचारमा लागेका छन्  । अहिले ट्रेकिङ व्यवसायीहरूले आफ्नो वेबसाइट तथा इमेलमार्फत पर्यटकलाई त्यस्तो जानकारी गराइरहेका छन् ।
नेपालमा १३ वर्ष अगाडिदेखि एफआईटी सिष्टम लागू भएको थियो । जुन नीतिअनुसार पर्यटकहरू एक्लै घुम्न पाउने व्यवस्था छ । नेपालमा घुम्न आउने पर्यटकको झन्डै ३५ प्रतिशतभन्दा बढी एफआईटी सिष्टमअन्तर्गत नेपाल भ्रमण गर्छन् । एउटा गाइड, मजदुर वा व्यवसायीभन्दा बाहिरको लाइसेन्स प्राप्त गाइड जो भए पनि एक जना लिएर लाङटाङ क्षेत्रमा जानुपर्ने व्यवस्था गरेको बरालले जानकारी दिए ।       

बिहीबार पोखराका सबै उडान रद्द हुने - विमानस्थल निर्माणको माग गर्दै सिंहदरबारमा धर्ना

प्रस्तुति: केदार दाहाल
काठमाडौं, ५ भदौ -अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकालागि दबाब स्वरूप बिहीबार पोखरा उडान भर्ने सम्पूर्ण उडान रद्द हुने भएका छन् । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न माग गर्दै आन्दोलनमा उत्रिएका पोखराका व्यवसायी तथा सरोकारवाला निकायले बिहीबार सम्पूर्ण पोखरा उडान रद्द गर्ने कार्यक्रम सार्वजनिक गरेका हुन् । बिहीबार संकेतिक रूपमा मात्र उडान रद्दको कार्यक्रम सार्वजनिक गरेको उल्लेख गर्दै भदौ १७ गतेदेखि अनिश्चितकालका लागि उडान रद्द गराउने आन्दोलनरत निकायहरूले चेतावनीसमेत दिएका छन् ।    
पोखरामा विभिन्न एयरलाइन्स कम्पनीहरूले दैनिक २० देखि २५ सम्म उडान भर्दै आएका छन् । पोखरा विमास्थलबाट दैनिक काठमाडौंदेखि पोखरा तथा पोखरादेखि जोमसोम क्षेत्रमा उडान भर्दै आएका छन् । यती, बुद्ध, गुण, अग्नि, तारा तथा नेपाल एयर लाइन्सले दैनिक उडान भर्दै आएका छन् ।         
मंगलबार पोखरालाई प्रतिनिधित्व गर्ने व्यावसायिक संघसंस्थाको अगुवाइमा सिंहदरबारमा राखिएको धर्ना कार्यक्रममा उनीहरूले त्यस्तो चेतावनी दिएका हुन् ।
पश्चिमाञ्चल उद्योग वाणिज्य महासंघको अगुवाइमा आएको प्रतिनिधिहरूको समूहले संस्कृति, पर्यटन तथा नागरिक उडड्यान मन्त्रालयलाई तत्काल निर्माण कार्य सुरु गर्न माग गर्दै ज्ञापनपत्रसमेत बुझाएका छन् । ज्ञापनपत्रमा कुनै पनि बहानामा विमानस्थल कार्य निर्माण रोक्न नहुने र तत्काल निर्माण कार्य सुचारु गर्न माग गरिएको छ ।   
व्यवसायीहरूले ज्ञापनपत्र बुझाउँदै कर्मचारी र टेन्डरको बहानामा विमानस्थल निर्माण कार्य सुरु नगरे पोखरालगायत सम्पूर्ण पश्चिमाञ्चल विकास क्षेत्र नै ठप्प पार्ने बताएका छन् ।
“कमिसनको खेलमा लागेर हाल आएर विभिन्न बहानबाजी गरिएको छ, त्यो हामीलाई मान्य छैन,” गाउँ पर्यटन प्रवद्र्धन मञ्चका अध्यक्ष बोधराज भण्डारीले भने ।
विमानस्थल निर्माण हुनुपर्ने पक्षमा पश्चिमाञ्चलका सम्पूर्ण पर्यटन व्यवसायी, राजनीतिक दलहरूलगायत सम्पूर्ण स्थानीयहरूसमेत एकमत रहेकाले स्थानीयको आकांक्ष बेगर सरकार र सरकारका प्रतिनिधि बाहिर जान नमिल्ने भण्डारीको तर्क छ ।  
विमास्थल निर्माणको कार्य सुरु हुने अन्तिम समयमा आएर कर्मचारीको कारण देखाउँदै निर्माण कार्य रोकिएको थियो । नागरिक उडड्यान प्राधिकरणले टेन्डर विवाद देखाउँदै निर्माण कार्य गर्न रोक लगाएको थियो ।  निर्माण कार्य सुरु नभए पछी पोखरामा अन्दोलन गर्दै आएका आन्दोलनरत व्यवसायी तथा सरोकारवलाहरू मंगलबार काठमाडौंको सिंहदरबार धर्नामा आएका हुन् ।         
पोखरादेखि काठमाडौं आएका ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) पोखरा च्याप्टर, नेपाल एसोसिएसन फर टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को पोखरा च्याप्टर, पर्यटन काउन्सिल पोखरा, पश्चिमाञ्चल होटल संघ, लेखनाथ उद्योग वाणिज्य संघका प्रतिनिधि तथा पोखराबाट काठमाडौंमा व्यवसाय गरिरहेका व्यवसायीहरूले मंगलबार दिनभर सिंहदरबार परिसरमा धर्ना दिएका थिए ।  धर्ना कार्यक्रममा पोखरा क्षेत्रबाट काठमाडौंमा व्यवसाय गरी बसेका व्यवसायीहरूको समेत बाक्लो उपस्थिति थियो ।   

यातायात नीति १३ वर्षपछि संशोधन -‘युरो ३’ अनिवार्य,२ लाख सवारी मापदण्डबाहिर

प्रस्तुति: केदार दाहाल
काठमाडौं, ९ भदौ -सरकारले १३ वर्षपछि यातायात नीति संशोधन गरी युरो–३ मापदण्ड लागू गरेको छ । वातावरण मन्त्रालयले साउन २९ देखि लागू हुने गरी नयाँ मापदण्ड लागू गरेको हो । युरो– ३ लागू भएपछि सहरी क्षेत्रमा गुड्ने २ लाख सवारी मापदण्डबाहिर पर्नेछन् ।
यसअघि नेपालमा युरो– १ मापदण्डका सवारी साधन भिœयाउन पाइन्थ्यो । मन्त्रालयले राजपत्रमा प्रकाशित गरेकाले अब नेपालमा पुराना मापदण्डका गाडी भिœयाउन पाइनेछैन । छिमेकी भारत युरो– ४ मा प्रवेश गरिसकेको छ । प्रदूषणलगायत उपकरण र प्रविधि मापदण्डका आधारमा युरो निर्धारण गरिन्छ ।
वातावरण मन्त्रालयलाई गत वर्ष नै तत्कालीन श्रम तथा यातायात व्यवस्था मन्त्रालयले युरो–१ बाट युरो–३ मा जान सुझाव दिएको थियो । सोही सुझावका आधारमा वातावरण मन्त्रालयले यातायात नीति संशोधन गरी युरो– ३ लाई अनिवार्य गरेको हो ।
सरकारले मापदण्ड परिवर्तन नगर्दा मुलुक पुराना गाडीको ‘डम्पिङ साइट’ बन्न लागेको भन्दै सवारी नीति २०५६ खारेज गर्न सरोकारवाला क्षेत्रबाट माग हुँदै आएको थियो । मापदण्डबाहिर रहेका २ लाख सवारी साधनलाई क्रमशः सहरी क्षेत्रबाट हटाउँदै लैजाने सरकारको तयारी छ ।
“राजपत्रमा प्रकाशित भइसकेकाले अब नेपालमा युरो १ तथा २ मापदण्डका गाडी आयात गर्न पाइँदैन,” यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक शरद अधिकारीले भने, “सरोकारवालाको दबाब र मुलुकको आवश्यकताका आधारमा योे मापदण्ड तोकिएको हो ।”
पुरानो प्रविधिमा निर्माण हुने र भारतमा सञ्चालन हुन नपाउने युरो– १ गाडी सस्तो हुने हुँदा गाडी व्यवसायीले नेपाल भिœयाइरहेका थिए । “अब भने त्यस्ता आयातकर्ता निरुत्साहित हुनेछन्,” नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) का महासचिव दीपक थापाले भने, “हामीले पहिलेदेखि नै युरो–३ मा जानुपर्छ भन्दै आएका थियौं, सरकारले सोहीअनुसार निर्णय गर्नु सकारात्मक हो ।”
उनका अनुसार सन् २०१० देखि भारतभर युरो– ३ मापदण्ड लागू भएकोमा गत वर्षदेखि मुख्य १४ सहरमा युरो– ४ लागू भइसकेकाले नेपाल बाध्यात्मक अवस्थामा थियो ।
भारतमा भन्दा नेपालमै पहिले युरो– १ मापदण्ड लागू गरिए पनि १३ वर्षसम्म त्यसबारे पुनर्विचार भएको थिएन । अहिले नेपालमा युरो– १ र २ मापदण्डका गाडीको थुप्रो लागिसकेको व्यवसायी बताउँछन् ।
भारतलगायत तेस्रो मुलुकबाट नेपालमा आयात गरिने युरो– १ र २ मापदण्डका गाडी अन्यभन्दा झन्डै १० देखि १५ प्रतिशतसम्म सस्तो पर्ने भएकाले नाम चलेका र ठूला आयातकर्ताले नै त्यस्ता गाडी भिœयाइरहेका थिए ।

कार्यन्वयनमा अन्योल
सरकारले युरो–३ मापदण्डमा जाने निर्णय गरे पनि यातायात व्यवस्था विभाग र आयातकर्ता भने अन्योलमा छन् । वातावरण मन्त्रालयले साउन २९ देखि नै लागू गराउन सर्कुलर गरे पनि कसरी लागू गराउने भन्नेमा उनीहरूले निर्णय लिन सकेका छैनन् ।
“साउन २९ देखि लागू गर्ने भनिए पनि हामीले तीन महिनाअघि बुकिङ गराएका युरो–१ र २ मापदण्डका गाडी आयात गर्न पाउनुपर्छ,” नाडा महासचिव थापाले भने, “भारतबाट ल्याउन एक महिनाअघि र तेस्रो मुलुकबाट ल्याउन तीन महिनाअघि नै बुकिङ गराइने भएकाले त्यस्ता गाडी ल्याउन पाउनुपर्ने हाम्रो माग हो ।”
विभाग भने ‘पर्ख र हेर’को अवस्थामा छ । राजपत्रमा प्रकाशित भएपछि केही कठिनाइ देखिएको निर्देशक अधिकारीले वताए । “हामी, आयातकर्ता र वातावरण मन्त्रालयबीच छलफल गरेर अघि बढ्छौं,” उनले भने  ।

कस्ता गाडी आउँदैनन्
सवारीमा युरो–३ मापदण्ड लागू भएपछि हाल काठमाडौंलगायतका सहरमा देखिने प्रायः गाडी आयात हुनेछैनन् । काठमाडौंमा चल्ने सुजुकी ट्याक्सीको पुरानो मोडलसमेत अब आयात गर्न पाइनेछैन ।
पुरानो मापदण्डमा पर्ने हेभीतर्फका गाडी टाटा, आइसरलगायत साना सेगमेन्टका धेरै मोडल आयात गर्न पाइनेछैन । हेभी इक्विपमेन्टतर्फका डोजर, लोडर, क्रेनलगायत सबै प्रकारका मोडल सवारी नीति २०५६ भन्दा अगाडिका छन् ।
क्रेन, डोजर तथा हेभी ट्रकहरू नेपालमा ४८ हजार ५ सय २३ वटा दर्ता छन् । सवारी नीति २०५६ भन्दा पनि अगाडिका ट््यांकर तथा ट्र्याक्टरका मोडल भने कुनै युरो मापदण्डमा पर्दैनन् । त्यस्ता ट्ं्याकर र ट्र्याक्टरमात्रै ६७ हजार २ सय ७६ वटा छन् । यी कुनै मोडल अब आयात गर्न पाइनेछैन ।
सर्वसाधारणका लागि सेवा दिने बस तथा मिनीबसहरू पनि युरो–१ र २ मापदण्डका छन् । त्यस्ता गाडी ३६ हजार ७ सय १८ वटा दर्ता छन् । २ हजार ३ सय ८४ वटा माइक्रोबस प्रायः युरो– १ र २ मापदण्डका छन् । नेपालमा युरो–५ मापदण्डका गाडी पनि भित्रिएका छन् ।