अमरमान शाक्य
प्रथम उपाध्यक्ष, हान
साढे तीन दशकदेखि पर्यटन
उद्योगअन्तर्गत होटल क्षेत्रमा लगानी गर्दै आएका अमरमान शाक्य होटल संघ
नेपाल (हान) का प्रथम उपाध्यक्ष हुन् । हानको अहिले ५० औं वार्षिकोत्सव
चलिरहेको छ । उनले हान कार्य समितिमा रहेर हालसम्म १९ वर्ष सेवा गरिसकेका
छन् ।
प्रथम उपाध्यक्ष, हान
नेपालमा पुरानो होटल अमरको समेत
सञ्चालक रहेका शाक्य नयाँ होटल खोल्ने तयारीमा जुटेका छन् । उनलाई हानको
नेतृत्व गर्न पनि दबाब आइरहेको छ । नेपालमा होटल क्षेत्रमा बढ्दै गएको
लगानी तथा नेपालको पर्यटन क्षेत्रको आगामी बाटोका विषयमा केन्द्रित रहेर
शाक्यसँग कारोबारकर्मी केदार दाहालले गरेको कुराकानी :
पछिल्लो ६ महिनामा नेपालमा पर्यटक
आगमन दरमा राम्रो वृद्धि भइरहेको देखिन्छ । सन् २०१६ भित्रै भूकम्पअघिको
अवस्थामा पर्यटन व्यवसाय पुग्ला ?
भूकम्पका कारण सबैभन्दा बढी असर पर्यटन
क्षेत्रमा परेको हो । किनभने भूकम्पअघि नेपालमा पर्यटक आगमन दर वार्षिक ८
लाखभन्दा माथि पुगेको थियो । भूकम्पका कारण सबै होटल रित्तिए भने पर्यटन
क्षेत्र प्रभावित भयो ।
हामीले भिजन २०२० मार्फत सन् २०२० सम्ममा
वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य अघि सारेर मार्केटिङ गर्नेदेखि
पूर्वाधारमा लगानी गर्न निजी क्षेत्र र सरकारी निकायलाई घच्घच्याइरहेका
थियौं । तर गत वर्षको भूकम्पले यसमा असर पारेको छ, तैपनि हामी निराश भने
भएका छैनौं ।
पर्यटन क्षेत्रमा अहिले सकारात्मक संकेत
देखिन थालेका छन् । सन् २०१४ मा ७ लाख पर्यटक नेपाल आएका थिए । अहिले घटेर ५
लाखमा सीमित भएको छ । अब यो अवस्था लामो समयसम्म रहँदैन । पर्यटक घट्नुमा
भूकम्पबाहेक अन्य कारण थिएन ।
पछिल्लो समयमा पर्यटन आगमन दरमा १६
प्रतिशतले मात्र वृद्धि भएको छ । त्यसैले सन् २०१६ मै भूकम्पअघिको अवस्थामा
पुग्ने देखिँदैन । अहिलेको आगमनदर हेर्दा सन् २०१७ मा मात्र भूकम्पअघिको
अवस्थामा पुग्ने देखिन्छ ।
नेपालमा पर्यटकीय मुख्य सिजन सुरु भइरहेको छ । व्यवसायीहरूले पर्यटक व्यवस्थापनको तयारी कसरी गरिरहेका छन् ?
आगामी सिजनलाई हामीले गर्नुपर्ने सबै
तयारी गरिसकेका छौं । जुन अघिल्ला वर्षहरूमा समेत गर्ने गरेका थियौं । फेरि
पर्यटन क्षेत्र भनेको सिजनमा मात्र तयारी गरेर पुग्दैन । पर्यटन
व्यवसायीहरूले ३६५ दिनै पर्यटक राख्न र ल्याउन सक्ने भएर तयारी गरिरहेका
छन् ।
सन् २०१५ मा भूकम्पका कारण पर्यटन
क्षेत्रमा ठूलो असर पारेकाले सन् २०१६ विशेष महत्वपूर्ण वर्ष हो । सन् २०१५
मा हामीले सोचेजस्तो पर्यटक नआए पनि सन् २०१६ को सुरुवातदेखि नै नेपालमा
पर्यटक आगमन दरले राम्रो संकेत गरेको छ ।
नेपालमा पर्यटक आगमन दर घटिरहेको छ । तर होटलमा लगानी बढेको बढ्यै छ, तपाईंहरूले लगानीलाई कसरी सुरक्षित गर्नुहुन्छ ?
सन् २०११ यता बैंकहरूले होटल क्षेत्रमा
लगानी गर्दै आएका छन् । पर्यटक संख्या बढेपछि लगानीकर्ताहरू उत्साहित भएर
आए । होटलमा लगानी आउनु सकारात्मक हो । अब पर्यटक भित्र्याउनु पर्ने
आवश्यकता छ । चिन्ता लगानीकर्ताको मात्र हैन बैंक, सरकार सबै चिन्तित
हुनुप¥यो ।
अहिले ठूला घरानाहरू पनि लगानीकर्ता भएर
पर्यटन व्यवसायमा आएका छन् । बैंक डुब्दै गर्दा सर्वसाधारणको पनि पैसा
डुब्ने भएकाले यसमा सरकारदेखि आमसर्वसाधारणमा चिन्ता हुनुपर्छ, त्यसपछि
पर्यटक आगमन बढ्ने छ ।
पर्यटक आगमन बढ्यो भने लगानीकर्ता पनि
सुरक्षित हुनेछन्, जसबाट रोजगारी सिर्जना हुनुका साथै राज्यको आम्दानीमा
समेत वृद्धि हुने देखिन्छ ।
पर्यटक धान्न सक्ने नेपालको क्षमता कति हो ?
पछिल्लो समयमा विभिन्न होटलमा गरी ३ हजार कोठा थपिएका छन् ।
नेपालका होटलहरूको क्षमता वार्षिक १५ लाख पर्यटकलाई धान्न सक्ने छ । यसरी हेर्दा अब वर्षको १५ लाख पर्यटक चाहिन्छ । सन् २००४ मा होटलहरूले २५ डलरमा रुम बिक्री गर्ने गरेका थिए । अहिले बढेर ७० देखि ९० डलरमा पुगेको छ ।
पर्यटक नआएको अवस्थामा फेरि पुरानै अवस्थामा फर्किने छ, जुन सबैको लागि दुर्भाग्य हुनेछ ।
नेपालमा २५ वर्षसम्म पर्यटन क्षेत्र स्थिर हुनुको कारण के हो ?
नेपालमा पर्यटन आगमन दर वृद्धि हुन
नसक्नुको मुख्य कारण पूर्वाधारको अभाव हो । सरकारले पर्यटकका लागि
पूर्वाधार निर्माण गर्न सकेको छैन । नेपालको राष्ट्रिय ध्वजावाहक विमान
सेवाको हालत अहिले पनि राम्रो छैन ।
पर्यटक भित्र्याउनका लागि एयरलाइन्सको
ठूलो भूमिका हुन्छ, तर नेपाल एयरलाइन्सको भूमिका खै ? पर्यटक भित्र्याउन
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दुई प्रतिशत मात्र योगदान छ ।
अन्य मुलुकहरूमा राष्ट्रिय ध्वजावाहकको भूमिका २५ प्रतिशतसम्म हुन्छ ।
नेपालमा २ प्रतिशत छ ।
अहिले सरकारले न्यारोबडीका २ वटा नयाँ
जहाज दिएको छ र तर हामीलाई वाइड बडी भएको जहाज चाहिन्छ । जति सक्दो छिटो
जहाज किन्ने र व्यवस्थापन सुधारमा लाग्नुपर्ने अवस्था देखिन्छ ।
सरकारले नै विमान किनेर एयरलाइन्सलाई बिजनेस गर्न दिनुपर्छ । त्यसपछि मात्र नेपालको पर्यटन क्षेत्रले गति लिनेछ ।
पर्यटकीय गन्तव्य हामी कहाँ नभएका होइनन् ।
धार्मिक कुरा गर्ने हो भने बुद्धको जन्म थलो लुम्बिनी नेपालमै छ । साहसिक
पर्यटकको कुरा गर्ने हो भने विश्वकै अग्लो सगरमाथा नेपालमै छ ।
पर्यटकलाई आकर्षित गर्न र उनीहरूलाई
देखाउन हामीसँग धेरै कुरा छन् । तर हामीले ती कुरा बेच्न सकेका छैनौं ।
बेच्न नसक्नुको कारण नै पूर्वाधारको अभाव हो ।
सन् २००१ देखि २००७ सम्ममा पर्यटन क्षेत्र
संकटमा थियो । सन् २०११ मा हामीले राम्रो काम ग¥यौं त्यसैको प्रतिफल सन्
२०१४ सम्म लिइरहेका थियौं । तर, पर्यटक आगमनदर भने पर्याप्त छैन ।
पूर्वाधार भनेको एयरलाइन्स मात्र हो ?
होइन । एयरलाइन्सपछि दोस्रो प्राथमिकता
विमानस्थललाई दिनुपर्छ । त्यसैगरी तेस्रो प्राथमिकता होटललाई र चौथो
प्राथमिकता कन्भेन्सन सुविधालाई दिनुपर्छ । हामीकहाँ होटल मात्र छन् ।
विमान र विमानस्थल नहुँदा नै पर्यटन क्षेत्रमा धेरै प्रभाव परिरहेको छ ।
पर्यटकका लागि चाहिने अन्य धेरै कुरा हामीसँग छन् ।
होटलमा भएको लगानी हेर्ने हो भने आगामी सन् २०१८ सम्म २ हजार ५ सयभन्दा बढी रुम थपिँदै छन् । त्यो ठूलो पूर्वाधार हो । त्यसैले अब नेपालले पर्यटक भित्र्याउनका लागि मार्केटिङलाई प्राथमिकता दिनुपर्छ ।
अहिले वार्षिक ८ लाख पर्यटक आगमन दर रहेको छ । अब २५ सय थपिँदा थप त्यति नै पर्यटक नेपाल भित्र्याउन आवश्यक छ ।
अहिलेको पूर्वाधार हेर्दा कति पर्यटक धान्न सक्ने क्षमता नेपालको छ ?
अहिले पनि १२ लाखभन्दा बढी पर्यटक धान्न
सक्ने पूर्वाधार नेपालमा छन् । नेपालमा पर्यटक भित्र्याउन मार्केटिङकै कमी
देखिएको छ । सबै वस्तु नेपालमै उपलब्ध छन्, तर त्यस्ता वस्तु हामीले बिक्री
गर्न सकेका छैनौं ।
पूर्व–मेचीदेखि पश्चिम–महाकालीसम्म
पर्यटकलाई देखाउने हामीसँग असीमित क्षेत्र छन् । कतिपय पर्यटकीय स्थल
हामीले खोलेकै छैनौं । कर्णालीमा पर्यटक लैजान कठिन छ । त्यहाँ पूर्वाधार
निर्माण नै हुन सकेको छैन ।
त्यहाँ पर्यटक लैजान ठूलो अप्ठ्यारो छ ।
हामीले प्रत्येक वर्ष १५ प्रतिशतले पर्यटक आगमनदर बढाउन सक्यौं भने सजिलै
२० लाख पर्यटक ल्याउन सक्छौ । सन् २०२२ सम्म २० लाखभन्दा बढी पर्यटक धान्ने
पूर्वाधार खडा भइसक्छन् ।
पर्यटक भित्र्याउन विमान र विमानस्थल नै छन् भने अन्य पूर्वाधार कसरी निर्माण गर्न सकिन्छ त ?
हो, हामीले यही विषयलाई प्राथमिकताका साथ
उठाइरहेका छौं । सरकारलाई पटक–पटक सुझाव दिइसकेका छौं । भैरहवा क्षेत्रीय
अन्तरराष्ट्रिय विमानस्थल निर्माण गरेर तत्काल सञ्चालन गर्नुपर्छ भनिरहेका
छौं ।
त्यसैगरी पोखरा विमानस्थलको निर्माण कार्य चाँडै सक्न र निजगढ विमानस्थल निर्माणको काम तत्काल सुरु गर्न दबाब दिइरहेका छौं ।
त्यसैगरी काठमाडौंको त्रिभुवन
अन्तरराष्ट्रिय विमानस्थलको सुधार चाँडोभन्दा चाँडो सम्पन्न गर्न दबाब
दिइसकेका छौं, तर सरकारले एकदमै ढिला काम गरिरहेको छ ।
पर्यटन क्षेत्र सानो कुराले पनि ध्वस्त हुन्छ, तर पनि लगानीकर्ताहरू किन उत्साहित भइरहेका हुन् त ?
नेपाल एउटा यस्तो देश हो, जहाँ प्रकृतिले
नै सबै कुरा बनाइदिएको छ । अन्य मुलुकमा पर्यटकले हेर्ने थोरै कुरा छन्, ती
पनि मानिसले बनाएका हुन् । जस्तै सिंगापुरको कुरा गर्ने हो भने देश सानो
छ, तर मार्केटिङ राम्रो छ ।
पर्यटकलाई दिने सेवा सुविधा राम्रो छ ।
जसका कारण त्यहाँ करोडौं पर्यटक जाने गरेका छन् । पर्यटन भनेको प्रवद्र्धन,
पूर्वाधार र सुविधा हो ।
प्रकृतिको धनी देश नेपालमा थोरै मार्केटिङ
भए पर्यटक आगमन दरमा भारी वृद्धि गर्न सकिन्छ भन्ने विश्वासका साथ नै
लगानीकर्ताले लगानी वृद्धि गरिरहेका हुन् ।
अन्य क्षेत्रमा वार्षिक अर्बौं
रुपैयाँ आम्दानी गर्न सकिने अवस्था रहँदारहँदै पनि व्यवसायीले करोड र लाखमा
मात्र आम्दानी गर्न सकिने होटल क्षेत्रमा किन लगानी गर्न उत्साह देखाएका
हुन् ?
म त अहिले पनि भन्छु, लगानीकर्ताहरू अझै
उत्साहित भएका छैनन् । एउटा पाँच तारे होटल बनाउन नेपालमा १५ वर्ष
कुर्नुपर्ने अवस्था छ । काठमाडौंमा आठ वटा मात्र पाँच तारे होटल छन् । अब
चेन होटलहरू आउन खोजिरहेका छन् ।
त्यस्ता होटल आएमा पर्यटन क्षेत्रको
मार्केटिङमा समेत सहयोग पुग्छ । जसको फाइदा नेपालले लिनेछ । एउटा पर्यटक
आउँदा १२ जनाभन्दा बढीले रोजगारी पाउने तथ्य छ भने पर्यटन क्षेत्रले
कृषिलाई समेत फाइदा पु¥याउँदै आएको छ ।
प्रत्येक होटलमा चाहिने शतप्रतिशत उत्पादन
कृषिबाट आउन सक्यो भने कृषि क्षेत्र धेरै राम्रो हुनेछ । जति धेरै चेन
होटलहरू नेपालमा आउँछन्, पर्यटन क्षेत्रलाई त्यति नै बढी फाइदा हुन्छ ।
नेपालको पर्यटन क्षेत्रको भविष्य कस्तो देख्नुभएको छ ?
नेपालको भविष्य नै पर्यटन क्षेत्रमा रहेको
छ । हामीले यस क्षेत्रलाई व्यवस्थित गरेर लैजान सक्यौं भने नेपाली
अर्थतन्त्रमा कायपलट हुनेछ । अहिले लाखौं मानिस रोजगारी खोज्दै विदेशिन
बाध्य छन् । रोजगारीको सिर्जना गर्न पनि पर्यटन क्षेत्रको सुधार र विस्तार
गर्नु जरुरी छ ।
हामीले वार्षिक २० लाख पर्यटक भित्र्याउन सक्यौं भने कसैले पनि बेरोजगार भएर बस्नु पर्दैन । सबैलाई पर्यटन क्षेत्रबाटै रोजगारीका अवस्था सिर्जना हुनेछन् ।
बढी प्रतिस्पर्धा भएकै कारण तुलनात्मक रुपले नेपालका होटलहरूको रेट नै सस्तो भएको हो भनिन्छ नि ?
होटलको रुम रेटमा प्रतिस्पर्धा हुनु
स्वाभाविक हो । बजारको भाऊ माग र आपूर्तिले निर्धारण गर्ने हो । यो सबैलाई
थाहा भएकै कुरा हो । अन्य उद्योगमा होटलमा हुँदैन । आज बिक्री भएन भने
महिनौंसम्म राख्न सकिने क्षेत्र होटल व्यवसाय होइन । यो आजको आजै बिक्री
गर्नुपर्ने हुन्छ ।
त्यसैले सबैले आफ्नो होटललाई भरिभराउ नै राख्न चाहन्छन् । प्रतिस्र्धा बढी भए पनि मूल्य घट्नु स्वाभाविक नै हो ।
पर्यटन क्षेत्रका नयाँ गन्तव्य विकास गर्न होटल व्यवसायीले चाहेनन् भन्ने आरोप छ नि ?
पहिले सरकारले पर्यटन पूर्वाधार खडा
गरेपछि हामी गएनौं भने मात्र आरोप लगाउन मिल्छ । सरकारले पूर्वाधार निर्माण
गरे हामी पनि संघीय मोडलअनुसार प्रत्येक प्रदेशमा लगानी गर्न तयार छौं ।
पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न र लगानी गराउन हामीले छलफल गरिरहेका
छौं ।
हानको आगामी अधिवेशनबाट तपाईं नेतृत्वमा आउनुभयो भने यो क्षेत्रलाई कसरी अघि बढाउनुहुन्छ ?
हानको उपस्थित अहिले देशभर पुगिसकेको छ ।
प्रत्येक क्षेत्रमा च्याप्टरसमेत गठन गरिसकेका छौं । नयाँ होटलमा लगानी
गर्नेहरूलाई प्रोत्साहन गरिरहेका छौं भने नयाँ लगानीकर्तालाई प्रवद्र्धन
गर्न सघाइरहेका छौं । अहिले पनि भैरहवामा पाँच तारे होटल खुल्न लागेका छन् ।
नेपालगन्ज र धनगढीमा होटल खुल्दै छन् ।
अन्य नगरपालिका, जिल्लाका सदरमुकाममा पनि तारे होटलहरू खुल्ने क्रममा छन् ।
हामीले ती सबैलाई सहयोग गर्नेछौं । नेपालमा थपिँदै गरेका होटलका २ हजार ५
सय रुमलाई सधैं भरिभराउ पार्न मार्केटिङमा समेत सहयोग गर्नेछौं ।
सन् २०१६ मा पर्यटक आगमन दर उत्साहप्रद
नेपालमा पर्यटक आगमन दर सन् २०१६ को पहिलो
६ महिनामा १६ प्रतिशतले बढेको छ । सन् २०१५ मा पर्यटक आगमन दर ३२
प्रतिशतले घटेको थियो । सन् २०१६ को तथ्यांक हेर्दा आगमन दर बढ्ने
देखिन्छ ।
सन् २०१५ को ६ महिनामा २ लाख ७७ हजार ९९२
पर्यटक हवाई मार्ग हुँदै भित्रिएकोमा सन् २०१६ को ६ महिनामा १६ प्रतिशतले
वृद्धि भई ३ लाख १३ हजार ५५२ पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
विश्वभर घुम्न निस्कने मानिसको संख्यामा
३.१ प्रतिशतले बढ्दा नेपालमा १६ प्रतिशतको वृद्धि हुनु सकारात्मक पक्ष हो ।
आगामी सिजनका लागि पनि राम्रो बुकिङ आइरहेकाले सन् २०१७ सम्म सन् २०१४ को
तथ्यांक भेटिनेमा व्यवसायी आशावादी छन् ।
सन् २०१६ को पहिलो ६ महिनाको आगमन दरमा सबैभन्दा धेरै भारतीय पर्यटक भित्रिएका छन् । सन् २०१५ को पहिलो ६ महिनामा ३९ हजार ४ सय १ भारतीय पर्यटक भित्रिएकोमा सन् सन् २०१६ को ६ महिनामा ५४ हजार २२४ पर्यटक भित्रिएका छन् । जुन ३७.६२ प्रतिशतले बढी हो ।
गत वर्ष भने भारतीय पर्यटक घटेका थिए
। सन् २०१५ को भन्दा सन् २०१६ को ६ महिनामा चिनियाँ पर्यटक आगमनमा भने
२८.०८ प्रतिशतले कमी आएको छ । सन् २०१५ मा ४७ हजार २ सय ६८ चिनियाँ पर्यटक
भित्रिएकोमा सन् २०१६ को ६ महिनामा ३३ हजार ९ सय ९१ पर्यटक भित्रिएका छन् ।
पर्यटनसम्बन्धी योजना कार्यान्वयन फितलो
सरकारले पर्यटन क्षेत्रका लागि पटक–पटक
गरेर धेरै योजना ल्याउने गरेको छ । एउटा योजना कार्यान्वयन नआउँदै अर्को
योजना ल्याइँदा समस्या बढ्ने गरेका छन् । सन् २०११ को पर्यटन वर्षको
दौरानमा पनि १० लाख पर्यटन नेपाल भित्र्याउन लक्ष्य राखिएको थियो ।
तर, त्यस बेला जम्मा ८ लाख पर्यटक मात्र नेपाल आएका थिए । त्यो समय
मा
८ लाखभन्दा बढी पर्यटक धान्न सक्ने अवस्थामा विमानस्थल नै थिएन । पर्यटकका
लागि मात्र लक्षित गरेर बनाइएको विमानस्थल अहिले स्वदेशी यात्रुले नै
भरिने गरेको छ । अहिले पनि नेपालमा पर्यटक आगमनभन्दा बाहिरिनेको संख्या बढी
छ ।
नेपालमा होटललाई पूर्ण रूपमा सञ्चालन गर्न
अहिले पनि वार्षिक १५ लाख पर्यटक चाहिने अध्ययनले देखाएको छ । सरकारले
भिजन २०२० भनेर २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखे पनि अहिले त्यो
कार्यक्रम रद्द गरेर पर्यटन रणनीति बनाएको छ ।
सरकारले सन् २०१८ लाई नेपाल भ्रमण वर्ष
मनाउने घोषणा गरेको छ फेरि लक्ष्य १० लाख पर्यटक भित्र्याउने नै राखिएको छ
। यसअघि घोषणा गरिएको भिजन २०२० लाई हटाएर पर्यटनको १० वर्षे रणनीति राखेर
सन् २०२५ सम्म २५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।
यो विषयमा कुनै पनि तालमेल छैन । सरकारले
राख्ने हरेक लक्ष्य तथा रणनीतिहरू असफल हुनुको पछाडि धेरै कार्यक्रम घोषणा
गर्ने र कार्यान्वयन नगर्ने गरेकै कारण हो भन्न सकिन्छ । यसलाई सुधार गर्न
सरकारी पक्षले नै पहल गर्नुपर्ने देखिन्छ ।
No comments:
Post a Comment