आर्थिक क्षेत्रका विशेष गतिविधी

Tuesday, April 8, 2014

पर्यटन बजारीकरणमा ध्यान देऊ

नेपालले सन् १९५० को दशकदेखि आफ्नो बजार अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि खुला गरेको हो । त्यतिखेर केही साहसी पर्यटक नेपालका अग्ला हिमालहरूदेखि लोभिएका थिए, तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सगरमाथाको सफल आरोहण गरेपछि नेपालको ख्याति चुलिएको हो  । सन् १९६० पछि युरोपेली र अमेरिकी पर्यटकहरूबीच नेपाल चिनिन थालेको हो, हिप्पी पर्यटनको उक्त युगमा नेपालमा सीमित संख्यामा पर्यटकीय पूर्वाधारहरू थिए । २०४६ सालको परिवर्तनपछि मात्र वास्तविक रूपमा नेपालको पर्यटनको विकास भएको मानिन्छ । ९० को पहिलो आधा दशकसम्म नेपाल आउने पर्यटकहरूको संख्या २ देखि ३ लाखको हाराहारीमात्र थियो । राज्यले लिएको खुला बजार अर्थनीतिअनुसार निजी क्षेत्रले पर्यटकलाई लक्षित गरेर काठमाडौं उपत्यका र वरपरमात्र होइन, चितवनदेखि बर्दियासम्मका निकुञ्ज क्षेत्रहरूसम्म पर्यटकीय स्तरका होटलहरू निर्माण गर्न थाले ।
वि.सं. २०५० मा लिइएको खुला हवाई नीति र विभिन्न मुलुकहरूसँग गरिएका हवाई सम्झौता र सोही समयमा पर्यटन क्षेत्रको विकासकै लागि भनेर सार्वजनिक–निजी साझेदारीमा नेपाल पर्यटन बोर्डको स्थापनासँगै नेपालको पर्यटन उद्योगको अर्को युग आरम्भ भएको मानिन्छ । नेपालको पर्यटन उद्योगको विकासमा निजी क्षेत्रको अग्रणी भूमिका रहेकोमा कुनै दुईमत हुन सक्दैन । निजी क्षेत्रकै अगुवाईमा नेपाललाई विश्वमाझ चिनाई पर्यटकहरूको आगमनदर ५ लाख पु¥याउने मूल उद्देश्य राखेर सन् १९९८ मा नेपाल भ्रमण वर्ष मनाइएको थियो । त्यसपछि यहाँ पर्यटकहरूको संख्या बढ्न थालेको हो । दसवर्षे सशस्त्र द्वन्द्वकालमा समेत नेपालको पर्यटक आगमनदरमा कुनै ठूलो गिरावट आएको देखिएन । यद्यपि अमेरिका र केही युरोपेली राष्ट्रहरूले नेपाललाई घुम्नका लागि संवेदनशील सूचीमा राख्दै बेलाबेलामा ट्राभल एड्भाइजरी जारी गर्ने गरेका थिए । यसका बाबजुद बितेको दशकमा औसत पर्यटक आगमनदर ६ लाखभन्दा अधिक नै रह्यो, जुन ०६२÷६३ को परिवर्तनपछि अझ बढेर ७ देखि ८ लाखको हाराहारीमा पुगिसकेको छ, यो संख्या नेपालको आशाअनुरूपको अनुपात भने होइन । सन् २०११ मा नेपाल आउने पर्यटकको संख्या १० लाख पु¥याउने मूल उद्देश्य राखेर ‘नेपाल पर्यटन वर्ष’ मनाइयो भने सन् २०१२ मा लुम्बिनीमा १० लाख पर्यटक पु¥याउने लक्ष्य राखेर ‘लुम्बिनी भ्रमण वर्ष’ मनाइयो । तर, दुर्भाग्य नै भन्नुपर्छ, दुवै पर्यटन तथा भ्रमण वर्षहरू आफ्नो लक्ष्यमा विफल हुन पुगे ।
नेपालका लागि १० लाखको पर्यटक संख्या महत्वाकांक्षी होइन, हाम्रोभन्दा कम पर्यटकीय उत्पादन भएका अन्य एसियाली गन्तव्यले त्योभन्दा कैयन् गुणा बढी पर्यटक भिœयाइरहेका छन् । मलेसिया, सिंगापुर, माल्दिभ्सजस्ता गन्तव्यमा विकास गरिएका पर्यटकीय पूर्वाधारसँग हाम्रो पूर्वाधारलाई दाँज्न अवस्य नमिल्ला तर १० लाखको पर्यटक धान्न सक्ने आधार भने बनिसकेको छ । पर्यटकको संख्यासँगै उनीहरूको बसाइ अवधि र खर्चको अनुपात पनि हेर्नुपर्ने हुन्छ । अझैसम्म नेपालमा पर्यटकको औसत बसाइ अवधि १३ दिन नाघ्न सकेको छैन भने उनीहरूले गर्ने खर्चको अनुपात पनि अन्य एसियाली गन्तव्यभन्दा निकै कम छ । लामो समय बस्ने र खर्चालु पर्यटक भिœयाउन नसक्नु हाम्रो ठूलो कमजोरी हो । यसले के देखाउँछ भने हामीले अझैसम्म लक्षित पर्यटक भिœयाउनै सकेका छैनौं । सन् २०११ को नेपाल पर्यटन वर्ष र २०१२ को लुम्बिनी भ्रमण वर्ष आफ्नो लक्ष्यमा विफल हुनुमा बजारीकरण अभाव नै मुख्य समस्याका रूपमा देखियो ।
नेपालको पर्यटन प्रवद्र्धनकै मुख्य उद्देश्य राखेर स्थापना गरिएको नेपाल पर्यटन बोर्डले विश्वका विभिन्न सहरमा पुगेर ‘रोडसो’ गरेर नेपालको प्रचारप्रसार त गरिरहेको देखिन्छ, तर त्यसरी गरिने प्रचारप्रसार नेपाल आउन सक्ने खालका पर्यटकमाझ पुग्न नसकिरहेको पुष्टि हुँदै गएको छ । बीबीसी, सीएनएन, एबीसी, नेसनल जियोग्राफिक, डिस्कभरीजस्ता अन्तर्राष्ट्रिय दर्शक भएका टेलिभिजन च्यानलहरूमा त प्रचारप्रसार गर्नै सकिएको छैन । अझ सबैभन्दा ठूलो कमजोरी त आगमन र प्रचारप्रसारबीच तादाम्यता नमिलेको देखिन्छ । अहिले विश्वभरि नै भारतीय, चिनियाँ र अन्य एसियाली राष्ट्रका पर्यटक बढ्दै गए पनि नेपालको प्रचारप्रसार युरोपमा केन्द्रित हुनु भनेको कमजोरी नै हो । यस्ता कमजोर पक्षहरूमा सुधार नगरी नेपालको पर्यटन क्षेत्रको सही विकास हुन सक्दैन ।

No comments:

Post a Comment